केपी शर्मा ओली

बच्चा जन्मन डराउने प्रवृत्ति मानव अस्तित्वकै जोखिम

कुनै पनि देश हुनका लागि जनसङ्ख्या चाहिन्छ । जनसङ्ख्या बिना देश हुँदैन । पहिलो शर्त जनसङ्ख्या हो । जनसङ्ख्या भयो भने जनसङ्ख्याले देश बनाउँदो पनि रहेछ । कति वर्ष देश नभएको जनसङ्ख्याले देश बनाएको हामीले देखेका छौँ । इजरायलसँग देश थिएन । दोस्रो विश्वयुद्धको लगत्तैपछि इजरायल देश बन्यो । किनभने, त्यो बनाउने जनसङ्ख्या थियो । भूगोलले देश बनाउँदैन । भूगोल त जनसङ्ख्या र बसोबासभित्रको नियन्त्रणको क्षेत्र देश हुँदोरहेछ । त्यसो भएर जनसङ्ख्या सबैभन्दा महत्वपूर्ण कुरा हो । मैले अक्सर भन्ने गर्छु, यदि मानव जाति हुँदैनथ्यो भने यो पृथ्वी अर्थहीन हुन्थ्यो । यहाँको विकास कसले बुझिदिने, विकासको आवश्यकता किन पर्ने, जङ्गली जनावरलाई विकास हुनुले के फाइदा ? यहाँको सुन्दरताको अनुभूति कसले गर्दिने ? कति सुन्दर पृथ्वी, कस्तो प्रकृति, कस्तो प्राकृतिक छटा, कस्तो सृष्टि, कस्तो लय, कस्तो विनाश, कस्तो साइकल सृष्टिको, लयको र विनाशको ! यो सौर्यमण्डल पृथ्वी नभए के अर्थ हुन्थ्यो ? कसले थाहा पाउन्थ्यो, यो ब्रम्हाण्डको के अर्थ थियो ? यी तारा नक्षेत्रहरु र ग्रहहरु घुम्नुको के अर्थ थियो ? यिनको अस्तित्वको के अर्थ थियो ? त्यसलाई नै बुझ्ने मान्छे भएन भने अर्बौं र खर्बौं अझ धेरै खर्ब वर्षहरु कति वर्ष यो भनेको त एउटा परिकल्पित कुरा हो । यो परिकल्पना कसले गर्यो, समय कसले बाँड्यो, कसले समय सिर्जना गर्यो, कुन मान्छेको जन्म र कुन मान्छेको मृत्युलाई के आधार बनाएर अघि र पछि बनाइबनाइकन समय बाँडेर, यो सबै मान्छेको लिला हो । यही मान्छे भएन भने के काम भयो र ? जनसङ्ख्या छ र प्रकृति–सृष्टिको अर्थपूर्ण छ । मानिस छैन भने प्रकृति र सृष्टि अर्थपूर्ण छैन । धर्ती मात्रै हो, जहाँ मानिस छ । त्यसकारण यस धर्तीको सौर्यमण्डलमा मात्रै होइन कि विश्व ब्रम्हाण्डमा सबैभन्दा महत्वपूर्ण सौर्यमण्डल कुनै छ भने हाम्रै सौर्यमण्डल हो । ग्यालेक्सी कुनै छ भने हाम्रै ग्यालेक्सी हो । ग्रह कुनै छ भने हाम्रै ग्रह, यही पृथ्वी नै विश्वका सृष्टिमध्ये, नक्षेत्रका उपजहरुमध्ये, ब्रम्हाण्डका उपजहरुमध्ये यो ग्रह नै विश्वको सृष्टिको सर्वोत्कृष्ट हो । यो ग्रहमा सिर्जना भएका, यो ग्रहलाई यस गरिमामय स्थानमा पु¥याउने कामको वास्तवमा अर्थ नै मानव जातिको अस्तित्वसँग छ । तसर्थ, यदि मानव जाति नभए के काम ? तसर्थ, हामी मानव जातिको अस्तित्व, मानव जातिको सुख, समृद्धि, सुखपूर्ण अस्तित्व, सुखपूर्ण अस्तित्व भएन भने फेरि अस्तित्व लोप हुन्छ । त्यसकारण अस्तित्व रक्षाका लागि कतिपय जीवजन्तु किन खत्तम हुँदैछन् भने सुखपूर्ण छैन । मानव जातिको अस्तित्व अहिलेसम्म खतरामा छैन । तर मानव जातिका आनीबानी आदि कुराहरुले गर्दा अस्तित्व अलिकति खतरामा पर्ने सम्भावना छ । त्यसकारण यसपट्टि अब ध्यान दिनेबेला भयो । एजिङ पपुलेशनका कारणले दुनियाँलाई अलिक चिन्तित बनाउन थालेको छ । जनसाङ्ख्यिकी बनोट नकारात्मक दिशातर्फ फर्किनु भनेको राम्रो सङ्केत भएन । जनसङ्ख्या एकदमै बढेर बिस्फोटको एउटा समय थियो । हामी जनसङ्ख्या बिस्फोट भन्थ्यौँ । त्यसबेला परिवार नियोजन संस्थाहरु बने । रेडियो खोल्नेबित्तिकै परिवार नियोजन ! सन्तानहरुले डाँडाकाँडा ढाकुन् नभन भनेर कराउँथ्यो । कत्रो चिन्ता थियो, सन्तानहरुले डाँडाकाँडा ढाकोस् नभन भनेर । बुढाबूढीले आर्शिवाद दिँदा सन्तानले डाँडाकाँँडा ढाकुन् भनेर भन्नु हुन्थ्यो, रेडियो खोल्नै हुँदैनथ्यो, खोल्नेबित्तिकै सन्तानहरुले डाँडाकाँडा ढाकोस् नभन भनेर गीत गाउँथ्यो । दुनियाँमा जनसङ्ख्या एकदम तीव्र गतिका साथ बढिराखेको थियो । विकासले जनसङ्ख्याको बढ्दो ‘टेण्ड’लाई घट्दोतर्फ फर्कायो र कतिपय देशमा जनसङ्ख्या स्टेबल (स्थिर) छैन र माइनस (ऋणात्मक) तिर गएको छ । जहाँ बढी विकास छ, त्यहाँ ऋणात्मकतिर गएको छ अथवा विकासले जनसङ्ख्यालाई स्टेबल (स्थिर) राख्नुपर्दथ्यो तर स्थिर राख्न सकेन । जनसङ्ख्या मानवीय नियन्त्रणभन्दा कहिले बिस्फोटक दिशामा गइदिने, कहिले फेरि नकारात्मक दिशामा जाने प्रवृत्तिहरु देखा परे । विकास अनिवार्य छ । अवश्यमा भावी छ । विकास गर्नैपर्छ र हुनैपर्छ । विकास हुन्छ नै, अवश्य भावी छ । विकासको अर्थ जनसङ्ख्या हस हो भने इट्स भेरी डेन्जरस् । त्यसकारण यो चिन्ताको विषय पनि हो । मुख्य कुरा जनसङ्ख्याको विषय भनेको डेमोग्राफिक ब्यालेन्स हो । यो घट्दै गएर नजाओस् । यसका कारणहरु के छन् त ? विवाह ढिलो गर्नु हो की ? विकास र उन्नतिको आकाङ्क्षाले गर्दा सन्तानप्रति कर्तव्य बोध हुन नसकेको हो की ? अथवा मानवीय भाव, मातृत्वभाव, पितृत्वभावको न्यूनता आएको हो कि ? अर्थात् मानवीय भावको न्यूनता आएको हो की ? बच्चाहरुप्रतिको प्राकृतिक स्नेहमा न्यूनता आएको हो कि ? के भइराखेको हो ? यसका मनोवैज्ञानिक विश्लेषणहरु हुनु आवश्यक छ । मान्छे यति स्वार्थी भयो की आफ्नो भविष्यका लागि सन्ततिको वास्ता नगर्ने । अथवा जन्माउँदै नजन्माउने भएपछि धर्ती बाँझो हुने भयो, बाँझो भयो भने सबै फेरि गयो । त्यसले ब्रम्हाण्डको अर्थ छैन । पृथ्वीमा मात्रै मानव छ । मानव मात्रै श्रेष्ठ छ । प्रकृतिले सिर्जना गरेका सबैभन्दा श्रेष्ठतम् कुरामा के हो भन्दा मानव मस्तिष्क हो । त्यही मास्तिष्क भएको मानिस धर्तीमा भएन भने ! मानिसले गज्जब गरेको छ, कहाँ छ चन्द्रमा ताकेर जान्छ, बस्छ र फर्किएर आउँछ । आकास आकास नै दुई चार सय मान्छे बोकेर, कति कति टन भारी बोकेर आकाशमार्ग गरेर जान्छ । बादलभन्दा धेरै छिटो उड्छ । मान्छेले त उधुम गरेको छ । हामीलाई देख्दा सामान्य लाग्न थाल्यो तर यी सामान्य कुरा त होइनन् नी ! मान्छेले यही प्रगति गरेको छ । अनि त्यही मान्छे भएन भने ? त्यसकारण म सम्पूर्णलाई आग्रह गर्न चाहन्छु, हामी सचेत हुन जरुरी छ । मानिस जति मूल्यवान चिज अर्को छैन । यो हाम्रा लागि मात्रै होइन । यो सृष्टि सिर्जनाकै लागि मानव जति मूल्यवान् चिज अर्को छैन । प्लिज मान्छे मार्नेहरु मान्छे मार्न छोड, युद्ध गर्नेहरु युद्ध गर्न छोड, मान्छे मार्ने हतियार उत्पादन गर्नेहरु हतियार उत्पादन गर्न छोड । गोष्ठी जनसङ्ख्या डेमोग्राफिक इम्ब्यालेन्स भयो भनेर गर्दै गर्ने, उता हतियार बनाउँदै गर्ने, एकैपटक ‘मासडिस्ट्रक्शन’का हतियार बनाइदिने । यसबारेमा चिन्ता गर्दै गोष्ठी सेमिनार गर्दै गर्ने, खर्च पनि गर्ने । अर्को कुरा, मेरा पनि छोराछोरी छैनन् । सायद मैले समयमै बिहे नगरेर पनि होला । मैले छोराछोरी भएन भनेर जचाउनतिर लागिन । ध्यान दिइनँ तर हामी यति व्यस्त हुनु हुँदैन, जसले सन्तान वा उत्तराधिकारी जन्माउने काम नगरोस् । हामीलाई हरेक अफिसमा उत्तराधिकारी चाहिन्छ । एउटा सचिव जानेबित्तिकै अर्को सचिव तुरुन्तै नियुक्त गर्नुपर्छ । सचिव बढुवा हुने बित्तिकै फेरि सहसचिवलाई बढुवा गर्नुपर्छ । रिक्त हुनेबित्तिकै फेरि आह्वान गर्न लोकसेवा चाहिन्छ । उत्तराधिकारी हरेक ठाउँमा चाहिने, अनि घरमै उत्तराधिकारी छैन ! त्यसो भएर पहिलो कुरा मानवीय अस्तित्व र सृष्टिको सार्थकताका लागि हो । यो सानो कुरा होइन । सृष्टिको सार्थकताका लागि डेमोग्राफिक इस्यु सर्वाधिक महत्वको यसकारणले हो । यही धर्तीमा कतै जनसङ्ख्या धेरै छ, कतै कम छ भने यताको र उताको ल्याउँला । डिभी खोल्दै लाँदै गरेको हामीले त देखेकै हो नि । जमिन धेरै छ, मान्छेको आवश्यकता छ भने डिभी हालेर झिकाउन सकिहालिन्छ । तर, धर्तीमै डिभी हाल्दा पनि नपाइने भयो भने के गर्ने ? मान्छे छैन भने डिभी हाल्ने त कोही पनि हुँदैन । अनि के गर्ने ? त्यसकारण यसमा आत्मनिर्भर हुनुपर्यो । मैले केही सयम अघि युवाको एउटा कार्यक्रममा भनेको थिएँ, २० वर्षपछि बिहे गर्न सरकारले उमेर खोल्दिएको छ । भन्यो भने फेरि केहीले इस्यु बनाएर कुद्छन् । तर, हाम्रो तराईमा २० वर्षसम्म छोरी टिकाउनु भनेको साह्रै गाहे कुरा भइराखेको छ । अविवाहित हिसाबले टिकाउन धेरै गाह्रो भइराखेको छ । मैले युवाहरुलाई भनेको थिएँ कि सकेसम्म २० वर्षपछि तुरुन्तै बिहे गरिहाल । छोराछोरी तीन वटा बनाउ । ३० वर्षभित्र तीन वटा