सन्तोष रोकाया

भाटभटेनी जलेपछि बैंकमा भूकम्प, लण्डनमा बैठक

काठमाडौं । बिहान ८ बजेको समय । चक्रपथको भाटभटेनीमा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङ कर्मचारीहरूलाई ढाडस दिइरहेका थिए । उनकी पत्नी सावित्री गुरुङ फूलका गमलाहरू मिलाइरहेका मालीहरूलाई सजाउन सहयोग गरिरहेकी थिइन् । कुन गमला कसरी राख्ने, कुन ठाउँमा राख्दा थप आकर्षक हुन्छ भनेर सल्लाह दिँदै थिइन् उनी । महाराजगञ्जको भाटभटेनी सुपर स्टोर पुनःसञ्चालनको अन्तिम तयारी गरिरहेका चार सय बढी कर्मचारीहरू धमाधम सामान ओसार्दै थिए । भवन पुन: निर्माणमा जुटिरहेका श्रमिकहरू बिहानैदेखि काममा व्यस्त थिए । सावित्री गुरुङ ।  भाटभटेनीका सञ्चालक मीनबहादुरले भाटभटेनीका आँगनमा जम्मा भएका सञ्चारकर्मीहरूलाई प्रफुल्लित भएर भने, ‘हामी नजुटे को जुट्ने ? हामीले काम नगरे कसले गर्ने ? देश र देशको अर्थतन्त्र निर्माणका लागि पनि हामी अगाडि बढ्नै पर्छ । यो हाम्रो उत्तरदायित्व र जिम्मेवारी पनि हो ।’ गत भदौ २४ गतेको जेनजी आन्दोलनका कारण देशको प्रमुख डिर्पाटमेन्टल स्टोर भाटभटेनीका १२ वटा स्टोरहरू जले । आन्दोलनकारीको टार्गेटमा भाटभटेनीका स्टोरहरू परे । कति पूर्ण रूपमा जलेर  ध्वस्त भए । कतिपयमा तोडफोडसँगै लुटपाट भयो ।  यो दुर्घटना स्मरण गर्दै मीनबहादुर भन्छन्, ‘अब त देशमा शान्ति होला कि !’ उनले भदौ २४ गतेलाई सम्झिँदै हरेक भाटभटेनी स्टोरको फ्रन्टमा देखिने गरी ठूलो अक्षरले लेखेका छन्, ‘हे भगवान ! अब उप्रान्त मेरो देश नेपालमा यस्तो कहिल्यै नहोस् ।’ यो विध्वंशले मीनबहादुरको मन रोएको छ । मस्तिष्क छियाछिया भएको छ । तर, आफू सम्हालिँदै कर्मचारीलाई ढाडस दिइरहेका छन् । उपभोक्तालाई सेवा दिन तम्सिएका छन् । सञ्चारकर्मीहरूसँग सकारात्मक सन्देश प्रवाहको बिन्ति गरिरहेका छन् । र, थप मनोबल बढाएर काम गर्न अगाडि बढिरहेका छन् ।  ‘अब त भदौ २४ पनि बिर्सिसकें । अहिले त आफूलाई २५/२६ वर्षको केटोजस्तो ऊर्जा आएको छ,’ ठट्टा गर्दै उनले सञ्चारकर्मीहरूसँग भने, ‘तपाईंहरूले पनि मलाई बुढो हुनुभयो नभन्नू होला है !’ सरकारले गर्न नसकेको काम मीनबहादुरले गरेर देखाएका छन् । अधिकांशले विश्वास पनि नगरेको पुन : निर्माणको काम उनले महिना दिनमै पूरा गरेका छन् । र, सन्देश दिएका छन्, ‘आँट भयो भने गर्न सकिन्छ । बस्, मनमा आँट, ऊर्जा  जाँगर चाहिन्छ ।’ सरकारले जलेका संरचनाको खरानी टकटक्याउन सकेको छैन । कालो धुवाँको मुस्लो भित्ताहरूबाट हट्न सकेको छैन । जलेका संरचनाहरू हरियो त्रिपालले ढाकिएका छन् । तर, मीनबहादुरले भने आफ्नो बहादुरी देखाएका छन् । उनले समाजलाई सकारात्मक सन्देश र उत्प्रेरणा दिएका छन् ।  परिणामस्वरूप भाटभटेनी जलेको तीन महिना नपुग्दै गत मंसिर १९ गते बालुवाटारस्थित वेयरहाउस पुनःसञ्चालनमा आयो । माघ २८ गते कोटेश्वरमा रहेको भाटभटेनीको स्टोर पुन:निर्माण सकेर सञ्चालनमा आयो । र, फागुन १४ गते महाराजगञ्जस्थित स्टोर पुनः सञ्चालनमा आयो । यो छोटो अवधिमा जलेर खरानी भएका संरचना उनले पुनःसञ्चालनमा ल्याएका छन् । आफूसँगै कर्मचारीमा मनोबल बढाएका छन् । निजी क्षेत्र र सरकारलाई पनि ‘गर्न सकिन्छ है’ भन्ने सन्देश प्रवाह गरेका छन् र उपभोक्तालाई हामी पुनः सेवा दिन आयौं है भन्ने मेसेज पठाएका छन् ।  महाराजगञ्जको भाटभटेनी स्टोर पुनःसञ्चालनमा आएपछि कर्मचारीसँग मीनबहादुर गुरुङ ।  यो छोटो अवधिमा यति ठूला संरचनाहरूको पुन: निर्माण सम्पन्न गर्नु आफैमा जोखिम र चुनौती पनि थियो । त्यो महसुस मीनबहादुरले नगरेका पनि होइनन् । उनलाई थाहा थियो– ‘यति ठूला संरचनाको पुन: निर्माण गर्न कम्तिमा दुई वर्ष समय लाग्छ ।’ तर, उनले आत्मबल बढाए । मनमनै भने, ‘आँट गर्यो भने गर्न सकिन्छ ।’ व्यवस्थापनलाई सक्रिय बनाए । निर्माण कम्पनीलाई काम सक्ने ‘डेडलाइन’ दिए । हामीले नसके कसले सक्ने ? हामीले नगरे कसले गर्ने भन्ने संकल्प लिएर अगाडि बढे । र, जलेर खरानी बनेका भाटभटेनीका स्टोरहरू अहिले चिटिक्क परेर उभिएका छन् । मीनबहादुरको मन हौसिएको छ । मुहारमा मुस्कान थपिएको छ ।   ‘भाटभटेनीमाथि यो किसिमको प्रहार होला, जलाएर खरानी बनाइएला भन्ने कुरा मेलै सपनामा पनि सोचेको थिइनँ । तर, म नै टार्गेटमा परें,’ दुःखी हुँदै उनले सञ्चारकर्मीहरूसँग भने, ‘अब यो देशमा यस्तो नहोस् भन्ने कामना गरौं । यो घटनाबाट पाठ सिकेर देश निर्माणमा लागौं ।’ उनले भाटभटेनी पुन: निर्माणमा खटिएका इञ्जिनियर सुवर्ण डंगोल र गौरव मल्लको नाम सगौरव लिए । दिनरात खटिने श्रमिक र कर्मचारीको प्रशंसा गरे । नेपालीले पनि समयमै काम गर्न सक्छ है भन्ने उदाहरण प्रस्तुत गरेकोमा सम्मान प्रकट गरे ।  मीनबहादुर गुरुङ ।  बैंकमा भूकम्प, लण्डनमा बैठक भदौ २४ गते देशभरका १२ वटा स्टोरमाथि आगजनी, तोडफोड तथा लुटपाट भएपछि भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङलाई मात्रै होइन, त्यस संस्थासँग आवद्ध कर्मचारी, कर्मचारीका परिवार, ऋण दिने बैंक र लेनदेन गरिरहेका अधिकांश व्यक्ति र कम्पनीहरू ठूलो सकसमा परे । अधिकांशको प्रश्न थियो, ‘अब के हुन्छ ? भाटभटेनी डुब्छ ?’ यो प्रश्नले मीनबहादुरको मनमा पनि प्रहार गर्यो । उनलाई थाहा थियो– ‘आफूले हार खायो भने भाटभटेनीसँग जोडिएका हजारौं कर्मचारी समस्यामा पर्नेछन्, तिनका हजारौं परिवार प्रभावित हुनेछन्, ऋण सुविधा दिएका बैंकहरूलाई ठूलो असर पर्नेछ ।’ हिम्मत जुटाए । र, संकल्प गरे ‘म फेरि उठ्नेछु ।’ तर, विश्वास गर्ने कसले ? त्यही अविश्वासले उनलाई ऋण दिएका बैंकले ऋण सुविधा रोके । विदेशी बैंक स्ट्याण्डर्ड चार्टर्ड र एसबिआई बैंकले उनीसँग तारन्तार फलोअप गर्न थाले ।  ‘जहाँ गहिरो, त्यहीँ पहिरो’ भने झैं सकस परेकै बेला ऋण सुविधा दिइरहेका बैंकले पनि ऋण होल्ड गरे । अब कसरी अगाडि बढ्ने भनेर स्ट्याण्डर्ड चार्टर्ड बैंकले त्रिपुरेश्वरस्थित वर्ल्ड टावरमा उच्च तहको मिटिङ राख्यो । नेपालमा जेनजी आन्दोलन भएर भाटभटेनीका स्टोरहरू जलेर नष्ट भएको भन्दै उनको बैंक खाता नै सिंगापुर ट्रान्सर्फर गर्यो ।  सिंगापुरले स्टाण्डर्ड चार्टर्ड बैंकको हेडक्वाटर लण्डनमा फाइल पठाइदियो । भाटभटेनीको विषयमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको हेड क्वाटरमा बृहत छलफल भयो । बैंकले उनको ऋण खाता नै होल्ड गरिदियो । ‘म आफैले बैंकलाई राखेर छलफल गरें । हामी फेरि उठ्न सक्छौं, विश्वास गर्नूस् भनें,’ मीनबहादुरले त्यो घटना स्मरण गर्दै भने, ‘तपाईंको बैंक डुब्न दिँदैनौं भनेर विश्वस्त पारें ।’ तर पनि बैंकले होल्ड गरेको खाता खुला गरेन । तर, मीनबहादुर निराश भएनन् । उनले आफूसँग भएको स्रोतसाधन प्रयोग गरेर वेयर हाउस र कोटेश्वरको स्टोर पुनःसञ्चालनमा ल्याए । यो सूचना बैंकले पायो । बैंकका प्रमुख कार्यकारी अधिकृत लगायतका उच्च अधिकारीले भाटभटेनीका स्टोर निरीक्षण गरे । प्रबन्ध निर्देशक गुरुङका अनुसार उनको होल्ड भएको खाता अहिले बैंकले खुला गरेको छ । आर्थिक वर्ष २०८२/८३ का लागि दिने भनिएको ५० करोड रुपैयाँ ऋण फुकुवा गरेको छ । बैंक ५० करोड रुपैयाँ ऋण दिन सहमत भएको छ । तर, अहिले उनले त्यो ऋण सुविधा लिएका छैनन् । अन्तर्राष्ट्रिय मुद्रा कोषले पनि भाटभटेनीको पुन: निर्माण देखेर सरप्राइज भएको उनले सुनाए । ‘सबै स्टोरहरू सञ्चालनमा आएपछि मात्रै त्यो ऋण लिन्छु । हामीले गर्न सक्छौं भन्ने उदाहरण देखाएका छौं,’ उनी भन्छन्, ‘नेपालमा अथाह सम्भावना छ । मैले त्यो दुर्घटना बिर्सिसकेको छु । अब नेपाल बन्छ ।’ उनी नक्सालस्थित भाटभटेनीको मुख्य स्टोरको निर्माण पनि आगामी भदौभित्र सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको बताउँछन् । उनले अब छिट्टै बौद्धको स्टोर पुनःसञ्चालनमा ल्याउने तयारी भइरहेको सुनाउँछन् ।  महाराजगञ्जको भाटभटेनी स्टोर पुनःसञ्चालनमा आएपछि मीनबहादुर गुरुङ र साथमा पत्नी सावित्री गुरुङ ।  ११ अर्बको दाबी, २ अर्बमात्रै भुक्तानी भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले बीमा कम्पनीहरूप्रति भने दुःखेसो पोखे । आफूले करोडौं प्रिमियम भुक्तानी गरेको भए पनि संकटमा पर्दा बीमा कम्पनीहरूले भुक्तानीमा सहजीकरण नगरेको गुनासो गरे ।  दशैंअघि धेरै ठूलो परिमाणमा सामान स्टक भए पनि सोहीअनुसार मूल्यांकन नभएको उनको भनाइ छ । उनले भाटभटेनीले १० अर्ब ८६ करोड रुपैयाँको बीमा दाबी गरे पनि हालसम्म २ अर्ब ३ करोडमात्रै भुक्तानी भएको उनको धारणा छ ।  भाटभटेनीले अपेक्षा गरेअनुसार मूल्यांकन भएन । तर, जति दाबी भएको छ त्यसको शतप्रतिशत पाउनुपर्छ भन्ने हाम्रो धारणा हो । टंगालको भवनको मूल्यांकन ५ करोड मात्रै देखिएको छ, अरू भवनको पनि पाउनुपर्छ,’ उनले भने, ‘मैले यति थोरै लिनेवाला छैन भनेपछि २ अर्ब ३ करोड भुक्तानी भयो । थप रकम दिइएको छैन, दिएनन् भने पनि लड्ने हिम्मत राख्न सक्छु । प्रिमियम पनि करोडमा तिरेको छु । उनीहरूले मलाई परेको बेला नतिर्ने भन्ने हुन्छ ?’ चुनावको समयमा संसारभरका मानिस पर्यवक्षक भएर देशमा आउने भएकोले उनीहरूलाई पनि नेपाल आफै बन्न सक्छ र नेपाली बनाउन सक्छन् भन्ने सन्देश दिन पनि २४ सै घण्टा खटिएर काम गरेको मीनबहादुरको धारणा छ । ‘उनी भन्छन्,‘ नेपालीले पनि गर्न सक्छ भन्ने सन्देश विश्वलाई दिएका छौं, यसमा हामीले प्राउड फिल गर्नुपर्छ ।’  

