आईएमई लाइफको ‘सजिलो ई–लोन’ सेवा सुरु, अब घरैबाट एक लाख रुपैयाँसम्म ऋण लिन सकिने

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले बीमितहरूका लागि ‘सजिलो ई–लोन’ सेवा सुरु गरेको छ । कम्पनीका अध्यक्ष डा. रामहरि अर्यालले उक्त सेवाको औपचारिक शुभारम्भ गरेका हुन् ।

यस सेवामार्फत बीमित (पोलिसी होल्डर)हरूले घरैबाटै मोबाइल एप वा वेबसाइट प्रयोग गरेर ५ हजारदेखि १ लाख रुपैयाँसम्म ऋण आवेदन दिन सक्नेछन् ।

कम्पनीका अनुसार ई–लोन सेवा चौबीसै घण्टा उपलब्ध हुनेछ । कार्यालय समयभित्र आवेदन गरेमा तत्कालै र बिदाको दिन आवेदन परेमा कार्यालय खुल्नेबित्तिकै रकम बैंक खातामा जम्मा हुनेछ । सेवा शुल्क लाग्ने छैन ।

कम्पनीले ऋण सुविधाका लागि ग्राहकको केवाईसी प्रक्रिया पूरा भएको र बीमा शुल्क तीन वर्षभन्दा बढी समयदेखि तिरेको हुनुपर्ने जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले डिजिटल प्रविधिमार्फत सरल, छरितो र सहज सेवा दिन ई–लोन सेवा सुरु गरिएको बताए । ग्राहक अनुभव सुधार्ने दिशामा यो सेवा महत्वपूर्ण कदम भएको उनको भनाइ छ ।

Share News