३ रुपैयाँ घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले मंगलबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो ।

मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १५७.५० रुपैयाँ, दोस्रो वर्गका लागि १५९ रुपैयाँ र तेस्रो वर्गका लागि १६० रुपैयाँ तोकिएको छ । 

यस्तै, डिजेल तथा मट्टितेलको मूल्य पहिलो वर्गका लागि  १४३.५० रुपैयाँ, दोस्रो वर्गका लागि १४५ रुपैयाँ र तेस्रो वर्गका लागि १४६ रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो र काठमाडौँ, पोखरा र दीपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ ।

इन्डियन आयल कर्पोरेशनबाट मंगलबार प्राप्त पेट्रोलिमय पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा ३.१५ रुपैयाँ र डिजेलमा २.६२ रुपैयाँले घटेर आएकाले स्थानीय बजारमा पनि मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ ।

Share News