माफ गरिदेऊ अमिशा नानी

तिमीले केवल आफ्नो मन खोलेकी थियौ,  संविधानप्रदत्त अधिकार बोलेकी थियौ, तर बदलामा के पायौ ? गाली, दुर्वाच्य र हप्की ।  के चाहिँ सहनुपरेन तिम्ले ? दर्दनाक साइबर हिंसाको घाउ,   तुच्छ गाली, आक्षेप, लाञ्छना, बाआमासँग जोडिएका अश्रवणीय वृष्टि,  आफूले कहिल्यै कसैलाई नबोलेको क्षुद्र बोली आफ्नै लागि सुन्नुपरो, सहनुपरो । मलाई माफ गर नानी, मैले तिम्रा लागि केही गर्न सकिनँ, निर्मला पन्तसँग जोडेर तिमीलाई डर देखाउँदा पनि, निर्मलाको दर्दनाक घटनामाथि मजाक बनाउँदा पनि, आमा–बहिनीको गाली दिँदा पनि, चुत्थो शब्दका वृष्टि हुँदा पनि,   ‘बलात्कार त यसको पो हुनुपर्छ !’  भनेर खुलमखुल्ला भन्दा पनि, मैले केही गर्न सकिनँ, माफ गर नानी,  तिम्रो यो असह्य पीडामा, तिम्रो यो दादाले तिम्रो आँसु पुछ्न सकेन, तिम्रो अस्मितामाथि औंला उठाउने हातहरू रोक्न सकेन ।    यद्यपि म मौन बसेको छैन नानी, तिम्रो पक्षमा शब्दहरू उभ्याएकै हुँ मैले, तर ती शब्दहरूले केवल मलाई होइन, मेरो घरका कोठासम्म गालीको वृष्टि ल्याइदिए ।  हिजो महिला हिंसाको वकालत गर्नेहरू आज तिम्रो वेदनापूर्ण घाउलाई  ‘झोले हिंसा’भन्दै पीडालाई सस्तो बनाउँछन् !  हिजो निर्मला जस्ता पीडादायी, मर्माहित  घटनामा सडक तताउनेहरू, आज बलात्कारजस्तो क्रुर पीडालाई ‘झापडजस्तै हो’ भन्दै गिज्याउँछन् ! आज उनीहरू पीडा होइन मुद्दा रोज्छन्, शोभा पाठक मात्र देख्छन्, बलात्कारकै भाष्य फेर्छन् ! हिजो ‘बोल्न दे सरकार’ भन्नेहरू  आज ‘किन बोल्न दिने झोलेलाई’ भन्छन् ! हिजो गलत प्रवृत्तिको विरोध गर्नेहरू नै ‘तिमुरूले गरेथ्यो, अब हामीले किन नगर्ने’ भन्छन् ! मान्छे मर्दा आँसु झार्ने आँखाहरू  आज रङ्ग, ब्राण्ड र झण्डा हेरेर मात्र रुन्छन्, र निर्दयी हाँसोसहित भन्छन्– ‘ए, मान्छे भनेको त  झोले पो मरेको रैछ...’ ! आश्चर्य ! घोर आश्चर्य !! यो के हो ? मास हिप्नोटिजम् ? या मास रिफ्याक्टिब एरर् ? या बोर्डरलाइन पर्सनालिटी डिस्अर्डर ? सियर्ड साइकोसिस् ? या फ्यान्टिसिजम् ? मेसियानिजम् ? या स्प्लिटिङ?/बाइनरी थिङ्किग ?  हो, सोच सबैको एउटै कहाँ हुन्छ र ! तर फरक सोचको सजाय यतिसम्म कठोर किन हुन्छ नानी ? गन्तव्य एकै भएता  पनि बाटो फरक हुन सक्छन्, तर बाटो फरक हुँदैमा  किन यति बिघ्न घृणाको आगो सल्किन्छ नानी ? किन आवाजको मूल्य र नारीको अस्मिता पनि रङ्ग र झण्डाले नापिन्छ नानी ? भैगो नानी, अब कसैलाई गाली नगरौं, यो अन्धकारमा हामी प्रेमको दियो बालौं मसँग सत्ता छैन, शक्ति छैन, पद र पैसा छैन, तर बहिनीहरूका लागि लड्ने दादासँग एउटा अटल साधना छ,  जुन कहिल्यै पछि हट्ने छैन ।  फेरि कुनै नेपाली चेलीले यस्तो साइबर नर्क भोग्नु नपरोस्, नेपाली नारीको साहस कहिल्यै कम नहोस् ।  माफ गरिदेऊ अमिशा नानी, तिम्रो दादाले तिम्रो लागि  केही गर्न सकेन, मलाई माफ गर ....  

