नोट सटही : १०० भारुको १६८ रुपैयाँ नेपाली !

  २०७८ चैत १७ गते १३:००     सन्तोष रोकाया

काठमाडौं । नेपाली बजारमा भारतीय रुपैयाँ (भारु) सटहीमा कलोबजारी बढेको छ । नेपाल राष्ट्र बैंकले विभिन्न वस्तुको आयातमा कडाइ गरेसँगै अवैध किसिमले वस्तु आयातका लागि महँगो प्रिमियम तिरेर भारतीय रुपैयाँ सटही भइरहेको बुझिएको हो ।

नेपाल राष्ट्र बैंकले आयात बढ्दा व्यापार घाटा बढ्दै गएको र विदेशी मुद्रा सञ्चिती पनि घट्दै गइरहेको भन्दै विभिन्न वस्तु तथा आयातमा कडाइ गरेको थियो । विभिन्न वस्तुमा शतप्रतिशत नगद मार्जिनको व्यवस्था गरेपछि व्यापारीहरूलाई भारतबाट सामान आयात गर्न समस्या भएपछि अवैध धन्दामार्फत् वस्तु आयात बढेको बुझिएको छ ।

अवैध च्यानलमार्फत् वस्तु आयात गर्दा भारु रुपैयाँ पनि महँगोमा खरिद बिक्री भइरहेको हो । बजारमा माग अनुसारको नोट आपूर्ति नभएपछि भारी तथा डलर सटहीमा कालोबजारी बढेको एक व्यापारीले बताए ।

‘हामीले माग गरे अनुसार भारतीय रुपैयाँ र डलर पाउँदैनौं, राष्ट्र बैंकले आयातमा पनि कडाइ गरेको छ, त्यसैले वस्तु आयात गर्नको लागि महँगोमा नै भारु खरिद गर्नुपर्ने बाध्यता छ,’ ती व्यापारीले भने ।

व्यापारीहरूका अनुसार नेपाल राष्ट्र बैंकले माग अनुसारको भारु र डलर सटही गर्न नमानेपछि १०० रुपैयाँ भारुको १६८ रुपैयाँ नेपाली तिर्नु पर्ने बाध्यता छ । डलर भने १२५ भन्दा बढीमा पनि कारोबार भइरहेको ती व्यापारीले बताए ।

नेपाल राष्ट्र बैंकका अनुसार बिहीबारका लागि एक अमेरिकी डलरको सटहीदर १२१ रूपैयाँ ७६ पैसा तोकेको छ भने भारतीय १०० रुपैयाँको सटही दर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।

बिरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उयाध्यक्ष अनिलकुमार अग्रवालले भारतसँग सीमा जोडिएका ठाउँहरूमा कालोबजारी मौलाएको बताए ।

‘सामान आयात गर्न राष्ट्र बैंकबाट माग अनुसारको मैसा पाइरहेका छैनौं, पैसा साट्न पनि समस्या छ, राष्ट्र बैंकले सीमाना नजिकै सटही काउण्टर पनि राखेको छ,’ हामीले पनि एब सय भारु खरिद गर्न १६८ रुपैयाँसम्म तिरेको सुनेका छौं,’ उनले भने ।

उनले नेपालमा भारतीय रुपमा खुला गर्नु पर्ने उनको भनाइ छ । सीमा नाका, व्यापार र आवागमन खुला छ तर, भारतीय रुपैयाँ नेपालमा चल्दैन, ५०० र दुई हजारका भारतीय रुपैयाँ नेपालमा चल्ने बनाउनुपर्छ, यसले पर्यटकलाई पनि सजिलो हुन्छ, अवैध धन्दा पनि बढ्दैन, सरकारको राजश्व पनि बढ्छ,’ उनले भने ।

राष्ट्र बैंक भन्छ : हामीले सुनेका छौं, निगरानी गर्दैछौं

नेपाल राष्ट्र बैंकले पनि नोटको सटहीमा कालोबजारी भइरहेको सूचना आएको बताएको छ । नेपाल राष्ट्र बैंकका सह-प्रवक्ता नारायण पौडेलले भारतसँग जोडिएका सीमा नाकाहरूमा यस्तो कालोबजारी बढेको बताए ।

‘सीमा नाकामा प्रिमियम दिएर सटही गर्ने अभ्यास पहिले देखिएको हो तर, कतिमा सटही भइरहेको छ भन्ने विषय मुख्य हो, बोडरमा यस्तो काम नहोस् भनेर हामीले सीमा नाकामै नोट सटही काउण्टर पनि राखेका छौं, यसले पनि केही सहज भइरहेको छ,’ पोखरेलले भने ।

उनले नोट सटहीमा भइरहेको कालोबजारी नहोस् भन्नका लागि देशभरकै काउण्टरलाई माग अनुसारको नोट दिन पत्राचार भइरहेको उनले बताए । उनका अनुसार अहिले भारतीय करेन्सीको माग बढेको छ ।

‘नेपालीहरू ठगिनबाट बच्नका लागि हामी पहल गरिरहेका छौं, प्रहरीसँग पनि सम्पर्क गरेर यसको निगरानी भइरहेको छ, एक रुपैयाँसम्म प्रिमियम हो भने समस्या भएन तर, ५ रुपैयाँ चलेको छ भने त्यो समस्या हो,’ उनले थपे ।

नेपाली व्यवसायीले अवैधानिक रूपमा आयात गरेका वस्तुको भुक्तानीको लागि हुण्डी प्रयोग गर्दै आएका छन् । हुण्डीमा संलग्नहरूले अहिले चर्को प्रिमियम खाएर नोट सटही गरिरहेका छन् ।

One comment on "नोट सटही : १०० भारुको १६८ रुपैयाँ नेपाली !"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.