छोराछोरी बनाउ, अनि काममा लाग । ठूलो त हुर्किसक्छ नि कान्छो हुँदासम्म । कान्छी छोरी हुँदासम्म जेठी छोरी हुर्किसकेको हुन्छ । आजकाल के छ भने, बाबुआमालाई पैसा कमाउन थालेपछि आजकाल कोक्रामा सुताउने स्कुल छन् । बच्चाबच्चीलाई स्कुल हाल्दिने । कोक्रामा सुताउने स्कुल, बामे सराउने स्कुल, ओल्टाउने पल्टाउने स्कुल, धुलो खेलाउने स्कुल, प्याप्या बजाउने सबै खालका स्कुल छन् हेरविचार गर्नलाई । त्यतापट्टि धेरै चिन्ता गर्नु पर्दैन । तसर्थ, विभिन्न व्यावसायिक विविधताले पनि आजकल सजिलो बनाएको छ । यसमा पनि धेरै चिन्ता गर्नु परेन । देशलाई पुग्ने जनसङ्ख्या हुनु प¥यो । हामी कहाँ देशलाई पुग्ने जनसङ्ख्या छ । जनसङ्ख्याको व्यवस्थापन अझै हुन सकेको छैन । त्यसकारण हाम्रा युवाहरु के गीत गाउँछन् भने ४० कटेपछि रमाउला । महिलाहरु प्रजनन् क्षमता ४० कटेपछि अत्यन्तै न्यून हुन्छ वा प्रायः हुँदैन । अनि ४० कटेपछि रमाउला भनेर हुन्छ ? त्यसकारण २० वर्ष पुगेपछि बिहे गर र सन्तान जन्माउ । त्यसमा युवायुवतीहरुलाई प्रेरित गर्नुपर्छ, प्रोत्साहित गर्नुपर्छ । यो गम्भीर कुरा हो । जतिबेला प्रजनन् क्षमता बढी छ, त्यति बेला जन्माउनुपर्छ । पछि ढुक्कले काम पनि गर्न पाइन्छ, केटाकेटी पनि हुर्किहाल्छन् र पढ्छन्, आफ्नो काममा लाग्छन् । छोराछोरीको उन्नति प्रगति पनि राम्ररी देख्न पाइन्छ । नातिनातिना खेलाउने रहर पनि पूरा गर्न पाइन्छ, पनाति–पनातिनीले खेलाउने रहर पुर्याउन पाइन्छ । अब अलिकति ६०/७० वर्षभन्दा मुनिका मान्छेलाई नातिनातिनी खेलाउने भनेको रहर भनेको के हो, थाहा हुँदैन । नातिनातिनी खेलाउने, पनाति–पनातिनी खेलाउने संयुक्त परिवार प्रणाली छ, यो असाध्यै महत्वको व्यवस्था हाम्रा पूर्वजहरुले स्थापना गरेका छन् । परिवार भनेको एकल परिवार होइन । भालेपोथी र बच्चा चराको पनि हुन्छ नि । त्यो परिवार हुन्छ ? गाईको पनि एउटा बाछो हुन्छ, बाछी हुन्छ । त्यो परिवार हुन्छ ? हुँदैन । परिवार भनेको परिवारका रुपमा हुनुप¥यो । त्यो हाम्रो समाजमा हुन्छ । यसलाई हामीले कायम गर्नुपर्छ । पारिवारिक प्रणाली, मानवता, पारिवारिक सद्भाव, नाता सम्बन्ध, बसुधैब कुटुम्बकम् विश्व नै कुटुम्ब भनेको छ । कुटुम्बको कसैलाई केही मतलब नै छैन । आफैँआफैँ मै खाउँ, मै लाउ, सुखसयल वा मोज म गरुँ । आफ्नो स्वार्थका लागि श्रीमतीसँग सम्बन्धबिच्छेद गर्छ, कान्छी ल्याउनलाई जेठीसँग सम्बन्धबिच्छेद गर्छ, धुरुधुरु रुवाएर । त्यस्ता पनि यहाँ छन् नि । त्यो खालका तरिका छोड्नुपर्छ । मानवीय भावना, पारिवारिक भावना, पारिवारिक आत्मियता, छिमेक सम्बन्ध, छिमेकी–छिमेकीको बीचमा सुमधुर सम्बन्ध, समुदायमा सुमधुर सम्बन्ध हाम्रो तरिका यो हो । स्वार्थ मात्रै सिक्ने होइन, उन्नति गर मानवीय भावनाका साथ । मानवताका साथ उन्नति गर । प्रगति आफ्नो गर, सहयोग अरूलाई गर । यो भावना हामीमा हुनुपर्छ । हामीले हरेक स्वस्थ र सक्षम नागरिक तयार गर्नु छ । हाम्रो जनसाङ्ख्यिक प्रश्नको अर्को महत्वपूर्ण कुरा त्यो हो । एउटा एक्जिस्ट्यान्सको कुरा, दोस्रो स्वस्थ, सक्षम, देशभक्त, कर्मठ र सक्षम हुनुपर्छ । त्यसका लागि शारीरिक र मानसिक दुवै हिसाबले स्वस्थ हुनुपर्छ । अहिले मानिस शारीरिक हिसाबले पनि कम स्वस्थ छ । ‘फुड ह्याबिट’ले गर्दा स्वस्थ छैन । उपलब्ध खान त खानु पर्यो नि, जो उपलब्ध त, त्यो स्वस्थ छैन । समस्या त्यो छ । किनेर पनि स्वस्थ खान पाइँदैन । विषादीयुक्त चीज किनेर खानुपर्छ । विषादी किनेर खानुपर्ने बाध्यतामा हामी छौँ । यो बाध्यता कसरी हटाउने, डेमोग्राफिक प्रश्नको एउटा अर्को कुरा हो कि हामीले स्वस्थ जीवन रहनका लागि पेट भर्ने खाना होइन, स्वस्थ रहने खानाको प्रबन्ध गर्नुपर्छ । यो जनसङ्ख्या नीति, डेमोग्राफिक पोलिसीले इन्डिकेट गर्दिने र अरू सरोकारवाला मन्त्रालयले आ–आफ्ना काम गर्ने । समाज सचेत भएर यस्ता प्रयासहरुमा लाग्ने । अहिले समाज गम्भीर हुनुपर्ने ठाउँमा गम्भीर छैन । कति छिटो आवेशमा आउँछ, कति छिटो उत्तेजना आउँछ मान्छेलाई, छक्क पर्छु । के भएको फेरि ? हामी त एउटा सभ्रान्त पुर्खा र पुस्ताका सन्तान हौँ । हामीलाई त त्यो सभ्यता कता गयो गयो, अर्काको चरित्र हत्या गर्न मन लाग्छ, अरूलाई जथाभावी गालीगलौज गर्न मन लाग्छ, के भएको ? हाम्रो त विनयशीलता थियो, झुक्थ्यौँ, भेट्दा नमस्ते गर्दैथ्यौँ । आजकाल नमस्ते गर्नु भनेको ढाडै कुप्रिहाल्छ कि जस्तै गर्छन् । हात जोडियो भने छुट्दैन कि जस्तो डरले हात हामी जोड्न सक्दैनौँ । नक्कल गर्न सुगालाई छ महिना लाग्छ, हामीलाई एकै छिनमा, कोही भेट्याैँ भने हाई ! गर्छौं । एकपटक होटलमा गयो भने, बच्चाबच्चीहरुले हुक्का राखेको हुन्छ, एउटाले खाउँ न भन्छ, एकैछिनमा ख्वार्रख्वार्र पार्छ । बिग्रिन कति सजिलो र कति छिटो हुन्छ तर सप्रिन ! जिन्दगीभर राम्रो काम गर्नुस्, बल्ल राम्रो मान्छे हुनुहुन्छ । एक दिन बाटो बिराउनुस्, नराम्रो काम गर्नुस् खराब मान्छेमा तपाईंको चर्चा हुन्छ । त्यसकारण बिग्रिन सजिलो छ । सप्रिन जिन्दगीभरि अडानमा बस्नुपर्छ । आपूmलाई नियन्त्रण गर्नुपर्छ र आत्मनियन्त्रक हुनुपर्छ । हामी नेपालीले जिम्मेवार, आत्मनियन्त्रक जसले पहिले गलत विचार लिनबाट, गलत क्रियाकलाप गर्नबाट, गलत काम गर्नबाट जोगाउनु पर्यो र राम्रा विचार, राम्रा अभिव्यक्ति र राम्रा कामतर्फ हामीलाई लगाउनु पर्यो । अहिले त मान्छे कस्तो भयोभन्दा राम्रो केही भन्नै हुँदैन । राम्रो देख्यो भने कच्याककुचुक पार्न मन लाग्ने । कति राम्रो गुलाफको भन्यो भने, ह्याँ के राम्रो त्यो, यस्तो पनि हुन्छ भनेर फाल्छन् । राम्रो भनेको सुन्नै नहुने । एउटा मात्रै राम्रो भनेको सुन्न पर्ने, हजुर राम्रो हुनुहुन्छ भन्यो भने, अँ, ठीक छ । अरू केही राम्रो भन्नै नहुने । मान्छेमा त्यो प्रवृत्ति, कस्तो सङ्कीर्णता मान्छेमा आइराखेको छ ? एक ढङ्गले भन्ने हो भने समाजमा अस्वस्थता शारीरिक, मानसिक यो खानपिनले गरेको हो कि, यो विषादी किनेर खाएर हो कि, के भएको मान्छे, विषाक्त मनस्थिति, विषाक्त विचार, विषाक्त अभिव्यक्ति, विषाक्त क्रियाकलाप ? त्यस्तो खालको प्रवृत्ति मान्छेहरुमा छ । त्यसकारण हामीले स्वस्थ, विषादी र विषाक्तताबाट मुक्त त्यस्तो मानव र नागरिक, जो देश बनाउने कुरापट्टि लाग्नुपर्छ । देश बनाउका लागि आफू आफू बने पुग्छ । सबै मान्छे बन्दिए भने सरकारले बाटा बनाए पुग्थ्यो । आफू आफू मान्छे बन्यो भने सरकारले धेरै केही गर्नु पर्दैन नि । अब यहाँ कस्तो भने प्रशस्त धन छ, तर धन भए पनि पढ्ने बेलामा छात्रवृत्ति चाहिन्छ । सरकारको काम के हो, निःशुल्क शिक्षा चाहिँदैन भन्छ । सरकारलाई कर तिर्नु न भन्दा भरसक यो हिसाब मिलाउँ न है भनेर त्यहाँ कर्मचारीहरुलाई भन्छ । ए सिए साप तपाईंलाई यहाँ हिसाब जाँच्न मात्रै होइन, हिसाब मिलाउनुस्, तपाईंलाई यसो दसैँ आउन लागेको छ भन्छ । सिएलाई पनि मिलाएर यताउति गरेर गर्छ । ठेकदार कहाँ जाँचकी आउँछ, उसलाई मिलाएर जस्तो गुणस्तरको भए पनि पास गराउने प्रवृत्ति छ । यस्ता कुराबाट जोगिनुपर्छ । देश बनाउने भनेको सजिलो होइन । असल मान्छेहरुबाट मात्रै देश बन्न सक्छ । त्यसकारण एउटा जनसाङ्ख्यिकी असन्तुलनतर्फको यात्रा छ । अहिले जति जनसङ्ख्या वृद्धिदर चाहिन्छ, त्यो नभएर त्यसको नकारात्मक प्रवृत्तितिर हामी छौँ । अहिले हामी १.