च्यासल-बालकुमारी क्षेत्रका कवाडी संकलन केन्द्रमा चल्यो डोजर, दुई मजदुर पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलले च्यासल पुलदेखि बालकुमारी पुल क्षेत्रसम्म अव्यवस्थित रूपमा सञ्चालनमा रहेका कवाडी संकलन केन्द्रहरू डोजर लगाएर हटाएको छ । महानगर प्रहरी बलका प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार ती केन्द्रहरू आवासीय क्षेत्रमा नियमविपरीत सञ्चालन भइरहेका थिए । पटक-पटक सूचना दिँदासमेत अटेर गरेपछि आज डोजरसहितको टोली परिचालन गरी केन्द्र हटाइएको उनले जानकारी दिए । डोजर प्रयोग गरी संरचना हटाउने क्रममा विरोधस्वरूप दुई मजदुरले ढुंगामुढा गरेको र त्यस क्रममा डोजरको सिसा समेत फुटेको अर्यालले बताए । उक्त घटनापछि ढुंगा प्रहार गर्ने दुई जनालाई नियन्त्रणमा लिइएको छ । कारबाहीका लागि महानगरपालिकाले दर्जनौं नगर प्रहरी र सुरक्षाकर्मी परिचालन गरेको थियो । महानगरपालिकाले आवासीय क्षेत्रलाई व्यवस्थित गर्न र अव्यवस्थित व्यापारिक गतिविधिमा नियन्त्रण गर्न निरन्तर अनुगमन र कारबाही जारी राख्ने जनाएको छ ।
एभरेष्ट अस्पताललाई फोहोर व्यवस्थापन नगरेको भन्दै महानगरले तिरायो ५० हजार जरिवाना
काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहर व्यवस्थापनमा लापरबाही गरेको भन्दै नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पताललाई ५० हजार रुपैयाँ जरिवाना तिर्न आदेश दिएको छ । महानगरको वातावरण व्यवस्थापन विभागले अस्पतालबाट हानीकारक फोहर उचित तरिकाले व्यवस्थापन नगरेको, पटक–पटकको सूचनालाई बेवास्ता गरेको भन्दै ‘काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत ऐन २०७७’ अनुसार जरिवाना गर्ने निर्णय गरेको हो । विभाग प्रमुख सरिता राईका अनुसार अस्पतालबाट निस्कने रासायनिक, औद्योगिक, स्वास्थ्यजन्य तथा अन्य जोखिमपूर्ण फोहर असावधानीपूर्वक व्यवस्थापन गरिएको भेटिएको थियो । ऐनको व्यवस्था अनुसार पहिलो पटक जथाभावी फोहर फाल्ने, राख्ने वा निष्कासन गरेमा ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना गर्न सकिन्छ । सोही अपराध दोहोरिएमा पहिलेको जरिवानाको दोब्बर गरी कानुनी प्रक्रिया अघि बढाउने र अस्पतालको इजाजतसमेत खारेज गर्न सकिने प्रावधान छ । काठमाडौं महानगरपालिकाले फोहर व्यवस्थापनमा संवेदनशीलता अपनाउन सबै अस्पताल र स्वास्थ्य संस्थाहरुलाई सचेत गराउँदै पटक–पटक अवज्ञा भएमा कडाभन्दा कडा कारबाही गरिने चेतावनी दिएको छ ।
उपप्रमुख सुनिता डंगोल विश्वव्यापी युवा नेताको मञ्चमा चयन, नेपालबाट एक्लै प्रतिनिधित्व
काठमाडौं । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल सन् २०२५ का लागि विश्व आर्थिक मञ्च अन्तर्गत विश्वव्यापी युवा नेताहरूको मञ्चमा चयन भएकी छन् । स्वीजरल्याण्डको जेनेभाबाट घोषित सूचीअनुसार दक्षिण एशियाबाट छानिएका ११ जनामध्ये नेपालबाट डंगोल एक्लो प्रतिनिधित्व हुन् । यसअघि उनी ग्लोबल शेपर्स काठमाडौं हवकी सक्रिय सदस्य पनि रहिसकेकी छन् । विश्वका ५० भन्दा बढी देशका ११६ जना युवा नेताहरू सहभागी रहेको यस मञ्चमा उपप्रमुख डंगोल सरकार क्षेत्रको प्रतिनिधिका रूपमा चयन भएकी हुन् । समूहमा शिक्षा, कला–संस्कृति, खेलकुद, व्यवसाय, नागरिक समाज, मिडिया र सामाजिक उद्यमशीलता क्षेत्रका युवा नेताहरू समावेश छन् । विश्व आर्थिक मञ्चको आधिकारिक वेबसाइटमा डंगोलको बारेमा भनिएको छ, 'उहाँ युवालाई प्रेरित गर्ने, र सांस्कृतिक पहिचानलाई आधुनिकतासँग जोड्ने राजनीतिज्ञ हुनुहुन्छ ।' चयनपछि प्रतिक्रिया दिँदै डंगोलले भनिन्, 'विश्वस्तरीय मञ्चमा प्रतिनिधित्व गर्न पाउनु गर्वको विषय हो । यो अवसरले थप जिम्मेवारी बोध गराएको छ । अन्तर्राष्ट्रियस्तरका नेताहरूसँग सहकार्य गर्दै युवालाई नेतृत्वमा प्रेरित गर्ने कार्यमा लाग्नेछु ।' विश्वव्यापी समस्या समाधानका लागि व्यवहारिक दृष्टिकोण र प्रविधिको प्रयोगमार्फत सकारात्मक परिवर्तन ल्याउने, नयाँ दृष्टिकोण तयार गर्ने उद्देश्यले यो नेतृत्व समूहको स्थापना गरिएको हो । सन् २००४ मा स्थापना भएको यो फोरममा हालसम्म १२० देशका १ हजार ४ सयभन्दा बढी सदस्यहरू सहभागी भइसकेका छन् ।