५० प्रतिशत महिला बोकेर उठ्यो टिम हेमराज, चन्द्रसहित ८ पूर्वअध्यक्षको साथ

काठमाडौं । निजी क्षेत्रका व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी माहोल तातेको छ । यसअघि गोप्य रूपमा आफ्नो पक्षमा चुनावी नतिजा पार्न व्यस्त व्यवसायीहरू सोमबारदेखि सार्वजनिक मञ्चबाट पनि चुनावी अभियानलाई तीव्रता पारेको उद्घोष गरेका छन् ।  महासंघको ६०औं वार्षिक साधारण सभाबाट चयन हुने नयाँ कार्यसमितिको लागि उम्मेदवारी घोषणा हुन सुरु भएको छ । महासंघको आगामी चैत २८ र २९ मा हुने वार्षिक साधारण सभासँगै नयाँ कार्यसमिति चयन हुनेछ । नयाँ कार्यसमितिमा हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ विधानतः स्वतः अध्यक्ष हुनेछन् भने अन्य पदका लागि चुनावी प्रतिस्पर्धा हुनेछ ।  महासंघले विधान संशोधन गरेर यस वर्षबाट वरिष्ठ उपाध्यक्ष बन्नका लागि पनि पहिले कार्यसमिति सदस्य बन्नुपर्ने व्यवस्था गरेको छ । निर्वाचित सञ्चालक समितिले नै वरिष्ठ उपाध्यक्ष चयन गर्नेछ ।  महासंघको वरिष्ठ उपाध्यक्षमा सोमबार हेमराज ढकाल नेतृत्वको प्यानल घोषणा भएको हो । हाल वस्तुगत तर्फका उपाध्यक्ष रहेका ढकालको टिममा हाल एसोसिएट उपाध्यक्ष रहेकी ज्योत्सना श्रेष्ठले सोही पदमा दोहोर्याउने घोषणा गरेकी छन् ।  यही प्यानलबाट जिल्ला नगर उपाध्यक्षमा उमेश डालमिया र कल्पना गैरेले उम्मेदवारी घोषणा गरेका छन् । महासंघले विधान संशोधन गर्दै यस पटकदेखि दुई जना जिल्ला नगर उपाध्यक्ष हुने व्यवस्था गरेको छ । यसअघि एउटा मात्रै जिल्लानगर उपाध्यक्ष हुने व्यवस्था थियो ।  वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठले उम्मेदवारी दिएका छन् भने महिला उपाध्यक्षमा कमला श्रेष्ठले उम्मेदवारी दिएकी छन् । महिला उपाध्यक्ष पनि यस वर्षदेखि सुरु गरिएको हो ।  ढकाल प्यानलले आफूलाई समावेशी, अनुभवी र क्षमतावान व्यवसायीको समूह भएको दाबी गरेको छ । ६ जना पदाधिकारीमा तीन जना महिला छन्, जुन पदाधिकारीमा ५० प्रतिशत हिस्सा हो ।  यस्तो छ व्यावसायिक पृष्ठभूमि वरिष्ठ उपाध्यक्षका उम्मेदवार हेमराज ढकाल एक अनुभवी उद्योगीका रूपमा परिचित छन् । अहिले वस्तुगत उपाध्यक्षको रूपमा महासंघमा काम गरिरहेका उनी हेरिटेज ग्रुपका अध्यक्षसमेत हुन् ।  नेपालमा म्याट्रेस व्यवसायको सुरुवात एवं व्यवसाय विस्तार गर्ने श्रेय हेमराज ढकाललाई नै जान्छ । वस्तुगत उपाध्यक्ष बन्नुअघि उनी कृषि उद्यम केन्द्रको नेतृत्व, कोभिड–१९ महामारीका बेला स्वास्थ्य तथा सीप विकास समितिमा सक्रिय भूमिका, अक्सिजन, क्वारेन्टाइन र औषधि आपूर्ति व्यवस्थापनमा समन्वय जस्ता कामलाई उनले आफ्नो कार्यकालका उपलब्धिका रूपमा उल्लेख गरेका छन् ।  झापा उद्योग वाणिज्य संघ र चिया उत्पादक संघमा उनले नेतृत्वदायी भूमिका  निर्वाह गरिसकेका छन् । सोमबार उम्मेदवारी घोषणा गर्दै ढकालले उद्योगी तथा व्यवसायीहरूका समस्याहरू समाधानका लागि आवाज बुलन्द गर्ने बताए । उनले सबै उद्योगीहरू सशक्त भई एकबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले सबै उद्योगी व्यवसायीहरूलाई मिलाएर जाने समेत प्रतिवद्धता जनाए ।  हेमराज ढकाल ढकालले भने, ‘अर्को समूहले पनि उम्मेदवारी घोषणा गर्ने सुनेको छु । म सबै व्यवसायी तथा उद्योगी साथीहरूलाई अनुरोध गर्न चाहन्छु ।’ यस्तै, एसोसिएट तर्फकी उपाध्यक्षकी उम्मेदवार ज्योत्सना श्रेष्ठ गरगहना व्यवसायी हुन् । ज्वेलरी व्यवसायीको रूपमा आफ्नो परिचय बनाएकी उनी मेरिगोल्ड ज्वेलर्स कम्पनी सञ्चालन गरिरहेकी छन् । ज्योत्सना हाल नेपाल उद्योग वाणिज्य महासंघमा रोजगारदाता परिषदको सभापतिको रूपमा काम गरिरहेकी छन् । उनी रत्न तथा आभूषण महासंघकी अध्यक्ष भएर पनि काम गरिसकेकी छन् ।  सार्क चेम्बर अफ कमर्सलगायत आधा दर्जन निजी क्षेत्रका संघ संगठनमा काम गरेको अनुभव उनीसँग छ ।  ज्योत्सना श्रेष्ठ एसोसिएट उपाध्यक्षकी उम्मेदवार श्रेष्ठले अब बलियो आवाज उठाएर बोल्नु पर्ने र काम गरेर देखाउनु पर्ने बताइन् । आफूले  वर्तमान कार्यसमितिमा रहेर महत्त्वपूर्ण काम गरेको सुनाउँदै अब थप काम गर्नका लागि मतदान गरेर सहयोग गर्न उद्योगी व्यवसायीलाई आग्रह गरिन् ।  ‘विदेशमा पुगेर पनि नेपाली निजी क्षेत्रको आवाज उठाएँ, महिलासँगै समग्र उद्योगी व्यवसायीको आवाज बनें,’ उनले भनिन्, ‘प्रणालीमा देखिएको ग्याप न्यूनीकरण गर्न र समस्या समाधान गर्न अगाडि बढेकी छु, निजी क्षेत्रको एकीकृत आवाज बन्नेछु ।’  यस्तै, जिल्ला नगरका उपाध्यक्षका उम्मेदवार उमेश डालमिया पनि पूर्वका परिचित र अनुभवी व्यवसायी हुन् । महासंघको कार्यकारिणी सदस्यका रुपमा काम गरिरहेका उनी मेला समिति संयोजकको जिम्मेवारीमा पनि छन् । डालमिया बिर्तामोड उद्योग वाणिज्य संघका २०५६ देखि २०५८ सम्म अध्यक्ष भएर काम गरेको थिए भने झापा उद्योग वाणिज्य संघको अध्यक्ष बनिसकेका छन् । धरानबाट औद्योगिक व्यवसाय सुरु गरेका उनी बिर्तामोडमा रहेको रेडियो भिजनका सञ्चालकसमेत हुन् । उनी व्यवसायसँगै सामाजिक काममा पनि सक्रिय छन् ।  डालमियाले जिल्ला नगरका व्यवसायीहरूको समस्या समाधानका लागि आफूले धेरै काम गरेको सुनाए । आगामी दिनमा पनि थप काम गर्ने उनको भनाइ छ ।  उमेश डालमिया नेपाल सरकारसँग सहकार्य गरेर व्यवसायीका समस्या दह्रो रूपमा राख्नका लागि आफू नेतृत्वमा जान चाहेको उल्लेख गर्दै उनले व्यवसायीको समस्या समाधानका लागि आफू अग्रपंक्तिमा उभिने धारणा राखे ।  ढकालकै प्यानलबाट जिल्ला नगरको उपाध्यक्षका लागि कल्पना गैरेले पनि उम्मेदवारी घोषणा गरेकी छन् । पाल्पा घर भएकी उनी कैलालीको धनगढीमा रहेर व्यवसाय गर्दै आएकी छन् । उनी स्वास्थ्य व्यवसायी हुन् । उनी पनि महासंघको कार्यकारिणी सदस्यका रूपमा कार्यरत छिन् । यस्तै, जिल्ला/नगर उपाध्यक्षका उम्मेदवार कल्पना गैरेले पदले प्रतिष्ठाभन्दा पनि जिम्मेवारी भएको बताउँदै आफू जिल्ला नगरको आवाज बन्न उम्मेदवार बनेको बताइन् । कल्पना गैरे गैरेले आफू जिल्ला नगरको उपाध्यक्ष बनेको खण्डमा व्यवसायीको समस्या सम्बोधनमा अग्रसर हुने बताइन् । उनले नेतृत्व क्षमता भएकै कारण उपाध्यक्षको उम्मेदवार बनेको सुनाउँदै पारदर्शिता, उत्तरदायित्व र जिम्मेवारीका साथ काम गर्ने बताइन् । यस्तै, वस्तुगततर्फका उपाध्यक्षका उम्मेदवार नरेशलाल श्रेष्ठ पनि अनुभवी व्यवसायी हुन् । सिन्धुपाल्चोक घर भएका श्रेष्ठले बागमती आर्टस् एण्ड ह्याण्डिक्राफ्ट सञ्चालन गर्दै आएका छन् । हस्तकलाका उत्पादनलाई अन्तर्राष्ट्रिय रूपमा बजारीकरण गर्न उनको महत्त्वपूर्ण योगदान छ ।  नरेशलाल श्रेष्ठ पर्यटन, ऊर्जा, स्वास्थ्य क्षेत्रमा पनि उनको लगानी र अनुभव छ । नेपाल निर्यात परिषदको अध्यक्ष भएर पनि काम गरिसकेका छन् । श्रेष्ठले हस्तकला, उर्जा, हस्पिटालिटी र स्वास्थ्य क्षेत्रबाट प्राप्त गरेको अनुभव महासंघमा बसेर काम गर्ने बताए । उनले मतदातालाई साथ दिएर काम गर्ने अवसर दिन पनि आग्रह गरे ।  यस्तै, ढकाल प्यानलबाट व्यवसायी कमला श्रेष्ठ पनि महिला उपाध्यक्षको उम्मेदवार बनेकी छन् । तीन कार्यकाल महासंघको कार्यसमिति सदस्य बनिसकेकी उनीसँग चार दशक व्यवसाय गरेको अनुभव छ । उनी हाल महासंघको महिला उद्यमी विकास समितिको सभापतिको रूपमा काम गरिरहेकी छन् । उनी ब्युटी पार्लर व्यवसायी हुन् । उनी सायम इन्स्टिच्युट अफ हेयर डिजाइन एण्ड ब्युटी केयरको सञ्चालक हुन् । उनी नेपाल ब्युटिसिएन संघको संस्थापक अध्यक्षसमेत हुन् ।  कमला श्रेष्ठ श्रेष्ठले २०३६ सालबाट १० हजार लगानी गरेर एक महिनामा ८० रुपैयाँ कमाउनेदेखि अहिले लाखौंलाई रोजगारी दिने क्षेत्र सौन्दर्य व्यवसाय बनेको बताइन् । सुरुवाती दिनमा ससुराले पानी नचल्ने काम गरिस् भन्ने आक्षेप लगाएको गुनासो सुनाउँदै उनले भनिन्,’ ‘महासंघमा तीन कार्यकाल काम गरेर पनि महिला उद्यमी विकासमा उल्लेखनीय काम गरेकी छु, अब मलाई सबैले विश्वास गर्ने अपेक्षा छ ।’ चण्डीदेखि चन्द्रसम्मको साथ वरिष्ठ उपाध्यक्षका उम्मेदवार हेमराज ढकाल नेतृत्वको प्यानललाई आधा दर्जन बढी पूर्वअध्यक्षहरूले समेत साथ दिएका छन् । सोमबार आधा दर्जन पूर्वअध्यक्ष उनको उम्मेदवारी घोषणासभामा उपस्थित थिए । वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकाल पनि घोषणासभामा उपस्थित भएका थिए । अध्यक्ष ढकालले उम्मेदवारी घोषणा गरेका सबै उम्मेदवार अनुभवी र क्षमतावान रहेको भन्द्र प्रशंसासमेत गरेका थिए । आफू निर्विरोध अध्यक्षमा निर्वाचित भएको विषय स्मरण गर्दै उनले सकेसम्म अहिले पनि निर्विरोधरूपमा निर्वाचित हुन आग्रह गरेका थिए ।  उनले अर्का समूहले पनि उम्मेदवारी घोषणा गर्ने सूचना पाएको उल्लेख गर्दै सकेसम्म मिलेर अगाडि बढेमा राम्रो हुने र हुनै नसके स्वस्थ प्रतिस्पर्धा गर्न पनि आग्रह गरे ।  कार्यक्रममा पूर्वअध्यक्ष चण्डीराज ढकाल, पशुपति मुरारका, रविभक्त श्रेष्ठ लगायतले पनि शुभकामना मन्तव्य राखेका थिए । उनीहरुले पनि उम्मेदवारी घोषणा गरेका सबै व्यवसायी अनुभवी र क्षमतावान भएको बताएका थिए । ढकाल समूहले वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ८ जना पूर्वअध्यक्ष आफ्नो समूहमा रहेको प्रचार गरेको छ । उनीहरुले सोमबार पूर्वअध्यक्षहरू शेखर गोल्छा, भवानी राणा, पशुपति मुरारका, चण्डीराज ढकाल, विनोद बहादुर श्रेष्ठ, रविभक्त श्रेष्ठ र प्रदीपकुमार श्रेष्ठको नाम आफूलाई समर्थन गरेको सूचीमा राखेको थियो । यद्यपि, पूर्वअध्यक्षहरूले आफूहरूलाई निमन्त्रणा आएकोले शुभकामना दिन मात्रै गएको र खुलेरै कुनै पनि टिममा नलागेको धारणा राखेका छन् । कार्यक्रममा गोल्छा, राणा र विनोद श्रेष्ठ भने उपस्थित थिएनन् ।  महासंघमा पूर्वअध्यक्ष फ्याक्टरले ठूलो काम गर्ने गरेको छ ।  वरिष्ठ उपाध्यक्ष खोज्दै अर्को समूह अर्को समूहले भने चैत पहिलो साता उम्मेदवारी घोषणा गर्ने बताएको छ । सो समूहले वरिष्ठ उपाध्यक्षको उम्मेदवार टुङ्ग्याउन सकेको छैन । स्रोतका अनुसार अहिले वर्तमान जिल्ला नगर उपाध्यक्ष सुरकृष्ण वैद्य, पूर्व उपाध्यक्ष द्वय दिनेश श्रेष्ठ र रामचन्द्र संघाईसँगै किशोर प्रधान र भाष्करराज कर्णिकारले वरिष्ठ उपाध्यक्षका लागि रुची देखाएका छन् । उनीहरूमध्ये एक जना वरिष्ठ उपाध्यक्ष बन्नेछन् ।  सो समूहबाट वस्तुगततर्फको उपाध्यक्षमा शिव घिमिरे, एसोसिएटतर्फको उपाध्यक्षमा प्रवलराज पाण्डे र जिल्लानगर उपाध्यक्षमा कृष्ण शर्मा र दिलसुन्दर श्रेष्ठ रहेका छन् ।  