९ प्रतिशतमा छौँ तर दुईभन्दा बढी चाहिन्छ । दुईभन्दा बढी चाहिने ठाउँमा त्योभन्दा कमको वृद्धिदर भनेको यो अलिकति डरलाग्दो कुरा हो, सानोतिनो असरले माइनसमा स्वाट्ठै जान सक्छ । अब ‘डेमोग्राफिक डिभिडेन्ट’ भएन भने वा डेमोग्राफिक सन्तुलन भएन भने त्यसले दुष्परिणाम ल्याउँछ । त्यस्तो डेमोग्राफिक सन्तुलन स्वस्थ, तन्दुरुस्त, सक्षम व्यक्तिहरुको समाज हामीले निर्माण गर्नुपर्छ । यसका निम्ति हाम्रो शिक्षा, हाम्रो स्वास्थ्य, हाम्रो विकास, हाम्रो भोजन, हाम्रा काम क्रियाकलाप आदि कुराहरु स्वस्थकर हुनु पर्दछ । मान्छेले काम गरिरहँदा आम्दानी मात्रै हेर्ने होइन, स्वास्थ्य हेरिनुपर्छ । स्वास्थ्यबिनाको आम्दानी के गर्ने ? त्यसकारण आम्दानी हेर्दा स्वास्थ्य प्राथमिकतामा राखेर हेरिनुपर्छ । उद्यमीहरुले, व्यवसायीहरुले मजदूरलाई काममा लगाउँदा उहिलेको जस्तो होइन, अब मजदूरको स्वास्थ्यलाई मध्यनजरमा राखेर काम लगाउनुपर्छ । अस्वस्थ वातावरणमा होइन, स्वस्थ वातावरणमा, प्रसन्न चित्त हुनाका लागि सम्मानजनक ढङ्गले काम लगाउने, पुग्ने खालको तलबको प्रबन्ध, सामाजिक जीवन चल्नुप¥यो, त्यो चल्ने गरीको तलब वा आम्दानी, आम्दानी र खर्चका बीचमा हरेक नागरिकको बचतको स्थिति, यी कुराहरुको सन्तुलनबाट जनसाङ्ख्यिक सन्तुलन ल्याउन सकिन्छ र उपयोगी जनसाङ्ख्यिकी स्थिति देशमा मौजुदा हुन्छ । यी चीजहरु हामीले गर्नुपर्नेछ । हामी विश्व मानव जातिका लागि योगदान गर्न सक्छौँ । हाम्रा शान्तिवादी पक्ष, मानवतावादी पक्ष, मानव पक्ष विचार र व्यवहारहरुले क्रियाकलापहरुले विश्व मानव समुदायमा सकारात्मक योगदान पु¥याउन सक्छौँ । आज पुर्याइराखेका छौँ तर कसरी भन्दा युद्ध भइराखेका ठाउँमा नेपाल संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनार्थ जान्छ, त्यसमा सुरक्षाकर्मी (फोर्स) उपलब्ध गराउने देशमा नेपाल पहिलो छ । नेपालले मान्छे बचाउने कुरामा योगदान गरेको छ । मान्छेबाट मान्छे बचाउने कुरामा, त्यहीँका दुईपक्षीय मान्छेहरु लडेर, त्यहीँको समाजलाई बर्बाद पार्ने कुरालाई जोगाउने कुरामा हामी लाग्नु परिराखेको छ । योभन्दा सिर्जनशील कुरामा लाग्न पाए कति राम्रो हुन्थ्यो ! हाम्रो त्यो जनसङ्ख्या, हामी त्यहाँ जान जरुरी छ किनभने हामी असंलग्न राष्ट्रका मान्छे हौँ, हामी तटस्थ छौँ र त्यो हामी कायम गर्छौं । हाम्रो शत्रु भनेपछि लड्न पनि सक्ने र तटस्थ बस्ने, नलड्ने भनेपछि नलड्न पनि सक्ने, तटस्थ भएर बस्न पनि सक्ने, निष्पक्ष भूमिका खेल्न पनि सक्नेछौँ । त्यसैकारण त हामी सानो देश भएर पनि विश्वसनीय छौँ । सानो देश भए पनि हामी विश्वसनीय छौँ । सानो सेना छ, हाम्रो सानो सुरक्षा शक्ति छ तर पनि हामी किन ‘पिसकिपिङ फोर्स’मा नम्बर एक छौँ भन्दा हाम्रो निष्पक्षता र हामी अप्ठ्यारा ठाउँहरुमा गएर पनि हाम्रो कर्तव्य पूरा गर्छौं । तर, हामीले त्यस कुरालाई उत्पादनको काममा लगाउन पाएको भए, ती मान्छेलाई हामीले कृतिम बौद्धिकता (एआई) तिर लगाउन पाएको भए, विज्ञान र प्रविधिको प्रयोग गरेर विकासका काममा त्यो जनसङ्ख्या त्यतापट्टि लगाउन पाएको भए हामीलाई पनि फाइदा हुन्थ्यो, विश्वलाई पनि फाइदा हुन्थ्यो । तर, आजको वर्तमान वास्तविकता के हो भने त्यसरी सम्पूर्ण मानव जाति मानवीय भावनाले एकअर्कामा स्नेह र सद्भावका साथ यस विश्वलाई सुन्दर बनाउने र यसको भविष्य सुरक्षा गर्ने कुरामा लागिराखेको छैन, लाग्न सकिराखेको छैन । विश्वका शक्ति राष्ट्रहरुले यो सोच्नुपर्ने विषय हो । वास्तवमा ‘सुप्रिमेसी, ‘डोमिनेसन’ र ‘कन्ट्रोल’ अहङ्कारका उपज हुन्, स्वार्थका उपज हुन् । मित्रता, बन्धुत्व, सहअस्तित्व, सहकार्य यी कुरा शालीनता, मानवता र विनम्रताका पक्षहरु हुन् । यी कुरा शान्तिका पक्षहरु हुन् । नेपाल सदैव शान्तिको पक्षमा छ । यस्तो देशमा हामी ‘डेमोग्राफिक इस्यू’मा ‘कन्सस्’ हुनुपर्दछ कि हामी कस्तो र कुन साइजको जनसङ्ख्या, कमसेकम जनसङ्ख्या वृद्धिदर पहिलो कुरा ऋणात्मकतातिर जान दिनु हुँदैन । दोस्रो, स्वस्थ, दक्ष, सक्रिय, इमान्दार, निष्ठावान् जनशक्ति, जसभित्र बसुधैब कुटुम्बको भावना छ, मानवतावादी भावना छ, त्यस्तो जनशक्ति, कर्मठ जनशक्ति तयार गर्न सकियोस् । यसले योजनाबद्ध ढङ्गले आफ्नो देश र विश्वको सम्बन्धमा विचार गर्न र काम गर्न सकोस् । मन्त्रालयले मेहनत गरेर जनसङ्ख्या नीति ल्याएको छ । यसलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । यसमा कमीहरु छँदै छैनन्, हुँदै हुँदैनन् भन्न सकिँदैन, कमीहरु भएदेखि हामी ग्रहणशील छौँ । जोसुकै साथीहरुले पनि यसमा भएका कमीकमजोरीहरु र सुधार गर्नुपर्ने र विकास गर्नुपर्ने कुराहरु देखाइदिन सक्नुहुन्छ । ती कुराहरु खास गरेर मन्त्रालयले ग्रहण गर्नेछ र त्यसलाई राष्ट्रिय नीतिको परिमार्जनका रुपमा फेरि परिमार्जित नीतिका रुपमा अगाडि बढाइनेछ । यो नीति ग्रहण गरौँ र आलोचनात्मक चेत भन्छन्, त्यो होइन, विश्लेषणात्मक चेत हामीलाई चाहिन्छ । आलोचनात्मक चेतले देश आक्रान्त भइसक्यो । जेमा पनि आलोचना । जेमा पनि आलोचना होइन, रचनात्मक सुझाव र टिप्पणी हुनुपर्छ । विश्लेषण गरेपछि राम्रो र नराम्रो छुट्याउन सकिन्छ र यहाँनिर कमजोर भयो भनेर देखाउन सकिन्छ । त्यो खालको प्रवृत्ति विकास गर्न जरुरी छ । त्यो कुरा आओस् भन्ने म आग्रह गर्न चाहन्छु । यस कार्यक्रमको आयोजनाका लागि स्वास्थ्य मन्त्रालयलाई म विशेष धन्यवाद भन्न चाहन्छु । यी कुराहरुको अर्थ हो, तपाईंहरु सबै स्वस्थ रहनुहोस्, प्रसन्न चित्त रहनुहोस् । प्रसन्न चित्त रहन सकेन भने ‘डिप्रेसन’ भनेको त्यही हो । चित्त अर्कासँग हुँदैन, आफैँसँग हुन्छ । अरू बनाउने कुरा छोड्दिनुस्, आफैँसँग भएको चित्त पनि ठीक ठाउँमा राख्न सक्नु हुन्न भने के ठीक राख्नु हुन्छ त ? श्रीमान्को असन्तुष्टि होला, श्रीमतीको असन्तुष्टि होला, छोराछोरीको असन्तुष्टि होला, बाबुआमाको असन्तुष्टि कसरी सम्बोधन हुन्छ, आफ्नै चित्त ठेगानमा छैन भने ? त्यसकारण ‘बी ह्याप्पी’ (प्रसन्न हुनुस्) । प्रसन्न चित्त रहौँ, सबैलाई प्रसन्न चित्तका साथ स्वस्थ रहन आग्रह गर्दछु । आज विश्व जनसङ्ख्या दिवस, डेमोग्राफिक इस्यूमा विशेष ध्यान दिऊँ । हाम्रो युवा पुस्तालाई जनसङ्ख्याप्रति सजग रहन सचेत गराऔँ । (प्रधानमन्त्री केपी शर्मा ओलीले २७ असार, २०८२ मा जनसङ्ख्या नीति सार्वजनिकीकरण कार्यक्रममा व्यक्त गरेको विचारका आधारमा तयार गरिएको)

आरामको जिन्दगी होइन, स्वस्थ, सुखी र मज्जाको जिन्दगी बाँच्नुस्

आज जुन २१ तारिख अथवा वर्षभरिको सबैभन्दा लामो दिन । आज योग प्रारम्भ गरिएको दिन । हजारौँ वर्षअघि, धेरै वर्षअघि, धेरै हजार वर्षअघि शिवले आफ्ना सप्तऋषि भनिने शिष्यहरूलाई अगाडि राखेर पहिलो योग शिक्षा प्रदान गर्नुभएको दिन, उत्तरायनबाट सूर्य दक्षिणयान लाग्ने दिन योग प्रारम्भ भएको शास्त्र अनुसार मानिन्छ । त्यसै दिनलाई संयुक्त राष्ट्रसङ्घले विश्व योग दिवसका रूपमा मानेको छ । यस दिवसको सन्दर्भमा म सबैमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।  अर्थात्, योग मानव जातिको कल्याणका लागि, मानिसको शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य र मानिसको मानवीय प्रवृत्ति अर्थात् सामाजिकपन, सामाजिक प्रवृत्तिको विकास र त्यसको कार्यान्वयनका लागि योग सिर्जना र विकास हुँदै आएको छ ।  बिचमा योग अलिकति लुप्त भयो । आज योग अलिकति भड्किन पनि खोजेको छ । योगबाट योगातिर जान खोजेको छ । योगा होइन, योग हो । योगाको कुनै अर्थ हुँदैन, योगको अर्थ हुन्छ । दीपक नाम मैलेभन्दा बत्ती हुन्छ, ज्योति हुन्छ, उज्यालो हुन्छ, अनेक होला तर बिगारेर अर्को नाम राखेँ भने त्यसको अर्थ हुँदैन । त्यस्तै योगलाई योगा बनाउनु हुँदैन । योग हो ।  योग पहिलो शिवबाट उत्पत्ति भएको थियो अर्थात् यस धर्तीमा योग उत्पत्ति भएको थियो । यहाँका पुर्खाहरूबाट, यहाँका अग्रजबाट भएको हो । हामी पुर्खालाई भगवान् भन्छौँ । हामी भगवान् दुई वटा चिजलाई मान्छौँ । एउटा पुर्खाहरूलाई मान्छौँ, शिव, दुर्गा, मातादेवी, देवता, विष्णु, ब्रह्मा जेसुकै भन्नुस्, जति देवताको नाम लिइन्छ, ती सबै पुर्खा हुन् । पुर्खालाई हामी देवतुल्य मान्छौँ र देवता भन्छौँ । अर्को हामी प्रकृतिलाई देवता मान्छौँ । अघि यहाँ गायत्री संस्थाले गायत्री वाचन भनिरहेको थियो–सूर्य देवता, चन्द्र देवता, वरुण र मरुता देवता आदि अथवा पानी पनि देवता हो, जसले हाम्रो जीवन चलाएको छ । मरुता अर्थात् हावा जसले अक्सिजन दिएर हामीलाई बचाएको छ ।  