काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले दिएका सुझाव कार्यान्वयन गरिने बताएका छन् । नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले आज पाल्पाको तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले आयोगले दिएका सुझाव अध्ययन गरी कार्यान्वयन गरिने बताएका हुन् ।
अर्थमन्त्री पौडेलले सरकारले आयोगको प्रतिवेदनलाई गम्भीरता पूर्वक अध्ययन गर्ने र तत्काल सम्भव हुने सुझावलाई चाँडै कार्यान्वयन योजना बनाएर अगाडि बढ्ने बताए ।
‘अर्थतन्त्रलाई चलायमान र सुधार गर्ने कुराहरूलाई तत्काल कार्यान्वयनको चरणमा लैजाने छौँ । अनुशासित ढङ्गले स्रोत व्यवस्थापन गरेर आगामी वर्ष २०८२/८३ को बजेट ल्याउँछौँ । त्यसको तयारीमा सरकार लागिरहेको छ,’ उनले भने ।
अनुशासित ढङ्गले स्रोत व्यवस्थापन र परिचालन गर्ने ढङ्गले जान नसके थप समस्या हुने कुरामा सरकार सचेत रहेको धारणा राख्दै अर्थमन्त्री पौडेलले मुलुकलाई आर्थिक रूपमा अप्ठ्यारोमा पर्न नदिइने बताए । यस पटकको बजेट प्रतिफल दिने खालको हुने, निजी र उत्पादन क्षेत्रलाई प्राथमिकतामा राखेर आवश्यक प्रबन्ध गरिने उनको भनाइ छ ।
फरक प्रसङ्गमा अर्थमन्त्री पौडेलले नेपाल राष्ट्र बैंकको गभर्नर योग्य र सक्षम पात्रलाई नियुक्त गर्ने तयारी भइरहेको बताए ।
‘बजारमा चर्चा गरिएजस्तो हुँदैन, यो विषयमा अनावश्यक चर्चा चलेका छन्, सरकारले क्या राम्रो निर्णय गर्यो भन्ने सन्देश जाने गर्ने गरी निर्णय छिट्टै आउँछ,’ उनले भने ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ठूला पूर्वाधार निर्माणसहित विकास र समृद्धिको अभियानमा सफलता हासिल गरिरहेको भन्दै उपप्रधानमन्त्री पौडेलले सरकार भ्रष्टाचार रोक्न र सुशासन कायम गर्न खरो रूपमा उत्रिएको दाबी गरे ।