कृपया स्वकीय सचिवलाई गाली नगरौं

कृपया स्वकीय सचिव आदर्श श्रेष्ठलाई गाली नगरौं, उनको केही गल्ती छैन । हो, उनी पहिल्यैदेखि नै विवादित प्राणी हुन्, कालो नियत र अवसरवादीका खानी हुन्, प्रमको स्वकीय सचिव भएसँगै श्रीमती, साली र आफन्तलाई  सचिवालयमा नियुक्त पनि गरेकै हुन्, हो, उनी प्रधानन्यायाधीश कार्कीको सचिवालयमा करारका नासु थिए, पेशी मिलाउने, मुद्दा दायाँबायँमा उनी नै जगन्नाथ थिए, हो, समाज कल्याण परिषदमा विवादित मनोज भट्टलाई पुन:नियुक्ति दिलाउने, त्यति मात्र होइन, लुम्बिनी विकास कोष, नेपाल वायु सेवा निगमलगायत विभिन्न महत्त्वपूर्ण निकायमा नियुक्त गराई विवाद चुलाउने, सुशासनको अनादर गर्ने आदर्श उनी नै हुन्, तर, कृपया पूर्वस्वकीय सचिव आदर्शलाई गाली नगरौं, उनको केही दोष छैन । नेपालको पहिलो प्रधानमन्त्री, प्रधानन्यायाधीश भएर पनि मलाई जिन्दगीमा के पो चाहिएको छ र  भन्दै  आदर्शवादी गफ गर्दै नातावाद, कृपावाद, फाइदावादमा नियतवश पस्ने, एउटा बिचौलिया करार नासुलाई सर्वेसर्वा ठान्ने, स्वकीयको विरोध गर्दा उल्टै सचिवलायबाट हटाउने, उहीलाई नै संरक्षण कोषको ५ वर्षे अध्यक्ष बनाउने, सबै मन्त्रीलाई सांसद बनाउने, छुटेकालाई राष्ट्रियसभा पठाउने, प्रश्न उठाए आदर्शको बचाव गरिरहने, जेनजीले विरोध गर्दा पनि आफ्नो चट्टानरुपी निर्णयबाट पछि नहट्ने, जेनजीकै प्रधानमन्त्री भएर जेनजीकै कुरा काट्ने ? हो रहेछ, सुमना श्रेष्ठले भने झैं, अरूले गर्दा नातावाद, कृपावाद, नेपोबेबी, भागबन्डा आमा हजुरले गर्दा चाहिँ योगदानको कदर, जिम्मेवारी बाँडफाँड, जेनजी छोराछोरीको रगतले रङ्गिएको त्यो कुर्सी समाई,  अबोध सपनाहरू कुल्चिँदै उल्टै बाटो समाई, जेन्जी मनले मागेका उज्याला सबै अँध्यारोमा बदली, उदारो राष्ट्रपतिको लोभमा,  तिमीले आमा शब्दकै गर्यौ गहिरो अपमान, निर्दयी। भैगो, हाम्री सुशीला आमालाई पनि केही नभनौं, तर एउटा बिन्ती छ हजुर,  कृपया पूर्वस्वकीय आदर्शलाई गाली नगरौं, उनको केही गल्ती छैन, उनको केही दोष छैन ।    

