काठमाडौं । हस्पिटल फर एड्भान्स्ड मेडिसिन एण्ड सर्जरी (ह्याम्स) अस्पतालले स्वास्थ्य सबैको सरोकार भन्ने नारासहित संवाद श्रृङ्खला–२ आयोजना गर्ने भएको छ । अस्पतालको वार्षिकोत्सवको अवसरमा आयोजना गर्न लागिएको यो कार्यक्रम चैत्र २९ गते दिउँसो १२:१५ बजेदेखि होटल रमादा, धुम्वाराहीमा सञ्चालन हुनेछ ।
कार्यक्रमलाई तीन सत्रमा विभाजन गरिएको छ । पहिलो सत्रमा 'गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच' विषयमा सरोकारवालाबीच व्यापक छलफल गरिनेछ । दोस्रो सत्र 'नागरिकको स्वास्थ्यमा लगानी' विषयमा केन्द्रित हुनेछ, जसमा स्वास्थ्य क्षेत्रमा आवश्यक लगानी, स्रोत व्यवस्थापन र दीर्घकालीन रणनीतिबारे विमर्श गरिनेछ । तेस्रो तथा अन्तिम सत्रमा भने पहिलो दुई सत्रको सारांश प्रस्तुत गरिनेछ र उक्त सत्रमा माननीय उप–प्रधान तथा शहरी विकास मन्त्रीको प्रमुख मन्तव्य पनि रहनेछ ।
सम्वन्धित क्षेत्रका विज्ञ, सरोकारवाला निकाय, र प्रतिनिधिसभा सांसदहरूको सहभागिता रहने यस संवाद कार्यक्रमबाट जनस्वास्थ्यमा देखिएका समस्या, चुनौती र समाधानका उपायहरूबारे गहन छलफल गरिनेछ । छलफलबाट प्राप्त निष्कर्ष र सुझावहरू स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पेश गरिनेछ ।
सन् १९९७ मा स्थापना भई हाल धुम्वाराहीमा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको अत्याधुनिक भवनबाट सेवा दिइरहेको ह्याम्स अस्पतालले भूकम्प प्रतिरोधात्मक संरचना, हेलिप्याड, र उच्चतम प्रविधियुक्त उपकरणसहित सेवा प्रदान गर्दै आएको छ । कोभिड महामारीको समयमा पनि विश्वस्तरीय सेवा प्रदान गर्दै जनविश्वास जित्न सफल भएको अस्पतालले गुणस्तरीय उपचार, चिकित्सा शिक्षा, नर्सिङ्ग तालिम, र अनुसन्धान मार्फत स्वास्थ्य क्षेत्रमा योगदान दिइरहेको छ ।
ह्याम्सले सामाजिक उत्तरदायित्वको अनुभूति गर्दै यस्ता संवाद कार्यक्रम प्रत्येक वर्ष नियमित रूपमा आयोजना गर्ने प्रतिबद्धता जनाएको छ ।