रविले थुनामुक्त गर्न माग गर्दै दायर निवेदनमा सकियो सुनुवाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले थुनामुक्तिको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको निवेदनमा सुनुवाइ सकिएको छ ।

भैरहवा कारागारमा रहेका लामिछानेले आफूलाई थुना बाहिर राखेर मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग गर्दै गत शुक्रबार निवेदन दर्ता गराएका थिए । न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा उक्त निवेदनमाथिको सुनुवाइ सकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

लामिछानेका तर्फबाट उनकी पत्नी निकिता लामिछानेले निवेदन दर्ता गराएकी हुन् ।

यसअघि रुपन्देही जिल्ला अदालतले उनलाई १ करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर सो आदेशविरुद्ध सरकारी वकिल र लामिछाने दुवै पक्ष उच्च अदालत बुटवल पुगेका थिए ।

सरकारी पक्षले थुनामै राख्नुपर्ने माग गरे पनि लामिछानेले साधारण तारेखमा रिहा हुनुपर्ने दाबी गरेका थिए । उच्च अदालतले दुवै पक्षको निवेदन एकसाथ राखेर सुनुवाइ गर्दै जिल्ला अदालतको धरौटी आदेश खारेज गरी पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

लामिछानेले अदालतको आदेशको सम्मान गर्ने बताएका छन् भने, 'शरीरमा रगत रहेसम्म लडाइँ जारी रहनेछ,' भन्दै आफू सत्यका पक्षमा अडिग रहेको स्पष्ट पारेका छन् ।

Share News