काठमाडौं । सरकारले म्यानमार सरकारलाई करिव २७ टन बराबरको राहत सामग्री सहयोग गर्ने भएको छ ।
बुधवार नेपालबाट परराष्ट्रमन्त्रालयका उच्चपदस्थ कर्मचारीहरुसहितको टोलीले म्यानमार सरकारलाई करिव २७ टन बराबरको राहत सामग्री सहयोग गर्ने भएको हो । त्यसका लागि आज राति नेपाली प्रतिनिधि मण्डल म्यानमार प्रस्थान गर्नेछ ।
नेपालबाट परराष्ट्रमन्त्रालयका उच्चपदस्थ कर्मचारीहरुले सहभागिता जनाउने र म्यानमारमा राहत सामग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्री डा. आरजु राणाले बताइन् ।
म्यानमारमा गत शुक्रबार ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो । जसबाट ३ हजार बढीको मृत्यु भएको छ । भूकम्पबाट क्षतिग्रस्त म्यानमारलाई सरकारले आवश्यक परेका सामग्रीहरुको सूचि माग गरेको थियो ।
म्यानमारले उपलब्ध गराएको सूचीअनुसार खाद्यान्न, औषधीहरू, मेडिकल टिमहरु रहेको र आवश्यक राहत सामग्री उलब्ध गराउन लागिएको बताए ।
यसअघि नेपाली सेनाको चिकित्सकको टोली भने म्यानमारमा गइसकेको छ । निजी क्षेत्र र सरकार मिलेर २७ टन सामग्री जम्मा भएको र सोही सामग्री हस्तान्तरण गरिने जानकारी मन्त्री राणाले दिइन् ।
मन्त्री राणाले भने, ‘हाम्रो राजदूतावास म्यानमारमा भएको हुनोल त्यहाँको सरकारसँग सम्पर्क गरेर केके सामान तपाईंहरुलाई चाहिन्छ भनेर लिस्ट ल्याउनुभएको थियो, त्यसमा खाद्यान्न, औषधीहरू, मेडिकल टिमहरू माग्नुभएको थियो । मेडिकल टिम नेपाली सेनाले पठाएको छ । त्यो टिम अब दुई दिनपछि मात्रै फर्किन्छ । निजी क्षेत्र र सरकार मिलेर २७ टन सामग्री जम्मा भएको छ । नेपाल सरकारको तर्फबाट यो हस्तान्तरण गर्नेछौं ।’
हस्तान्तरण गरिने सामग्रीहरुको बारेमा जानकारी दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले म्यानमार २०७२ सालमा नेपालमा गएको महाभूकम्पमा सहयोगी राष्ट्र रहेको र सरकारले पनि म्यानमारलाई राहत सामग्री पठाउन लागेको बताए । खाद्यपदार्थ, पकाउन चाहिने भाँडाकुँडा, मेडिसिनहरु, ब्लड ट्रान्सफ्युजन सेट, टेन्टहरु पठाउने जानकारी दिए ।
उनकाअनुसार २७ मेट्रिक टन भन्दा बढीको सामान आज नेपाल सरकारले म्यानमार सरकारलाई पठाउँदैछ । । योभन्दा पहिला नेपाली सेनाको इमर्जेन्सी मेडिकल टिम म्यानमारमा गएर काम गरिरहेको उनले जानकारी दिए ।
अहिले नेपाल सरकारको तर्फबाट लगभग १ करोड ४० लाखको राहत सामग्री पठाउने उनले बताए ।