जीवनका लागि सबैभन्दा महत्वपूर्ण हावा छ, अक्सिजन छ । जुनबिना हामी दुई तीन मिनेटभन्दा बढी बाँच्न सक्दैनौँ । त्यस्तो अक्सिजन, त्यो हाम्रा लागि भगवान् हो, हाम्रा लागि जीवनदायिनी हो । त्यस कारण हामी गर्भमा हुँदा पनि अक्सिजनबाट बाँचेका हुन्छौँ र जन्मपश्चात् पनि अक्सिजनबाट बाँचेका हुन्छौँ । जीवनभरि अक्सिजनबाट बाँचेका हुन्छौँ । त्यो सबैभन्दा महत्वपूर्ण हुन्छ । त्यस कारण वायु जो देखिँदैन, वायुमा धुलो उड्यो भने धुलो देखिन्छ तर वायु देखिँदैन । वायु अदृश्य छ । त्यो वायु पनि देवता हो भनेर अघि भर्खर मन्त्र उच्चारण गर्नुभयो । अर्थात् हाम्रा पूर्वज धेरै ज्ञानी थिए, विश्व शान्ति भने, वनस्पतीय शान्ति भने, आकाश शान्ति भने, पृथ्वी शान्ति भने सबैतिर शान्ति भने । आज आकाश शान्तिको कति अर्थ र महत्व रहेछ, पृथ्वी शान्तिको कति महìव रहेछ, त्यो हामी बुझ्दै छौँ । धेरै सोचेर, चिन्तन गरेर निष्कर्ष निकालेर, अनुभूतिहरूलाई ज्ञानमा परिणत गरेर, ज्ञान सङ्ग्रह गर्दै ज्ञानलाई व्यवहारमा हेर्दै, अनुभूतिलाई अनुभवमा बदलेर, अनुभवलाई सङ्ग्रह गर्दै ज्ञानमा बदलेर, ज्ञानलाई प्रयोगमार्फत तिनलाई सिद्धान्त र सूत्र बनाएर अगाडि बढ्ने काम भइरहेको छ ।  यसै सन्दर्भमा आज हामी जुन अष्टाङ्ग योगका चर्चा गर्छौं, म त्यसको अलिकति मात्रै चर्चा गर्न चाहन्छु ।  पहिले योगको प्रारम्भ भयो शिवबाट । त्यसकारण शिवलाई आदियोगी भनिन्छ । त्यसपछि विश्वामित्रको समय आयो र विश्वामित्रले योग विकास गर्नुभयो । विश्वामित्रले योग मात्रै विकास गर्नुभएन, विश्वामित्रका सुपुत्र सुश्रुतले लगभग तीन हजार वर्ष अगाडि सर्जरी विद्याको विकास गर्नुभयो । त्योभन्दा अगाडि चरकले जसरी आयुर्वेदको विकास गर्नुभयो, यी सबै योगबाट प्रारम्भ भएका छन् ।  विश्वामित्रका पिताजीले आफ्ना नाति चरकलाई सर्जन डाक्टर बनाउनुभयो । अहिले पनि सङ्ग्रालयमा चरकले चलाएका सर्जरीका उपकरण अहिलेसम्म पाइन्छ । चरकसंहिता लिखित रूपमा पाइन्छ । जो, तीन हजार वर्ष लगभग अगाडि हो । जति बेला अक्षर दुनियाँमा आए । अक्षर आएपछि ३२ सय वर्षको आसपासका बेला अथवा महाभारत युद्धको लगत्तैपछि जसको समयमा हुनु पर्छ, अक्षर आएपछि त्यसैबेला वेदव्यासले श्रुति र स्मृतिमा रहेको वेदलाई अपौरुषीय अथवा मानवद्वारा निर्मित वेद होइन भनिएको हो । किनभने कोही रचनाकार थाहा छैन, अज्ञात रचनाकार, यो परम्परा हुँदै आयो, कसले बनायो भन्ने थाहा छैन । त्यसो भएको हुनाले यसलाई अपौरुषीयसमेत भनियो । अथवा मानव निर्मित होइन, देव निर्मित भनियो भन्ने भनाइ छ ।  वेदलाई वेदव्यास भनिन्छ, किनभने उनले लिपि सिकेर लिपिमा वेदलाई उतारेपछि यो मानवीय अथवा मानव भयो । वेदव्यासको आलोचना पनि भयो, विरोध पनि भयो । यो अलौकिक मानवताभन्दा बाहिरको, मानव सिर्जितभन्दा बाहिरको अपौरुषीय चिजलाई पौरुषीय अथवा मानवको सिर्जना, यो असिर्जनीय चिजलाई सिर्जनामा परिणत गराए र यो पाप कर्म गरे यिनले भन्ने खालका धर्मान्धले भने ।  जनकको समयमा वेदको गार्गी, मैत्री आदि ऋषिमुनि, विदुषीहरूले तयार गर्दा ती लिपिमा तयार गरिएको थिएन, वाणीमा तयार गरिएको थियो, मनमनै रचना गरेर प्रस्तुत गरिएको थियो । त्यो श्रुतिबाट स्मृतिमा रहेको थियो । स्मृतिबाट फेरि प्रवचनमा गएर फेरि श्रुतिमा जान्थ्यो । यो सिलसिलाबाट आयो ।  विश्वामित्रको समय एउटा चमत्कारको समय थियो, योग विज्ञानको सन्दर्भमा र अरू विभिन्न विज्ञानको सन्दर्भमा । हामी सबैलाई थाहा छ, विश्वामित्र सत्ययुग र त्रेतायुगको बिचको समयको अथवा सङ्क्रमणकालीन समयको हुनुहुन्थ्यो । विश्वामित्रले राम लक्ष्मणलाई शिक्षादीक्षा दिनुभएको थियो । राम–लक्ष्मण त्रेतायुगको हुनुहुन्थ्यो । दशरथ र पर्शुरामहरू सत्य युगका हुनुहुन्थ्यो । रामले धनुष भङ्ग गरेपछि पर्शुरामले आएर राम लक्ष्मणसँगको विवाद गर्दा राममाथि भुलवश बन्चरो प्रहार गर्न खोज्दा बन्चरो उठेन, प्रहार हुन सकेन । फेरि कोसिस गर्दा झन् कमजोर भए । कतिपय कुरा मिथमा आधारित हुन सक्छ । मिथक भए पनि हाम्रा शास्त्रका (तथ्य प्रमाणित भनौँ) विज्ञान प्रमाणित होइन ।  उनले बचपनमा वा सानैमा आफूलाई कुनै भविष्यवाणी भएको थियो, तिमी सत्ययुगको अन्तिम प्रतिनिधि पात्र हौ र सत्ययुग त्यतिबेला समाप्त हुने छ, जतिबेला तिमीले तिम्रो अगाडि एउटा यस्तो व्यक्ति भेट्ने छौँ, जसमाथि तिमीले भुलवश प्रहार गर्न खोज्ने छौँ । तिम्रो अहङ्कार त्यहीँ समाप्त हुने छ । तिम्रो तागत समाप्त हुने छ । पहिलो कुरा, त्यो व्यक्तिलाई भेट्नेबित्तिकै तिम्रो आधा शक्ति उसमा गइहाल्छ । उसमाथि भुलबस प्रहार गर्न खोज्दा अर्को शक्ति आधा फेरि जान्छ । फेरि आक्रोशित भएर तिमीले प्रहार गर्न खोज्दा तिम्रो फेरि आधा शक्ति गएपछि तिमीसँग एकदमै थोरै शक्ति मात्रै बाँकी रहन्छ र ऊ जो व्यक्ति ऊ आफैँ एउटा अवतार हो र उसँग असाधारण शक्ति हुन्छ । त्यसमाथि पहिलो देख्नेबित्तिकै तिम्रो आधा शक्ति उसमा सरेपछि असाधारण शक्तिवान् हुन्छ । अर्को पल्ट फेरि आधा बाँकी रहेको आधा सरेपछि र फेरि अर्को प्रहार गर्न खोज्दा आधा शक्ति सरेपछि तिम्रो शक्ति समाप्त हुन्छ, बुझ्नु ।  अब तिम्रो युग समाप्त भयो अर्थात् सत्ययुग समाप्त भयो र त्रेतायुग प्रारम्भ भयो । यसरी पर्शुराम र रामको भेट एउटा संयोगले हुन्छ, धनुष भङ्गको प्रसङ्गले हुन्छ, राम सीता विवाहको प्रसङ्गमा हुन्छ र त्यसै प्रसङ्गबाट पर्शुराम र रामको भेटबाट नै शिवको धनु अथवा यहाँनेरी शिवको प्रसङ्ग आउँछ । अघि मैले भनेँ, शिवले योगको प्रारम्भ गर्नुभएको थियो भनेर । शिवले राखेको धनु जनकपुरमा राजा जनकको दरबारमा छँदै थियो, जसलाई सीताले खेलाउने गर्थिन् । त्यही धनुको ताँदो चढाउन खोज्दा भाँचियो । यसरी सुरु भयो राम पर्शुराम मिलापको प्रसङ्ग । त्यही मिलापबाट पर्शुरामले थाहा पाए कि अब मेरो युग समाप्त भयो । अब रामको युग प्रारम्भ भयो । यही सङ्क्रमणकालीन युगमा, जस्तोमा हाम्रो तानाशाहीबाट गणतन्त्र, लोकतन्त्रमा आयो, राजतन्त्रबाट गणतन्त्रमा आयो । यो सङ्क्रमणकालीन युग हो । कसैलाई मन पर्ला, कसैलाई नपर्ला । पर्शुरामलाई पनि मन परेको थिएन आफ्नो युग समाप्त भएको तर के गर्ने ! युग समाप्त, युग समाप्त हो । आफ्नो युग समाप्त भएपछि त्यो युग समाप्त भयो । अर्को मन पर्नु नपर्नुको केही पनि अर्थ छैन । यो यति बलवान् हुन्छ समय कि, त्यो परिवर्तन भयो भयो ।  त्रेतायुग र द्वापरयुगको बिचमा फेरि कपिलमुनिले योगलाई अगाडि बढाउनुभयो । उहाँले साङ्ख्य दर्शन प्रतिपादन गर्नुभयो । योगको निरन्तरता त्यसरी आयो । त्यसपछि इसापूर्व दुई सयदेखि इसाको दुई सयसम्म अथवा यो चार वर्षको बिचमा पतञ्जलि भन्ने एक जना व्यक्ति निक्लिनुभयो । उहाँको जन्मस्थान कहाँभन्दा मान्छेहरूले व्याख्या अनौठो अनौठो गर्छन् । म त्यसमा भ्रम पर्नु हुँदैन भन्छु । कसको जन्मस्थान कहाँ फेरि मान्छेहरूलाई रिस उठ्छ । शिव यहीँका थिए भन्नेमा पनि कुनै दुविधा छ र ? बृहस्पति चतराका थिए भन्ने कुरामा कुनै दुविधा छ र ? चतराबाट कोशी नदी पार गरेर पश्चिमतिर आएर राम लक्ष्मणलाई शिक्षादीक्षा दिएका थिए । त्यो शास्त्रमा भनेको छ, मैले भनको त होइन । वेदव्यास तनहुँमा जन्मेका थिए, शास्त्रले भन्छ । महाकालीको किनारमा तप गरेका थिए, शास्त्रले भन्छ । व्याकरणका महान् व्याकरणाचार्य पाणिनि अर्घाखाँचीका थिए, शास्त्रले भन्छ, मैले भनेको होइन । अर्घाखाँचीमा पणेना गाउँ त्यहाँ छँदै छ, अस्ति भर्खर हामीले पाणिनि सम्मेलन मनायौँ । त्यहाँ एउटा के देखाए भने, पाकिस्तानमा जन्मिएका ऋषि पाणिनि अर्घाखाँची आए रे तर त्यस्तो कुरा होइन । अर्घाखाँचीमा जन्मिएका, अर्घाखाँचीमा हुर्किएका, अर्घाखाँचीमा शिक्षादीक्षा आर्जन गरेका त्यस्ता विद्वान् हुन् पाणिनि ।  विश्वामित्रले शिक्षादीक्षा दिँदा अथवा सुश्रुतले सर्जरी विकास गर्दा अथवा चरकले आयुर्वेद विज्ञान विकास गर्दा, आरोग्य विज्ञान विकास गर्दा विश्वको पहिलो विश्वविद्यालय खुलेको थिएन । त्यसो भएर यो यहीँका व्यक्तिबाट सुरु भएको हो । यो विश्व कल्याणका लागि, समग्र मानव जातिका लागि कल्याण भएको हो । यसको भूगोलको सीमासँग सम्बन्ध छैन, यो विश्वव्यापी छ । यो कुनै सम्प्रदायसँग सम्बन्धित छैन, यो विश्वव्यापी छ । यसरी पतञ्जलि अर्को एउटा विद्वान् अर्घाखाँचीमै जन्मनुभयो र अष्टाङ्ग योगको विकास गर्नुभयो । योगलाई पतञ्जलिले सूत्रीकृत गर्नुभएको छ । यहाँ महत्वपूर्ण कुरा के छ भने, उहाँले योगलाई चार भागमा बाँढ्नुभएको छ । चार पाद भन्नुभएको छ । पाद भनेको पाउ हो । त्यो चार भागको पहिलो भागमा ५६ सूत्र छन् । दोस्रो भागमा ५१ सूत्र छन् । तेस्रो भागमा ३३ सूत्र छन् । चौथो भागमा ३४ सूत्र छन् । यसरी पतञ्जलि योगको चार पाद, चार भाग छ । यी अष्टाङ्ग योगका आठ वटा (अष्टाङ्ग) सूत्र दोस्रो भागमा पर्छन् । यसलाई धेरै महìव दिएको छ, जीवनका लागि र समाजका लागि । हामी कोही ऋषिमुनि बनाउन, तपस्वी बनाउन मान्छेहरूलाई खोजिराखेका छैनौँ ।  