जो आफ्नो मात्रै जित खोजिरहेका छन्

काठमाडौं । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा केपी शर्मा ओली एकै दिन पूर्वका तीन जिल्लामा आयोजना गरिएका आमसभामा हेलिकोप्टरमार्फत पुगेर सम्बोधन गरेको समाचार अहिले पनि खोज्यो भने सहजै भेटिन्छ । २०७९ को चुनावमा उनले सुदूरपश्चिमको धनगढीको आमसभालाई सम्बोधन गरेर सोही दिन डडेल्धुरा र दार्चलामा पनि पुगेर काठमाडौं फर्किएको समाचार अहिले पनि विभिन्न अनलाइनहरुमा सहजै भेटिन्छ ।   २०७० को संविधानसभा निर्वाचनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ रोल्पादेखि चितवन र काठमाडौंसम्मको सभामा उपस्थित भएर पार्टीको राष्ट्रव्यापी उपस्थिति देखाउन सक्रिय थिए । उनले पनि एकै दिन ३/४ वटा सभामा पुगेर मतदातालाई रिझाउने काम गर्थे । २०७४ को बाम गठबन्धनमा त ओली र प्रचण्ड कयौं ठाउँमै एउटै हेलिकप्टरमा पुगेर एकैदिन ठाउँ-ठाउँमा आयोजना गरिएका जनसभालाई सम्बोधन गर्ने गरेका थिए ।  २०७९ मा नेपाली कांग्रेस र तत्कालीन नेकपा माओवादी केन्द्रको चुनावी गठबन्धन हुँदा प्रचण्ड र कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा पनि हेलिकप्टरमा गएर ठाउँ-ठाउँका जनसभाहरुमा सम्बोधन गर्थे । उनीहरु आफू उम्मेदवार बनेको ठाउँभन्दा पनि जनसभामै सम्बोधन गरेर आफ्नो पार्टीप्रति जनताको आकर्षण बढाउन तल्लिन हुन्थे ।  उनीहरू देश दौडाहामा निस्केर आफ्नो पार्टीका उम्मेदवारका लागि माहोल बनाउने अभियानमा जुट्थे । उनीहरूलाई आफ्नो जित सुनिश्चित छ भन्ने आत्मविश्वास हुन्थ्यो, त्यसैले आफ्नो भन्दा पार्टीको जित प्राथमिकतामा राख्थे । हेलिकप्टरमा यात्रा गरेर एक किसिमको माहोल सिर्जना गर्थे । ती दृश्यहरु केवल प्रचार अभियान मात्र थिएनन्, शक्ति प्रदर्शनको प्रतिक पनि थिए ।   तर, अहिले परिदृश्य फरक छ । शीर्ष नेताहरुलाई चुनाव त लागेको छ । तर, आफू र आफ्नै लागि । उनीहरुको पार्टीले न जनसभा आयोजना गर्न सकेको छ नत उनीहरू आफू बाहेकका उम्मेदवारको निर्वाचन क्षेत्रमा पुगेर मतदातासँग मत मागिरहेका छन् । अहिले न हेलिकोप्टरको गर्जन सुनिन्छ नत विशाल आमसभामा गर्जिने नेताहरुका चिल्ला भाषण सुनिन्छन् । अहिले विशाल आमसभाहरू देखिन छाडेका छन् ।  फागुन २१ गतेको चुनाव आउन अब दुई साता पनि बाँकी छैन । नेताहरुलाई प्रचार प्रचार गर्न अधिकतम् अब एक सातामात्रै बाँकी छ । किनकी अर्को साताको मध्यतिर मौन अवधि सुरु हुन्छ । त्यो अवधिमा न प्रचारप्रसार गर्न पाइन्छ नत घरदैलो नै । तर, यो ‘प्राइम टाइम’ मा पनि नेताहरु सुस्त छन्, अहिलेसम्म उनीहरुले बृहत आमसभा त परै जाओस्, मतदातालाई मत दिनु है भनेर एउटा समान्य गल्ली र कोठे सभा पनि गरेका छैनन् ।  आफ्नै निर्वाचन क्षेत्रमा व्यस्त शीर्ष नेताहरू अहिले आफ्नै निर्वाचन क्षेत्रमा सीमित भएका छन् । चुनावी मैदानमा उनीहरूको ध्यान राष्ट्रिय प्रचारभन्दा व्यक्तिगत जितमा केन्द्रित देखिन्छ । राजनीति जस्तो सामूहिक अभ्यासमा व्यक्तिकेन्द्रित राजनीतिक रणनीति हाबी हुँदै गएको संकेत यसले दिन्छ ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष ओली अहिले झापा-५ मा मात्र सक्रिय छन् । ६ पटक सोही क्षेत्रबाट निर्वाचित भइसकेका उनी राजनीतिक जीवनको पहिलो पटक संघर्षपूर्ण घरदैलो अभियानमा देखिएका छन् । एमालेका एक नेताका अनुसार ओलीले संसदीय चुनावमा घरघरमा पुगेर मत मागेको यो पहिलो पटक हो । विगतमा उनी आफ्नो क्षेत्रमा सहज जितको विश्वासमा अन्य जिल्लामा प्रचार गर्न जान्थे । अहिले त्यो सहजता गुमेको छ । उनी आफ्नै जितको खोजीमा छन् । उनी मतदाताका अनेकन प्रहार सहेर सुस्त रुपमा चुनावी परिणाम आफ्नो पोल्टामा पार्ने संघर्ष गरिरहेका छन् । त्यति गर्दा पनि उनले झापा–५मा चुनौती महसुस गरिरहेका छन् ।  विगतका चुनावहरुमा काठमाडौंमै बसेर राष्ट्रिय चुनावी समन्वय गर्ने र आफ्नो निर्वाचन क्षेत्रमा केवल औपचारिक उपस्थिति जनाउने ओली यसपटक खल्तिमा ओखती बोकेर चुनावी प्रचार प्रसारमा छन् । जेन–जी आन्दोलनपछि सत्ता गुमाएका उनी एमालेका लागि भावी प्रधानमन्त्रीको अनुहार भए पनि मनोनयनयता देश दौडाहा छाडेर आफ्नै क्षेत्रमा सीमित हुनुपर्ने बाध्यतामा छन् ।  घरदैलोमा व्यस्त केपी शर्मा ओली । उनी मनोनयन दर्तापछि तीन पटक झापा पुगेर आधा महिना उतै काटिसके । घरदैलो अभियानमा उनले मतदाताका तीखा प्रश्नको सामना गरिरहेका छन् । तर, पनि मौन हुँदै मत मागिरहेका छन् ।  ओलीका प्रचारप्रसार संयोजक देवेन्द्र दाहालका अनुसार अबको चुनाव मुद्दामुखी र मतदातामुखी हुनुपर्छ । यसले गर्दा शीर्ष नेताहरू आफ्नै क्षेत्रमा केन्द्रित हुनु स्वाभाविक हो । आवश्यकता अनुसार प्रदेशस्तरका सभा र लक्षित आमसभा गर्ने योजना भएपनि प्राथमिकता घरदैलो र प्रत्यक्ष संवादलाई नै दिइएको दाहालको भनाइ छ ।  नेकपा एमालेका कार्यालय सचिव डा. भिष्म अधिकारीका अनुसार नारा र भीडभन्दा प्रत्यक्ष भेटघाट, घरदैलो, साना अन्तक्र्रिया र स्थानीय मुद्दामा स्पष्ट योजना अहिलेका मतदाताले खोजिरहेका छन् । सामाजिक सञ्जाल र डिजिटल प्रचारले ठूला भौतिक सभाको आवश्यकता केही हदसम्म घटाएको अनुभवका आधारमा यो राणनीति अपनाइएको उनको भनाइ छ ।  नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डलाई पनि कम्ता सास्ती छैन । पूर्वी रुकुममा खसीको कलेजो खाँदै र खल्तीमा भुटेको भटमास हालेर दिनरात उकाली ओराली गरिरहेका छन् प्रचण्ड । २०७९ को निर्वाचनमा गोरखा–२ बाट चुनाव लडेर जित हासिल गरेका उनी यस पटक पूर्वी रुकुममा पुगे । त्यसलाई उनी आफ्नो बहादुरी सम्झिन्छन् । उनले मतदाता र आलोचकहरुलाई भन्ने गरेका छन्, ‘देशका हरेक क्षेत्रबाट चुनाव लडेर जित्न सक्ने व्यक्ति म मात्रै हो ।’ स्थानीय मतदातासँग पुष्प कमल दाहाल ‘प्रचण्ड’ ।  संयोजक प्रचण्ड पनि अहिले आफ्नै जितमात्रै खोजिरहेका छन् । त्यसका लागि उनी माओवादी आधारभूमि पूर्वी रुकुम पुगे । त्यहाँ पनि उनी चुनौती महसुस गर्दै दिनरात प्रचारप्रसारमा लागि रहेका छन् । उनले पनि देशव्यापीरुपमा विगतको जस्तो आमसभा गरेर सम्बोधन गर्ने अभ्यास रोके ।  तीन पटक प्रधानमन्त्री बनिसकेका प्रचण्डले फागुन २१ लाई चुनौतीपूर्ण चुनावका रुपमा लिएका छन् । सोही क्षेत्रमा प्रगतिशील लोकतान्त्रिक पार्टीले सहिद पुत्र सन्दिप पुनलाई उम्मेदवार बनाएको छ ।  २०६४ सालमा भएको संविधान सभा निर्वाचनमा पहिलो पटक भाग लिँदै उनी काठमाडौं-१० र रोल्पा-२ बाट उम्मेदवार बनेर विजयी भएका थिए । २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा उनी काठमाडौं-१० र सिराहा-३ बाट उम्मेदवार बनेका थिए । त्यतिबेला उनी काठमाडौं–१० मा पराजित भए भने सिराहा-३ बाट झिनो मतले विजयी बने ।  २०७४ सालको निर्वाचनमा उनी गृह जिल्ला चितवन-३ बाट निर्वाचित भएका भए । २०७० सालको निर्वाचनपछि सत्ताका लागि कहिले कांग्रेस र कहिले एमालेसँग गठबन्धन गरेर संसदमा पुगे उनी । अहिले कुनै पनि पार्टीले गठबन्धन गरेका छैनन् । त्यसको चुनौती महसुस गर्दै उनी पूर्वी रुकुम पुगेका हुन् । त्यसैले पनि उनी अहिले पार्टीका अन्य उम्मेदवारको निर्वाचन वा जनसभामा सहभागी छैनन् । उनको दैनिकी पूर्वी रुकुममै बितिरहेको छ । नेपाली कम्युनिष्ट पार्टीले पनि अनावश्यक तामझाम घटाएर परिणाममुखी प्रचारमा ध्यान दिएको बताएको छ । पार्टीका कार्यालय सचिव गणेशमान पुन भन्छन्, ‘साना कार्यक्रम प्रभावकारी छन् । खर्च पनि कम हुन्छ, त्यसैले विगतको दोहोर्याएनौं ।’ सोही पार्टीका सहसंयोजक माधव कुमार नेपाल पनि अहिले ठूलो चुनौतीमा छन् । उनी पनि दिनरात लागेर रौतहट-१ का मतदातालाई रिझाइरहेका छन् ।  नेपाली कांग्रेसका सभापति गगनकुमार थापा पनि सर्लाही-४ बाहिर खासै सक्रिय देखिएका छैनन् । आन्तरिक संघर्षपछि नेतृत्वमा पुगेका थापाबाट देशव्यापी अभियानको अपेक्षा गरिएको थियो । इतिहासमै पहिलो पटक युवा नेतृत्व पाएको कांग्रेसले गगनको नेतृत्वमा देशव्यापी माहोल सिर्जना गरेर चुनावमा अनपेक्षित जित हासिल गर्छ भन्ने अनुमान धेरैको थियो । तर, गगन पनि आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित भए ।  २०७० सालदेखि काठमाडौं-४ बाट निरन्तर निर्वाचित हुँदै आएका थापाले यसपटक वारेसानामार्फत सर्लाही ४ मा उम्मेदवारी दर्ता गराएपछि मुलुककै राजनीतिक वृत्तमा यो क्षेत्र चर्चाको केन्द्रमा रह्यो । जुन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंह पनि उम्मेदवार बनेका छन् । कांग्रेसको गढ मानिएको सो क्षेत्रमा थापाको प्रवेशले नयाँ राजनीतिक माहोल सिर्जना गरेको छ ।  सर्लाही-४ मा घरदैलो गर्दै गगन कुमार थापा ।  गगनले अघिल्लो साता मधेशमै प्रतिज्ञा सभा आयोजना गरे । त्यसपछि अन्य प्रदेश र ठाउँमा आमसभा गर्नेबारे कांग्रेसले अहिलेसम्म योजना सार्वजनिक गरेको छैन । सभापति थापा पनि आफ्नो क्षेत्रबाहेकमा देखिएका छैनन् । नेपाली कांग्रेसबाट प्रधानमन्त्रीको उम्मेदवार बनेका उनलाई पनि आफ्नो जित नै महत्वपूर्ण विषय रहेको महसुस गरेका छन् ।  नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसे भन्छन्, ‘ठूल्ठूला आमसभा गर्नु हाम्रो परम्परा हो । तर, अहिले हामी मतदातासँग प्रत्यक्ष सम्पर्कमा जोड दिइरहेका छौं, केन्द्रीय स्तरका केही रणनीतिक सभा हुनेछन् तर अधिकांश कार्यक्रम निर्वाचन क्षेत्र केन्द्रित नै रहनेछन् ।’ उनले थपे, ‘हामी जनतामाझ पुग्ने अभियानमा छौं । आवश्यकता अनुसार आमसभा गर्ने योजना छ तर, अनावश्यक तामझामभन्दा परिणाममुखी प्रचारमा ध्यान छ ।’ प्रचारप्रसारको ट्रेण्ड परिवर्तन शीर्ष दलहरुका नेताहरु आफ्नै निर्वाचन क्षेत्रमा चुनौती महसुस गरिरहेको बुझ्न सकिन्छ । जनमत अब पहिले जस्तो स्थिर देखिँदैन । त्यसले पनि ठूला राजनीतिक दल र नेताहरुले प्रचारप्रसारको ट्रेण्ड फेरेका छन् ।  पार्टी र शीर्ष नेताहरुले चुनावी आमसभा तथा भाषणवाजी नगर्नुमा केही कारण देख्छन् राजनीतिक विश्लेषक पर्शुराम घिमिरे । उनका अनुसार निर्वाचन प्रणाली प्रत्यक्ष प्रतिस्पर्धामुखी भएकाले प्रत्येक नेताका लागि आफ्नै क्षेत्रमा मत सुरक्षित गर्नु सबैभन्दा ठूलो प्राथमिकता हो । खर्च र स्रोत व्यवस्थापनको दबाबले पनि हेलिकप्टर चार्टर गरेर ठूला मञ्च र आमसभामा पुग्नु नेताहरुका लागि महँगो पर्ने घिमिरेको बुझाइ छ ।  घिमिरेका अनुसार बदलिँदो मतदाता मनोविज्ञानले चुनावी रणनीतिमा ठूलो प्रभाव पारेको छ । विगतमा भीडको आकारले लोकप्रियता मापन गरिन्थ्यो । अहिले भने दलहरुले मतदातासँग प्रत्यक्ष संवाद, स्थानीय मुद्दामा स्पष्ट योजना र उम्मेदवारको पहुँचलाई प्राथमिकता दिन थालेका छन् । त्यसैले दलहरूले घरदैलो, टोलस्तरका अन्तक्र्रिया र साना छलफल कार्यक्रमलाई प्राथमिकतामा राखिरहेका छन् । दलहरूले पनि यही परिवर्तन स्वीकार गरेको बताएका छन् । एमालेका एक उपाध्यक्ष तथा गुल्मी २ का उम्मेदवार गोकर्ण विष्ट भन्छन्, ‘अबको चुनाव मतदातामुखी हुनुपर्छ । शक्ति प्रदर्शनभन्दा विश्वास जित्नु महत्पूर्ण छ ।’ उनी आफै पनि पहिलेदेखि नै सम्वाद र अन्क्र्रियामा लागेका उम्मेदवार हुन् । नेपाली कांग्रेसको काठमाडौं-१ का उम्मेदवार प्रवल थापाले पनि ठूला सभाभन्दा लक्षित अन्तक्र्रियालाई जोड दिएको जानकारी दिए । थापाले भने, ‘जनताले भाषणभन्दा कामको योजना खोजेका छन् । त्यसैले हामी घरदैलो र प्रत्यक्ष संवादमा केन्द्रित छौं ।’  विश्लेषक घिमिरेका अनुसार सामाजिक सञ्जालको बढ्दो प्रभाव, खर्च व्यवस्थापनको दबाब र कडा प्रतिस्पर्धाले दलहरूलाई आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित हुन बाध्य बनाएको छ । यस पटकको चुनावमा भीडको आकारभन्दा संवादको गुणस्तर निर्णायक बन्ने संकेत देखिएको घिमिरेको बुझाइ छ । उनी भन्छन्, ‘राजनीतिक दलहरू शक्ति प्रदर्शनभन्दा विश्वास निर्माणको रणनीतिमा अघि बढिरहेका छन् ।’ यो परिवर्तनको कारण निर्वाचन आयोग पनि भएको धेरैको बुझाइ छ । निर्वाचन आयोगले चुनावी खर्च, प्रचार शैली र स्रोतको प्रयोगमा कडाइ गरेको  छ। हेलिकोप्टर प्रयोग अत्यन्त खर्चिलो हुने भएकाले त्यसको निगरानी कडा भएको छ ।  रास्वपाले जनकपुरमा आयोजना गरेको परिवर्तन उद्घोष सभामा रवि र बालेन ।  परिवर्तनको लहर, विकल्पको त्रास नेपाली राजनीतिमा नयाँ शक्तिको उदयले पुराना दललाई रक्षात्मक बनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले मधेश, सुदूरपश्चिम र कर्णालीमा बृहत सभा आयोजना गर्दै आक्रामक अभियान चलाइरहेको छ । पार्टीका सभापति रवि लामिछाने वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) विभिन्न प्रदेशमा पुगेर परिवर्तनको सन्देश बोलिरहेका छन् । उनीहरूको अभियानले युवा र असन्तुष्ट मतदातालाई आकर्षित गरिरहेको देखिन्छ ।  पुराना दलका शीर्ष नेताहरू आफ्नो निर्वाचन क्षेत्रमा सीमित हुनु रवि र बालेन पनि हुन् । सामाजिक सञ्जालमा देखिएको प्रभावले शीर्ष नेताहरुका लागि राष्ट्रिय माहोल बनाउनेभन्दा व्यक्तिगत जित सुरक्षित गर्ने प्राथमिकता देखिन्छ । नेपालको मतदाता संरचनामा जेनजी पुस्ताको प्रभाव उल्लेखनीय रूपमा बढेको छ । सामाजिक सञ्जालमा सक्रिय यो पुस्ता परम्परागत भाषण र नाराबाट प्रभावित हुँदैन भन्ने विषय शीर्ष नेताहरुले बुझिसकेका छन् । उनीहरू जेनजीहरु तथ्य, पारदर्शिता र जवाफदेहिता खोज्छन् । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले राजनीतिमा प्रश्न गर्ने संस्कृतिलाई बल दिएको छ । नेताहरू अब केवल आमसभामा ठूलो भीड जम्मा गरेर सन्तुष्ट हुन सक्दैनन् । सामाजिक सञ्जालमा उठ्ने प्रश्न, आलोचना र ट्रेन्डहरूले चुनावी समीकरण प्रभावित पार्न सक्छ । यही कारण नेताहरूले आफ्नो निर्वाचन क्षेत्रमा प्रत्यक्ष सम्पर्कलाई प्राथमिकता दिन थालेको अधिकांशको बुझाइ छ ।  यो नेपाली राजनीतिको ‘कोर्ष करेक्सन’का रुपमा पनि धेरैले बुझेका छन् । नेपालको चुनावी राजनीति अहिले संक्रमणकालीन अवस्थामा छ । हेलिकोप्टरमार्फत देश दौडाहा गर्ने नेताहरू घरदैलोमा सीमित भएका छन् । विशाल आमसभाको ठाउँमा व्यक्तिगत भेटघाटले प्राथमिकता पाएको छ । पुराना दल रक्षात्मक छन्, नयाँ दल आक्रामक छन् भने जेनजी पुस्ता निर्णायक भूमिकामा उभिएको छ । विश्लेषकहरु यसलाई राजनीतिक संस्कृतिको पुनर्संरचनाका रुपमा बुझ्छन् । नेताहरूको चुनौती अब केवल चुनाव जित्ने मात्र होइन, बदलिँदो मतदाता मनोविज्ञान बुझ्ने र विश्वास पुनर्स्थापित गर्ने पनि हो । 

सदस्यबाट बचत नलिने सहकारी

पुणे, भारत । भारतको पुणे जिल्लाको काष्टी, दौंड गाउँमा स्थापित एक सहकारी संस्था अहिले सफल व्यापारिक मोडलका रूपमा स्थापित भएको छ । सन् १९२६ मा स्थापना भएको सहकार महर्षि काष्टी विविध कार्यकारी सेवा सहकारी संस्था लिमिटेडले ९७ वर्षको लामो यात्रा पार गर्दै समुदायको आर्थिक रूपान्तरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ ।  १ हजार ३ सय सदस्य आवद्ध रहेको यो सहकारीले सदस्यबाट बचत संकलन नगरिकनै प्रभावकारी व्यापार र सेवा विस्तार गरेर उदाहरणीय सफलता हासिल गरेको छ । सहकारीले सदस्यलाई बचत अनिवार्य नगरी सेयर खरिदमार्फत सदस्यको सहभागिता बढाइरहेको छ । यस सहकारीमा सदस्यहरूले १०० देखि २० हजार भारतीय रुपैयाँसम्ममा सेयर खरिद गर्न सक्छन् । प्रतिकित्ता सेयर मूल्य ९ सय रुपैयाँ तोकिएको छ, जसमा ८ सय रुपैयाँ जगेडा कोषमा राखिन्छ ।  यो सहकारीको सबैभन्दा उल्लेखनीय पक्ष यसको बहुउद्देश्यीय व्यापारिक संरचना हो । सहकारीले हाल १३ वटा विभाग सञ्चालन गर्दै आएको छ । तीमध्ये मल तथा कृषि सामग्री, कृषि मेसिनरी, उपभोक्ता पसल, साडी विभाग, रेडिमेड कपडा, घरायसी उपकरण, मेडिकल, किटनाशक तथा बीउ वितरण प्रमुख छन् । यसबाहेक सहकारीले स्थानीय उत्पादन र उपभोगलाई प्रोत्साहन गर्न विभिन्न डिपार्टमेन्टल स्टोर सञ्चालन गर्दै आएको छ, जहाँ ५० जना कर्मचारी कार्यरत छन् ।  सहकारीले स्थानीय खाद्य उद्योग कटुवाल फुड्ससँग सहकार्य गरी मिठाई, चिसो पेय र मिनरल वाटरको बिक्री वितरण पनि गर्दै आएको छ । यसले सहकारीलाई अतिरिक्त आम्दानीको स्रोत सिर्जना गरेको छ । सहकारीले आफ्ना सदस्य किसानलाई विशेष गरी उखु उत्पादनका लागि प्रति सिजन ७० हजार भारतीय रुपैयाँसम्म ऋण उपलब्ध गराउँदै आएको छ । यसले किसानको उत्पादन क्षमता र आम्दानी दुवै बढाउन सहयोग पुर्‍याएको छ । वित्तीय रूपमा पनि यो सहकारी निकै सुदृढ देखिएको छ । हाल सहकारीको कुल सेयर पूँजी १ करोड २० लाख रुपैयाँ रहेको छ भने वार्षिक कारोबार ७० करोड रुपैयाँ पुगेको छ । सहकारीले विभिन्न विभागको लेखापरीक्षण अलग–अलग रूपमा गर्ने र अन्तिममा समग्र वित्तीय विवरण तयार गर्ने पारदर्शी प्रणाली अपनाएको छ । सहकारीले सदस्यलाई नियमित रूपमा आकर्षक लाभांश वितरण गर्दै आएको संस्थाका अध्यक्ष राकेश पाचपुटेले बताए । उनका अनुसार सहकारीले हालसम्म अधिकतम वार्षिक ५० प्रतिशतसम्म लाभांश वितरण गरेको छ भने गत आर्थिक वर्षमा ११ प्रतिशत लाभांश वितरण गरिएको थियो । यस सहकारीले उत्कृष्ट कार्यसम्पादनका लागि राष्ट्रिय तथा क्षेत्रीय स्तरमा सम्मान पनि प्राप्त गरेको उनले जानकारी दिए ।  विशेष गरी भारतीय सरकारी संस्था राष्ट्रिय सहकारी विकास निगमले  सन् २००७ र २०१० मा ‘उत्कृष्ट सहकारी’ अवार्ड यस सहकारीलाई प्रदान गरेको जानकारी अध्यक्ष बाजपुटेले जानकारी दिए ।  सहकारीका अध्यक्ष बाजपुटेका अनुसार सहकारीले काष्टी गाउँको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको छ । ‘हामीले व्यक्तिगत स्वार्थभन्दा समुदाय र सदस्यको हितलाई प्राथमिकता दिएका छौं । यसले गाउँमा वित्तीय साक्षरता बढाएको छ र किसानलाई आत्मनिर्भर बनाएको छ,’ उनले भने ।  उनका अनुसार सहकारीको सञ्चालक समितिले पूर्ण रूपमा स्वयंसेवीको रूपमा काम गर्दै आएको छ, जसले प्रशासनिक खर्च कम गरी नाफा सदस्यमै वितरण गर्न सम्भव भएको छ । भारतमा सहकारीहरू व्यापारिक रूपमा पनि सफल हुन सक्ने उदाहरणका रूपमा यो सहकारीलाई लिइन्छ । पारदर्शी व्यवस्थापन, समुदायमा आधारित व्यापार र सदस्य केन्द्रित सेवा यसको सफलताका प्रमुख आधार भएको उनले बताए ।  नेपालमा पनि केही सहकारीहरूले व्यापारिक क्षेत्रमा प्रवेश गरेका थिए । शिवशिखर सहकारीले देशका विभिन्न स्थानमा मार्ट सेवा सञ्चालन गरेको थियो । तर, पारदर्शिताको अभाव र आर्थिक अनियमितताका कारण उक्त सहकारीको व्यवसाय असफल भयो ।  यसको विपरीत काष्टीको यो सहकारीले पारदर्शी लेखा प्रणाली, सदस्यको विश्वास र प्रभावकारी व्यवस्थापनमार्फत सहकारी मोडललाई सफल व्यवसायमा रूपान्तरण गरेको छ । स्थानीयवासीका अनुसार सहकारीले गाउँको आर्थिक गतिविधि बढाउनुका साथै रोजगारी सिर्जना, कृषि उत्पादन वृद्धि र उपभोक्तालाई सहज सेवा उपलब्ध गराएको छ । ९७ वर्षको इतिहास बोकेको यो सहकारी संस्था केवल बचत र ऋणमा सीमित नभई सफल व्यापारिक संस्थाका रूपमा पनि स्थापित हुन सक्छ भन्ने सशक्त उदाहरण बनेको छ ।  भारतमा सहकारी : प्राथमिकतामा सदस्य  भारतमा कृषि सहकारीको मोडल वित्तीय संस्था मात्र होइन, ग्रामीण अर्थतन्त्रको मेरुदण्डका रूपमा विकसित भएको छ । विशेषगरी महाराष्ट्र, केरला, गुजरात, कर्नाटक र उत्तर प्रदेश जस्ता राज्यहरूमा सहकारीहरूले कृषि उत्पादन, बजार पहुँच, वित्तीय सेवा र स्थानीय रोजगारी सिर्जनामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।  काष्टी, दौंडको सहकार महर्षि काष्टी विविध कार्यकारी सेवा सहकारी संस्था लिमिटेड पनि यही सफल मोडलको एक प्रतिनिधि संस्था हो । भारतमा कृषि सहकारीको मोडल बहुउद्देश्यीय प्रणालीमा आधारित छ । सहकारीले किसानलाई ऋण दिने मात्र नभई उत्पादनका सम्पूर्ण चरणमा सहयोग गर्ने गरेको अध्यक्ष बाजपुटेले बताए ।  सहकारीहरुले किसानलाई मल, बीउ, कीटनाशकदेखि कृषि उपकरण उपलब्ध गराउने, उत्पादन खरिद गर्ने र बजारसम्म पुर्‍याउने काम सहकारीले नै गरेको गरेको उनले सुनाए ।  विशेषगरी राष्ट्रिय सहकारी विकास निगम (एनसीडीसी) जस्ता सरहकारी संस्थाले सहकारीलाई वित्तीय सहयोग, प्राविधिक सहयोग र पूर्वाधार निर्माणमा सहजीकरण गर्दै आएका छन् । यसले सहकारीलाई निजी कम्पनीसँग प्रतिस्पर्धा गर्न सक्ने बनाएको अध्यक्ष बाजुपाटेले बताए ।  भारतमा धेरै कृषि सहकारीहरूले उखु, दुग्ध, अन्न र तरकारी उत्पादनमा महत्त्वपूर्ण भूमिका खेलेका छन् । महाराष्ट्रका उखु सहकारीहरूले किसानको उत्पादन सिधै प्रशोधन उद्योगसँग जोड्ने काम गरेका छन् । यसले किसानलाई उचित मूल्य र स्थिर आम्दानी सुनिश्चित गरेको छ । भारत सरकारले सहकारी क्षेत्रलाई कृषि विकासको प्रमुख क्षेत्रका रूपमा लिएको छ । सरकारले सहकारीलाई सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउँछ । सहकारीले किसानलाई सहज ऋण, सस्तो मल र बीउ उपलब्ध गराउँदै उत्पादन लागत घटाएर आम्दानी बढाउन सहयोग गरेको छ ।  भारतमा सहकारी सफल हुनुको मुख्य कारण पारदर्शी व्यवस्थापन, सरकारी सहयोग र समुदायको सक्रिय सहभागिता हो । सहकारीका सञ्चालकहरू स्वयंसेवी रूपमा काम गर्ने, नियमित लेखापरीक्षण हुने र सदस्यलाई लाभांश वितरण गर्ने प्रणालीले विश्वास कायम गरेको देखिन्छ । सहकारीले बचत तथा ऋण दिने काम मात्र नभई सफल व्यापारिक संस्था पनि सहकारी बन्न सक्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ । यही कारणले पनि भारतको सहकारी मोडल अहिले विश्वभर अध्ययनको विषय बनेको छ र नेपालजस्ता देशका लागि पनि अनुकरणीय उदाहरणका रूपमा स्थापित भएको छ ।

