प्रेममा धोका खाएपछि 'फेक आईडी' बनाएर चरित्र हत्या गर्ने जिन्दु परियार पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत चरित्र हत्या तथा साइबर अपराधमा संलग्न भइ फरार रहेकी जिन्दु परियारलाई नेपाल प्रहरीले पक्राउ गरेको छ।

साइबर ब्युरोका अनुसार परियारले प्रेम सम्बन्धमा दरार आएपछि सम्बन्धित पुरुषको फेसबुक प्रोफाइल जस्तै देखिने ‘फेक आईडी’ बनाई उक्त पुरुष, उनकी श्रीमती र अन्य आफन्तको चरित्र हत्या गर्ने किसिमका सामग्री सामाजिक सञ्जालमा पोष्ट गर्ने कार्य गर्दै आएकी थिइन् ।

साथै, पीडितसँग कुनै सरोकार नभएका अन्य व्यक्तिहरूलाई समेत अश्लील, अपाच्य भाषा प्रयोग गरी आक्षेप लगाएको उजुरी साइबर ब्युरोमा दर्ता भएको थियो ।

साइबर अपराध अन्तर्गत अनुसन्धान गर्दै जाँदा परियार गोरखा नगरपालिका–६ सातधरे स्थायी ठेगाना भई हाल मलेसियामा रोजगार गर्दै आएकी थिइन् । उनीविरुद्ध २०८० साल माघ ३ गतेदेखि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको मुद्दा दर्ता भई फरार थिइन् ।

उनको नाममा इन्टरपोलमार्फत रेड नोटिस समेत जारी गरिएको थियो । अन्ततः नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको सहकार्यमा चैत ३० गते उनलाई पक्राउ गरी जिल्ला अदालत काठमाडौंमा पेश गरिएको साइबर ब्युरोले जानकारी दिएको छ ।

साइबर अपराधविरुद्ध कडाइका साथ अनुसन्धान र कानुनी कारबाही जारी रहने प्रहरीको भनाइ छ ।    

Share News