कान्ति भैरब सहकारीमा २७ करोड ठगी प्रकरण : अध्यक्षसहित ९ जना पक्राउ

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–४ मा रहेको कान्ति भैरव बचत तथा ऋण सहकारी संस्थामा ठूलो मात्रामा ठगी प्रकरण खुलेको छ । सहकारी सञ्चालकले करिब २७ करोड रुपैयाँ ठगी गरेको अभियोगमा अध्यक्षसहित ९ जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका अनुसार बचतकर्ताको २६ करोड ८२ लाख ३ हजार ३८ रुपैयाँ र ८७ लाख ६ हजार १४४ रुपैयाँ अपचलन गरी ठगी गरिएको पाइएको छ ।

पक्राउ पर्नेमा संस्थाका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, पूर्वअध्यक्ष तथा सल्लाहकार प्रेम श्रेष्ठ, कोषाध्यक्ष सेरलाल श्रेष्ठ, सह–प्रबन्धक राजेन्द्र श्रेष्ठ, उपाध्यक्ष रामेश्वर श्रेष्ठ, सचिव तथा प्रबन्धक रामदाश श्रेष्ठ, सदस्य अनिरुद्र श्रेष्ठ, लेखा समिति संयोजक चन्द्रप्रसाद पौडेल लगायत रहेका छन् ।

उनीहरूमाथि सहकारी ऐन अन्तर्गत ठगीको मुद्दा दायर गरिएको छ । पीडित बचतकर्ताले रकम फिर्ता नपाएको भन्दै लामो समयदेखि आन्दोलन गर्दै आएका छन् ।

सहकारी पीडित संघर्ष समितिका अनुसार संस्थामा करिब ८ हजार बचतकर्ता छन् । सञ्चालकहरूले आफन्तलाई बिना धितो कर्जा दिने, कर्मचारीमार्फत अपचलन गर्ने जस्ता कार्य गरेको खुलेको छ ।

हाल जिल्ला अदालत काठमाडौंमा उनीहरू विरुद्ध ७ वर्ष कैद र ७५ हजार रुपैयाँ जरिवाना माग गर्दै मुद्दा दायर गरिएको छ ।

Share News