जनमतसँग डराएको काँग्रेस सस्थापन: कायरताले रसातलतर्फ धकेलिँदै पार्टी
नेपाली कांग्रेसको संस्थापन पक्ष आज गम्भीर राजनीतिक संकटको घेरामा उभिएको छ । यो संकट केवल सत्ता, पद वा गुटको होइन, जनमतको हो, पार्टीभित्रको पनि र पार्टी बाहिरको पनि । समयक्रममा नेतृत्वको कमजोरीका कारणले कांग्रेसले जनताको भरोसा गुमाउँदै गएको आरोप नयाँ होइन । अल्पमतमा परेको नेतृत्वले पार्टी हाँक्ने प्रयास गर्दा पछिल्ला घटनाक्रमले त्यो आरोपलाई अझ पुष्टि गरिरहेका छन् । विशेषगरी पार्टीभित्रै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशनबाट नेतृत्व भाग्नु कुनै रणनीतिक चातुर्य होइन, बरु यो त कायरताको उदाहरण हो । लोकतान्त्रिक पार्टीको सबैभन्दा ठूलो शक्ति भनेकै आन्तरिक लोकतन्त्र हो । तर विडम्बना लोकतन्त्रको झण्डा बोकेर हिँड्ने कांग्रेस नेतृत्व आफै लोकतान्त्रिक अभ्यासबाट डराइरहेको देखिन्छ । महाधिवेशन प्रतिनिधिहरू पार्टीको सर्वोच्च निकायका प्रतिनिधि हुन् । यस्तो अवस्थामा सार्वभौम महाधिवेशन प्रतिनिधिहरूले बहुमतका साथ विशेष महाधिवेशनको माग गर्नु सामान्य विषय होइन । त्यो माग पार्टीभित्र बढ्दो असन्तुष्टि, नेतृत्वप्रति घट्दो विश्वास र परिवर्तनको तीव्र चाहनाको संकेत हो । तर संस्थापन पक्षले यो आवाज सुन्नुको सट्टा बेवास्ता गर्ने बाटो रोजिरहेको छ । जुन कांग्रेसको दिर्घकालीन स्वास्थ्यका लागि पक्कै हितकर हुँदैन। अहिले हाम्रो नेतृत्वले पार्टीभित्रको जनमत मात्र होइन, पार्टी बाहिरको सन्देश पनि गुमाइरहेको छ । आम मतदाताले कांग्रेसलाई प्रश्न गरिरहेका छन् । उनीहरूको प्रश्न छ– आफ्नै पार्टीभित्र लोकतान्त्रिक विधिसँग भाग्ने र लोकतन्त्र लागू गर्न नसक्ने नेतृत्वले देशको लोकतन्त्र कसरी बलियो बनाउँछ ? यही प्रश्नको उत्तर दिन कांग्रेस संस्थापन असफल हुँदै आएको छ । यसले कांग्रेसको परम्परागत मतदाता आधार निरन्तर खुम्चाउने निश्चित छ र प्रतिस्पर्धी राजनीतिक शक्तिहरू त्यसको फाइदा उठाउने छन् । अझ चिन्ताजनक कुरा के छ भने अल्पमतमा परिसकेको नेतृत्वले निर्वाचन नजिकिदै गर्दा टिकट बाँडफाँडलाई आफ्नो शक्ति जोगाउने हतियार बनाउँदैछ । लोकतान्त्रिक प्रक्रियाबाट वैधता लिन नसकेको नेतृत्वले टिकटको लोभ देखाएर गुट सन्तुलन मिलाउने प्रयास गर्नु पार्टीका लागि घातक सावित हुन सक्छ । टिकट योग्यता, योगदान र लोकप्रियताका आधारमा होइन, निष्ठा र चाकरीका आधारमा बाँडिँदा पार्टी संगठन कमजोर मात्र होइन, भित्री रूपमा विखण्डित हुन्छ । इतिहास साक्षी छ– कांग्रेस जबजब आन्तरिक विवाद र गुटगत स्वार्थमा फस्छ, तबतब उसले राष्ट्रिय राजनीतिमा