‘विकास नायक २०८२’ को खोजी

विकास मिडियाद्वारा प्रकाशित Bikashnews.com र देशविकास पत्रिकाले विगतमा झैं यस वर्ष पनि विकास नायकको खोजी गर्ने, उनीहरूले गरेको कार्यहरूको रिपोर्ट बनाउने, विकासन्युज (डिजिटल पत्रिका) र देशविकास म्यागेजिनमा प्रकाशन गर्ने तयारीमा रहेका छौं । यस वर्षदेखि विकास नायकहरुलाई सम्मानसमेत गर्ने तयारी भइरहेको छ ।  विकास नायक मनोनयन फारम भर्न यहाँ क्लिक गर्नुहोस् । देशविकासका लागि बहुआयामिक सूचकाङ्क हुन्छन् । पर्याप्त अवसरसहित उच्चस्तरकोे आम्दानी र गुणस्तरीय जीवनशैली आधुनिक विकासको प्रमुख सूचक हुन् । त्यसको लागि लगानी वृद्धि र उच्चदरको आर्थिक वृद्धि पहिलो आधार हो । प्रभावकारी नीति निर्माण, प्रशासनिक सुधार, विश्वासिलो सुरक्षा तथा न्याय प्रणालीको विकास राज्यस्तरबाट अनिवार्य हुनैपर्छ । आधुनिक शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवा हरेक मानिसको लागि गाँस, बास र कपास जत्तिकै आधारभूत आवश्यकता हुन् । नवीन प्रविधिको विकास र प्रयोगले सबै मानिसको जीवनशैली सरल बन्दै गएको छ । अवसरहरू सिर्जना गर्नका लागि पूर्वाधार निर्माण, उद्योग, व्यापार, कृषि, पर्यटन, यातायात तथा विविध सेवा क्षेत्रमा लगानी वृद्धि हुनैपर्छ । बैंकिङ, बीमा, पुँजीबजार लगायत वित्तीय सेवाको क्षेत्रले अर्थतन्त्रमा रक्तसञ्चारको काम गरिरहेको छ । खेलकुद, कला, संस्कृति र समाजसेवाका कार्यले समाजलाई सुन्दर र सन्तुष्ट बनाउन मद्दत गर्छ ।   हरेक क्षेत्रमा उल्लेखनीय र दीर्घकालीन विकासमा उल्लेख्य योगदान गर्ने व्यक्ति (प्राकृतिक व्यक्ति तथा संस्था) नै विकास नायक हुन् । विकास नायकहरूले नै हो देश समृद्ध बनाउने । देश विकासको कार्य निरन्तर चलिरहन्छ । समाजमा विकास नायकको जन्म पनि भइरहन्छ । यही मान्यतामा आधारित रहेर विकास मिडियाले हरेक वर्ष १० विकास नायकको खोजी गर्ने र उनीहरूले गरेका अनुकरणीय कार्य रिपोर्टिङि गर्ने, देशविकास पत्रिका र विकासन्युज अनलाइनमा प्रकाशित गर्ने कार्य गर्दै आएको छ । हामी यस वर्षदेखि विकास नायकहरूलाई सम्मान कार्यक्रमको समेत तयारीमा रहेका छौं ।  जसले देश विकासमा साहसिक काम गरेको छ, उदाहरणीय काम गरेको छ र अरुलाई उत्प्रेरित गरेको छ–उसको खोजी गर्नु र कुनै एक स्थानमा भएको अनुकरणीय कार्यको सन्देश समाजका अन्य स्थानका समूदायसम्म पुर्याउनु, सफलताका कार्याअनुभव अरूलाई पनि सुनाउनु र मानिसहरूमा सकारात्मक सन्देशसहित उत्प्रेरणा जगाउनु यस अभियानको लक्ष्य हो ।  तपाईंको सिफारिस, तपाईंले दिएको सूचना, सम्बद्ध स्रोतहरूबाट प्राप्त सूचनाहरू, हाम्रा सहकर्मीहरूले संकलन गरेको सूचनाहरूको आधारमा हामी सम्भावित पात्रहरूको सूची बनाउँछौं । उनीहरूले गरेको कार्यले अर्थतन्त्र र समाजमा परेको प्रभाव, त्यसमा अपनाइएको नवप्रवर्तन, सहभागिता, समावेशीता, पारदर्शिता, नैतिकता, त्यस कार्यको स्थायित्व र त्यसले दिने प्रेरणादायी सन्देशलगायत मानकका आधारमा छनौट समितिले लिएको निर्णयका आधारमा हामी आन्तरिक रूपमा फरक–फरक विधाबाट १० विकास नायक सूची बनाउँछौं । उनीहरूको काम र प्रभावबारे रिपोर्ट बनाउँछौं, प्रकाशित गर्छौं । प्रबुद्ध वर्गको उपस्थितिमा विकास नायक घोषणा गर्छौ र सम्मान गर्दछौं ।  विकास नायक घोषणा र सम्मान विकास मिडियाको वार्षिक उत्सवका दिन अर्थात् जनवरी पहिलो आइतबार अर्थात् २०८२ पुस २० गते गरिनेछ । आउनूहोस्, विकास नायक छनौटमा सहभागी हुनूहोस् । मनोनयन फारम २०८२ मंसिर १८ गतेसम्म भरिसक्नुपर्नेछ । (मंसिर ८ गते अपडेट गरिएको-सम्पादक) यो पनि पढ्नुहोस् ‘विकास नायक’ मनोनयन समय थप्ने निर्णायक समितिको निर्णय सिधा सम्पर्क: [email protected], whatsapp 9801130454 विकास नायक श्रृङ्खला