काठमाडौं । भक्तपुरको पेप्सीकोला, दिब्येश्वरी टाउन प्लानिङमा आधुनिक र सुविधासम्पन्न ‘द इन्फिनिटी लाउन्ज’ चैत्र ३१ गतेदेखि सञ्चालनमा आउने भएको छ । नयाँ वर्ष २०८२ को सुरुवातसँगै लाउन्जले आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै सेवा सुरु गर्न लागेको हो ।
लाउन्जमा रेस्टुरेन्ट, बार, डान्सिङ फ्लोर र लाइभ कन्सर्टको सुविधा उपलब्ध हुनेछ । एकैपटक ६५० जना बस्न सक्ने र ५ हजार जना सहभागी हुन सक्ने क्षमता रहेको लाउन्जमा पर्याप्त पार्किङको व्यवस्था समेत गरिएको छ ।
सुरुवाती दिनमै चर्चित गायक राजु लामा र उनको ब्याण्ड ‘मंगोलियन हर्ट’ को लाइभ कन्सर्ट हुँदैछ । चैत्र ३१ मा २०८१ साललाई विदाई गर्दै लाउन्जको औपचारिक उद्घाटन गरिनेछ भने नयाँ वर्षको पहिलो दिनदेखि विभिन्न ब्याण्डहरूको सजीव प्रस्तुति समेत सुरु गरिने आयोजकले जनाएका छन् ।
अन्तर्राष्ट्रिय स्तरको आतिथ्य र आधुनिक मनोरञ्जन अनुभव प्रदान गर्ने उद्देश्यले लाउन्ज स्थापना गरिएको हो । सम्पूर्ण संरचना आधुनिक डिजाइनमा तयार पारिएको लाउन्जले भक्तपुरको पर्यटन, मनोरञ्जन र सांगीतिक गतिविधिलाई नयाँ उचाइमा पुर्याउने विश्वास लिइएको छ ।