राष्ट्र बैंकले बैंकहरूको मुद्दती निक्षेपमा ९७ करोड लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको ९७ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने निर्णय गरेको छ । केन्द्रीय बैंकले आइतबार सूचना जारी गर्दै उक्त रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा लगानी गर्न लागेको जानकारी गराएको हो ।

राष्ट्र बैंकका अनुसार 'क' वर्गका वाणिज्य बैंकहरूमा ७७ करोड ६० लाख, 'ख' वर्गका राष्ट्रिय स्तरका विकास बैंकहरूमा १४ करोड ५५ लाख र 'ग' वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरूमा ४ करोड ८५ लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गरिनेछ ।

उक्त लगानी ७ वैशाख २०८२ देखि ७ वैशाख २०८३ सम्म, अर्थात् ३६६ दिनका लागि हुनेछ । इच्छुक संस्थाहरूले आवेदन आगामी ३ वैशाख साँझ ७ बजेसम्म दिनुपर्नेछ ।

निक्षेपको लागि योग्यता प्राप्त बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकका विभिन्न मापदण्डहरू पूरा गर्नुपर्नेछ, जसमा कम्तीमा दुई वर्षको सञ्चालन अवधि, निर्धारित पूँजीकोष, न्यूनतम तरलता, सीमित निष्क्रिय कर्जा, तथा विगतमा कारबाहीमा नपरेको अवस्था हुनुपर्नेछ ।  

Share News