यी हुन् राष्ट्र बैंकको कमाण्ड सम्हालेका १७ गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंक विसं २०१३ वैशाख १३ गते स्थापना भएको हो । त्यसको १ दिनपछि राष्ट्र बैंकको प्रथम गभर्नरका रूपमा हिमालयन शमशेर जबरा नियुक्त भए । नेपाल राष्ट्र बैंक ऐन, १९५५ अनुसार स्थापना भएको हो भने हाल राष्ट्र बैंक ऐन २०५८ लागू छ । 

मुलुकको मूल्य तथा बाह्य क्षेत्र स्थायित्व कायम गर्ने, वित्तीय स्थायित्व कायम गर्ने र वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वास अभिवृद्धि गर्ने जिम्मेवारी राष्ट्र बैंकको हो । उक्त जिम्मेवारी पूरा गर्न मौद्रिक नीति, नियामकीय नीति, विदेशी विनियम नीतिलगायतका नीतिगत व्यवस्था तर्जुमा गरी कार्यान्वयन गर्दै आएको छ । वित्तीय स्थायित्व कायम गर्न विभिन्न अन्तर्राष्ट्रिय असल अभ्यास अवलम्बन गर्दै वित्तीय संस्थाको नियमन तथा सुपरीवेक्षणलाई प्रभावकारी बनाउँदै आएको छ । 

६९ वर्षको इतिहास बोकेको राष्ट्र बैंकका १७औं गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल सकिएर बिदा भएपछि यतिबेला १८औं गभर्नरको पर्खाइमा छ । राष्ट्र बैंकको आगामी गभर्नर बन्न आकांक्षीहरू शक्तिकेन्द्र दौडधूप गरिरहेका छन् । नयाँ गभर्नरको पर्खाइमा रहेको राष्ट्र बैंकमा विगतमा कस्ता व्यक्ति गभर्नर थिए र कसले कति वर्ष नेतृत्व सम्हाले भन्ने विषयमा यहाँ उल्लेख गर्न खोजिएको छ । 

हिमालयन शमशेर जबरा

स्व.हिमालय शमशेर जङ्गबहादुर राणा राष्ट्र बैंकको पहिलो गभर्नर हुन् । उनी विसं २०१३ वैशाख १४ गते पहिलो गभर्नरको रूपमा पदमा नियुक्त भएका थिए । जबराले ४ वर्ष ९ महिना ११ दिन गभर्नर पदमा कार्यकाल बिताए । उनी विस. २०१७ माघ २५ गते सो पदबाट बाहिरएका थिए । 

हिमालय शमशेर राणा प्रधानमन्त्री श्री ३ देव शमशेरका नाति हुन् । सोही कारण उनले जन्मँदै कर्नेल उपाधि पाएका थिए भने प्रधानमन्त्री बन्ने रोलक्रममा थिए । तर, देशमा प्रजातन्त्र आएपछि भने उनले सो अवसर गुमाए । उनी नेपालको पहिलो अर्थिसचिव पनि हुन् । जबराको ९५ वर्षको उमेरमा २०७९ माघ २२ गते निधन भएको हो । 

लक्ष्मीनाथ गौतम

लक्ष्मीनाथ गौतम राष्ट्र बैंकको दोस्रो गभर्नर हुन् । उनी विसं २०१७ माघ २६ गते गभर्नर पदमा नियुक्त भई ४ वर्ष ४ महिना ७ दिन  उनी सो पदमा कार्यरत रहे । गौतम विसं २०२२ असार ३ गतेसम्म गभर्नर पदमा रहेका थिए ।

प्रद्युम्नलाल राजभण्डारी

प्रद्युम्नलाल राजभण्डारी नेपालको तेस्रो गभर्नर हुन् । उनी विसं २०२२ असार ४ गते गभर्नर पदमा नियुक्त भएका थिए भने विसं २०२३ साउन २९ गते सम्म गभर्नरको पदमा रहेका थिए । उनले १ वर्ष १ महिना २५ दिन मात्रै गभर्नर पदमा बसेर काम गरे । 