ह्याट्रिकका लागि तम्सिएका अमरेशसँग गगनको लडाइँ

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा झापा-५ पछि बढी चर्चामा भएको क्षेत्र हो सर्लाही-४ । जहाँ नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता अमरेशकुमार सिंह, नेकपा एमालेका रविसिंह कुशवाहा र नेपाली कम्युनिस्ट पार्टीका डा. रगनिश राय यादवबीच प्रतिस्पर्धा हुँदैछ । एमाले र नेकपाका उम्मेदवारको खासै चर्चा र चासो नभए पनि यस क्षेत्रमा मुख्य दाबेदार र प्रतिस्पर्धीका रुपमा थापा र सिंहलाई हेरिएको छ ।  नेपाली कांग्रेसजस्तो देशको ठूलो पार्टीका सभापति प्रतिस्पर्धा गर्ने क्षेत्र भएकोले पनि सर्लाही-४ अहिले बढी चर्चामा छ । विगतमा आफू चुनाव लड्दै आएको काठमाडौं-४ लाई छोडेर गगन सर्लाही-४ पुग्नुलाई धेरैले आश्चर्य, संशय र सहस्यपूर्ण विषयका रूपमा लिएका छन् । यद्यपि उनको प्रवेशले पनि सर्लाही-४ को माहोल गर्मराएको छ ।  यसअघि दुई पटक सोही क्षेत्रबाट जितेर लोकप्रिय नेताको छवि निर्माण गरिसकेका अमरेशकुमार जितको ह्याट्रिक गर्ने दाउमा रहेको बेला सोही क्षेत्रमा गगनको प्रवेशले मधेशमात्रै होइन, देशको राजनीतिक माहोल पनि तातेको हो । नेपाली कांग्रेसले प्रधानमन्त्रीको उम्मेदवार बनाएर गगनलाई सर्लाही-४ मा उम्मेदवार बनाएको छ । रास्वपाले सर्लाही-४ जित्नै पर्ने रणनीतिका साथ अमरेशकुमारलाई अगाडि बढाएको छ ।  अमरेश सो क्षेत्रमा पराजित भएको खण्डमा रास्वपाले एक थान सांसद गुमाउने छ । तर, गगनको पराजयले भने सिंगो नेपाली कांग्रेस, गगन थापा र भावी प्रधानमन्त्रीको उम्मेदवारको पराजय हुनेछ । यसले गगनको राजनीतिक जीवनमा पनि ठूलो धक्कामात्रै लाग्ने छैन, नेपाली कांग्रेसको आगामी राजनीतिक रणनीति पनि असफल हुने अनुमान लगाउन सकिन्छ ।  यस्तो छ मत विश्लेषण सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ धनकौल गाउँपालिका, रामनगर गाउँपालिका, बलारा नगरपालिका, बरहथवा नगरपालिकाको वडा नं. १-४ र १३-१५, विष्णु गाउँपालिकाको वडा नं. १-४ र बासबरिया गाउँपालिकाको वडा नं. १-३ समेटिएको छ । यो क्षेत्रमा कुल एक लाख २१ हजार बढी मतदाता छन् ।  २०७९ को प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार अमरेश कुमार सिंह २० हजार १७ अर्थात् कुल खसेको मतको २८.८८ प्रतिशत मत पाएर विजयी भएका थिए । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका नागेन्द्र कुमारले १८ हजार २५३ मत पाएका थिए । अर्का स्वतन्त्र उम्मेदवार मधुमाला कुमारी यादवले पनि १४ हजार ६२२ मत प्राप्त गरेकी थिइन् । अन्य मधेशवादी दलले भने ५ हजारको हाराहारीमा मत पाएका थिए । २०७९ को चुनावमा रास्वपाका उम्मेदवार धिरज ठाकुरले भने १७० मत पाएका थिए । यो क्षेत्र राजनीतिक रूपमा चलाख भएको मतदाताको मतदानबाट पनि स्पष्ट हुन्छ । लामो समयदेखि राजनीतिक संगठन बनाएर क्रियाशील राजनीतिक दलको अघि दुई स्वतन्त्र उम्मेदवारले कुल खसेको मतको ५० प्रतिशत मत प्राप्त गरेका थिए । २०७९ मा सो क्षेत्रमा कुल ६९ हजार २८३ मत खसेको थियो । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि नेपाली कांग्रेसका उम्मेदवार अमेरशकुमार सिंह निर्वाचित भएका थिए । उनले २९ हजार ६७५ मत प्राप्त गर्दा राष्ट्रिय जनता पार्टी नेपालका राकेशकुमार मिश्रले २८ हजार १३६ मत पाएका थिए । अन्य दल तथा उम्मेदवारले ५०० मत पनि कटाउन सकेका थिएनन् । २०७४ र २०७९ को निर्वाचनमा पार्टीबाट र स्वतन्त्र भएर पनि अमरेश कुमार सिंहले नै विजयी हासिल गर्नुले उनको त्यहाँका मतदातासँग राम्रो सम्बन्ध रहेको र उनलाई मतदाताले पनि पत्याएको पनि बुझ्न कठिन छैन ।  २०७४ को संविधान सभा निर्वाचनमा भने सो क्षेत्रमा तराई-मधेश लोकतान्त्रिक पार्टीका उम्मेदवार महेन्द्र राय यादव विजयी भएका थिए । त्यतिखेर नेपाली कांग्रेसका उम्मेदवारले सो क्षेत्रमा २ हजार ६०५ मतमात्रै प्राप्त गरेको थियो । २०६४ को संविधान सभा निर्वाचनमा सद्भावना पार्टीका राजेन्द्र महतो १७ हजार ७३ मतले विजयी भएका थिए । त्यतिखेर सो क्षेत्रमा नेपाली कांग्रेसले ४ हजार २०७ मत मात्रै प्राप्त गरेको थियो ।  अघिल्ला निर्वाचन र ती निर्वाचनमा नेपाली कांग्रेसले प्राप्त गरेको मतलाई विश्लेषण गर्ने हो भने प्रत्येक निर्वाचनमा कांग्रेसले मत बढाउँदै लगेको देखिन्छ । तर, कांग्रेसले प्रत्येक पटक स्थानीय नेतालाई नै उम्मेदवारका रूपमा उठाएको छ । २०७४ मा कांग्रेसबाट जितिसकेका अमरेश कुमार २०७९ मा स्वतन्त्रबाट उठ्दा र कांग्रेसको आधिकारिक उम्मेदवारसहित तत्कालीन सरकारमा भएको दलले पनि कांग्रेसलाई सहयोग गर्दा कांग्रेस त्यहाँ पराजित हुन पुग्यो । अमरेशले नै बाजी मारे । यसले अमरेश व्यक्तिगत र सांगठनिक रुपमा पनि सर्लाही-४ मा बलियो उम्मेदवारका रूपमा हेरिएका छन् । म यहाँका जनताको सुख दु:खमा सँगै छु, काठमाडौंबाट आएर यहाँ चुनाव जित्न सकिँदैन, यहाँको समस्या यहाँकै मान्छेलाई थाहा हुन्छ, त्यो कुरा यहाँका मतदातालाई राम्रोसँग थाहा छ । अहिले रास्वपाले बोलेन्द्र शाह (बालेन)लाई प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अघि सारेको छ । रास्वपाले पहिलो पटक देशमा मधेशको छोरा प्रधानमन्त्री बन्ने नारा लगाएको छ । रास्वपाले जनकपुरमा उद्घोषसभा गर्दा सर्वसाधारणको ठूलो भीड उपस्थित थियो । बढ्दै गइरहेको रास्वपाको क्रेज, अमरेशको व्यक्तिगत मत र प्रभाव र बालेन प्रधानमन्त्री बन्ने लगायत एजेण्डाले अमरेश जित्न सक्ने आधार बलियो बन्दै गएको छ ।  रास्वपाका उम्मेदवार सिंहले मधेशकै छोरा प्रधानमन्त्रीको उम्मेदवार रहेको र आफूले पनि राम्रो काम गरेकोले आफ्नो जित सुनिश्चित रहेको सुनाए । ‘म यहाँका जनताको सुखदुखमा सँगै छु, काठमाडौंबाट आएर यहाँ चुनाव जित्न सकिँदैन, यहाँको समस्या यहाँकै मान्छेलाई थाहा हुन्छ, त्यो कुरा यहाँका मतदातालाई राम्रोसँग थाहा छ,’ उनले भने ।  कांग्रेसको गढमा गगनको रणनीति सर्लाही-४ नेपाली कांग्रेसको गढका रुपमा चिनिँदै आएको छ । विगतका निर्वाचन हेर्दा मधेशबाट कांग्रेसले धेरै सिट जित्ने गरेको थियो । २०४८ सालको आमनिर्वाचनमा अहिलेको मधेश प्रदेशमा पर्ने आठ जिल्लाका ३७ क्षेत्रमध्ये कांग्रेसले २८ सिट जितेको थियो । कांग्रेसका तत्कालीन नेता महन्थ ठाकुरले यहाँबाट तीन पटक विजयी हासिल गरेका थिए ।  २०७९ को निर्वाचनमा समानुपातिकतर्फ नेपाली कांग्रेस मधेशमा सबैभन्दा ठूलो दल बनेको थियो । कांग्रेसले तीन लाख ७२ हजार ७३४ मत पाएको थियो भने दोस्रोमा रहेको एमालेले तीन लाख २३ हजार ४२ मत पाएको थियो । सर्लाही-४ मा मात्रै पनि कांग्रेस समानुपातिकतर्फ सबैभन्दा बढी मत ल्याउने पार्टी बनेको थियो । २०७९ को निर्वाचनमा कांग्रेसले १६ हजार २९, जनमतले १२ हजार ५९५, माओवादी केन्द्रले ९ हजार ७९० र एमालेले ९ हजार ४७१ मत पाएको थियो ।  यस्तै, यो निर्वाचन क्षेत्रमा ५१ वटा वडा पर्छन् । त्यसमध्ये कांग्रेसले १९ वडा जित्दा माओवादी केन्द्रले १२, एमालेले १०, लोसपाले ८ र जसपाले २ वटा वडा जितेको थियो । कांग्रेसकै वडाध्यक्षले बढी मत पाएका थिए । मधेशसँगै सर्लाही-४ मा कांग्रेसको क्रेज देखेर सभापति थापा मधेश झरेका छन् ।  आफूले तीन पटक विजयी हासिल गरेको काठमाडौं–४ छोडेर सर्लाही–४ जाने गगन कुमार थापाको निर्णयलाई धेरै पृथक रुपले विश्लेषण गरिरहेका छन् । कतिपयले काठमाडौं–४ उनका लागि चुनौतीपूर्ण बनेको र जित्न कठिन भएकोले सुरक्षित निर्वाचन क्षेत्र रोजेको विश्लेषण गरिरहेका छन् भने कतिपयले उनले आफूलाई परीक्षण गर्न र कांग्रेसको पुरानो गढ फिर्ता गर्न मधेश झरेको तर्क राखिरहेका छन् ।  मधेशलाई कांग्रेसले आफ्नो गढमात्रै नभई, सुरक्षित राजनीतिक आश्रयस्थलका रूपमा पनि लिँदै आएको छ ।  कांग्रेस महाधिवेशन प्रतिनिधि तथा सर्लाही–४ कै मतदाता रघु काकीले सर्लाही-४ लाई विगतमा दिएको प्राथमिकता र योगदानको आधारमा उनको जित हुनेमा दुईमत नरहेको तर्क राखे । ‘सर्लाही–४ कांग्रेसको गढ पनि हो, सर्लाही–४ मा पर्ने ५१ वटै वडा सभापतिको सर्वसहमति गरेर उहाँको नाम सिफारिस भएको हो, उहाँको आगमनले कार्यकर्ता र मतदातामा नयाँ उत्साह र क्रेज बढेको छ,’ उनले विकासन्युजसँग भने । कार्कीका अनुसार सर्लाही–४ मा पहाडी र मधेशी समुदाय बसोबास गर्छन् । सबैले गगन कुमार थापालाई रोजेको उनको भनाइ छ । ‘उहाँ विगतमा पनि सर्लाही–४ आएर यहाँका समस्या समाधान गर्न क्रियाशील हुनुहुन्थ्यो, सर्लाही-४ उहाँको प्राथमिकताको क्षेत्र पनि थियो, त्यसैले पनि उहाँलाई यहाँका मतदाताले रोज्छन्, मतदान गर्छन्,’ उनले भने ।  तथापि कांग्रेसको गढ भनेर चिनिएको सर्लाही–४ मा रास्वपाको क्रेज र बालेनको प्रवेशले थप माहोल सिर्जना गरेको छ । यसलाई कांग्रेसीजनले चुनौतीका रुपमा लिएका छन् । मधेशकै छोरा पहिलो पटक प्रधानमन्त्रीको उम्मेदवार बनेकोले मधेशी समुदायलाई देशको पहिलो प्रधानमन्त्रीका रूपमा उनीहरू हेर्न चाहन्छन् । यसले कांग्रेसी मतदाता र कार्यकर्तालाई थप चुनौती थपिएको विश्लेषकहरू बताउँछन् । रास्वपाले गत सोमबारको सभामा ‘अब कि बार, बालेन सरकार’ नारा लगाएपछि मधेशको राजनीतिमा नयाँ कोर्सको निर्माण भइरहेको छ । त्यसमा पनि मधेशकै परिचित नेता अमरेश कुमार सिंह रास्वपामा प्रवेश गर्नुलाई थप चुनौतीको रुपमा हेरिएको छ ।  मधेशलाई कांग्रेसको गढ भनिए पनि विशेष महाधिवेशनताका देखिएको विमतिले विगतको जस्तो एकता हुन नसक्ने टिप्पणी पनि कतिपयको छ । शेरबहादुर देउवा पक्षलाई असन्तुष्ट र रुष्ट बनाएर सभापति थापा अगाडि बढेपछि देउवा समूहको साथ नपाउने अवस्था सिर्जना हुन सक्ने र त्यसको लाभ रास्वपाले पाउने विश्लेषण पनि कतिपयको छ ।  गगन-अमरेश ‘नेक टु नेक’  सर्लाही-४ को चुनाव गगन-अमरेशबीचको प्रतिस्पर्धा मात्र नभई यो नेपाली राजनीति, नेपाली कांग्रेस र रास्वपाको लडाइँ र टकराव पनि हो ।  गगन नेपाली राजनीतिमा स्थापित केन्द्रीय नेता हुन् । सर्लाही-४ नेपाली कांग्रेसका कार्यकर्ताले आफ्ना एजेण्डा राष्ट्रिय रूपमा पुर्याएर समस्या समाधान गर्नका लागि थापा एक अब्बल नेतृत्व हुन् । उनले मधेशको सवालमा संसदमा बलियो रूपमा उठान गर्न सक्छन् ।  गगन कुमार थापा सर्लाही-४ का स्थायी तथा स्थानीय नेता होइनन् । मतदाताले उनलाई पत्याउने आधार उनीसँग देखिँदैन । मधेशको समुदाय बढी समुदाय केन्द्रित पनि छ । यसलाई उनले कसरी सामना गर्छन् भन्ने हेर्न बाँकी छ ।  युवा पुस्ताका लागि गगन एक प्रेरणा पनि हुन् । जसको प्रमाणित उनले कांग्रेसको विशेष महाधिवेशनको आयोजना गरेर देखाइसकेका छन् । नेपाली कांग्रेसको सभापति भएकोले कांग्रेसले सभापति थापालाई जिताउन सर्लाही–४ मा भए भरको शक्ति प्रयोग गर्न सक्छ । गगनले चाहेमा सर्लाही-४ मा कांग्रेसको संगठन, प्रचारप्रसार  संयन्त्र र राष्ट्रिय नेटवर्कको लाभ लिन सक्छन् । उनले चुनावी प्रचारप्रसारमा प्रयोग गर्ने अर्को महत्त्वपूर्ण एजेण्डा र विषय कांग्रेस–मधेश सम्बन्ध हो । उनले ऐतिहासिक पृष्ठभूमिलाई जोड्दै मतदातालाई आकर्षित गर्न सक्छन् ।  यो सँगै उनलाई मधेशवासी र विपक्षीहरुले टुरिष्ट उम्मेद्वारको ट्याग भने लगाउन सक्ने सम्भावना छ । तनहुँमा भएको उपनिर्वाचनमा गगनले रास्वपाका उम्मेदवार डा. स्वर्णिम वाग्लेलाई लक्षित गर्दै टुरिष्ट उम्मेदवारलाई जिताउन नहुने टिप्पणी गरेका थिए । उनले जित्नको लागि सोही ठाउँको हावापानी खानुपर्ने तर्क राखेका थिए । उनको त्यो भाषण अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।  थापा सर्लाही-४ का स्थायी तथा स्थानीय नेता होइनन् । मतदाताले उनलाई पत्याउने आधार उनीसँग देखिँदैन । मधेशको समुदाय बढी समुदाय केन्द्रित पनि छ । यसलाई उनले कसरी सामना गर्छन् भन्ने हेर्न बाँकी छ ।  उनको प्रतिस्पर्धी अमरेशकुमार सिंह भने स्थानीय नेता हुन् । उनीसँग स्थानीय भाषा, सम्बन्ध र बलियो नेटवर्क छ । उनी स्थानीय समस्याको पहिचानसँगै मतदाताले चाहेको बेला उपस्थित हुन सक्ने क्षमता राख्छन् । मधेशी समुदायकै भएकोले पनि उनलाई मतदाताले पत्याउने आधार पनि बलियो देखिन्छ । अमरेशले यसअघि दुई पटक सोही क्षेत्रबाट जितिसकेको हुनाले पनि उनीसँग त्यो क्षेत्रको अनुभव, एजेण्डा पहिचान गर्न सक्ने क्षमता र मतदाताको मनोविज्ञान बुझ्न सक्ने कला उनीसँग छ ।  तर, उनले जितेर पनि राष्ट्रिय राजनीति र नीति निर्माणमा ठूलो प्रभाव पार्न नसक्ने अनुमान र मूल्यांकन मतदाताले गर्न सकेमा उनलाई ठूलो चुनौती हुन सक्छ । उनको अर्को कमजोर पक्ष भनेको कमजोर संगठनात्मक आधार हो । मधेशसँगै सर्लाही-४ मा रास्वपाको बलियो संगठन छैन । उनको व्यक्तिगत सम्बन्धले मात्रै उनलाई जित्नका लागि पर्याप्त नहुन सक्छ ।  यद्यपि, यो सबै मूल्यांकन भने सर्लाही-४का मतदाताले गर्नेछन् । उनीहरूलाई राष्ट्रिय राजनीतिमा प्रभाव पार्न सक्ने नेता चाहिएको हो वा स्थानीय समस्या बुझ्न सक्ने त्यो भने हेर्न बाँकी छ । 