मान्छेहरूलाई योग गुरु बनाउन खोजिराखेका छौँ, हरेकलाई योगी बनाउन खोजिराखेका छौँ । त्यसमध्येबाट केही योग गुरु हुनुहोला, केही योग गुरुमा विकास हुनुहोला तर हामीले कमाउनु पनि पर्छ आजको समयमा । फेरि कमाउनु सुख भोग आदि इत्यादि फेरि ऋषिमुनिका भाषणले काम गर्दैन । खानु त पर्छ नै । आरोग्यका कुरा गर्दा, स्वास्थ्यका कुरा गर्दा तीन वटा कुरामा ध्यान दिनु पर्छ । पहिलो कुरा : खाना हो । जसलाई हामी आहार भन्छौँ । दोस्रो योग, विहार, व्यायाम काम हामी जे नाम दिउँ । तेस्रो आराम गर्नु पर्छ । खाना, काम र आराम तीन वटा चिजको सन्तुलन । सन्तुलित भोजन, राम्रो भोजन, स्वस्थ भोजन, विषादीरहित भोजनमा हामीले ध्यान दिनु पर्छ, खास गरी योगीहरूले । किनभने सन्तुलित शुद्ध पेट भर्नका लागि होइन, स्वास्थ्यका लागि खाने हो भन्ने कुरा हरेकले बुझ्नु पर्छ, स्वास्थ्यका लागि खाने ।  अष्टाङ्ग भनेको धेरै महत्वपूर्ण छ, त्यसको निचोड निकालेर आठ वटा सूत्रहरूलाई, पहिलो सूत्र त नेपाललाई अहिले सबैभन्दा चाहिएको सूत्र त पहिलो सूत्र छ, जहाँबाट १९४ वटा सूत्र सुरु हुन्छ । पहिलो सूत्र अर्धवाक्य छ । अर्धवाक्य भनेको, अथः योगानुशासनम् । अब योग अनुशासन प्रारम्भ हुन्छ । योग भन्नेबित्तिकै अनुशासनको कुरा आउँछ । आज नेपाली समाज पीडित के मा छ भने अनुशासनको समस्या हो, अनुशासनहीनता । अनुशासन योगको पहिलो सूत्र हो । अनुशासनमा बस्न सकिएन भने ज्ञानले र ध्यानले केहीले पनि हुँदैन । ध्यानको पनि अनुशासन हुन्छ नि, ध्यान गर्दै छ कपाल चलाएको छ, चलेको छ, यता पनि हेर्दै छ, उता पनि हेर्दै छ, त्यो अनुशासनमै बसेन भने ध्यान कसरी हुन्छ ? ध्यानको आफ्नै पनि अनुशासन हुन्छ । हरेक चिजको अनुशासन हुन्छ । समाजका अनुशासन हुन्छ । यसरी अष्टाङ्ग योगलाई आठ भागमा र आठ वटा सूत्र छन् । त्यो सूत्रमध्ये यम एउटा, नियम अर्को र नियम समाजसँग, व्यक्तिसँग सम्बन्धित छ तर समाजसँग त्यो सोझै सम्बन्धित के हुन्छ भने यमले पाँच वटा सूत्र भन्छ, पहिलो सूत्र भन्छ अहिंसा । आज विश्वलाई शान्ति चाहिएको छ । हिंसा होइन, अहिंसा चाहिएको छ ।  हाम्रा पुर्खाहरूले उहिलेदेखि भन्ने गर्दथे, ॐ शान्ति शान्ति शान्ति कति महत्वपूर्ण छ आज पनि । यही यम र नियम मात्रै बुझिदिए हतियारधारीले भने, अहङ्कारधारीले भने, हतियार मात्रै केही खतरा होइन । हतियार आफैँ पड्किँदैन, बन्दुक आफैँ पनि पड्किँदैन । त्यसमा गोली हुन्छ, जो बहुत खतरनाक हुन्छ । मान्छेको अहङ्कार जो हो, त्यसले गर्दा हतियार बनाउँछ, हतियार चलाउँछ, विनाश गर्छ, विनाशमा रमाउँछ, विनाशमा थप अहङ्कार पैदा गर्छ र अहङ्कारी हुन्छ । त्यस कारण हिंसा होइन, अहिंसा । अष्टाङ्ग योगको पहिलो हामीले जान्नै पर्ने र हाम्रो व्यवहारमा लागु गर्नुपर्ने कुरा के हो भने अहिंसा । दोस्रो यममध्ये दोस्रो सत्य । सत्य व्यवहार गर, असत्य नगर । यो दुनियाँ तपाईं हामी सबै सत्यमा चल्यौ भने, असत्य अपनाएनौँ भने सुन्दर हुँदैन र ? नचाहिने, आफूलाई आवश्यकता नभएका कुरामा लोभ नगर, अनुशासनमा बस, ब्रह्मचार्यधारण गर, यिनै कुरा भनिएको छ ।  नियममा भनिएको छ, आफूलाई स्वस्थ राख शौच पहिलो सूत्र । आफूलाई स्वस्थ राख, शारीरिक हिसाबले स्वच्छ राख, मानसिक हिसाबले स्वच्छ राख, स्वच्छ मन राख । अघि डाक्टरले भन्नुभयो खुसी, “स्वच्छ मनले खुसी पलाउँछ ।” म आफ्नो अनुभव भन्छु, म देशका लागि काम गर्छु, जनताका लागि काम गर्छु, सुशासनका लागि काम गर्छु, विकासका लागि काम गर्छु, मौका पाएका बेला सुशासन विकासका लागि, देशका लागि काम गर्छु, नपाएका बेला पवित्र मनका साथ बस्छु, पवित्र चाहनाका साथ बस्छु, पवित्र भावनाका साथ बस्छु । त्यस कारण म कसैप्रति कुनै वैरभाव केही पनि राख्दिनँ । सधैँ प्रसन्न चित्त हुन्छु । मलाई गाली गरिराखेका हुन्छन् । मिसन छ गाली गर्ने, त्यो कुरा म बुझ्छु । माया लाग्छ गाली गर्नेहरूप्रति ! तर म प्रसन्न रहन्छु, किनभने मैले उसलाई बुझाउन सकिनँ, त्यति मात्रै कुरा हो । मेरो बुत्ताभन्दा सायद बाहिरको कुरा हो । म कतिलाई बुझाउन सक्छु, कतिलाई सम्झाउन सक्छु, कतिलाई भेट्न सक्छु, सबैैलाई बुझाउन सक्दिनँ । यदि योगको सङ्गतमा आए भने, तपाईंहरूको सङ्गतमा आए भने ती मान्छे पनि मान्छे हुन्छन् । तपाईंहरू कसैलाई मुख छाड्र्दै हिँड्नु भएको छ, गाली गर्दै हिँड्नु भएको छ ? हिँड्नु हुन्न, किनभने तपाईंहरू योग गर्नुहुन्छ, ध्यान गर्नुहुन्छ,  प्राणायाम गर्नुहुन्छ । योग भनेको के हो चित्तानुशासनम् । चित्तलाई एक ठाउँ लाग्ने, चित्ताग्रह, एक ठाउँमा चित्तलाई स्थिर बनाउने, चित्त स्थिर गर्ने कुरा हो, मनलाई स्थिर गर्ने कुरा हो ।  पतञ्जलि भन्छन्, योग भनेको मनलाई स्थिर गर्ने कुरा अथवा स्थिरता नै योग हो भन्छन् । स्थिरता भनेको नचल्ने, अचल भन्ने होइन तर राम्रा कुरामा गएर स्थिर हुन्छ । हरेक भड्किएको मनलाई हामी राम्रा कुरामा ल्याएर स्थिर गर्छौं । डाक्टरहरू ल्याबमा पठाउनुहुन्छ खकार, थुक, रगत अरू विभिन्न चिज पठाउनु हुन्छ । ल्याबमा पठाउनुहुन्छ र त्यहाँबाट हेर्नुहुन्छ, एक्सरेमा पठाउनु हुन्छ, त्यहाँबाट हेर्नुहुन्छ, एमआरआई गर्नुहुन्छ, सिटीस्क्यान गर्नुहुन्छ, यो गर्नुहुन्छ, त्यो गर्नुहुन्छ, सबै गर्नुहुन्छ र हेर्नुहुन्छ अनि निष्कर्षमा पुग्नुहुन्छ । त्यो हो स्थिर । यो भएको रहेछ, स्थिर त्यहाँ पुगेपछि तपाईंको निष्कर्ष पुग्यो । हो त्यो स्थिरताबाट अब तपाईंले ट्रिटमेन्ट सुरु गर्नुहुन्छ, किनभने तपाईंले निदान गर्नुभयो रोगको अथवा रोगको पहिचान गर्नुभयो अथवा डाइग्नोसिस गर्नुभयो । त्यो डाइग्नोसिसपछि अब उपचारको फेजमा तपाईं जानुहुन्छ । हामीलाई डाक्टर चाहिन्छ, अस्पताल चाहिन्छ तर अहिले सरकारले लिएको नीति निरोगी नेपालको हो ।  योगका यदि यम, नियम मानिँदैन भने जति आसन गर्नुस्, जति प्राणायाम गर्नुस्, आफ्ना निम्ति त होला तर समाजका निम्ति हुँदैन । तपाईंको समाजमा व्यक्तित्व बन्दैन, किनभने भने ध्यानले मात्रै पुग्दैन । तपाईं कर्मशील, कर्मवीर, कर्मठ र कर्मयोगबिना हामीले ध्यानै मात्रै गर्यौँ भने, प्राणायाम गरेको छ, गरेको छ, छिट्टै पुगिहाल्छ माथि ! यो लोक बन्दैन फेरि परलोक बन्छ । योगको सम्बन्ध परलोकसँग होइन, यस लोकसँग छ सम्बन्धित छ, मानव जातिसँग छ । योगको सम्बन्ध इजरायल र इरानबिचको अहिले चलिरहेको द्वन्द्व अन्त्य होस् भन्ने कुरासँग सम्बन्ध छ र दुनियाँमा फेरि शान्ति स्थापना होस्, युद्ध नभड्कियोस र नफैलियोस् भन्ने कामनासँग, यसको प्रयाससँग छ, यसको आवाजसँग छ सम्बन्ध । मान्छेको मारामारलाई युद्ध भनिन्छ । साँढे जुधाइलाई युद्ध भनिँदैन । मान्छे मारामार जस्तो नराम्रो कुरा के हो ? अरू केही हुन सक्छ, मान्छे मारामार ! एउटाले अर्कालाई मा¥यो ओहो ! यो भन्दा नराम्रो कुरा के हुन्छ होला ? त्यही त भइराखेको छ । त्यसमा दाउपेच भइराखेको छ, कसले धेरै मार्ने !  एउटा देशको राष्ट्रपतिलाई अर्को देशको राष्ट्रपतिले, अर्को देशको प्रधानमन्त्रीले त्यो फलानालाई मार्छु र मारेर छोड्छु ! ग्लोबल अर्डर, ग्लोबल अर्डर भनेको के हो ? यस्ता यस्ता कुराहरू आज सुन्न थालिएको छ । मैले यो पोलिटिसियनको हिसाबले भनेको होइन, एउटा योगको हिसाबले भनेको हो । यही कुरासँग योग, व्यक्तिभित्रको अशान्ति शान्त होस्, व्यक्तिभित्रको चिन्ता शान्ति होस् । व्यायाम हुनै पर्छ, ध्यानमा मात्रै पनि भर नपर्नु होला । काम गर्नै पर्छ, तपाईंहरूको रक्तसञ्चार हुनै पर्छ । हात पाहुहरू चल्नै पर्छन्, तपाईंको गर्धन चल्नै पर्छ, तपाईंको हातले केही उठाउनै पर्छ, तपाईंका मसल चुस्तदुरुस्त हुनै पर्छ, नत्र भने मसल कमजोर हुने छ । अनि डाक्टरले फिजियोथेरापिस्ट कहाँ जानुस् भनेर अनि फिजियोथेरापीले गर्छ । आफैँले फिजियोथेरापी कहाँ जानु पर्ने स्थिति बनाउनु हुन्छ, आरामको जिन्दगी बाँच्न खोज्नुभयो भने । आरामको जिन्दगी होइन, सुखको जिन्दगी बाँच्नूस् । आरामको जिन्दगी होइन, स्वस्थ जिन्दगी बाँच्नूस् । आरामको जिन्दगी होइन, स्वस्थ, सुखी, मज्जाको जिन्दगी बाँच्नुस् । पसिना ननिस्किएको जिन्दगी होइन, पसिना काँढेको जिन्दगी बाँच्नुस् । हातपाउ खियाएको, हिँडेको जिन्दगी बाँच्नुस्, चलेको जिन्दगी बाँच्नुस् । त्यस कारण योगले ती कुराहरू सिकाउँछ ।  