डा.भेषबहादुर थापा

चौथो गभर्नरका रूपमा विसं २०२३ साउन ३० गते डा. भेषबहादुर थापा राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएका थिए । उनी पनि छोटो समय मात्रै गभर्नर बने । ११ महिना ११ दिन मात्र पदमा रहेका उनी सबैभन्दा कम कार्यकाल बिताउने गभर्नर हुन् । उनी विसं २०२४ साउन ११ गते पदबाट बिदा भए । उनी राजाको पालामा अर्थसचिव, अर्थमन्त्री र विभिन्न देशको राजदूतसहित परराष्ट्रमन्त्रीसमेत बनेका थिए । 

डा. यादवप्रसाद पन्त 

डा. यादवप्रसाद पन्त विसं २०२५ वैशाख १२ गते गभर्नरमा नियुक्त भए । पन्तले गभर्नर पदमा ५ वर्ष ४ दिन कार्यकाल बिताए । ५ वर्ष कार्यकाल पुरा गर्ने उनी पहिलो गभर्नर पनि हुन् । पन्त विसं २०३० वैशाख १६ गते पदबाट बाहिरिएका थिए । उनी जापानसहित अस्ट्रेलिया, फिलिपिन्स, दक्षिण कोरियाका राजदूतसमेत बनेका थिए। 

कुलशेखर शर्मा

कुलशेखर शर्मा नेपालको छैटौं गभर्नर हुन् । उनी विसं २०३० वैशाख १७ गभर्नरमा नियुक्त भएका थिए । उनले ५ वर्ष ७ महिना १० दिन गभर्नर पदमा रहेर काम गरे । सबैभन्दा धेरै गभर्नर पदमा बस्ने उनी पहिलो व्यक्तिसमेत हुन् । विसं २०३५ मंसिर २७ गते उनी गभर्नर पदबाट बाहिरिए । 

कल्याणविक्रम अधिकारी

कल्याणविक्रम अधिकारी विसं २०३६ जेठ ३० गते सातौं गभर्नरका रूपमा राष्ट्र बैंकको नेतृत्व सम्हालेका थिए । ५ वर्ष ६ महिना १३ दिन गभर्नर पदमा रहेका उनी विसं २०४१ मंसिर २३ गते पदबाट बाहिरिए । 

गणेशबहादुर थापा

आठौं गभर्नर बनेका गणेशबहादुर थापा विसं २०४१ चैत्र १२ गते नियुक्त भएका थिए । थापाले ५ वर्ष १ महिना २६ दिन गभर्नर पदमा रहेर काम गरे । विसं २०४७ जेठ ८ गते उनी सो पदबाट बाहिरिएका थिए । 

हरिशंकर त्रिपाठी 

हरिशंकर त्रिपाठी विसं २०४७ साउन २६ गते नवौं गभर्नर बनेका हुन् । ४ वर्ष ५ महिना ७ दिन गभर्नरको पदमा रहेर काम गरेका त्रिपाठी विसं २०५१ माघ ३ गते बाहिरिए । 

सत्येन्द्र प्यारा श्रेष्ठ

सत्येन्द्रप्यारा श्रेष्ठ विसं २०५१ माघ ४ गते १०औं गभर्नर बने । ४ वर्ष ११ महिना २९ दिन काम गरेका उनी विसं २०५६ माघ ३ गते गभर्नर पदबाट बाहिरिए । 

डा.  तिलकबहादुर रावल

डा. तिलकबहादुर रावल राष्ट्र बैंकको ११औं गभर्नर हुन् । विसं २०५६ माघ १७ गते गभर्नरमा नियुक्त भएका रावल विसं २०६१ माघ १६ गते बाहिरिएका थिए । तर, उनलाई सरकारले विसं २०५७ भदौ १२ गते निलम्बन गर्यो  । ६ महिना २५ दिन निलम्बनमा परेका उनी २०५७ चैत्र २६ गते पुनः गभर्नर पदमा फर्किएका थिए । उनीमाथि राष्ट्र बैंकमा भ्रष्टाचार गरेको आरोप लागेको थियो । साथै निलम्बनमा पर्ने उनी पहिलो गभर्नर समेत हुन् ।​​​​​​