ठूलो मूल्य चुकाउन बाध्य हुन्छ । पार्टी कमजोर हुँदा देश र लोकतन्त्रले पनि ठूलो मूल्य चुकाउनु परेको विगत धेरै टाढा छैन । यदि ०५९ मा कांग्रेस विभाजित नभएको भए देश अहिले अर्कै बाटोमा हुनेथियो । यसवाट हामीले कहिले शिक्षा लिने ? अहिलेको अवस्था पनि त्यसैको पुनरावृत्ति हो । नेतृत्वले समयमै आत्मसमीक्षा नगर्ने, आलोचनालाई शत्रुता ठान्ने र परिवर्तनको मागलाई षड्यन्त्र ठान्ने प्रवृत्तिले कांग्रेसलाई रसातलतर्फ धकेलिरहेको छ । यो प्रवृत्ति जारी रहेमा आगामी निर्वाचनमा कांग्रेसको अवस्था झन् कमजोर हुने संकेतहरू देखिन थालेका छन् । विशेष महाधिवेशनको माग कुनै व्यक्ति विशेष विरुद्ध लक्षित अभियान होइन । यो पार्टी संरचना, नेतृत्व शैली र राजनीतिक दिशामाथिको प्रश्न हो । संस्थापन पक्षले यसलाई सत्ता खोस्ने षडयन्त्रका रूपमा व्याख्या गर्नु आफ्नै कमजोरी लुकाउने प्रयास मात्र हो । यदि नेतृत्व साँच्चै बलियो, लोकप्रिय र जनआधारित हुन्थ्यो भने महाधिवेशनसँग डराउनुपर्ने कुनै कारण थिएन । खुला प्रतिस्पर्धाबाट भाग्नु भनेको आफै आफ्नो असफलता स्वीकार गर्नु सरह हो । आज कांग्रेसलाई चाहिएको अनुहार फेरबदल मात्र होइन, सोच र सँस्कारको परिवर्तन हो । पार्टीलाई चुनावी मेसिनमा सीमित गर्ने होइन, वैचारिक र संगठनात्मक रूपमा पुनर्जीवित गर्ने साहसिक कदम आवश्यक छ । त्यसको सुरुवात विशेष महाधिवेशनबाट हुन सक्छ । जहाँ खुला बहस, आलोचना र नेतृत्वको पुनःपरीक्षण हुन्छ । तर सस्थापन पक्षले यो अवसर गुमाउँदैछ, जसको दीर्घकालीन असर पार्टीले नै भोग्नुपर्नेछ । पार्टी रसातलमा पुग्दैछ भन्ने चेतावनी अतिरञ्जना होइन, यो यथार्थ हो । जनताले विकल्प खोज्न थालिसकेका छन् । युवापुस्ता कांग्रेसप्रति आकर्षित हुन सकेको छैन । संगठन निष्क्रिय छ, कार्यकर्ता निराश छन् र नेतृत्व आत्मसन्तुष्ट । यस्तो अवस्थामा टिकटको लोभ देखाएर केही समयका लागि समस्या टारिएला, तर दीर्घकालीन रूपमा पार्टीको अस्तित्व नै संकटमा पर्न सक्छ । अन्ततः प्रश्न नेतृत्वको नियत र साहसको हो । लोकतन्त्रको परीक्षा कठिन घडीमा हुन्छ । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको आवाजलाई सम्मान गर्दै विशेष महाधिवेशनतर्फ जानु कांग्रेसका लागि कमजोरी होइन, बलियोपनको प्रमाण हुन सक्छ । तर त्यसबाट भाग्ने संस्थापन पक्षको रवैयाले एउटा सन्देश दिन्छ त्यो हो कांग्रेसको वर्तमान नेतृत्व जनमतसँग डराइरहेको छ । यही डर र कायरताले पार्टीलाई बिस्तारै रसातलतर्फ लैजाँदैछ, जहाँबाट फर्कन निकै गाह्रो हुनेछ । (नेपाली कांग्रेसका केन्द्रीय सदस्य रसाइलीसँग गरिएको सम्वादको सम्पादित अंश)