यदि हामी हाम्रो आचरणमा यम र नियममा ध्यान दिँदैनौँ भने हुँदैन । सरकारले अहिले मात्र होइन, म प्रधानमन्त्री हुनेबित्तिकै मैले निरोगी नेपाल भन्ने नारा दिएँ । निरोगी नेपालको नीतिभित्र के पर्छ भने, मानिसलाई रोगी हुन नदिने, नेपाललाई निरोगी बनाउने पहिलो कुरा आरोग्यता । निरोगी नेपाल, बिमारी हुनै नदिने, कसरी खाना, काम र आरामको सन्तुलन । सबै चिज स्वस्थ । यससँगै मनको स्वस्थता । मनको पवित्रता । यससँगै हामी सामाजिक प्राणी हौँ, समाजले निर्धारण गरेका चिज योगले सिकाउनु पर्छ । योग एउटा पक्ष मात्रै होइन, योग जीवनको बहुआयामिक दृष्टिकोण हो । वैज्ञानिक दृष्टिकोण हो, जो हाम्रा पूर्खाले हजारौँ वर्षअगाडि मानव कल्याणका लागि, मानव जातिका लागि र बिनाविभेद, धर्मको विभेद, जातिको विभेद, भाषाको विभेद कुनै विभेदबिना, पेसाको विभेदबिना, रङको विभेदबिना, लैङ्गिक विभेदबिना, जातीय वा अरू कुनै प्रकारका रङ्गभेदबिना, पेसा व्यवसायका भेदबिना सबैको कल्याणका लागि योग हाम्रा पुर्खाले धेरै अगाडि निर्माण गर्नुभएको हो ।  यसका विभिन्न शाखा छन् । म तपाईंहरूलाई के आग्रह गर्न चाहन्छु भने, यम मानिएन भने योग सुरु नै नगरे हुन्छ । यम मान्नु हुन्न, नियम मान्नु हुन्न, जिम जानुहुन्छ भने तपाईंले कसैको के भत्काउनु हुन्छ । जिम जानुहुन्छ, पाखुरा ठुलो हुन्छ । के गरुँ के गरौँ भएर आउँछ, मति बुद्धि ठिकमा ल्याएको छैन, अनि के हुन्छ ? त्यस कारण मति बुद्धिसहितको मसल हुनु पर्छ । यो योगले काम गर्छ । बाटो देखाउने टर्चलाइट जस्तो, बाटो देखाउने उज्यालो, तमसोमा ज्योतिर्गमय योगले त्यो काम गर्छ । त्यस कारण योग दैनिक जीवनमा गरौँ । आज योग दिवस हो । त्यस कारण आज एकछिन हामीले यहाँ अभ्यास गर्ने होइन, घर घरमा अभ्यास गरौँ ।  योग भनेको मस्तिष्कको, मनको, तनको, सबै चिज शुद्ध, पवित्र र सामाजिक रह्यो भने हामी निरोगी र स्वस्थ हुन्छौँ र समाजलाई स्वस्थ ढङ्गले अगाडि बढाउन सक्छौँ । सबैलाई यही मेरो आग्रह छ । सरकारको तर्फबाट यस सन्दर्भमा दिने ध्यान हामी दिइरहेका छौँ र निरोगी नेपाल, रोग लाग्नै नदिने, लागिहालेमा उपचार गर्ने, आकस्मिक दुर्घटना केही भए उपचार गर्ने, प्राकृतिक खालका कुनै चिज परे उपचार गर्ने तर साधारणतया भन्ने हो भने सधैँ स्वस्थ रहन प्रेरित गर्ने, सधैँ स्वस्थ रहने बाटो हिँड्ने, स्वस्थताको, स्वस्थ मन र प्रसन्नता । खासमा भन्ने भने इम्मुन सिस्टमको सबैभन्दा प्रमुख जग प्रसन्नता हो । पहिले आफूलाई पवित्र सोच्न थाल्नूस्, तपाईं योगी हुन थाल्नुभयो । पवित्र सोच्नूस्, सत्य सोच्नूस्, अहिंसा सोच्नूस्, अर्काको सम्पत्तिमा लोभ नगर्ने, आफ्नोबाहेक र चाहिनेबाहेक अपरिग्रह, चाहिनेबाहेकका कुराहरूप्रतिको लोभलाई पन्छाइदेउ, प्रत्याहार आठ वटामध्येको एउटै हो । त्यस्ता चिजको कुनै पनि दुष्प्रभावलाई टाडैबाट हटाइदेउ आदि । घरै बसेर योगी हुनुस् । मेरो विनम्र आग्रह छ । म फेरि पनि योग मानवजातिको कल्याणका लागि, मानव जातिले गर्ने मानवका लागि गर्ने, आफ्ना लागि, परिवारका लागि, समाजका लागि, विश्वका लागि, शान्ति र सभ्यताका लागि गर्ने, समृद्ध नेपाल, सुखी नेपाली बनाउन हामीले गर्ने, स्वस्थ सुखी नेपालीहरूको नेपाल बनाउन हामीले गर्ने हो । त्यसर्थ योगलाई त्यसै गरी बुझेर अगाडि बढौँ भन्ने आग्रहका साथ सबैमा शुभकामना । रासस (प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व योग दिवसका आवसरमा ललितपुरमा आयोजित कार्यक्रममा गरेको सम्बोधनका आधारमा स्वकीय सचिवालयबाट तयार गरिएको)

अब सरकारी कार्यालयले ‘फेसलेस’ सेवा दिन्छन्

सम्मानीय राष्ट्रपतिज्यूूबाट बि.सं. २०८२ वैशाख १९ गते सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनका लागि नेपाल सरकारको तर्फबाट म सम्माननीयज्यूप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु । सरकारको प्रस्तुत नीति तथा कार्यक्रममाथि माननीय सदस्यहरूबाट टिप्पणी र संशोधन प्रस्तावमार्फत् प्राप्त रचनात्मक सुझावका लागि धन्यवाद व्यक्त गर्दछु । अहिलेको सरकार, यो समीकरण निर्माणका मुलतः दुई उद्देश्य थिए- पहिलो- देशमा व्याप्त गहिरो निराशा हटाई जनतामा आशा तथा उत्साहको सञ्चार गर्ने, दोस्रो- देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा अघि बढाउने । प्रस्तुत नीति तथा कार्यक्रम यी उद्देश्य पूरा गर्नेमा केन्द्रित हुनेछन् । र, नीति कार्यक्रम १० मूल नीतिमा आधारित छन् ।  सभामुख महोदय, सामाजिक क्रान्ति समाजमा रहेका वर्गहरु बीचको द्वन्द्वका कारण हुन्छ । शासन कसले गर्ने र शासित को हुने भन्ने विषय आजको मुद्दा हैन, हजारौं वर्षदेखिको मानव सभ्यतासँगै जोडिएको विषय हो । ‘स्रोत र साधन’ आफ्नो अधीनमा राख्ने बलशाली वर्गले जहिले पनि उत्पादनका साधनमाथि पहुँच नभएका वर्गमाथि वर्चश्व कायम गर्दै आएको छ । एउटा आर्थिक वर्गले अर्कोमाथि आफ्नो वर्चश्व कायम गरेपछि मात्र परिवर्तनका लागि हुने गरेका आन्दोलन र संघर्षहरु रोकिएका छन् । पहिले युरोपमा सामन्ती प्रणाली भत्काउने क्रान्तिको नेतृत्व श्रमजीवी वर्गको सहयोगमा पूँजीपति वर्गले ग¥यो । राजा महाराजहरु या त प्रणाली स्वीकार्ने सम्झौतामा पुगे या भागे–समाप्त पारिए ।  त्यसपछिका परिवर्तनहरुमा श्रमजीवी वर्ग र पूँजीपति वर्ग बीचको द्वन्द्व भए, शासन व्यवस्था फेरिए, यो सिलसिला चल्दै आयो । हाम्रो देशमा विचारधारका रुपमा तीनखालको प्रबृत्ति सुरुदेखि नै विद्यमान रह्यो । एकातिर वंश/परम्परामा आधारित सामन्ती प्रवृत्ति र अर्कातिर लोकतन्त्रका हिमायती अन्य २ प्रवृत्ति । पछिल्ला दुई प्रवृत्ति बीच फाटो आउँदा अघिल्लोको शासन सत्ता लम्बियो, एक हुँदा जनअपेक्षा अनुरुपको प्रणाली स्थापना हुन सक्यो ।  हजार वर्षभन्दा बढी समय विभिन्न नामका भुरे-टाकुरे, राजा/रजौटाहरुले हाम्रो मुलुकको स्रोत र सम्पत्तिमाथि शोषण र जनतामाथि हुकुमी शासन चलाउँदै आए । पछिल्लो अढाइ सय वर्ष जति शाह वंशीय सामन्ती व्यवस्था मुलुकको अग्रगतिमा तगारो बन्यो ।  अनिर्वाचित, परिवार र वंश आधारित ‘संस्था’ वा ‘तन्त्र’ कायम राख्ने, परिमार्जन गर्ने वा मिल्काउने भन्ने प्रश्नलाई हामीले २०६२/६३ को परिवर्तन मार्फत् निष्कर्षमा पु¥यायौं, २०७२ सालमा जारी गरिएको संविधानमार्फत् संस्थागत ग¥यौं । कुनै पनि प्रकृतिका जातीय श्रेष्ठता या वंश परम्परामा आधारित पछ्यौटे प्रतिगामी प्रणालीलाई अस्वीकार ग¥यौं । सङ्घीयतामा आधारित लोकतान्त्रिक गणतन्त्र स्थापना ग¥यौं । अहिले यतिखेर राजनीतिक अस्थीरताका कारण सिर्जित निराशालाई ‘क्यास-गर्दै’, हाम्रा बलिदान तथा शताव्दी लामो संघर्षले इतिहासको रछ्यानमा फालिएको सामन्ती प्रथा विउँताउने मात्रै हैन तिथि मिति नै तोकेर सिंहसानमा विराजमान गराउने र श्रीपेच ढल्काउने जस्ता भ्रम फिँजाइ संविधान तथा व्यवस्थाका विरुद्ध हिंस्रक एवम् अराजक गतिविधि सुरु भएको छ ।  प्रस्तावित नीति तथा कार्यक्रममा संविधानको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण गर्ने प्रतिवद्धता छ । यसका विरुद्ध हुने कुनै पनि प्रकृतिका प्रतिगामी–पुनरुत्थानवादी अराजक गतिविधिको प्रतिवाद गर्ने दृढता व्यक्त गरिएको छ । म विश्वास गर्छु- जनताको वलिदान खेर जान नदिने, प्राप्त उपलब्धिको रक्षा र प्रवद्र्धन गर्ने प्रस्तुत नीतिमा यस सम्मानित सदन एक हुनेछ । सरकार निर्माणको समयमा “संविधानको समीक्षा गर्ने, यसका सवल पक्षलाई सुदृढ गर्ने र कार्यान्वयनको क्रममा देखिएका कमीकमजोरी सच्याउने” प्रतिवद्धता गरिएको थियो । तसर्थ, सहमतिको आधारमा संशोधनको प्रक्रिया अघि बढाउने नीतिमा सरकार प्रतिवद्ध छ । दलहरु बीचको स्वस्थ प्रतिस्पर्धा, आपसी संवाद, सहकार्य र सहअस्तित्वको नीतिमा राजनीतिक स्थायित्वलाई निरन्तरता दिँदै नीतिगत स्थिरता सुनिश्चित गर्ने हाम्रो प्रयास जारी रहने छ । सभामुख महोदय, हामी सबैलाई थाहै छ, सरकार अविच्छिन्न उत्तराधिकारवाला संस्था हो । अविच्छिन्न उत्तराधिकारवाला संस्था भएकै कारण सरकारले आफ्ना नीति सार्वजनिक गर्दा, पूर्ववर्ति सरकारले सुरु गरेका संविधान र कानुनसम्मत  तर सान्दर्भिक नीति तथा कार्यक्रमलाई निरन्तरता दिन्छ, दिनुपर्छ र दिइएको पनि छ । केही माननीय सदस्यहरुका ‘प्रस्तुत नीति कार्यक्रम–उही र उस्तै’ भन्ने टिप्पणीलाई यसै सन्दर्भमा बुझिदिन आग्रह गर्दछु ।  