ओली-बालेन ‘ब्याटल’ अर्थात् सक्ने र सकाउने खेल

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बीच प्रतिस्पर्धा हुने भएको छ । एमालेले झापा–५ बाट ओलीलाई र रास्वपाले बालेनलाई टिकट दिएसँगै उनीहरूबीच अब फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा जितका लागि भीडन्त हुने भएको हो । दुवै जनाले झापा–५ मा पुगेर उम्मेदवारी दर्ता गराइसकेका छन् ।  उसो त नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले पनि सोही क्षेत्रमा युवा नेता रञ्जित तामाङलाई उम्मेदवार बनाए पनि अहिलेको मुख्य लडाइँ ओली र बालेनबीच हुने बहस चुलिएको हो ।  झापा-५ लामो समयदेखि नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक आधार क्षेत्रका रूपमा परिचित छ । यस क्षेत्रले ओलीलाई ६ पटक सांसद र तीन पटक प्रधानमन्त्री बनायो । जसका कारण झापा–५ लाई एमालेको ‘सुरक्षित निर्वाचन क्षेत्र’ भनेर एमालेजनले बुझ्छ । तर, फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यही क्षेत्रमा बालेनको प्रवेशले राजनीतिक समीकरणलाई पूर्णतः बदलिदिने बहस उब्जिएको छ ।  यो प्रतिस्पर्धा ओली र बालेनबीचको मात्रै होइन, यो परम्परागत दलगत राजनीतिसँग नयाँ पुस्ताको असन्तुष्टि र परिवर्तनको चाहनाबीचको टकराव पनि हो । एमालेले ओलीलाई आगामी प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावी मैदानमा जाँदैछ भने रास्वपाले पनि बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिसकेको छ । उनीहरू दुई जनाबीच को प्रधानमन्त्री बन्छ भन्ने प्रतिस्पर्धा पनि हो यो ।  यो प्रतिस्पर्धा ओली र बालेनबीचको मात्रै होइन, यो परम्परागत दलगत राजनीतिसँग नयाँ पुस्ताको असन्तुष्टि र परिवर्तनको चाहनाबीचको टकराव पनि हो । एमालेले ओलीलाई आगामी प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावी मैदानमा जाँदैछ भने रास्वपाले पनि बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिसकेको छ । यसरी गर्दैछन् तयारी  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले झापा–५ मा पुगेर मंगलबार  मनोनयन दर्ता गरेका छन् ।  दमक नगरपालिका-८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर शाहले मनोनयन दर्ता गरेका हुन् । समर्थक र बाजागाजासहित बालेन निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । बालेनलाई ठाउँ-ठाउँमा कलससहित स्वागत गरिएको थियो । मनोनयन दर्ता गर्न जाँदै बालेन्द्र शाह (बालेन) ।  ओलीले पनि सोही किसिमले मनोनयन दर्ता गरेका छन् । झापा-५ अहिले सबैको चासोको निर्वाचन क्षेत्रका रूपमा हेरिएको छ । किनकि बालेनले जितेमा रास्वपाबाट बालेन प्रधानमन्त्री बन्नेछन् भने ओलीले जितेको खण्डमा एमालेबाट ओली नै प्रधानमन्त्री बन्नेछन् । दुवै जना जसरी पनि जित्ने योजना र रणनीति बनाएर चुनावी मैदानमा होमिएका छन् ।  बालेनको सचिवालय रास्वपाका स्थानीय नेतृ बिन्दु सिटौला ‘लक्की’को घरमा राखिएको छ । बालेनले तीनवटा घर भाडामा लिएर चुनावी रणनीति र योजना बनाइरहेका छन् । डिजिटल युगमा प्रविधिको व्यापक प्रयोग गरेर मतदातालाई रिझाउन सक्ने खुबी भएका नेताका रूपमा बालेन चर्चित छन् । उनले एउटा घरमा कन्टेन्ट क्रियटर र युटुबर तथा सूचना प्रविधिविज्ञहरूलाई राखेका छन् । त्यहाँ उनले दुई दर्जन बढी कन्टेन्ट क्रियटरहरूलाई राखेर २४सै घण्टा उनको चुनावी प्रचारप्रसार गराइरहेका छन् । झापा-५ का मतदाता र सामाजिक सञ्जाल प्रयोगकर्ताको  मनोविज्ञान र मनोभावना बुझेर त्यो टिमले बालेनका चुनावी प्रचारप्रसारका सामग्रीहरू सार्वजनिक गरिरहेको छ ।  दोस्रो घरमा बालेन आफै बसिरहेका छन् । जसको नाम उनले ‘द कमाण्ड सेन्टर’ राखेका छन् ।  बालेनले त्यही घरमा उच्च तहका नेतासँग भेटघाट गरिरहेका छन् । यो घरमा सामान्य कार्यकर्ताको पहुँच छैन । बालेनको सुरक्षा र गोपनीयतालाई बढी प्राथमिकता दिएर चुनावी रणनीति यही घरबाट अगाडि बढिरहेको छ । यस्तै, तेस्रो घरमा बालेन निकट नेताहरू बसिरहेका छन् । त्यहाँबाट नयाँ चुनावी रणनीति तथा योजना बनाउने र कार्यान्वयनको पक्ष हेर्ने गरी काम भइरहेको रास्वपाका एक नेताले बताए । यो घरलाई ‘दि इम्प्लिमेन्ट हाउस’को उपमा दिइएको छ । मतदाताको माग र चाहना अनुसारको एजेण्डाहरू मतदातासम्म पुर्याउने काम त्यही घरबाट भइरहेको छ ।  मंगलबार मनोनयन दर्ता गर्न जाँदा बालेनको ठूलो समर्थकहरू रहेको भीडबाट बुझ्न सकिन्छ । बालेनमा एउटा उत्साह र जित्न सक्ने मनोबल प्रष्ट देखिन्थ्यो ।  बालेनले चुस्त रूपमा चुनावी प्रचारप्रसारमा होमिँदा केपी शर्मा ओली भने परम्परागत भाषण र नारामै व्यस्त देखिएका छन् । सोमबार झापामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै ओलीले बालेन आफूसँग चुनाव लड्न आएर चर्चा कमाउन खोजेको धारणा राखेका थिए । उनले बालेनको जस्तो चुनावी रणनीति बुनेका छैनन् । तर, पाका राजनीतिज्ञ भएकोले आफ्नो सकेसम्मको अनुभव ओलीले प्रयोग गर्नेछन् ।  मंगलबार मनोनयन दर्ता गर्न पुगेका ओलीले एमालेलाई जिस्काएमा महँगो पर्ने अभिव्यक्ति दिएका थिए । त्यसले नयाँ संशय भने सिर्जना गरेको छ ।  एमालेका अध्यक्ष केपी शर्मा ओली र बालेन्द्र शाह (बालेन) बीचको प्रतिस्पर्धा रोचक रूपमा हेरिएको छ । यो एउटा सांसदको सिट जित्नेभन्दा पनि को प्रधानमन्त्री बन्न सफल हुने र आगामी राजनीतिक भविष्य कस्तो बन्ने भन्ने विषय पनि निर्क्योल गर्ने लडाइँ हो ।  मनोनयन दर्ता गर्न जाँदै केपी शर्मा ओली ।  सक्ने र सकाउने खेल एमालेका अध्यक्ष केपी शर्मा ओली र बालेन्द्र शाह (बालेन) बीचको प्रतिस्पर्धा रोचक रूपमा हेरिएको छ । यो एउटा सांसदको सिट जित्नेभन्दा पनि को प्रधानमन्त्री बन्न सफल हुने र आगामी राजनीतिक भविष्य कस्तो बन्ने भन्ने विषय पनि निर्क्योल गर्ने लडाइँ हो ।  ओलीले चुनाव जितेको खण्डमा ओली नै प्रधानमन्त्री बन्नेछन् भने बालेनले जितको खण्डमा रास्वपाले उनलाई नै प्रधानमन्त्रीको रूपमा अगाडि बढाउनेछ । ओलीको यो सातौं पटक संघीय संसदको यात्राको तयारी हो । वि.सं २०४८ सालको आम निर्वाचनबाट संसदीय राजनीतिमा औपचारिक प्रवेश गरेका ओली २०८२ को निर्वाचनमा विजयी भएमा नेपाली राजनीतिमा दुर्लभ र ऐतिहासिक कीर्तिमान कायम गर्ने अवस्थामा पुग्नेछन् ।  ओलीले २०४८ सालको आम निर्वाचनमार्फत आफ्नो संसदीय यात्रा प्रारम्भ गरेका थिए । त्यसयता २०५१, २०५६, २०७०, २०७४ र २०७९ सालका निर्वाचनहरूमा उनले संसदमा उपस्थिति जनाइसकेका छन् । यद्यपि २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा भने उनी पराजित भएका थिए । सो निर्वाचन बाहेकका सबै चुनावमा सफल रहँदै आएका ओलीले २०८२ को निर्वाचनलाई आफ्नो राजनीतिक यात्राको अर्को निर्णायक मोडका रूपमा बुझेका छन् ।  यो प्रतिस्पर्धा नेकपा एमालेका लागि पनि रणनीतिक महत्त्वको विषय भएको एमालेका केन्द्रीय सदस्य इन्द्र भण्डारी बताउँछन् । एमाले नेतृत्वमा ओलीको निरन्तर प्रभाव, संगठनमाथिको पकड र चुनावी परिचालन क्षमताले उनलाई अझै पनि प्रमुख चुनावी अनुहारका रूपमा स्थापित गरेको उनको धारणा छ ।  २०८२ को निर्वाचनमा एमालेले ओलीलाई केन्द्रमा राखेर चुनावी रणनीति बनाएकोले पनि यस पटकको निर्वाचनको महत्त्व रहेको भण्डारीले बताए । यसले नेकपा एमालेको संगठनात्मक शक्ति, चुनावी रणनीति र भावी नेतृत्व संरचनालाई पनि प्रभाव पार्नेछ । नेता भण्डारीका अनुसार ओलीको जितले पार्टीभित्र स्थायित्व देखाउनेछ । संगठनात्मक एकता र नेतृत्वको निरन्तरताको सन्देश पनि यसले दिनेछ ।  ओली बालेनसँग पराजित भएमा उनको संसदीय यात्रामा सम्भवतः बिराम लाग्नेछ । विगतमा पटक–पटक झापा-५ बाटै विजय हासिल गरेर संसदीय यात्रा तय गरेका ओलीमाथि बालेनको ब्रेक लागेको खण्डमा उनी नेपाली राजनीतिमै एक असफल नेताको रुपमा दर्ज हुनेछन् । राजनीतिक विश्लेषक पर्शुराम घिमिरेका अनुसार २०८२ को आम निर्वाचन अघिल्ला निर्वाचनभन्दा फरक राजनीतिक परिवेशमा हुँदैछ । नयाँ दलहरूको उदय, वैकल्पिक राजनीतिक धार, युवा मतदाताको बढ्दो भूमिका र सामाजिक सञ्जालमार्फत हुने राजनीतिक प्रभावले चुनावी परिणामलाई अनिश्चित बनाइरहेको छ । यस्तो अवस्थामा ओलीजस्ता अनुभवी नेताको चुनावी क्षमता परीक्षणको घडीका रूपमा पनि यो निर्वाचनलाई हेरिएको छ। यदि ओली बालेनसँग पराजित भएमा उनको संसदीय यात्रामा सम्भवतः बिराम लाग्नेछ । विगतमा पटक–पटक झापा-५ बाटै विजय हासिल गरेर संसदीय यात्रा तय गरेका ओलीमाथि बालेनको ब्रेक लागेको खण्डमा उनी नेपाली राजनीतिमै एक असफल नेताको रुपमा दर्ज हुनेछन् । उनी प्रधानमन्त्री रहेको बेला भएको जेनजी आन्दोलनकै कारण उनीमाथि ठूलो बोझ र प्रश्नहरूको भारी छ । उनले जितेको खण्डमा उनी त्यो भारी सहजै फुकाल्नेछन् भने पराजित भएको खण्डमा भने उनले जीवनभर त्यो भारी बोक्नु पर्नेछ ।  चुनावी माहोलमा बालेन पराजित भएको खण्डमा उनको आगामी राजनीतिक यात्रामा पनि प्रश्न उठ्नेछ । उनी राजनीतिमै सक्रिय रहन्छन् या पुरानै र्‍याप गायकको पेशामा फर्किन्छन् भन्ने विषय पनि रोचक रूपमा हेर्न मिल्नेछ।  झापामा बालेनलाई रास्वपाको बलियो संगठनात्मक प्रभावले साथ दिइरहेको छ । रास्वपाले जिल्लामा र्‍यापिड एक्सन टिम (आरएटी) पनि गठन गरेको छ । कुनै ठाउँमा कुनै समस्या देखिएमा त्यो टिम गएर तत्काल समस्या समाधान गर्नेछ । चुनावी कमाण्ड सम्हाल्नका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका क्षेत्रीय संयोजक भेषराज भट्टराईको नेतृत्वमा मुल सचिवालय समिति गठन गरिएको छ । झापा-५ ओलीको पूरानो राजनीतिक थलो भए पनि बालेनलाई खासै ठूलो समस्या नभएको उनको एक सचिवालय सदस्यले जानकारी दिए ।  मनोनयन दर्ता गर्दै ओली र बालेन । उनीहरू दुवै जनाले एउटै रङको टोपी लगाएका छन् ।  रोचक ‘ब्याटल’ ओली र बालेन प्रतिस्पर्धा गर्ने भएपछि यो ब्याटल कसले जित्छ भन्ने विषय रोचक र चासोका रुपमा हेरिएको छ । धेरैलाई झापा-५ लाई ‘इपिसेन्टर’का रूपमा व्याख्या गरेका छन् । ओलीले विगतदेखि नै लड्दै आएको क्षेत्र र उनको घर पनि झापामै भएकोले धेरैले ओलीले जित्न सक्ने आधार र तर्क गरिरहेका छन् ।  किनकि ओली यही भूगोलमा २०४८ सालदेखि चुनावी प्रतिस्पर्धा गर्दै आएका छन् । उनले एक पटक बाहेक सबै प्रतिस्पर्धामा जित हासिल गरेका छन् । उनलाई यही क्षेत्रले गृहमन्त्रीदेखि तीन पटक प्रधानमन्त्री पनि बनाइसकेको छ ।  २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा त ओलीले देशभरका उम्मेदवारमध्ये सबैभन्दा धेरै मत पाएर विजयी भएका थिए ।  उनले २०७९ मा ५२ हजार ३१९ मत ल्याएर आफ्ना प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीलाई २८ हजार ५७६ मतान्तरले पराजित गरेका थिए । २०७९ सालको निर्वाचनमा सो क्षेत्रमा कांग्रेस, माओवादी केन्द्रसहित पाँच दलले गठबन्धन गरेर ओलीसँग प्रतिस्पर्धा गरे पनि जित हासिल गर्न सकेका थिएनन् ।  २०७४ को निर्वाचनमा पनि उनले ५७ हजार १३९ मत पाएर विजयी भएका थिए । त्यतिबेला पनि नेपाली कांग्रेसका नेता खगेन्द्र अधिकारीसँग उनको प्रतिस्पर्धा भएको थियो । अधिकारीसँग उनले २८ हजार ८४२ मतान्तरले जित हासिल गरेका थिए । ओली त्यसैले पनि यो क्षेत्रमा बलियो उम्मेदवारका रूपमा परिचित छन् । ओलीले झापा–५ लाई आफ्नो ‘सेफ ल्याण्डिङ’ निर्वाचन क्षेत्रका रुपमा चिन्दछन् । बालेन युवाहरूमाझ परिचित पात्र हुन् । झापा उनको ससुराली हो । मंगलबार उनको मनोनयन दर्ताको देखिएको समर्थकहरूको भीडले पनि झापाले उनलाई खुला हृदयले स्वागत गरेको बुझ्न सकिन्छ । जहाँ वृद्ध, वयस्क तथा युवाहरूको पनि ठूलो भीड देख्न सकिन्थ्यो । राजनीतिक परिवर्तन, रूपान्तरण र युवाको पक्षमा लाग्नेहरू बालेनको समर्थक बनेर उनलाई मतदान गर्न सक्ने प्रष्ट देखिन्छ । पछिल्लो सक्रिय विभिन्न कन्टेन्ट क्रियटरहरूले गरेका विभिन्न सर्वेक्षणहरूमा पनि अधिकांशले नयाँ अनुहारलाई अवसर दिने धारणा राखिरहेका छन् । यसले बालेनलाई धेरै सहज हुने बुझ्न सकिन्छ ।  गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले ठूलो जमात ओलीप्रति रुष्ट र असन्तुष्ट छ । त्यो जमात ओलीविरुद्ध आक्रोश पोख्दै आएको छ । बालेनले त्यो जमातलाई आफ्नो पक्षमा राखेर विश्वास दिलाउन सकेमा उनले ओलीलाई सहजै पाखा लगाउन सक्नेछन् । एमालेको गढका रूपमा चिनिने झापा–५ बालेनका लागि त्यति सहज भने पक्कै हुने छैन । ओली र बालेनबीचको यो लडाइँ नेपाली राजनीतिले नेतृत्व परिवर्तन, पुस्तान्तरण र जनअपेक्षाबीच कसरी सन्तुलन कायम गर्छ भन्ने विषय पनि हो ।  २०७९ असारमा ओलीले बालेनलाई तबला उपहार दिँदै ।  तबला उपहारदेखि सक्ने खेलसम्म बालेन शाह केपी शर्मा ओली नै उम्मेद्वार बनेको झापा-५ मा पुग्नुको पछाडि धेरै कारण र घटनाक्रमहरू छन् । यसका पछाडि यी दुई पात्रबीचको माया–प्रेम, सदभाव र घृणाको खेलसम्मका घटनाहरू केलाउनुपर्छ । बालेन काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएको करिब तीन महिनापछि ओलीको तत्कालीन निवास बालकोट पुगे । भेटवार्तापछि ओलीले बालेनलाई तबला उपहार दिए । ओलीले उनलाई तबला उपहार दिएपछि त्यो राजनीतिक बहसको विषय बन्यो । धेरैले अब ओली र बालेनबीच सुमधुर सम्बन्ध हुने विश्लेषण गरे ।  तर, भइदियो उल्टो । ओलीले बालेनलाई दिएको उपहार फापेन । ओलीकै भाषामा  तबलाको अर्थ करुणा, प्रेम, सद्भाव, संयम हो । उनले राम्रो राजनीतिज्ञ बनून् भनेर आफूले तबला उपहार दिएको बताउँदै आएका थिए । तर, अन्ततः बालेन ओलीमाथि नै हावी भए ।  त्यसका पछाडि पनि केही कारणहरू छन् ।  काठमाडौंको मेयर हुँदा बालेन नयाँ बानेश्वर क्षेत्रमा सडकको मापदण्ड मिचेर बनाइएका संरचना हटाउन चाहन्थे । बागमती नदीमा अतिक्रमण गरेर बसेका सुकुम्वासीलाई व्यवस्थित ठाउँमा सार्न चाहन्थे । तर, ओलीले त्यसमा साथ दिएनन् । त्यसपछि बालेनको  कहिले सडकमा व्यापार गर्ने व्यवसायीलाई हटाउने, कहिले धरहराको पार्किङको विषयमा त कहिले काठमाडौंको फोहोर फालिने बञ्चरेडाँडा र सिसडोल लगायत विषयमा ओलीसँग जुहारी चलिरह्यो ।  उनीहरू दुई जनाको सक्ने र सकाउने खेलमा झापा-५ का मतदाताले कसलाई सकाउँछन् र कसलाई जिताउँछन् भन्ने विषय भने हर्न बाँकी छ ।  त्यही जुहारीका कारण एमालेबाट काठमाडौं महानगरको उपप्रमुख बनेकी सुनिता डंगोलसँग पनि बालेनको सम्बन्ध बिग्रियो । एमालेबाट निर्वाचित जनप्रतिनिधिले बालेनलाई महानगरमा साथ नदिने वातावरण सिर्जना भयो । जसका कारण बालेन समयमै काठमाडौं महानगरको बजेट ल्याउन असफलमात्रै भएनन्, उनले संघीय सरकारबाट गतिलो र निष्पक्षरूपमा काम गर्ने प्रमुख प्रशासकीय अधिकृतसमेत पाएनन् ।  त्यसको रिस बालेनले सामाजिक सञ्जालमार्फत पोखे । सामाजिक सञ्जाल फेसबुकमा लाखौं समर्थकको साथ पाएका बालेनले ओलीको खुलेरै आलोचना गरे । बालेनको स्टाटसलाई उनका समर्थकले समर्थन जनाउँदै ओलीको आलोचना गर्न थाले । त्यसले व्यक्तिगत रुपमा ओलीको राजनीतिक जीवनमाथि ठूलो प्रभाव पर्दै गयो । अन्ततः उनी प्रधानमन्त्री भएकै बेला भदौ २३ र २४ गते जेनजी आन्दोलन भयो । ओलीसहितको मन्त्रिमण्डलले हेलिकोप्टरमार्फत भाग्नुपर्ने अवस्था सिर्जना भयो ।  त्यसपछि अन्तरिम सरकार गठन भएर फागुन २१ मा प्रतिनिधिसभाको निर्वाचन घोषणा भयो । सुरुमा चुनावमा भाग नलिने घोषणा गर्दै आएका ओली अहिले चुनावी प्रतिस्पर्धामा होमिन बाध्य भएका छन् । उनका खुमखार आलोचक बालेन पनि उनकै क्षेत्र झापा-५ मा पुगेका छन् । अब उनीहरू दुई जनाको सक्ने र सकाउने खेलमा झापा–५ का मतदाताले कसलाई सकाउँछन् र कसलाई जिताउँछन् भन्ने विषय भने हर्न बाँकी छ । 

