काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिनामा साढे १० खर्ब रुपैयाँ रेमट्यिान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आवको फागुनसम्म विप्रेषण आप्रवाह ९.४ प्रतिशतले वृद्धि भई १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.३ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.९ प्रतिशतले वृद्धि भई ७ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.१ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ११ खर्ब ४८ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १० खर्ब ४१ अर्ब ९९ करोड रुपैयाँ रहेको थियो ।
राष्ट्र बैंकको तथ्याङ्क अनुसार समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३ लाख १७ हजार ६८ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख १७ हजार ४०३ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ८५ हजार ३५२ र १ लाख ८२ हजार ७८३ रहेको थियो ।