फेरि, एउटा सरकारको ठाउँमा अर्काे सरकार निर्माण हुनु, अघिल्लो समीकरणलाई नयाँ समीकरणले विस्थापित गर्नु भनेको राजनीति र नीति–कार्यक्रमको ‘कोर्स करेक्सन’ वा परिवर्तन पनि हो । फेरिएको ‘कोर्स’ बमोजिम हटाइएका नीति वा कार्यक्रम हेरी माननीयहरुद्वारा सोधिने ‘पहिलेको खै त?’ भन्ने प्रश्नलाई पनि यसै सन्दर्भमा लिन अनुरोध गर्दछु । नीतिले थोरै शब्दमा धेरै कुरा बोल्ने गर्छ । त्यसैले ‘नयाँ के छ ?’ भन्ने सन्र्दभमा नीति कार्यक्रममा प्रस्तुत केही पक्षमा सङ्क्षिप्त चर्चा गर्ने अनुमति चाहन्छु ।  गत वर्षको साउन ६ गते यस सम्मानित सदनमा संबोधन गर्ने क्रममा मैले “जहिल्यै काम भइरहेको झैं हुने तर कहिल्यै नसकिने” हाम्रो विकास निर्माणको कामका तरिकाप्रति ‘ओर्क इन प्रोग्रेस !’ भन्दै टिप्पणी गरेको थिएँ । हामीसँग रहेको सीमित स्रोत र विकासमा हामीले मार्नु परेको तीब्र फड्कोको बीचमा रहेका बिरोधाभाषलाई उल्लेख गरेको थिएँ । विकास–निर्माणको हाम्रो यस्तो ढाँचा, सुस्त गति र ‘ओर्क इन प्रोग्रेस’ संस्कृति परिर्वतन नगरी अघि बढ्न नसकिने उल्लेख गरेको थिएँ । आफूसँग भएको सीमित स्रोत कहाँ लगानी गर्ने र त्यसबाट कस्तो परिणाम हासिल गर्ने भन्ने कुरामा हामी स्पष्ट हुनुपर्ने उल्लेख गरेको थिएँ । त्यसैले प्रस्तुत नीति–कार्यक्रममा विकास निर्माणका क्रममा देखापरेका कमी कमजोरीलाई सुधार गर्न विकासको ढाँचा, गति र संस्कृति फेर्ने प्रस्ताव नयाँ हो । यसलाई व्यवहारमा अवलम्बन गर्ने प्रतिवद्धता पनि नयाँ हो ।   ‘जे आउँछ मजाले पचाउँछ’ भनेझैं जे छ, त्यसैमा रम्ने हैन, काम लाग्ने जे छ, त्यसलाई सकेसम्म निरन्तरता दिने, जे असान्दर्भिक छ, त्यसलाई त्याग्ने नीतिमा हामी जानुपर्छ । त्यसैले, विगतमा विभिन्न सरकारद्वारा घोषणा गरिएका पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनः प्राथमिकीकरण गर्ने प्रस्ताव गरिएको हो ।   थालेको काम सक्ने घोषित नीति अन्तर्गत राष्ट्रिय गौरवका आयोजनाहरुको पुनरावलोकन गर्ने, चालु परियोजनाहरुलाई ‘आर्थिक वर्ष २०८२÷८३ मा सम्पन्न हुने र प्रतिनिधि सभाको यस अवधिभित्र सम्पन्न हुने’ गरी वर्गीकरण गरी निर्धारण गरिएको समयतालिकामा सम्पन्न गर्ने नीति नयाँ हो । निर्माणाधीन तथा निर्माण गर्नुपर्ने सबै परियोजनाका लागि आवश्यक स्रोतको आँकलन गरी सम्पन्न हुने सम्भावना नभएका परियोजना स्थगन गर्ने र त्रुटिपूर्ण परियोजना खारेज समेत गर्ने नीति नयाँ हो ।  पूर्वाधार विकासका नयाँ परियोजना बनाउँदा “संभाव्यता, जोखिम, र प्रतिफल”को लेखाजोखा जस्ता स्टेक होल्डरको चासो र पूँजीको प्रतिवद्धता व्यक्त गर्नुअघि “नगद प्रवाह, जोखिम न्यूनीकरण, र कानुनी सुरक्षा” जस्ता लगानीकर्ता र ऋणदाताको चासो समेटिएको ‘बिजनेस प्लान’ विकास गर्नुपर्ने नीति नयाँ हो । स्टार्टअप होस् वा आन्टरप्रीनरशीप कुनै पनि फिल्डमा उद्यमशीलता सुरु गर्दा– ‘व्यवसाय सुरू गरेदेखि बजारसम्मको चक्र’ अर्थात्, ‘व्यवसायको इकोसिस्टम’ ख्याल गर्नुपर्ने नीति नयाँ हो ।  उदाहरणका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमको पुनर्संरचना गरी व्यवसायमा आउनेलाई भूमि बैंक–वित्त, उपकरण तथा अन्य इनपुट– बाली बीमाको व्यवस्थापन–त्यसको समर्थन मूल्य– कृषि उपजको अग्रिम खरीद सम्झौता– बजार व्यवस्थापन र भण्डारणको चक्र निर्माण गर्ने नीति अघि सारिएको छ। मल, विद्युत र अन्य पूँजीगत अनुदानको पुनः व्यवस्थापन गरी स्रोतको अपव्यय हुनेबाट रोक्ने नीति नयाँ हो भन्ने माननीयहरुलाई स्पष्ट पार्न चाहन्छु ।  आर्थिक वृद्धिको प्रमुख संवाहकका रूपमा विकास गर्ने क्षेत्र कुन हो भन्नेमा नीति कार्यक्रममा ‘अन्यौल’ छैन । ‘कृषि तथा वन, सूचना तथा प्रविधि, पर्यटन, ऊर्जा, उद्योग र भौतिक पूर्वाधार’लाई मुख्य क्षेत्र तोकिएको छ । स्टार्टअपका कार्यक्रमको फोकस– विधाको हिसावले जुनसुकै हुनसक्ने र पुस्ताको हिसावले आजको तन्नेरी पुस्ता- ‘जेन-जी’ पुस्तामा केन्द्रित हुने नीति अघि सारिएको छ ।  सरकारका निकायहरूबाट सञ्चालित कार्यक्रमहरू उद्यमशीलताको विकास, उत्पादन, उत्पादकत्व र रोजगारी सिर्जनामा केन्द्रित गर्ने र तीन तहका सरकारहरू बीचको सहयोग, समन्वय र सहकार्यमा कृषिको व्यावसायीकरण र पूर्वाधार निर्माण गर्ने नीति प्रस्ताव गरिएको छ ।  स्थानीय तहदेखि केन्द्रसम्म सरकारी सेवामा इन्टर्नलाई प्रयोग गर्ने, स्नातक तहभन्दा माथिका विद्यार्थीहरुलाई विभिन्न अनुसन्धान संस्थामा आवद्ध गर्ने, हप्तामा बढीमा २० घण्टा कामको न्युनतम ज्याला निश्चित गरी ‘कमाउँदै–पढ्दै’को नीति लागु गर्ने, सरकारी सेवामा ‘इन्टर्न’को प्रयोग, यो नीति नयाँ हो । ‘कमाउँदै–पढ्दै’ नारामा नयाँ हैन, ठोस योजनाको सन्दर्भमा यो पनि नयाँ हो ।  राष्ट्रिय शैक्षिक सुधार कार्यक्रमको नयाँ मार्गचित्र तयार गर्ने र शिक्षालाई सर्वसुलभ, गुणस्तरीय र जीवन उपयोगी बनाउने नीति अघि सारिएको छ । विद्यमान शिक्षा पद्दतिलाई आधुनिक, विज्ञान–प्रविधिमैत्री र अनुसन्धान–अन्वेषण लक्षित बनाइनेछ । विद्यालय शिक्षामा ग्रेडिङ प्रणाली लागू गरी सुधार गर्ने नीति नयाँ हो । लो–गे्रडिङलाई रोजगारी-मैत्री प्राविधिक÷व्यावसायिक शिक्षा तर्फ र उच्च ग्रेडिङलाई उच्चशिक्षा तर्फ अग्रसर गराउने प्रस्तावित नीतिले शिक्षालाई उद्यमशीलतामैत्री बनाउनेछ । श्रमक्षेत्रमा रहेको सीपयुक्त श्रमशक्तिको अभाव र सीपहीन श्रमशक्ति जगेडा रहने अवस्थाको अन्त्य गर्ने छ । यसका लागि हालको पाठ्यक्रम, सिकाइ र अध्यापन विधिमा व्यापक सुधार गरिनेछ । शिक्षक बैंक स्थापना, थिङ्क ट्याङ्क संस्थाहरुको समन्वय तथा सञ्चालन र उद्यमशीलताको माध्यमद्वारा आन्तरिक रोजगारी सिर्जना गरी आयआर्जनका अवसर वृद्धि गर्ने नीति निःसन्देह नयाँ हो । विकास कार्यक्रममा सङ्घ, प्रदेश र स्थानीय तहबीच दोहोरोपन हटाउन एकीकृत परियोजना बैंक प्रणाली लागू गर्ने प्रस्तावित नीति नयाँ हो । यसबाट संविधानमा उल्लेखित संघ, प्रदेश र स्थानीय तहका साझा अधिकार सूचीका विकास कार्यक्रमहरू समन्वयात्मक रुपमा कार्यान्वयन गर्ने वातावरण बन्छ । जनसङ्ख्या, भूगोल र रोगको भारको आधारमा नयाँ स्वास्थ्य प्रणालीको प्रस्तावले स्वास्थ्य सेवालाई सुलभ र पहुँचयोग्य तुल्याउने छ । यसले स्वास्थ्य पूर्वाधार विस्तारसँगै सेवा प्रदायक अस्पताल–चिकित्सक, स्वास्थ्य जनशक्ति, उपकरण र सेवाग्राहीबीच रहेको असन्तुलन हटाउने छ ।  सबै सार्वजनिक अस्पताललाई एकीकृत अनलाईन सेवामा आवद्ध गर्ने, स्वास्थ्यसम्बन्धी सबै सहायता र सहुलियतका कार्यक्रमहरूलाई एकीकृत स्वास्थ्य बीमा प्रणालीमा आबद्ध गर्ने नीतिले पुनर्संरचना गरिने स्वास्थ्य बीमा कार्यक्रमलाई दीगो बनाउने छ । सभामुख महोदय, फजुल खर्च रोक्न अनावश्यक संरचना खारेज गर्ने, गाभ्ने र हस्तान्तरण गर्ने नीति प्रस्ताव गरिएको छ । सार्वजनिक सेवालाई प्रभावकारी बनाउन “फेसलेस सेवा”को प्रक्रियालाई विस्तार गर्न नागरिक एपलाई सेवा प्रदान गर्ने मुख्य डिजिटल उपकरणको रूपमा विकास गर्ने र सम्भव भएसम्मका सबै सेवा अनलाइन गर्ने नीति नयाँ नै हो ।  यसपटकको नीति तथा कार्यक्रम, उच्चस्तरीय आर्थिक सुधार–सुझाव आयोगको प्रतिवेदनसहित एक दर्जन प्रतिवेदनहरुका आधारमा तयार पारिएको छ । प्रतिवेदन आफैंमा महत्वपूर्ण छन्, तिनको कार्यान्वयनले सुशासनमा महत्वपूर्ण भूमिका खेल्ने छन् भन्ने मैले विश्वास लिएको छु ।  