काठमाडौं । बैंकहरूले पछिल्लो समय निरन्तर ब्याजदर घटाउँदै लगेपछि पुँजी बजारमा पनि लगानी बढेको देखिन्छ । ८ महिनामा वाणिज्य बैंकहरूले झण्डै १ खर्ब रुपैयाँ बराबर सेयर धितो कर्जा प्रवाह गरेका छन् । चालु आर्थिक वर्ष २०८१÷८२ को ८ महिनामा २० वटा बैंकले ९६ अर्ब ३९ करोड ३५ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका हुन् ।
जबकी गत वर्षको फागुनसम्ममा बैंकहरूले ६७ अर्ब १२ करोड ७० लाख रुपैयाँ मात्रै सेयर धितो कर्जा प्रवाह गरेका थिए । एक वर्षको अवधिमा बैंकहरूले ४३.५९ प्रतिशत अर्थात् २९ अर्ब २६ करोड ६५ लाख रुपैयाँ सेयर कर्जा बढाएका हुन् ।
बैंकहरूको सेयर कर्जाको ब्याजदर निरन्तर ओरालो लागेपछि कर्जा पनि बढेको बैंकरहरू बताउँछन् । राष्ट्र बैंकका अनुसार फागुनसम्ममा बैंकहरूको सेयर धितो कर्जाको औसत ब्याजदर ८.४९ प्रतिशत छ । जुन ब्याजदर साढे ३ वर्ष यताकै न्यून हो । यसअघि विसं २०७८ असारमा सेयर धितो कर्जाको औसत ब्याजदर ८.०५ प्रतिशत थियो ।
समीक्षा अवधिमा नेपाल एसबिआई बैंकले सेयर धितो कर्जा सबैभन्दा धेरै बढाएको छ । बैंकको सेयर कर्जा २८८.९६ प्रतिशत अर्थात् ३५ करोड ११ लाख रुपैयाँ बढेर ४७ करोड २७ लाख रपैयाँ प्रवाह गरेको छ । गत वर्षको फागुनमा यस बैंकले १२ करोड १५ लाख रुपैयाँ मात्रै सेयर कर्जा प्रदान गरेको थियो ।
समीक्षा अवधिमा माछापुच्छ्रे बैंकले २४८.६६ प्रतिशत बढाएर १ अर्ब ६५ करोड रुपैयाँ, कुमारी बैंकले ११७ प्रतिशत बढाएर ८ अर्ब ९८ करोड रुपैयाँ, कृषि विकास बैंकले १०६.४८ प्रतिशत बढाएर २ अर्ब ५७ करोड रुपैयाँ, एनएमबि बैंकले ९२.७४ प्रतिशत बढाएर १ अर्ब ८७ करोड रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् ।
राष्ट्र बैंकका अनुसार प्राइम बैंकले ७७.९५ प्रतिशत बढाएर ७ अर्ब ३७ करोड रुपैयाँ, ग्लोबल आइएमई बैंकले ६५.५१ प्रतिशत बढाएर ११ अर्ब १६ करोड रुपैयाँ, सिद्धार्थ बैंकले ६०.३४ प्रतिशत बढाएर ८ अर्ब ३२ करोड रुपैयाँ, नेपाल बैंकले ५४.३४ प्रतिशत बढाएर ७ अर्ब ६२ करोड रुपैयाँ सेयरमा लगानी गरेका छन् ।
सिटिजन्स बैंकले ४७.७८ प्रतिशत बढाएर ६ अर्ब ४० करोड रुपैयाँ, सानिमा बैंकले ४४.२७ प्रतिशत बढाएर २ अर्ब ३१ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४२.१५ प्रतिशत बढाएर ३ अर्ब ५ करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ३९.८८ प्रतिशत बढाएर ४ अर्ब ५२ करोड रुपैयाँ सेयर धितो प्रदान गरेका छन् ।
प्रभु बैंकले ३५.२३ प्रतिशत बढाएर ४ अर्ब ४३ करोड रुपैयाँ, एभरेष्ट बैंकले २८.७० प्रतिशत बढाएर २ अर्ब ५० करोड रुपैयाँ, नबिल बैंकले १७.९५ प्रतिशत बढाएर १३ अर्ब ८२ करोड रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकले १३.७७ प्रतिशत बढाएर ४ अर्ब ७७ करोड रुपैयाँ सेयरमा लगानी गरेका छन् ।
तर, समीक्षा अवधिमा एनआईसी एशिया बैंक र हिमालयन बैंकले भने सेयर धितोमा प्रवाह हुने कर्जा घटाएका छन् । हिमालयन बैंकले ४३.६० प्रतिशत घटाएर २ अर्ब ४९ करोड रुपैयाँ र हिमालयन बैंकले ११.१२ प्रतिशत घटाएर २ अर्ब २ करोड रुपैयाँमा सेयर कर्जा झारेका हुन् ।