काठमाडौं । तीन वर्षअघि कोदालो, गैंटी र सम्बलले खनेको बाटो अहिले राजमार्ग जस्तै बनेको छ । बैतडीमा स्थानीयहरूले मिलेर खनेको सडक हाल राजमार्गमा परिणत भएको हो । स्थानीयहरूले स्थानीय सामग्रीको प्रयोग गरी तीन वर्षमा ३२ किलोमिटर सडक खनेका दशरथचन्द नगरपालिकाका स्थानीय नागरिक अर्जुन जोशीले बताए ।
उनका अनुसार देहिमाडौं, ग्वाल्लेक, नागार्जुन, गिरेगाडाका ७ हजार स्थानीयले गैंटी, कोदालो र सम्बल प्रयोग गरी ३२ किलोमिटर सडक खनेका थिए । अहिले उक्त सडकमा सरर गाडी गुडिरहेको छ ।
उनले सडक खनेका स्थानीयले ५८ करोड रुपैयाँ बराबरको दाल चामल र ५७ करोड रपैयाँ नगद काम गरेबाफत पाएको उनको भनाइ छ ।
यसैगरी, स्थानीयहरुले गैंटी, कोदालो र सम्बल प्रयोग गरी तीन वर्षमा निर्माण गरेको ३२ किलोमिटर सडक सुदूरपश्चिम प्रदेश सरकारले कालोपत्रे गरेको बताइएको छ ।
जर्मन सहयोग नियोग (जीआइजेड) ले स्थानीयलाई दाल चामल र नगद ज्याला दिएर २०७० सालमा निर्माण पूरा गरेको देहिमाण्डौं–गिरेगाडा ३२ किमीमध्ये सुदूरपश्चिम प्रदेश सरकारले २०८१ मा १५ किलोमिटर कालोपत्रे सम्पन्न गरिएको पूर्वाधार विकास कार्यालय बैतडीका प्राविधिक नरेश भुलले जानकारी दिए ।
उनका अनुसार प्रदेश सरकारले २०७६ सालदेखि कालोपत्रे सुरु गरेको थियो भने यो वर्ष १५ किलोमिटर सडक स्तरोन्नतीको काम सम्पन्न गरेको हो ।
उनले भने, ‘खनेको सडक कालोपत्रे गरिदिएपछि स्थानीय निकै खुसी भएका छन् । अब स्थानीयहरूले गाउँमै कृषि, पशुपालन र फलफूल खेतीमा थालेका छन् । मानिसले खनेका कारण सडकमा कतै भत्किएको छैन ।’
सडक खन्नका लागि तीन वर्षसम्म ७ हजार मानिस २६० वटा समूहमा परिचालन भएका थिए ।
भुलका अनुसार जिल्लामै पहिलो पटक यस्तो नमुना काम आउँदा भारत जाने पनि तीन वर्ष लगातार गाउँमै बसेका थिए । सडक खनेर साँझ घर फर्किने बेला एक जना मजदुरले दैनिक तीनदेखि पाँच किलो चामल, एक किलो दाल र पाँच सय रुपैयाँ नगद बुझेर लैजाने गरेका थिए ।
जर्मन सहयोग नियोग (जीआइजेड) ले सडक निर्माणसँगै ४० वटा सिँचाइ कुलो, ग्वाल्लेक र देहिमाडौं क्षेत्रमा १० वटा र मेलौली नगरपालिका क्षेत्रमा २७ वटा विद्यालयका भवन निर्माण भएका छन् । कार्यक्रमको क्षेत्रसँग सीमा जोडिएका पञ्चेश्वर र शिवनाथ गाउँपालिकामा खानेपानीका योजनासमेत निर्माण भएका छन् ।
सडक, सिँचाइ कुलो र विद्यालयका भवन निर्माणले स्थानीयले तीन वर्षसम्म लगातार रोजगारी पाउँदा जीवनस्तर नै बदलिएको त्यहाँका स्थानीयहरू बताउँछन्।