सुनचाँदी व्यवसाय संकटमा, व्यवसायी संघको नीति पुनरावलोकनको माग

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी संघले हालको सुनचाँदी व्यापार संकटमा परेको भन्दै सरकारसँग तत्काल नीति पुनरावलोकनको माग गरेको छ । संघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै वर्तमान नीति व्यवसायमैत्री नभएको भन्दै सुधारको आग्रह गरेको हो ।​

संघका अध्यक्ष महेन्द्र रत्न शाक्यले विगत ४० वर्षदेखि चलिरहेको नीति र नियमनले व्यवसायमा अनिश्चितता र अस्थिरता निम्त्याएको बताए । उनले लाखौं नेपाली नागरिकको रोजगारी यो व्यवसायसँग जोडिएको हुँदा यसको संरक्षणका लागि सरकार गम्भीर हुनुपर्ने बताए ।​

व्यवसायी तेज रत्न शाक्यले समयमै समस्याको समाधान नभए देशभरका सुनचाँदी पसलहरू बन्द गर्नुपर्ने अवस्था आउन सक्ने चिन्ता व्यक्त गरे । हाल दैनिक २० केजी सुनको बिक्री वितरण गरिनु बजार मागका आधारमा पर्याप्त नभएको उनको भनाइ छ ।​

अर्का व्यवसायी मणि रत्न शाक्यले ४० वर्षदेखि नीतिमा खासै परिवर्तन नआउनुले व्यवसाय संकटमा पर्दै गएको बताए । उनले खुला बजार अर्थतन्त्रमा अन्य सामग्रीको बिक्री वितरणको नीति परिवर्तन भइरहँदा सुनचाँदीको व्यवसायका लागि समेत नीतिगत सुधार तथा पुनरावलोकन हुनुपर्ने माग गरेका छन् ।​

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीका स्वकीय सचिव आनन्द भट्टले सुनचाँदी व्यवसायीहरूका सबै सङ्गठनहरूको कुरा सुनेर सबैको धारणा आधारमा उपयुक्त निर्णय गर्ने मन्त्रालयको तयारी रहेको बताएका छन् । उनले व्यवसायी र उपभोक्ता दुवैको हितमा हुने गरी नीतिगत सुधारको तयारी भइरहेको जानकारी दिए ।

व्यवसायीहरूको मुख्य मागहरू

सुनचाँदीको आपूर्ति र मूल्य निर्धारणमा स्पष्ट र दीर्घकालीन नीति बनाउने​

हातले बनाइने गहनालाई प्रवर्द्धन गर्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने

सुनचाँदी रत्नको मूल्य ह्रास सम्बन्धी स्पष्ट कर नीति ल्याउने​

सुनचाँदी व्यवसायमा संलग्न युवालाई प्रोत्साहन दिने वातावरण तयार गर्ने।

Share News