महानगरमा तलब वितरण : बालेनसहित सबैले पाए १ अर्ब १३ करोड तलब

काठमाडौं । काठमाडौं महानगरपालिकाका कर्मचारीहरूले तीनदेखि छ महिनासम्म रोकिएको तलब पाएका छन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं काममा फर्किएपछि सोमबार तलब वितरण गरिएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

महानगरले मेयर शाहदेखि सबै जनप्रतिनिधि र करिब २९ सय कर्मचारीको तलब निकासा गरेको हो । कुल १ अर्ब १३ करोड रुपैयाँ बराबरको तलब वितरण गरिएको मानन्धरले बताए ।

गुरागाईंले कार्यालयमा हाजिर गरेसँगै राजस्व खाता सञ्चित कोषमा रहेको रकम खर्च खातामा सारेपछि कर्मचारीहरूले तलब पाएका हुन् । यसको निर्णय प्रमुख प्रशासकीय अधिकृतलाई मात्रै हुन्छ ।

गत केही महिना यता काठमाडौं टावरको नक्सा स्वीकृति विवादका कारण प्रमुख प्रशासकीय अधिकृत गुरागाईं र मेयर बालनबीच तनाव सिर्जना भएको थियो । बालेनले अनुसन्धान समिति गठन गरेका थिए भने गुरागाईंलाई कार्यालय प्रवेशमा समेत रोक लगाएका थिए ।

प्रमुख प्रशासकीय अधिकृत गुरागाईं कार्यालयमा हाजिर भएको भोलिपल्ट नै कर्मचारी र जनप्रतिनिधिलाई तलब दिन तोक लगाइदिएका थिए ।

गत पुस ७ गतेदेखि बिदामा बसेका प्रमुख प्रशासकीय अधिकृत गुरागाईं गत बिहीबार जबरजस्ती कार्यालय प्रवेश गरेका थिए । केहीबेर स्थिति तनावग्रस्तसमेत भएको थियो ।  उनलाई उपप्रमुख सुनिता डंगोलसहित जनप्रतिनिधिहरूले उनकाे कार्यकक्षमा झ्यालको सिसा फुटाएर प्रवेश गराएका हुन् । 

शुक्रबार भने उनी कार्यालय पुग्दा कुनै रोकतोक भएको थिएन । 

 

Share News