मन्त्री यादवको छड्केमा मेलम्ची खानेपानी विकास समितिका १६ कर्मचारी अनुपस्थित

काठमाडौं । खानेपानी, सरसफाइ तथा ढल निकासमन्त्री प्रदीप यादवको नेतृत्वमा गरिएको आकस्मिक छड्के अनुगमनमा मेलम्ची खानेपानी विकास समितिमा १६ कर्मचारी अनुपस्थित भेटिएका छन् ।

आइतबार बिहान मन्त्री यादव, सचिव प्रमिलादेवी शाक्य बज्राचार्य, सहसचिव रामबाबु पुरीसहितको टोलीले मन्त्रालय मातहतका विभाग, समितिहरूमा छड्के अनुगमन गरेको हो ।

खानेपानी तथा ढल व्यवस्थापन विभागमा सबै कर्मचारी उपस्थित भेटिए पनि मेलम्ची खानेपानी विकास समितिमा भने १६ जना गैरहाजिर रहेको सहसचिव पुरीले जानकारी दिए ।

‘मन्त्रीज्यूको आकस्मिक अनुगमनका क्रममा मेलम्ची समितिमा १६ जना कर्मचारी अनुपस्थित भेटिएका छन्,’ पुरीले भने, ‘कार्यालय समयभित्रको उपस्थिति र नियमितता सुनिश्चित गर्न अब विद्युतीय हाजिर प्रणाली लागू गरिनेछ ।’

मन्त्री यादवले वैशाख २ गतेदेखि विद्युतीय हाजिर प्रणाली अनिवार्य रूपमा सुरु गर्न निर्देशन दिएका छन्।  साथै, कार्य समयमै कार्यालय बाहिर जानुपर्ने भएमा विवरण राख्ने लकबुक व्यवस्था गर्न समेत निर्देशन दिइएको छ ।

छड्के अनुगमनका क्रममा मन्त्री यादवले उपस्थित कर्मचारीहरूसँग कार्यसम्बन्धी समस्या, सुविधा तथा व्यवस्थापनबारे जानकारी समेत लिएका थिए ।

Share News