हाम्रा नीतिहरु कार्यान्वयनका लागि निम्न ऐनहरु अत्यावश्यक छन्, म यस सम्मानित सदनसँग विचाराधीन विधेययकहरु शीघ्र पारित गर्न पनि विनम्र अनुरोध गर्न चाहन्छु । -वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक -संघीय निजामती सेवासम्बन्धी विधेयक  - नेपाल प्रहरीसम्बन्धी र सशस्त्र प्रहरी वल नेपालसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेका विधेयक - विद्यालय शिक्षा विधेयक - नेपाल हवाइ सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक  - नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक । सरकारले राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता तथा भौगोलिक अखण्डता र नेपाल राष्ट्र तथा नेपाली जनताको सर्वोपरि हितलाई केन्द्रमा राखी  सुदृढ र सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्ध विकास गर्नेछ ।  सभामुख महोदय, माननीयज्यूहरूले नीति तथा कार्यक्रमका केही विषयहरूमा सुझाव र संशोधन प्रस्ताव राख्नुभएको छ । कतिपय पक्षमा अस्पष्टता रहेको, कतिपय विषय दोहोरिएको तथा कतिपय विषय नसमेटिएको भनेर व्यक्त धारणालाई मेरा प्रस्तुतिले स्पष्ट पार्ने अपेक्षा गरेको छु । छलफलका क्रममा उठाइएका विषयहरू र प्रस्तुत गरिएका संशोधन प्रस्तावप्रति सरकारको ध्यानाकर्षण भएको छ । प्रस्तुत आ.व. २०८२÷८३ को नीति र कार्यक्रमको कार्यान्वयनमा माननीयज्यूहरूबाट प्राप्त सुझावहरूले सरकारलाई आफ्नो गन्तव्यमा हिंड्न थप सहयोग पुग्ने पनि विश्वास लिएको छु ।  माननीय सदस्यहरूले उठाउनुभएका विषयहरूलाई उपलब्ध स्रोतसाधनलाई ध्यानमा राखी सरकारले प्राथमिकीकरण गर्दै आगामी दिनमा क्रमशः सम्बोधन गर्दै जाने नै छ । माननीयज्यूहरूलाई सबै क्षेत्र समेट्नेगरी सबै विषयवस्तुहरू नीति तथा कार्यक्रममा आइदिए हुन्थ्यो जस्तो लाग्नु स्वभाविक हो । यस पटकको नीति र कार्यक्रममा सबै क्षेत्रलाई समेटिएको त छ नै । त्यसमा पनि युवाहरुलाई स्टार्टअपमार्फत् उद्यमशील बनाउने, रोजगारीका अवसर सिर्जना गर्ने, विद्यार्थीलाई पढाइसँगसँगै सरकारी सेवाको इन्टर्नसिपमा प्रवेशको ढोका खोल्ने नीति पनि लिइएको पक्ष पुनः दोह¥याउन चाहन्छु । ‘जेन–जी’ पुस्ताका लागि विशेष स्थान र भूमिका दिएर ल्याइएको नीति तथा कार्यक्रम भएकाले यहाँहरुले यसको आकार र भाषामा परम्परा तोडिएको पाउनु हुनेछ ।  यसले सामाजिक सञ्जालका फेक एकाउन्टहरुमा अल्मलिएका युवाहरुलाई पनि आफ्नो भविष्य निर्माणमा नयाँ जाँगर र ऊर्जा पैदा गर्न बाटो खोल्ने छ भन्ने अपेक्षा राखेको छु । नीति तथा कार्यक्रमले संक्षिप्त र साङ्केतिक रूपमा सबै क्षेत्रलाई समेटको छ । माननीयज्यूहरूले उठाएका विषयहरू विस्तृत रूपमा बजेटमा आउने नै छन् । त्यसैले बजेट वक्तव्यमा समावेश हुने प्रकृतिका कार्यक्रमहरू यसमा उल्लेख गरिएका छैनन् ।   सहकारीको विद्यमान समस्या समाधान गर्ने सम्बन्धमा पनि नीति तथा कार्यक्रम प्रष्ट छ । सहकारी नीतिको पुनरावलोकन गरी नयाँ राष्ट्रिय नीति जारी गरिने र राष्ट्रिय सहकारी नियमन प्राधिकरणमार्फत् सहकारी क्षेत्रका समस्याहरू समाधान गरिने विषय उल्लेख भएको छ । समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई तत्काल राहत उपलब्ध गराउन सहकारी नियमन प्राधिकरणमार्फत् कोष स्थापना गरिने विषय पनि नीति तथा कार्यक्रममा समेटिएका छन् । वनलाई रोजगारी, उत्पादन, राष्ट्रिय पूँजी निर्माणको स्रोत बनाउने सम्बन्धमा सामुदायिक वनको व्यवस्थापन सुदृढ गर्दै वन आधारित स्रोतको उचित उपयोग गरिने, राष्ट्रिय निकुञ्ज तथा संरक्षित वन क्षेत्रको वातावरणीय सुरक्षा सुनिश्चित गर्दै राष्ट्रिय प्राथमिकताका आयोजना सञ्चालन, एकीकृत जलाधार व्यवस्थापन लगायतका वन व्यवस्थापनसम्बन्धी कार्यक्रमहरुलाई नीति तथा कार्यक्रमले समेटेकै छ । जलवायुु परिवर्तन सम्बन्धमा माननीयज्यूहरूले उठाउनुभएको सन्दर्भममा सगरमाथा संवादमार्फत् सम्बोधन गरिने विषय नीति तथा कार्यक्रममा उल्लेख भएकै छ । नेपालको वन, जलस्रोत र हिमालहरूले विश्व तापमानलाई सन्तुलित बनाउन योगदान गरिरहेको छ । विश्वमा कार्बन उत्सर्जनका कारणबाट हिमाल जोखिममा परी महाविपद् सृजना हुने स्थितिको न्यूनीकरणका लागि निरन्तर सचेत गराउनुु आवश्यक छ । नेपालले कार्बन उत्सर्जन गर्ने मुलुकबाट उचित क्षतिपूर्ति, जलवायु वित्त र हरित वित्त  प्राप्तिका लागि संवाद, बहस र पैरवी गर्ने छ । माउण्टेन इकोनोमीमा आधारित सगरमाथा संवादको अन्तर्राष्ट्रियकरण गरिने छ ।  भौतिक पूर्वाधार र पर्यटनको क्षेत्रमा परिणाम दिने कार्यक्रमका विषय यस नीति तथा कार्यक्रममा समेटिएका छन् । त्यसैगरी उच्च तथा दीगो आर्थिक वृद्धिका लागि भौतिक पूर्वाधारका क्षेत्रमा सार्वजनिक तथा निजी लगानीलाई प्रवद्र्धन गरिने र सुरूङमार्ग, द्रूतमार्ग र ओभर पासजस्ता आधुनिक प्रविधियुक्त पूर्वाधार निर्माणमा जोड दिइने विषय पनि उल्लेख भएकै छ ।  यस सरकारले तीब्र सडक विस्तारः विकास पूर्वाधारको आधार नीति लागू गरी सडक पूर्वाधारमा एशियन मापदण्ड स्तरको राष्ट्रिय राजमार्ग निर्माण, लोकमार्ग निर्माण, सडक लेन विस्तार, सुरुङमार्ग निर्माण लगायतका पूर्वाधार निर्माणमा आफूलाई केन्द्रित गरेको छ ।  थालनी भएका विकास आयोजना वर्षौंसम्म नसकिने विकृत स्थिति रहनु हुँदैन । यसमा छुट कसैलाई छैन । यस सरकारले आयोजनामा स्रोत सुनिश्चितता, जग्गा अधिग्रहण, रुख कटान, अवरोध, मुआब्जा, कानुनी मुद्दाजस्ता सबालमा अग्रसरता लिई विकासको गति र संस्कृति परिष्कृत गर्दै परिमार्जन गरेको छ । यसअघि मेरो नेतृत्वको सरकारले देशैभर एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक, प्रत्येक स्थानीय तहमा सुविधासम्पन्न अस्पताल निर्माण, उत्तर दक्षिण कनेक्टिभिटिका लागि सडक विस्तार, नदी किनारमा उत्तर दक्षिण लोकमार्गका आयोजनाहरु सुरु गरेको थियो ।  आज मदन भण्डारी राजमार्ग, हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्ग निर्माणमा अभूतपूर्व काम भएका छन्। बिरोधका स्वरबीच पनि मुलुक सुरुङ मार्गको युगमा प्रवेश गरेको छ । म सरकारमा आउँदा नारायणगढ–बुटवल सडक नबन्ने र ठेक्का तोड्नुपर्ने अवस्थामा पुगेको थियो । निर्माण ठप्प थियो । आज सो सडकको  पूर्वी र पश्चिमी दुबै खण्डमा यसै समयमा ६२ प्रतिशतभन्दा बढी काम भइसकेको छ । ४१ वटा सामान्य पुल र ७ वटा मुख्य पुलहरूको निर्माण भएका छन् ।  दाउन्ने खण्डमा वर्षा अगाडि नै नियमित आवतजावत हुनेगरी तीब्र गतिमा काम भइरहेको छ । हाल सो खण्डमा नागरिकले यात्रामा सास्ती भोग्नुपरेको छ । पक्कै पनि यो सास्ती धैरै दिनको हुनेछैन, केही समयको धैर्यका लागि सबैसँग अपिल गर्दछु । लामो समयसम्म अन्यौलमा रहेको बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडक निर्माणको ठेक्का सम्झौता भइसकेको छ । सरकारको नीति तथा कार्यक्रममाथि छलफल चलिरहेका बेला म किन यी सडकका नाम लिइरहेको छु ? किनभने हामीले नीति बनाउँदा तोकिएका समयमा विकास आयोजनाहरु सक्नेगरी बनाउनु पर्छ । र, यस वर्ष त्यसतर्फ हामीले ध्यान दिएको कुरा माथि पनि चर्चा गरिएको छ । माननीयज्यूहरूले रोजगारीका सम्बन्धमा उठाउनुभएको विषयमा मेरो ध्यानाकर्षण भएको छ । यस नीति तथा कार्यक्रमले देशभित्रै उद्यमशीलता विकास गरी रोजगारी सिर्जना गर्नेछ ।  माननीयज्यूहरुले विद्यालय क्षेत्र सुधारका सम्बन्धमा उठाउनु भएको विषयमा मैले माथि नै पर्याप्त चर्चा गरेको छु ।  मैले औपचारिक फोरम र अनौपचारिक ठाउँमा पनि समृद्धि र सुखका आधारहरूका विषयमा बेलाबेला भन्दै आएको छु ।  पछाडि परेका वर्ग, महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसंख्यक, जसले आफूलाई तल परेको ठान्छ, उनीहरुको जीवनस्तरबाट समृद्धिको मापन गरिनु पर्छ, माथि रहेका, अवसरको उपभोग गरिरहेका वर्गलाई आधार बनाएर होइन। सरकारको नीति कार्यक्रमले त्यसलाई अँगालेको छ । प्रस्तुत नीति तथा कार्यक्रममाथि माननीयज्यूहरूबाट प्राप्त संशोधन प्रस्तावहरूलाई मननयोग्य सुझावका रुपमा ग्रहण गर्दै धन्यवाद दिन चाहन्छु । ती सुझावहरुलाई आगामी जेठ १५ गते यस सम्मानित संसदमा प्रस्तुत गरिने वार्षिक बजेट वक्तव्यमा समेट्ने विश्वास समेत दिलाउन चाहन्छु ।