ग्रामीण केन्द्रित चिकित्सा शिक्षाका अभियन्ता

अमेरिकामा उज्ज्वल करिअर, एमडीको पढाइ सकेर उच्च आम्दानी र सुरक्षित जीवनको बाटो खुलिसकेको थियो । तर प्राध्यापक डा. अर्जुन कार्कीले त्यो बाटो रोजेनन् । अमेरिकामा बसेर नेपाल र अमेरिकाको स्वास्थ्य सेवाको तुलना गरे । र, मनमनै भने, ‘मजस्ता चिकित्सक आफ्नै देश फर्किएनन् भने नेपालको हालत त्यस्तै रहन्छ । मैले स्वदेश फर्किएर आफूले सकेसम्मको सेवा गर्नुपर्छ ।’ अमेरिकाको स्टेट युनिभर्सिटी अफ न्यूयोर्कबाट तीन वर्ष ‘इन्टरनल मेडिसिन’ र ब्राउन युनिभर्सिटीबाट थप तीन वर्ष फोक्सो रोग र क्रिटिकल केयर सम्बन्धी विशेषज्ञ कोर्स पूरा गरेपछि सन् १९९९ मा डा. कार्की नेपाल फर्किए । उनको त्यो निर्णयलाई उनका साथीभाइले ‘पागलनपन’को संज्ञा दिए । किनकि चिकित्सा शिक्षामा अमेरिकामा एमडी पास गरेका उनलाई अमेरिकी बजार स्वागत गर्न तयार थियो । उनले भने अनुसारको तलबसुविधा पनि पाउन सक्थे । तर, उनको अगाडि त्यो सुविधाले नेपालको दयनीय स्वास्थ्य प्रणाली, दुर्गम वस्तीका नागरिकले भोगिरहेको सास्ती र असमान स्वास्थ्य सेवाले जिस्क्याइरह्यो । र, उनी नेपाल फर्किए ।  परिवर्तन सजिलो हुँदैन । तर, एक व्यक्तिले पनि सही उद्देश्य लिएर काम गर्‍यो भने नयाँपुस्तालाई मार्गदर्शन गर्ने संस्था निर्माण गर्न सकिन्छ । मैले ५० वर्षको अवधिमा हजारौंलाई उपचार गरें होला, कुनै सुधारको काम गरियो भने त्यसको प्रभाव पछिसम्म रहन्छ, त्यसको लाभ आउने पुस्ताले पनि लिन्छ । विदेशमा पढ्न जानुअघि डा. कार्की त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा फ्याकल्टीका रूपमा कार्यरत थिए । चिकित्सा शिक्षामा अब्बल र अनुभवीको योग्यता पाएर नेपाल फर्किएका उनलाई शिक्षण अस्पतालमा काम गर्ने वातावरण सिर्जना भएन । र, उनको माग काठमाडौं विश्वविद्यालयमा भयो । ‘अमेरिकाबाट फर्केपछि सन् २००० मा काठमाडौं विश्वविद्यालयमा जोडिएँ, त्यतिबेला ‘केयू स्कूल अफ मेडिकल साइन्सेज’बाट पाँचवटा मेडिकल कलेजले सम्बन्धन लिइसकेका थिए । तर, सो विश्वविद्यालयले आफ्नै आंगिक मेडिकल क्याम्पस सञ्चालन गर्न सकेको थिएन, मेरो नेतृत्वमा आफ्नै मेडिकल शिक्षा सुरु भयो,’ उनले भने । प्रा. डा. अर्जुन कार्की ।  गुणस्तरीय मेडिकल शिक्षाको अवधारणापत्र उनै डा. कार्कीले तयार गरे । विश्वविद्यालयले डाक्टर उत्पादन गरेर मात्र हुँदैन, उनीहरूलाई दूरदराज र आधारभूत स्वास्थ्य सेवाको पहुँचबाट विमुख रहेका समुदायसम्म पुगेर सेवा दिनसक्ने पनि बनाउनुपर्छ भनेर उनले अवधारणा पत्र तयार गरे । उनमा ग्रामीण भेगका गरिबका छोराले पनि मेडिकल शिक्षा पढ्न पाउनुपर्छ भन्ने थियो । किनकि त्यसअघि सहर र गाउँका नागरिकले पाउने स्वास्थ्य सेवासँगै स्वास्थ्य शिक्षामा पनि ठूलो असमानता थियो । उनी त्यो असमानता र विभेद चिर्न चाहन्थे । त्यसैका लागि उनी अमेरिकाबाट स्वदेश फर्किएका थिए ।  ‘त्यही असमानता चिर्न मेरै नेतृत्वमा समस्यामा आधारित सिकाइ (पीबीएल)’ भनिने नवीनतम शिक्षण विधिबाट सन् २००१ मा केयूमा एमबीबीएस कार्यक्रमको पढाइ सुरु भयो, पाठ्यक्रम पनि सोही ढंगले तयार ग¥यौं । पछि धेरै गरिब विद्यार्थी र ग्रामीण क्षेत्रका विद्यार्थीले पनि चिकित्सा शिक्षा पढ्न पाए,’ उनी भन्छन्, ‘नेपालको चिकित्सा क्षेत्रमा थोरै भएपनि केही सुधार गरेको महसुस हुन्छ ।’ तीन वर्षसम्म काठमाडौं विश्वविद्यालयको चिकित्सा शिक्षामा डा. कार्कीको नेतृत्वमा परिणाम दिने काम भयो । दर्जनौं ग्रामीण क्षेत्रका विद्यार्थीले एमबीबीएस शिक्षा पढ्न पाए । उनीहरूले आफ्नै ठाउँमा चिकित्सक बनेर सेवा गर्ने अवसर पाए । आफूले बसालेको जगकै कारण दर्जनौं चिकित्सकले आफ्नै गाउँमा फर्केर गरेको सेवाप्रति उनी गर्व गर्छन् ।  केयूमा उनले समस्यामा आधारित सिकाइ,  समुदायमा आधारित चिकित्साशास्त्र क्लिनिकल प्रस्तुति मोडेल विधिमा विद्यार्थीलाई किताबका सैद्धान्तिक विषयभन्दा पनि बिरामीको वास्तविक समस्या बुझेर सिकाउने प्रयास गरे । त्यसमा आफू सफल पनि भएको उनी दाबी गर्छन् । ग्रामीण वस्तीका स्वास्थ्य समस्या, सामाजिक संरचना, रोगका व्यवहारिक र आर्थिक कारण पहिचान गरेर विद्यार्थीलाई त्यहीअनुसार सिकाउन सकिएको उनी बताउँछन्।  काठमाडौं विश्वविद्यालयको नेतृत्व आफ्नो मुख्य एजेण्डामाथि विमुख भएको महसुस डा. कार्कीले गरे । तीन वर्ष काम गरेपछि उनले त्यहाँबाट पनि राजीनामा दिए । अब आफूले बसालेको जग र आफ्नो अवधारणामा थप प्रवाभकारी भएर काम गर्न उनी योजना बनाउँदै थिए । त्यही सिलसिलामा उनी पाटन अस्पतालसँग जोडिए । डा. कार्कीले काठमाडौं विश्वविद्यालयमा मेडिकल शिक्षाको सुरुवात गरेर चिकित्सा शिक्षामा रचनात्मक र नवप्रवर्तनको बीउ रोपे । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गरेर ग्रामीण केन्द्रित चिकित्सा शिक्षाको अभियान र त्यसलाई कार्यान्वयन गरे भने अहिले नेपाल नेपाल विश्वविद्यालयमार्फत उच्च शिक्षा प्रणालीलाई सुधारको एजेण्डा बनाएर अगाडि बढिरहेका छन् ।  पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका जन्मदाता काठमाडौं विश्वविद्यालयबाट अलग भएपछि उनले पाटन अस्पतालमै मेडिकल कलेज खोल्ने योजना अघि सारे । प्रधानमन्त्री र मन्त्रीहरूसँग बारम्बार भेटे, छलफल गरे । देशमा छुट्टै किसिमको मेडिकल कलेजको स्थापनाको आवश्यकता बारेमा ब्रिफ्रिङ गरे । त्यतिखरे प्रधानमन्त्री थिए गिरिजाप्रसाद कोइराला । ‘संयोगवश त्यतिबेला म तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्वास्थ्य उपचार टीममा पनि संलग्न थिएँ । मैले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रस्ताव उहाँलाई सुनाएँ, उहाँले तुरुन्तै स्वीकार पनि गर्नुभयो,’ स्थापनाका दिन स्मरण गर्दै डा. कार्कीले भने ।  अन्ततः सन् २००७ सालमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना भयो । त्यसको संस्थापक उपकुलपति उनै डा. कार्की बने । त्यही वर्षबाट पाटनमा एमबीबीएसको पठनपाठन सुरु भयो । उनले एमबीबीएसका विद्यार्थीको प्रवेश परीक्षा अन्य मेडिकल कलेजको भन्दा रचनात्मक र पृथक बनाए । उनको चाहना थियो, ग्रामीण भेग र गरिबका जनता छोराछोरीले पनि चिकित्सा शिक्षा पढ्न पाउन् ।  ‘हामीले परीक्षामा विद्यार्थीले प्राप्त गर्ने अंकलाई मात्र भर्ना छनोटको आधार बनाएनौं, त्यो विद्यार्थी असल चिकित्सक बन्न योग्य छ कि छैन भनेर उसको ‘एप्टिच्युड’ जाँच गर्ने काम पनि ग¥यौं । सोही किसिमले प्रश्नपत्र बनायौं, ग्रामीण भेगमा पढेको विद्यार्थी र सहरमा पढेको विद्यार्थीलाई एउटै किसिमले मूल्यांकन गरेनौं, पाठ्यक्रम र शिक्षण विधि पनि रचनात्मक बनायौं,’ उनले आफूले गरेको काम सुनाउँदै भने, ‘परिणामस्वरूप सबै क्षेत्रका विद्यार्थीले पाटनमा पढ्ने अवसर पाए ।’ डा. कार्कीले आफूले बसालेको जगकै कारण आज पाटन अस्पतालबाट उत्पादन भएका ५० प्रतिशत बढी चिकित्सक सरकारी अस्पतालमा कार्यरत रहेको सुनाए । उनले यो विषयलाई गर्वका रूपमा हेरेका छन् । ‘सहरमा पढेहुर्केको विद्यार्थीको अंग्रेजी राम्रो हुन्छ, गणित राम्रो हुन्छ, उसले सहजै एमबीबीएसको प्रवेश परीक्षा पास गर्न सक्छ । तर, ग्रामीण भेगमा पढेको विद्याथीसँग त्यो क्षमता हुँदैन, हामीले गाउँमा पढेको विद्यार्थीले पनि चिकित्सक बन्न सक्ने ढोका खोल्यौं, त्यो असमानता हटाउने प्रश्नपत्र निर्माण गर्‍यौं,’ उनले भने, ‘त्यो अवधारणाले राम्रो प्रतिफल प्राप्त गर्‍यौं, गरिबका छोराछोरी पनि चिकित्सक बन्ने बाटो खुल्यो ।’ डा. कार्कीले नेपालको चिकित्सा शिक्षामा मौलिक रूपान्तरणको बीउ रोपे । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एउटा शैक्षिक सेवाको स्थापित संस्था बनाउन उनी सफल भए । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना हुनु नेपाली चिकित्सा क्षेत्रमा एउटा ऐतिहासिक क्रान्तिको जग बस्यो । विगतका अंकको भरमा चिकित्सक बन्न सक्ने बार उनै डा. कार्कीले तोडे । उनकै योजना र अवधारणाअनुसार पछि त्यस संस्थाबाट उत्पादित चिकित्सकहरू खुसी हुँदै विकट र ग्रामीण क्षेत्रमा पनि सेवा दिन तयार बने ।  विगतमा कुनै विकट जिल्लाहरूमा सेवा गर्नको लागि जान तयार नहुने नेपाली चिकित्सकहरू डा. कार्कीको योजनाले जुनसुकै जिल्ला र क्षेत्रमा पनि जान तयार भए । उनको नेतृत्वमा नै कमजोर पृष्ठभूमिका विद्यार्थीलाई सक्षम बनाउन ६ महिनाको फाउण्डेसन कोर्स पनि सुरु गरिएको थियो । जुन नेपालकै चिकित्सा शिक्षामा पहिलो कार्यक्रम हो । सो कार्यक्रमअन्तर्गत विद्यार्थीलाई गाउँगाउँमा पठाइन्थ्यो । स्थानीय स्वास्थ्य संस्था, वडा कार्यालय, घर–घरमा पुगेर जनस्वास्थ्यका वास्तविक चुनौती बुझाइन्थ्यो ।  डा. कार्कीका अनुसार पहिलो पटक विद्यार्थी गाउँ पुग्दा डराउँथे, असजिलो मान्थे । तर पटक–पटक जान थालेपछि गाउँ नै आफ्नो कार्यक्षेत्र बन्न सक्छ भन्ने आत्मविश्वास उनीहरूमा विकास भयो । चिकित्सक बनिसकेपछि उनीहरू निर्धक्क भएर कार्यक्षेत्रमा सेवा गर्न जाने वातावरण निर्माण भयो ।  ‘केही हदसम्म भए पनि मैले नेपालको चिकित्सा क्षेत्रलाई रिफर्म गरेको महसुस हुन्छ, हाम्रो देशलाई काम गर्ने डाक्टर काम लाग्छ भनेर, विद्यार्थीको मनसाय बुझेर हामीले काम गर्‍यौं । अन्तर्राष्ट्रिय स्तरका तथा धेरै उच्चस्तरीय विशेषज्ञ पाठ्यक्रम विकास, संकाय तालिम, तथा प्रवेश प्रणाली सुधारमा ठूलो टेवा पुर्‍याएँ,’ उनी भन्छन्, ‘अहिले पाटन अस्पतालको जुन विश्वसनीयता छ, त्यसको जग बनेकोमा मलाई गर्व छ ।’ चिकित्सा शिक्षा आयोग बनेपछि भने देशभरिको एमबीबीएसको परीक्षा लिने प्रणाली समान छ । यो प्रणालीले फेरि पनि टाठाबाठाहरूले नै पढ्न पाउने वातावरण निर्माण भएकोमा उनी बेखुसी छन् । नेपाल विश्वविद्यालयका संस्थापक चिकित्सा शिक्षामा संरचनागत सुधार गर्दै जाँदा डा. कार्कीले नेपालको उच्च शिक्षामा त्यहाँभन्दा ठूलो समस्या देखे । विद्यार्थीहरूलाई सानै उमेरदेखि विभिन्न विषय यति सकस, यति गाह्रो भनेर भनेर भारी बोकाएको आभास उनलाई भयो । उनले त्यो समस्याको समाधान पहिल्याए ।  ‘कक्षा १० पास हुनेबित्तिकै हामीले विद्यार्थीको दिमागमा ‘साइन्स, म्यानेजमेन्ट, ‘आर्टस्’ वा अन्य विषय भनेर तिनको भारी पनि बोकायौं, एउटा पढेको विद्यार्थीले अर्को विषयको ज्ञान नै नराख्ने अभ्यास देखियो,’ उनी भन्छन्, ‘यो हाम्रो शैक्षिक प्रणालीको दोष हो, यो प्रणालीको सुधार नहुँदासम्म शैक्षिक सुधार हुँदैन भन्ने महसुस भयो ।’ एउटा विद्यार्थीलाई मानव समाज, संस्कार र संस्कृति, भाषा र नवीनतम् सूचना प्रविधिको पनि ज्ञान हुन आवश्यक रहेको निचोड डा. कार्कीले निकाले । एउटा व्यवहारिक र सिर्जनशील विद्यार्थी उत्पादनका लागि सुरुमा प्रणालीको सुधार गर्नुपर्ने आवश्यकता उनले देखे । त्यसपछि उनी त्यो प्रणाली सुधारका लागि नयाँ विश्वविद्यालय नै खोल्नुपर्ने अभियानमा लागे ।  ‘हामीले व्यक्तिलाई न नैतिकवान बन्न सिकायौं, न त समाज बुझने जिम्मेवार नागरिक । सबैको मुखमा देश बनेन भन्ने कुरामात्रै सुनियो । यसको महत्त्वपूर्ण बिन्दु शिक्षा नै हो,’ उनी भन्छन्, ‘समाजको विभिन्न पक्ष बुझ्ने, समाजप्रति जिम्मेवार र व्यवहारिक नागरिक उत्पादन गर्न आवश्यक भएको महसुस गर्दै हामीले नेपाल विश्वविद्यालय स्थापना गर्ने अभियान अगाडि बढायौं ।’ विगत ७ वर्षदेखि थालेको अभियानले अहिले सार्थकता पाएको छ । नेपाल विश्वविद्यालय स्थापना भइसकेको छ । विश्वविद्यालयले अहिले पाठ्यक्रम निर्माण, शिक्षण विधि, शिक्षक व्यवस्थापन लगायतका विषयमा काम गरिरहेको छ । डा. कार्की त्यही विश्वविद्यालयको उपकुलपतिका रूपमा कार्यरत छन् ।  अन्य विश्वविद्यालयमा कुलपति प्रधानमन्त्री हुने व्यवस्था भए पनि यो विश्वविद्यालय भने स्वायत्त सार्वजनिक र गरनाफामूलक संस्थाको रूपमा काम गर्नेछ । विश्वविद्यालयको संरक्षक परिषद् छ । सोही परिषदले उपकुलपतिलाई नियुक्त गर्छ ।   अहिले विश्वविद्यालयको संरक्षक परिषदमा डा. बिन्दु लोहनी, बिमला राई पौड्याल, प्राध्यापक बिपिन अधिकारी, चाँदनी जोशी, जगदीश सी पोखरेल, लालकृष्ण केसी, लक्ष्मीदेवी पाण्डे, माधव पौडेल, रामेश्वर खनाल, प्राध्यापक डा. राम श्रेष्ठ र डा. सिबा थापा सदस्य रहेका छन् । विश्वविद्यालयको रजिष्ट्रार डा. सूर्यराज आचार्य रहेका छन् ।  डा. कार्कीका अनुसार अहिले विश्वविद्यालय स्थापनाका लागि जग्गा खोज्ने काम भइरहेको छ । उनका अनुसार अहिले विश्वविद्यालयले ‘मास्टर इन पब्लिक पोलिसी’मा भर्ना पनि खुलाएको छ ।  विद्यार्थी पासमात्रै भन्दा पनि उनीहरू सोच्न, प्रश्न गर्न, विश्लेषण गर्न र समालोचना गर्र्न किसिमको निर्माण गर्न खोजेको उनी बताउँछन् ।  डा. कार्की चिकित्सकको भूमिकामा मात्रै नभई समाज सुधारकको रूपमा पनि काम गरिरहेका छन् । शिक्षामा रूपान्तरण ल्याउने अभियानमा उनी लागिरहेका छन् । उनले काठमाडौं विश्वविद्यालयमा मेडिकल शिक्षाको सुरुवात गरेर चिकित्सा शिक्षामा रचनात्मक र नवप्रवर्तनको बीउ रोपे । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गरेर ग्रामीण केन्द्रित चिकित्सा शिक्षाको अभियान र त्यसलाई कार्यान्वयन गरे भने अहिले नेपाल नेपाल विश्वविद्यालयमार्फत उच्च शिक्षा प्रणालीलाई सुधारको एजेण्डा बनाएर अगाडि बढिरहेका छन् ।  ‘परिवर्तन सजिलो हुँदैन । तर, एक व्यक्तिले पनि सही उद्देश्य लिएर काम गर्‍यो भने नयाँ पुस्तालाई मार्गदर्शन गर्ने संस्था निर्माण गर्न सकिन्छ,’ डा. कार्की भन्छन्, ‘मैले ५० वर्षको अवधिमा हजारौंलाई उपचार गरें होला, कुनै सुधारको काम गरियो भने त्यसको प्रभाव पछिसम्म रहन्छ, त्यसको लाभ आउने पुस्ताले पनि लिन्छ ।’ डा. कार्की सामूहिक प्रयत्नले नै नतिजा दिन सकिने धारणा राख्छन् । ‘विश्वविद्यालयमा विद्यार्थीले पढ्ने र शिक्षकले पढाउने मात्रै हुनु हुँदैन । विचार, विश्लेषण र सोच्न सक्ने जनशक्ति हामी उत्पादन गर्छौं, विश्वका कुनै पनि देशभन्दा हाम्रो शिक्षा कम हुँदैन भन्ने किसिमले हामी गरिरहेका छौं,’ उनी भन्छन्, ‘मैले थालेको काम गज्जवले सम्पन्न गर्छु र यसले मुलुकको वृहत्तर हितको लागि काम गर्छ भन्ने विश्वास पनि छ ।’ यसरी बने विशेषज्ञ सिन्धुपाल्चोकको पेट्कु (हाल लिसंखु–पाखर गाउँपालिका) मा घर भएका डा. कार्की  सन् १९५५ मा काठमाडौंको एक डेराको घरमा जन्मिए । बुवा नेपाली सेना र पछि नेपाल प्रहरीमा भएकोले उनको बाल्यकाल विभिन्न ठाउँमा गएर बित्यो । बिरामी हुँदा अस्पताल पुगेका उनले डाक्टर देखेपछि म पनि डाक्टर बन्छु भन्ने सपना उनमा पलायो।   एसएलसीको नतिजा कमजोर हुँदाहुँदै पनि हेल्थ असिस्टेन्ट (एचए) पढ्ने अभिलाषा उनमा जाग्यो । पहिलो र दोस्रो प्रयास असफल भए पनि स्वीस सहयोगमा सञ्चालन भएको ग्रामीण विकास परियोजनामा क्लिनिक सहायक बनेर पाएको अनुभवले तेस्रो प्रयासमा सफलता दिलायो । उनी विगत सम्झिँदै भन्छन्, ‘सन् १९७५ मा एचएमा  नाम निकालें । तीन वर्षमा उत्कृष्ट नम्बर ल्याएर पास पनि भएँ ।’ एचए पास गरेपछि उनले नुवाकोट र दोलखाका स्वास्थ्य चौकीमा एक वर्ष सेवा गरे । चिकित्साशास्त्र अध्ययन संस्थानले महाराजगञ्ज क्याम्पसमा एमबीबीएस कार्यक्रम सुरु गर्‍यो । आवश्यक योग्यता पूरा भएकाले सन् १९७९ मा उनी पनि भर्ना भए । उनले सन् १९८५ मा एमबीबीएस उत्तीर्ण गरे ।  डा. कार्की एमबीबीएसपछि छिटोभन्दा छिटो विशेषज्ञ बन्ने चाहन्थे । तर, त्यतिबेला नेपालमा स्नातकोत्तर (मास्टर्स) कार्यक्रम उपलब्ध थिएन । सन् १९९१ मा स्वीडेनको लुन्ड विश्वविद्यालयमा मेडिकल एक वर्षको अनुसन्धान सकाएर उनी सन् १९९३ मा अमेरिका गए । उनले अमेरिकामा क्रिटिकल केयरमा विशेषज्ञता हासिल गरेपछि स्वदेश फर्किए ।  उनी सामाजिक काममा पनि सक्रिय भए । चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा गर्न सरकारले गठन गरेको डा. केदारभक्त माथेमा आयोगका सदस्य पनि बने । उनले प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रका संस्थापक कार्यकारी निर्देशक तथा अमेरिका नेपाल मेडिकल फाउन्डेसनका संस्थापक अध्यक्ष भएर पनि काम गरिसकेका छन् ।  कार्कीकै शब्दहरू : बिरामीका समस्या सुन्नु, बुझ्नु र निदान गर्नु चिकित्सकको दायित्व हो । तर, स्वास्थ्य क्षेत्रमा काम गर्दा मैले सदैव महसुस गरें कि रोगको उपचार मात्र पर्याप्त हुँदैन । रोग जन्माउने संरचनात्मक असमानता हटाउन नसकिएसम्म समाजमा दिगो शान्ति र स्थायित्व आउँदैन । गाउँ–सहरबीच स्वास्थ्य पहुँचबीचको अमानताता र खाडल, शिशु र मातृ मृत्युदरले मलाई झकझक्याइरह्यो । सोही कारण म अमेरिकाबाट नेपाल फर्किएँ ।  नेपालमा तालिमप्राप्त चिकित्सक दुर्गममा जान चाहँदैनन् भन्ने आरोप धेरै लाग्थ्यो । अहिले पनि त्यो अवस्था छ । तर, अध्ययन गर्दै जाँदा मैले के बुझें भने समस्या चिकित्सकमा मात्र होइन, हाम्रो सम्पूर्ण चिकित्सा प्रणालीमै छ । ग्रामीण प्राथमिकताको अभाव, अवसरको असमानता र प्रणालीगत कमजोरीले गर्दा धेरै चिकित्सक विदेशतिरै जाने प्रवृत्ति बढेको रहेछ । यही समस्यालाई उल्ट्याउने संकल्प लिएर म चिकित्सक उत्पादन र चिकित्सा शिक्षा सुधारतर्फ सक्रिय भएँ । त्यही सिलसिलामा काठमाडौं विश्वविद्यालयसँग जोडिएँ । काठमाडौं विश्वविद्यालयमा मेडिकल शिक्षा सञ्चालन गर्नका लागि ठूलो भूमिका खेलें । देश–विदेशका प्राध्यापक ल्याएर तीन वर्षसम्म चिकित्सा शिक्षालाई आधुनिक र व्यवहारिक बनाउने प्रयास गरें । केही हदसम्म म सफल पनि भएँ । तर, पछि त्यहाँको नेतृत्वसँग मैले चाहेको ‘ग्रामीण–उन्मुख’ दृष्टिकोण मेल खाएन । उनीहरू प्राविधिक शिक्षा मात्र दिनुपर्छ, त्यसपछि चिकित्सक कहाँ जान्छन् भन्ने मतलब राख्नुपर्दैन भन्ने मान्यता राख्थे । तर, म चाहन्थें—चिकित्सा शिक्षा समाजको आवश्यकता र ग्रामीण जनताको समस्यासँग जोडिनुपर्छ । कुरा नमिलेपछि त्यहाँबाट बाहिरिएँ । मेरो चाहना र सपना थियो कि ग्रामीण भेगमा जन्मेहुर्केका विद्यार्थीलाई चिकित्सक बन्न प्रेरित गर्ने । किनकि गाउँमै जन्मेहुर्केका विद्यार्थी आफ्नै गाउँमा सेवा गर्न बढी इच्छुक हुन्छन् , सहरमा हुर्केकालाई गाउँ पठाउन कठिन थियो ।  त्यही सिलसिलामा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न सफल भइयो । त्यसको मैले नेतृत्व गरें । हामीले एमबीबीएसको प्रवेश परीक्षाको संरचना नै परिवर्तन गरेपछि गाउँका विद्यार्थी पनि एमबीबीएस पढ्ने बाटो खुल्यो । प्रतिष्ठानले यसले ग्रामीण पृष्ठभूमिका धेरै विद्यार्थीलाई चिकित्सक बन्न उत्प्रेरित ग¥यो । पाटनले उत्पादन गरेका ५० प्रतिशत चिकित्सक अहिले सरकारी अस्पतालमा कार्यरत छन् । यसमा मलाई ठूलो गर्व छ ।  मैले जीवनमा पैसालाई होइन, सेवालाई प्राथमिकता दिएँ । यदि पैसा नै अन्तिम लक्ष्य भएको भए म अमेरिकाबाट कहिल्यै फर्किँदैन थिएँ । यो अवधिमा कति बिरामीको उपचार गरें, म आफैंलाई समेत हिसाब छैन । तर, समाजले मप्रति देखाएको विश्वास नै मेरो सबैभन्दा ठूलो पुँजी हो । चिकित्सा शिक्षामा लाग्दै गर्दा नेपालको उच्च शिक्षामा पनि ठूलो समस्या रहेछ भन्ने पहिचान भयो । विद्यार्थी पासका लागि मात्रै पढ्ने प्रवृत्ति तोड्न हामीले नेपाल विश्वविद्यालय खोल्ने योजना अगाडि बढायौं । हामी अब समालोचना गर्न सक्ने, विश्लेषण गर्ने र सिर्जनात्मक सोच भएका जनशक्ति उत्पादन गर्ने गरी काम गरिरहेका छौं । त्यसमा सफल पनि हुन्छौं भन्ने विश्वास छ । 

