काठमाडौं । एफवान सफ्ट ग्रुपअन्तर्गत एफवान सफ्ट इन्टरनेशनलले नेपालका प्रमुख बैंक तथा वित्तीय संस्थाका उच्चस्तरीय नेतृत्वसँग डिजिटल प्रविधिमा आधारित भविष्यको बैंकिङ प्रणालीबारे गहन छलफल गर्न ‘बैंकर्स मिटअप २०२५’ आयोजना गरेको छ ।
हालै ललितपुरस्थित ‘द प्लाजा’ मा आयोजित उक्त कार्यक्रममा एफवान सफ्ट इन्टरनेशनलको सहकार्यमा फोनपे र ई–सेवाले समेत सहभागिता जनाएका थिए ।
कार्यक्रममा डिजिटल रूपान्तरण, कृत्रिम बौद्धिकता (एआई), ओपन बैंकिङ इकोसिस्टमलगायत विषयमा व्यापक अन्तर्क्रिया भयो । यस अवसरमा एफवान सफ्टले ओसीआर र फेसियल रिकग्निशन प्रविधिमा आधारित डिजिटल अनबोर्डिङ प्लेटफर्म सार्वजनिक गर्यो ।
त्यस्तै, फोनपेले ब्लकचेनमा आधारित ‘एकाउन्ट एग्रिगेटर’ समाधान प्रस्तुत गर्यो भने ई–सेवाले प्रयोगकर्तालाई अझ स्मार्ट र वैयक्तिक सेवा दिन सक्ने एजेन्टिक एआई प्रविधिको घोषणा गरेकाे छ ।
कार्यक्रमले नेपालको बैंकिङ क्षेत्रलाई प्रविधि र नवप्रवर्तनमा आधारित नयाँ चरणतर्फ लैजान महत्वपूर्ण योगदान पुर्याउने विश्वास आयोजक संस्थाहरूले व्यक्त गरेका छन् ।