दीपेन्द्रपुरुष ढकाल

दीपेन्द्रपुरुष ढकाल नेपालको १२औं गभर्नर हुन् । विसं २०५७ भदौ १३ गते गभर्नरमा नियुक्त भएका उनी ७ महिना १३ दिन मात्रै काम गरेर विसं २०५७ चैत्र २६ गते बाहिरिएका थिए । भ्रष्टाचारको आरोपमा रावललाई वर्खास्ति गर्दा ढकाललाई गभर्नरको जिम्मेवारी दिएको थियो । सफाइ पाएर रावल पुनर्बहाली भएपछि ढकाल स्वतः बाहिरिएका थिए । 

विजयनाथ भट्टराई

विसं २०६१ माघ १८ गते नियुक्त भएका १३औं गभर्नर हुन् विजयनाथ भट्टराई । गणतान्त्रिक नेपालका पहिलो गभर्नर बनेका उनी विसं २०६६ साल माघ १७ गतेसम्म गभर्नर पदमा रहे । तर, उनलाई पनि भ्रष्टाचारको आरोपमा सरकारले विसं २०६५ माघ २ गते निलम्बन गरेको थियो । छानबिनपश्चात् सफाइ पाएपछि विसं २०६६ साउन ११ गते उनी पुनर्बहाली भएका थिए । 

दीपेन्द्रबहादुर क्षेत्री 

दीपेन्द्रबहादुर क्षेत्री विसं २०६५ माघ २ गते गभर्नरमा नियुक्त भएका थिए । ६ महिना ९ दिनसम्म गभर्नर पदमा रहेका उनी विसं २०६६ साउन ११ गते बाहिरिएका थिए । भट्टराई बर्खास्त हुँदा नियुक्त उनी पुनर्बहाली भएपनि बाहिरिएका थिए । क्षेत्री राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष समेत हुन् । 

डा. युवराज खतिवडा 

विसं २०६६ चैत्र ९ गते नियुक्त भएका राष्ट्र बैंकको १५औं गभर्नर हुन् डा. युवराज खतिवडा । पाँच वर्ष गभर्नर बनेका उनी विसं २०७१ चैत्र ५ गते सो पदबाट बाहिरिएका थिए । राष्ट्रिय योजना आयोगमा पूर्वउपाध्यक्ष समेत रहेका डा. खतिवडा पूर्वअर्थमन्त्रीसमेत हुन् । हाल उनी प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार समेत हुन् । 

डा. चिरञ्जीवी नेपाल 

डा. चिरञ्जीवी नेपाल विसं २०७१ चैत्र ५ गते राष्ट्र बैंकको गभर्नर नियुक्त भई विसं २०७६ चैत्र ५ गते बाहिरिएका थिए । ५ वर्षे कार्यकाल पुरा गरी बाहिरिएका उनी भर्नरमा नियुक्ति हुनुअघि तत्कालीन प्रधानमन्त्री स्व. सुशील कोइरालाका आर्थिक सल्लाहकार थिए । साथै गभर्नरबाट बाहिरिएको केही समयपछि उनी राष्ट्रपति रामचन्द्र पौडेलको आर्थिक सल्लाहकार बनेका थिए । 

महाप्रसाद अधिकारी

महाप्रसाद अधिकारी राष्ट्र बैंकको १७औं गभर्नर हुन् । विसं २०७६ चैत्र २४ गते नियुक्त भएका अधिकारी पाँच वर्षे कार्यकाल पूरा गरी चैत्र २४ गतेदेखि बाहिरिएका छन् । निवर्तमान गभर्नर अधिकारी विसं २०७८ चैत्र २५ गते निलम्बनमा परेका थिए । तर, सर्वाेच्च अदालतबाट पुनर्बहाली भएका थिए । 

Share News