हरित ऊर्जा उद्यमी, ऊर्जाशील अभिभावक

जति उद्योग डुबे । जति नोक्सानी भयो, त्यसमा निराश भएको भए, हरेश खाएको भए सायद आज नेपाली उद्योगीमाझ सफल र प्रेरक उद्यमीका रूपमा परिचित हुन्थेनन् कृष्णप्रसाद आचार्य । उनी ४३ कम्पनीका मालिक बने । तीमध्ये कति नोक्सानी बेहोरेर बन्द भए । कतिपयबाट लगानी झिके त कतिपयलाई सुस्त सञ्चालन गरे । तर, अहिले पनि ३० वटा कम्पनीको दैनिक रिपोर्टिङ लिन्छन् आरएम ग्रुपका अध्यक्ष कृष्णप्रसाद आचार्य । अफिसकै कुर्सीमा बसेर ।  साढे सात दशकको उमेर । मुहारमा आत्मविश्वास । काममा लगनशील । नम्र स्वभाव । जलविद्युत उद्यमी कृष्णप्रसाद आचार्यलाई चिन्ने जो कोहीले पनि झ्वाट्ट देख्दा र बुझ्दा यसरी नै लिन्छन् । पंक्तिकारले उनै आचार्यलाई जिज्ञासा राखे, ‘अब व्यवसायबाट विश्राम लिऔं, आराम गरौं भन्ने लाग्दैन ?’ जवाफमा उनले भने, ‘म रिटायर्ड हुँदिनँ, थप रिचार्ज हुन्छु । तपाईं आफ्नो काममा सन्तुष्ट र खुसी हुनुहुन्छ भन्ने अन्तिम साससम्म काम गरिराख्ने हो । शारीरिक र मानसिक रूपमा काम गर्न सकिन्छ भने लागिरहनुपर्छ । त्यसमै आनन्द छ ।’ विसं २००९ जेठमा कास्कीको निर्मलपोखरीमा जन्मिएका आचार्य किसान परिवारको पृष्ठभूमिमै हुर्किए । परिवार किसान भए पनि आफ्नै व्यवसाय गर्नुपर्छ भन्ने ढाडस उनलाई बुवाले दिइरहन्थे । त्यही उत्प्रेरणाले उनी व्यवसाय गर्ने तरखरमा लागे । तर, अभाव थियो पुँजीको । उनले पुख्र्यौली जमीन बिक्री गरे । जमीन बिक्री गरेर बस किने । त्यतिखेर यातायात क्षेत्रमा उनले राम्रै सम्भावना देखे । बस सेवा सञ्चालन गरेर राम्रै अनुभव लिए । उनले पृथ्वी राजमार्ग बस सञ्चालक समितिका अध्यक्षका रूपमा पनि काम गरे ।  यातायातपछि आचार्यले पर्यटन क्षेत्रमा सम्भावना देखे । पोखरामा पहिलो पटक पर्यटकस्तरीय होटल खोले । पोखराको महेन्द्रपुलमा पहिलो पटक वि.सं. २०३० सालमा होटल खोलेर पर्यटन क्षेत्रमा सम्भावनाको सञ्चार उनैले गरे । जतिबेला पोखरामा बस्नयोग्य पर्यटकस्तरीय होटलहरू थिएनन् ।  ‘होटल व्यवसाय गर्दा नेपाल औद्योगिक विकास निगमबाट ऋण लिएँ, त्यतिबेला निजी क्षेत्रका बैंक थिएनन् । सरकारी बैंकले होटलमा लगानी गर्थेनन्,’ आचार्यले भने । उनी पर्यटन क्षेत्रमा अहिले पनि पर्याप्त सम्भावना र अवसरहरू रहेको सुनाउँछन् ।  दक्षिण एसियाकै पहिलो चाउचाउ उद्योग उद्योगी आचार्य जहाँ सम्भावना देख्छन्, त्यहाँ सिफ्ट भइहाल्छन् । त्यो उनको पहिचान बनिसकेको छ । समय र परिस्थितिसँगै आफूलाई रूपान्तरण गरेर सोही किसिमले काम गर्नु एउटा सफल व्यवसायीको विशेषता हो । उद्यमी आचार्यको जीवनमा यस  विशेषता ठ्याक्कै लागू भएको देखिन्छ ।  विसं २०३० को दशकमा चाउचाउ भन्ने शब्द नेपाली शब्दकोषमा थिएन । जब उनले रारा चाउचाउ उत्पादन गरेर बजारमा ल्याए, सबैको मुखमा झुण्डियो ‘रारा’ । नेपालमा चाउचाउ उद्योग खोल्दाका सुरुवाती दिनहरू भने निकै सकस थिए । सरकारी कर्मचारीले उद्योग खोल्न नदिएको सकस उनलाई अहिले पनि स्मरण छ । तर, कृष्ण आचार्य र उनको टिमले त्यसलाई सार्थक तुल्यायो । र, २०३९ माघ २३ मा रारा चाउचाउको उत्पादन सुरु भयो ।  ‘दक्षिण एसियामै पहिलो रारा तयारी चाउचाउ उद्योग सुरु ग¥यौं । चाउचाउ भन्ने शब्द नै नेपाली शब्दकोषमा थिएन । हामीले सुरु गरेपछि शब्द पनि स्थापित भयो र उद्योग पनि,’ खुसी हुँदै उनी भन्छन् ।  रारा चाउचाउ उत्पादनका मुख्य पायोनियर कृष्ण आचार्य, सूर्यबहादुर केसी र फणिन्द्रमान श्रेष्ठ थिए । लगानीकर्ता भने १०६ जना थिए । केसी र श्रेष्ठको निधन भइसकेको छ । आचार्यले त्यो उद्योगको नेतृत्व २० वर्ष गरे । अहिले केसीका छोरा प्रकाश केसीले रारा चाउचाउ उत्पादन गरिरहेका छन् ।   ‘मलाई उद्योग क्षेत्रमा चिनाउने रारा चाउचाउ नै हो । म २७ वर्षको थिएँ । त्यसबेलाका बिजनेस टाइकनले मलाई खोज्थे, ठूल्ठूला राजनीतिज्ञले खोज्थे । राजा वीरेन्द्रले एक दिन बोलाएर उद्योग कसरी सुरु गर्याै ? प्रविधि कहाँबाट ल्यायौ, को–को संलग्न छौ भनेर सोध्नु भएको थियो,’ उद्योग सञ्चालन गर्दाका दिन स्मरण गर्दै आचार्यले भने । नयाँ उद्योगसँग उनको परिचय नै बदलियो ।  आरएम ग्रुपले अन्तर्राष्ट्रिय व्यापार, पशु औषधि आपूर्ति, सफ्टवेयर तथा काउन्सेलिङ सेवा, डीटीएच स्याटेलाइट टेलिभिजन नेटवर्क, बैंकिङ तथा बीमा, र ऊर्जा क्षेत्रमा लगानी विस्तार गरेको छ । ३० कम्पनी बढीमा लगानी गरेका आचार्यले ५ सय बढीलाई रोजगारी दिएका छन् । उनी अझै पनि ऊर्जा क्षेत्रमै लागेर आफ्नो जीवनकालमा एक हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यमा छन् । त्यसपछि ऊर्जामा प्रवेश चाउचाउ उत्पादन गरेर राष्ट्रिय व्यवसायीमाझ चिनिएका आचार्य सम्भावनाको खोजीमा लागिरहे । पछि अरू धेरै चाउचाउ उद्योग आए । प्रतिस्पर्धा बढ्यो । उनले भने क्षेत्र सिफ्ट गर्ने सोंच बनाए । ठूलो प्रतिस्पर्धा नभएको क्षेत्र खोजे । सम्भावना र अवसरको पहिचान गरे । र, दुई दशकअघि ऊर्जा क्षेत्रमा प्रवेश गर्ने निर्णय गरे ।  उनको बुझाइमा जलविद्युत क्षेत्रमा प्रतिस्पर्धा छैन । जति जलविद्युत उत्पादन गरे पनि सम्भावना प्रचुर छ । यसले व्यवसाय सफलतासँगै राष्ट्रिय अर्थतन्त्रमा पनि ठूलो योगदान दिन्छ । आचार्य अहिले ऊर्जा क्षेत्रका पायोनियर उद्यमीका रूपमा परिचित छन् ।  उसो त आचार्यको पढाइ पोलिटिकल साइन्स हो । तर, उनलाई व्यवसाय नै मन पर्छ । उनी व्यवसायमै रमाएका छन् । ‘गर्दै, सिक्दै, नोक्सान बेहोर्दै फेरि उठ्दै’ व्यवसाय सुरु गरेको हुँ, व्यवसायमा पारदर्शीता र लगनशीलता भयो भने लामो यात्रा तय गर्न सकिन्छ,’ उनले अनुभव सुनाउँदै भने ।  उनका अनुसार जलविद्युत क्षेत्रमा लाग्नु भनेको पैसा कमाउनु मात्रै होइन, राष्ट्रिय अर्थतन्त्र पनि बढाउनु हो । ‘प्रकृतिले पानी दिएको छ, त्यो पानीको उपयोग गर्नुपर्छ भनेर जलविद्युत क्षेत्रमा लागें । जहाँ आयोजना सुरु हुन्छ, त्यहाँ विकास हुन्छ, बाटो र बिजुली जान्छ, त्यसपछि विद्यालय र स्वास्थ्य संस्था खुल्छ । यसले रोजगारी सिर्जना हुन्छ, विविध अवसरहरू सिर्जना गर्छ, लगानीको उपयुक्त क्षेत्र सोंचेर नै म यो क्षेत्रमा प्रवेश गरेको हुँ,’ उनले भने ।  आचार्यले वातावरणका लागि पनि राम्रो र प्रतिस्पर्धा पनि नभएको क्षेत्र भएकोले हाइड्रो क्षेत्र रोजेको सुनाए । उनकै नेतृत्वमा ४७५ मेगावाट विद्युत उत्पादनको चरणमा छ । उनका अनुसार २ आयोजनाको बक्ती बलिसकेको छ । दुई आयोजना निर्माणको अन्तिम चरणमा छन् भने एउटाको काम सुरु भइसकेको छ र दुइटा आयोजना अध्ययनको चरणमा छन् । आचार्यको नेतृत्वमा विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ८.८ मेगावाटको रुडी ‘ए’ र ६.६ मेगावाटको रुडी ‘बी’, मल्टी एनर्जी डेभलपमेन्ट प्रालिले २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजना, ७.५ को मेगावाट गुप्चे खोला जलविद्युत् आयोजना, ४८.८ मेगावाटको खिम्ती-२ जलविद्युत आयोजना, ८.८ मेगावाटको रुदीखोला, १ सय ५५ मेगावाटको घुन्सा खोला आयोजना र ४० मेगावाटको बलेफी खोला जलविद्युत आयोजना अगाडि बढाइरहेका छन् । कतिपयको निर्माण सम्पन्न भएर बक्ती पनि बलिसकेका छन् भने कतिपय निर्माणको अन्तिम चरणमा र कतिपय अध्ययनको चरणमा छन् ।  आचार्य ऊर्जाले नै सबैलाई धनी बनाउन सक्ने बताउँछन् । ‘जलविद्युतमा अथाह सम्भावना छ, कुनै बेला ८२ हजार मेगावाटको क्षमता भनिए पनि वास्तममै डेढ लाख मेगावाटको सम्भावना छ । तर, अहिले २० हजार मेगावाट उत्पादन प्रयासको चरणमा मात्रै छ । व्यापार र उद्योगभन्दा पनि जलविद्युत राम्रो सम्भावनाको क्षेत्र हो,’ उनले भने ।  आचार्य जलविद्युत समूहमा लगानी हुने भएकोले ‘गोइङ टुगेदर र ग्रो टुगेदर’को मान्यतालाई विश्वास गर्छन् । उनले लगानी गरेर अगाडि बढाएका आयोजनामा पनि चार हजार बढी संस्थापक सेयरधनी छन् । उनले आफूले नेतृत्व गरेर बिजुली बलेका कम्पनीले प्रतिफल पनि राम्रै दिइरहेको सुनाए । उनको नेतृत्वमा विन्ध्यवासिनी हाइड्रो सुरुवात भएको थियो । ‘हामीले निर्माण गरेका जलविद्युत आयोजना बन्दा बाटो लियौं, बिजुली लियौं । त्यहाँको युवा क्लब, आमा समूहमा सामाजिक काम ग¥यौं, जलविद्युतले गाउँगाउँमा विकासको अनुभूति गराएको छ,’ उनले भने ।  ‘बिन्ध्यवासिनी हाइड्रोपावरले काम गर्दा आयोजना स्थलबाट पोखरामासम्म आउन बीचमै बास बस्नुपर्ने अवस्था थियो । तर, अहिले डेढ घण्टामै पुगिन्छ । बिरामी बीचमै मृत्यु हुने समस्या थियो । अहिले त्यहाँको जनजीवनमा ठूलो परिवर्तन आएको छ,’ उनले भने ।  उर्जा उद्यमीका अभिभावक उर्जा उद्यमी कृष्णप्रसाद आचार्यको पृथक पहिचान छ । अधिकांश जलविद्युत प्रवद्र्धकले उनलाई अग्रज उद्यमीका रूपमा सम्मान गर्ने गरेका छन् । उनी स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का निवर्तमान अध्यक्ष तथा सल्लाहकार हुन् । उनलाई ऊर्जा उद्यमीहरूले निर्विरोध रूपमा इप्पानको अध्यक्षमा चयन गरेका थिए ।   एक इमानदार र लगनशील ऊर्जा उद्यमीको रूपमा पहिचान बनाएका आचार्यले इप्पानमा रहँदा पनि महत्वपूर्ण काम गरेको दाबी गर्छन् । ‘मैले आफैले पनि सकेजतिको जलविद्युत उत्पादन गरें । धेरै साथीहरूलाई जुटाएँ, ऊर्जामा लगानी गर्न उत्प्रेरित गरें, अझै गरिरहेको छु,’ उनी भन्छन्, ‘मैले इप्पानको नेतृत्व गरेपछि जलविद्युतमा सकारात्मक मुभमेन्ट सुरु भयो ।’ विगतमा जलविद्युत प्रवद्र्धकमाथि ‘झोलामा खोला लिएर हिँड्छन्’ भन्ने गलत भाष्य बनाइएको थियो । आफू इप्पानको नेतृत्वमा आएपछि त्यो भाष्य चिर्न सफल भएको उनी सुनाउँछन् । ‘जलविद्युत उद्यमी राष्ट्र निर्माता हुन् भन्ने कुरा स्थापित ग¥यौं, प्रवद्र्धकको  पहिचान बनाएँ । विद्युत खरिद बिक्री (पीपीए) रोकिएको थियो, ट्रासमिसन लाइनको समस्या थियो, नेपाल विद्युत प्राधिकरणले उत्पादन रोक, यति प्रतिशत मात्रै गर भनेर निर्देशन दिन्थ्यो । त्यसलाई हटाउन मेरो नेतृत्वको टिम सफल भयो,’ उनले आफू इप्पानको नेतृत्वमा भएका काम सुनाउँदै भने ।  विगतमा जलविद्युत प्रवद्र्धकमाथि ‘झोलामा खोला लिएर हिँड्छन्’ भन्ने गलत भाष्य थियो । म इप्पानको नेतृत्वमा आएपछि त्यो भाष्य चिर्न सफल भएँ, जलविद्युत उद्यमी राष्ट्र निर्माता हुन् भन्ने कुरा स्थापित भयो ।  आचार्य इप्पानमा जानुअघि प्रवद्र्धकले कबुल गरेजति विद्युत उत्पादन गरेन भने प्राधिकरणले जरिवाना गथ्र्यो । आफूले त्यो जरिवाना गर्ने अभ्यास हटाउन सफल भएको उनले दाबी गरे । उनका अनुसार उनको नेतृत्वमा इप्पानमा भएको महत्वपूर्ण काम संगठन विस्तार हो ।  १४/१५ जनामात्रै प्रवद्र्धक जोडिएका इप्पानमा उनकै कारण ५०० जना संगठित भए । अहिले जलविद्युतसँग सम्बन्धित सरकारका समिति तथा निकायमा जलविद्युत उद्यमी नै आवद्ध हुने विषय स्थापित भएको उनले सुनाए ।  सरकारले ऊर्जा उद्यमीका लागि नीतिगत सहजताका साथै दुःख नदिने प्रवृत्तिमात्रै ग¥यो भने पनि धेरै काम गर्न सकिने आचार्य बताउँछन् । ‘अहिले उत्पादकहरू धेरै छन्, खरिदकर्ता र बिक्रेता एउटा मात्रै छ ।  २०६८ सालमा तोकेको दरमा प्राधिकरणले अहिलेसम्म खरिद गर्छ । बिक्री दर भने तीन पटक बढाइसक्यो । मुद्रास्फीतिअनुसार दर पुनरावलोकन गरेको छैन । ७ वटा मन्त्रालय, २२ वटा विभाग र २०० वटा टेबलमा जलविद्युत उद्यमी पुग्नुपर्छ । ३६ वटा कानुनको अधिनमा रहेर काम गर्नुपर्छ, यो किसिमले जलविद्युत क्षेत्रको विकास हुन सक्दैन,’ उनले भने । उनले सरकारले भाषणमा एकद्वार प्रणाली भने पनि व्यवहारमा लागू नभएको गुनासो गरे । ‘मैले काममा एकद्वार प्रणाली तत्कालीन राजा वीरेन्द्रबाट सुनेको हुँ, अहिलेसम्म सुनिन्छ, तर कार्यान्वयन भएको छैन । अधिकांशको नियत दुःख दिने छ । पदमा बस्नेसम्म दुःख दिने तर बाहिर आएपछि यो काम भएन भन्छन्,’ उनले भने, ‘यस्तो प्रवृत्ति रोकियो भने जलविद्युत प्रवर्द्धकले ५० हजार मेगावाट विद्युत उत्पादन गर्ने क्षमता राख्छन् ।’ निजी क्षेत्रकै कारण अहिले देशमा लोडसेडिङ अन्त्य भएको तर यसका श्रेय एक जनालाई मात्र दिने काम भएको आचार्यको भनाइ छ । लोडसेडिङ अन्त्यको श्रेय निजी क्षेत्रलाई दिनुपर्ने उनको धारणा छ ।  चुनौती र समस्या धेरै भएपनि आफू चुनौतीभित्र नै सम्भावना खोज्ने गरेको आचार्य बताउँछन् । ‘जलविद्युत क्षेत्रमा चुनौती अथाह छन् । तर, म कहिल्यै पनि निराश भइनँ । भारतले नाकाबन्दी गरेको बेला मैले दुई नयाँ उद्योग ल्याएँ । त्यतिबेला धेरै मान्छेहरूले यो लगानी गर्ने समय होइन भनेका थिए । भूकम्पको समयमा बर्बाद भयो भन्थे तर मैले काम रोकिनँ । अप्ठ्यारो परेको बेला काम गर्ने मान्छेको पहिचान हुन्छ,’ उनले भने ।  मध्यरातमा फोन गरेर भोलि तपाईंको साइटमा रगतको खोला बग्छ भन्ने मान्छेसँग पनि आचार्य जुधे । मन्त्रालयमा वर्षौंदिनसम्म गएर फाइल अगाडि नबढेको अनुभव पनि लिए । तर, उनी निराश भएनन् । उनी भन्छन्, ‘चुनौती र समस्याबाट भागेको भए आज तपाईंसँग कुरा गर्ने सक्ने अवस्थामा कहाँ पुग्थें र !’ छोराहरू नै सफलताका सारथी उद्यमी कृष्ण आर्चाका दुई छोरा छन् । जेठो सुदीप र कान्छो सन्दिप । दुवै छोराले उनलाई व्यवसायमा साथ दिइरहेका छन् । दुइटै छोरालाई उनले अमेरिकामा पढाए । तर, उनलाई खुसी यसमा मिलेको छ कि दुवै छोरा नेपाल फर्किएर व्यवसायमा साथ दिइरहेका छन् । ‘धेरैले छोराछोरी विदेश पठाउने विषयलाई गौरवका रुपमा लिन्छन् । तर, मैले नेपाल फर्काएकोमा गौरव महसुस गर्छु । हामी अहिले संयुक्त परिवारमा छौं । छोरा बुहारीले व्यवसायमा राम्रो साथ दिइरहेका छन्, म एकदमै खुसी छु,’ उत्साहित हुँदै उनले भने ।  छोराहरु सन्दीप र सुदीपसँग कृष्णप्रसाद आचार्य ।  सुदीप कामना सेवा विकास बैंकका अध्यक्ष, डिस होमका प्रबन्ध निर्देशक, डीएचआईको अध्यक्ष, मल्टिपल इनिर्जी प्रालिको सञ्चालक रहेर काम गरिरहेका छन् । उनले बुवालाई जलविद्युतमा पनि साथ दिइरहेका छन् । सन्दिपले आईटी कम्पनीको नेतृत्व गरिरहेका छन् । उनले नेपालमा आईटी प्रडक्ट उत्पादन गरेर अमेरिकामा निर्यात गर्दै आएका छन् ।  आचार्य साथीभाइहरू जुटाएर काम गर्दा सफल भइने तर पारदर्शिताको भने आवश्यकता हुने बताए । ‘नेपालमा पारदर्शिताको कमी छ, व्यावसायिक साझेदारहरूसँग पारदर्शी कायम गर्न सकियो भने सफलताको सबैभन्दा ठूलो सफलता हुन्छ । इमान्दारिता र लगनशीलता आवश्यक पर्छ,’ उनले भने । म रिटायर्ड हुदिनँ, थप रिचार्ज हुन्छु । तपाईं आफ्नो काममा सन्तुष्ट र खुसी हुनुहुन्छ भन्ने अन्तिम स्वाससम्म काम गरिराख्ने हो । शारीरिक र मानसिक रूपमा काम गर्न सकिन्छ भने लागिरहनुपर्छ । त्यसमै आनन्द छ । आरएम ग्रुपले अन्तर्राष्ट्रिय व्यापार, पशु औषधि आपूर्ति, सफ्टवेयर तथा काउन्सेलिङ सेवा, डीटीएच स्याटेलाइट टेलिभिजन नेटवर्क, बैंकिङ तथा बीमा र ऊर्जा क्षेत्रमा लगानी विस्तार गरेको छ । ३० भन्दा बढी कम्पनीमा लगानी गरेका आचार्यले ५ सय बढीलाई रोजगारी दिएका छन् । उनी अझै पनि ऊर्जा क्षेत्रमै लागेर आफ्नो जीवनकालमा एक हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यमा छन् । नेपालको अन्तरिम व्यवस्थापिका संसद २०६३–२०६४ को सांसद समेत रहेर काम गरेका आचार्य व्यवसायसँगै सामाजिक काममा पनि सक्रिय छन् । उनी गण्डकी विश्वविद्यालयका बोर्ड अफ ट्रस्टीका रूपमा पनि कार्यरत छन् ।  ‘कहिले कता त कहिले कता लाग्नु हुँदैन, त्यसले क्षणिक रूपमा पैसा कमाए पनि सफलता भने मिल्दैन, समाज र राष्ट्रले केही पाउँदैन । समाजलाई के दिनु भयो भन्ने कुराले ठूलो अर्थ राख्छ,’ उनी भन्छन्, ‘अहिले म ७५ वर्षको भएँ, मेरो अन्त्य पनि कुनै परियोजना निर्माण गर्दागर्दै होस् भन्ने चाहना छ ।’ इप्पानका अध्यक्ष गणेश कार्की पनि ऊर्जा क्षेत्रको विकासमा आचार्यको भूमिका र योगदान महत्वपूर्ण रहेको बताउँछन् । ‘उहाँले इप्पानको नेृतृत्व गर्दा पनि परिणामुखी काम भए । उहाँ पहिले पनि माननीय भइसकेको हुनाले इप्पानलाई संस्थागत बनाउन र सरकारसँग नीतिगत समन्वय गर्न उहाँको कार्यकाल उदाहरणीय बन्यो,’ उनी भन्छन्, ‘उहाँको व्यक्तिगत सम्बन्ध राम्रो भएकोले पनि काम गर्न सहज भयो ।’ जलविद्युत क्षेत्रमा सामूहिक लगानीको मोडललाई अगाडि बढाउन पनि उनले ठूलो भूमिका खेलेको कार्कीको भनाइ छ ।  कृष्णकै शब्दहरू:  जागिरले आफूलाई मात्र चलाउँछ, व्यवसायले धेरैलाई जोड्छ भन्ने बुवाको प्रेरणाले म व्यवसायमा लागें । सुरु यातायातबाट गरें । पछि पोखरामा पर्यटकस्तरको पहिलो होटल खोलें । यातायात र होटल सञ्चालन गरेपछि दक्षिण एसियाकै पहिलो तयारी चाउचाउ उद्योग सुरु गरें, ‘रारा चाउचाउ’ । त्यतिबेला चाउचाउ भन्ने शब्द पनि नेपाली शब्दकोषमा थिएन, हामीले सुरु गरेपछि शब्द पनि चलनमा आयो, उद्योग पनि स्थापित भयो । राजा वीरेन्द्रले समेत बोलाएर सोध्नुभयो कि उद्योग कसरी सुरु गर्यौ भनेर ।  पैसा कमाउने मात्र काम होइन, राष्ट्र निर्माणको सोंचसहित म जलविद्युत उत्पादनको क्षेत्रमा आएँ । अहिले ४०० मेगावाटभन्दा बढी बिजुली उत्पादनमा संलग्न छु । केही आयोजनामा बत्ती बालिसक्यो, केही अन्तिम चरणमा छन् । जलविद्युतमा आएपछि बुझें– जहाँ आयोजना जान्छ, त्यहाँ विकास पुग्छ ।  बाटो जान्छ, बिजुली जान्छ, विद्यालय–स्वास्थ्य संस्था आउँछन् । रोजगारी सिर्जना हुन्छ । स्थानीय मानिसको जीवनस्तर माथि उकास्सिन्छ ।  ‘गो टुगेदर, ग्रो टुगेदर’ भन्ने मान्यतामा काम गरिरहेको छु, मैले चार हजारभन्दा बढी प्रमोटरलाई जोडेको छु । नेपालको व्यवसायमा सबैभन्दा ठूलो समस्या पारदर्शिता नहुनु हो । साझेदारसँग पारदर्शिता राखियो भने सफल भइन्छ । अमेरिकाबाट फर्किएर छोराहरूले पनि मलाई व्यवसायमा साथ दिइरहेका छन् । मलाई त्यसमा ठूलो गौरव छ ।  सरकारले नीतिगत सहजता गरिदियो भने जलविद्युत उद्यमीहरूले ५० हजार मेगावाट उत्पादन गर्न सक्छन् । म इप्पानको नेतृत्व गर्दा ‘झोलामा खोला बोक्ने’ भनेर आरोप लगाइन्थ्यो । म त्यो भाष्यलाई बदल्न सफल भएँ । जलविद्युत उद्यमी राष्ट्र निर्माता हुन् भनेर स्थापित गरें । पीपीए रोकिएको थियो, कबोल गरेको विद्युत उत्पादन नगर्नेलाई जरिवाना लगाइन्थ्यो । ट्रान्समिसन लाइनका अवरोध थिए । सबै हटाउन लडें । संगठन १२/१५ सदस्यबाट ५०० पु¥यायौं ।  निजी क्षेत्र नआएको भए लोडसेडिङ हट्दैनथ्यो । त्यो श्रेय लिइरहेकै आधारमा कतिपयले पार्टी खोले । म कठिन समयमा नै काम गर्छु । नाकाबन्दीमा दुई उद्योग ल्याएँ, भूकम्पमा पनि रोकिनँ । धम्की दिने, रोक्ने, काम नगरिदिने लगायत धेरै चुनौतीहरू भोगें । तर, कहिल्यै निराश भइनँ । म व्यापारमा होइन, उत्पादनमा लागें । पारदर्शी र इमानदार भएर काम गर्छु । अहिले तीन दर्जनभन्दा बढी कम्पनीमा लगानी छ, ५०० भन्दा बढीले रोजगार पाएका छन् । मेरै जीवनकालमा एक हजार विद्युत उत्पादन गर्ने लक्ष्य छ । मेरो कामको मूल्यांकन गर्दै विकास मिडियाले मलाई विकास नायकको रूपमा सम्मान गर्न लागेको खबर सुनेपछि राम्रो काम गर्नेको कहीँ नै कही मूल्याङकन भइरहेको हुन्छ भन्ने लाग्यो । यो कार्यलाई निरन्तरता पनि दियोस् भन्ने शुभकामना पनि दिन चाहन्छु ।