सरकारी खर्च ८ खर्ब ३९ अर्ब, राजस्व ७ खर्ब २० अर्ब

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा सरकारले ८ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ खर्च  गरेको छ । त्यस्तै, सोही अवधिमा राजस्व परिचालन ७ खर्ब २० अर्ब ३५ करोड रुपैयाँ भएको नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

राष्ट्र बैंकले अर्थ मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयका आँकडालाई आधार बनाएर तयार पारेको प्रतिवेदनअनुसार चालु खर्च ५ खर्ब ८४ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । पूँजीगत खर्च ८२ अर्ब ३४ करोड र वित्तीय व्यवस्थासम्बन्धी खर्च १ खर्ब ७२ अर्ब ८९ करोड रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा सरकारको कुल राजस्व परिचालन ७ खर्ब २० अर्ब ३५ करोड पुगेको हो, जसमा प्रदेश तथा स्थानीय सरकारलाई बाँडफाँट गरिने रकमसमेत समावेश छ । यसमा कर राजस्व ६ खर्ब ३८ अर्ब ८० करोड र गैरकर राजस्व ८१ अर्ब ५५ करोड परिचालित भएको छ।

२०८१ फागुन मसान्तसम्म नेपाल सरकारका विभिन्न खातामा जम्मा भएको नगद मौज्दात ३ खर्ब ९२ अर्ब ३६ करोड पुगेको छ । यसमा प्रदेश तथा स्थानीय सरकारका खातामा रहेको रकम पनि समावेश छ। यो अघिल्लो वर्षको असार मसान्तमा रहेको ९३ अर्ब ९६ करोडको तुलनामा उल्लेखनीय वृद्धि हो ।

यस अवधिमा सातै प्रदेश सरकारहरूको संयुक्त खर्च ६८ अर्ब ५ करोड रुपैयाँ रहेको छ । त्यस्तै, स्रोत परिचालन १ खर्ब १८ अर्ब ९५ करोड पुगेको छ । स्रोत परिचालनमा नेपाल सरकारबाट हस्तान्तरण गरिएको अनुदान र विभाज्य कोषबाट प्राप्त राजस्व ९५ अर्ब ३३ करोड रहेको छ भने बाँकी २३ अर्ब ६२ करोड प्रदेश सरकारले आफ्नै प्रयासबाट परिचालन गरेका हुन् ।

Share News