धरानका मेयर हर्कलाई ओलीले भने- खानेपानीको प्रबन्ध गर्ने प्रक्रिया अघि बढ्यो

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले धरानबासीलाई खानेपानी उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताएका छन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईसहितको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले सो जानकारी गराए । 

‘धरानबासीले खानेपानी पिउन पाउनुपर्छ । यो प्रक्रिया आजैबाट अघि बढ्यो । यसका लागि सङ्घीय सरकारले बजेटको प्रबन्धलगायत अन्य विषयमा आवश्यक सहजीकरण गर्नेछ । यो सन्देश धरानबासीलाई सुनाइ दिनुहोला,’ प्रधानमन्त्री ओलीले भने । 

खानेपानी आयोजनाका लागि विस्तृत परियोजना प्रतिवेदन यसअघि सङ्घीय सरकारले तयार गरिसकेको छ । 

यसैगरी, प्रधानमन्त्री ओलीले धरानको फोहोर व्यवस्थापनका लागि परम्परागत नभई आधुनिक प्रविधि युक्त ल्याण्डफिल्ड साइट बनाउनुपर्नेमा जोड दिए ।

Share News