नारायण ज्ञवाली

प्रताडित मिलेनियल पुस्ता, बधाई जेनजी

यो समय जेनेरेसन जेटको हो । अहिले उनीहरूकै चर्चा छ । यो हामी मिलेनियलहरूका लागि धेरै खुशी र अलिअलि चुनौती पनि हो । सर्वप्रथम हामीभन्दा पछिल्लो पुस्ताको यो साहस र सुरताका लागि बधाई भन्न चाहन्छु । पछिल्लो पुस्ताको वीरतालाई बधाई भन्दै म मेरो पुस्ताका अलिअलि दुःखका अलिअलि प्रताडना र सम्भावनाका कुरा गर्न चाहन्छु । वि.सं २०४० सालदेखि २०५२ सालसम्म जन्मिएको मेरो पुस्ता जसलाई आज जेनेरेसन वाई वा मिलेनियल भनेर चिनिन्छ । यो एउटा यस्तो पुस्ता हो– जसले निरन्तर राजनीतिक, सामाजिक, आर्थिक र मनोवैज्ञानिक तनावको सामना गर्दै आफ्नो जीवन अगाडि बढाइरहेको छ । यो पुस्ताले भोगेको जीवन बाल्यकालदेखि युवावस्था र अबको परिपक्व अवस्थासम्मको यात्रा संघर्ष, त्याग, बलिदान र अपेक्षाको कथा हो । तर, विडम्बना यो पुस्ताले त्यागको भारी जति ठूलो बोकेको छ, प्राप्तिको सूची त्यत्तिकै न्यून छ । यो पुस्ताले जे प्राप्तिका लागि लड्यो ती आदर्शहरू अझै अधुरै छन् । यस पुस्ताका जेष्ठ सदस्यहरू पञ्चायती शासनको अन्त्यतिर जन्मिएका थिए । जुन समय अभिव्यक्ति स्वतन्त्रता नियन्त्रणमा थियो । नागरिक स्वतन्त्रता दमित थियो । कान्छा सदस्यहरू भने माओवादी सशस्त्र युद्ध सुरु हुँदै गर्दा जन्मिए । जुन समय देश पूर्णतया राजनीतिक अन्यौलमा थियो । बाल्यकालमै युद्ध, हत्या, विस्थापन र त्रासदी यिनको चेतनामा गढ्यो । समाचारपत्रहरूमा रक्तपातका तस्बिर, रेडियोमा बम विस्फोटका खबर, घरका अभिभावकका चिन्तित अनुहार यी सबैले जेन वाइको बाल मनोविज्ञानमा गहिरो प्रभाव पारेको छ । २०५८ सालमा घटेको राजदरबार हत्याकाण्डले त झनै यिनको जीवनमा ठूलो घाउ थप्यो । राजारानी र राजपरिवारको सामूहिक हत्या जस्तो अकल्पनीय घटनाले समग्र राष्ट्रलाई स्तब्ध बनायो । बाल्यकालमै यस्ता राष्ट्रिय शोकको साक्षी हुनुपर्दा यो पुस्ताको मानसपटलमा गहिरो निराशा र असुरक्षा स्थापित भएको जगजाहेर छ । देश कता जाँदैछ, अब के हुन्छ भन्ने अन्योल उनीहरूको जीवनको अभिन्न हिस्सा बन्यो । त्यसपछिका दिनहरू पनि यिनको लागि सहज भएनन् । सशस्त्रयुद्ध चर्किँदै गयो । गाउँहरू रित्तिँदै गए, सहरहरू डरले सुनसान बन्दै गए । कतिपयले विद्रोही बन्ने विकल्प रोजे, कतिपयले सन्नाटा समाउँदै शान्तिको प्रतीक्षा गरे । २०६२/६३ को आन्दोलनले युद्धको अन्त्य गर्‍यो । गणतन्त्र आयो, संविधान जारी भयो । परिवर्तन आए, तर जीवनमा गुणात्मक परिवर्तन भने आयो भन्न सकिएन । जेनजीले अझै ठूलो पारिवारिक जिम्मेवारी बोक्न बाँकी छ । यो पुस्तामा देशप्रतिको माया प्रचुर छ । भ्रष्टाचारप्रति शून्य सहनशीलता छ । विधि र प्रक्रियाप्रति आस्था छ । तर, यी मागहरू पूरा गर्न परिपक्व नेतृत्व आवश्यक छ जसका लागि मिलेनियल पुस्ताभन्दा उपयुक्त अर्को पुस्ता छैन । यो पुस्ताले आफ्नो जीवनको सबैभन्दा ऊर्जावान समय दश वर्षको संक्रमणकालमा बितायो । जुन समय यिनले समाजमा योगदान दिन सक्थे, त्यही समय राजनीतिक अन्योल र अस्थिरताले हरण गर्‍यो । पढेलेखेका, सक्षम, दूरदर्शी युवाहरू घामपानी, लाठी, गाली सहँदै सडकमा उत्रिए । तर, जब परिस्थिति सामान्य हुँदै गयो, राजनीति फेरि पुरानै ढर्रामा फर्कियो । यिनले शिक्षा अवश्य पाए । राम्रो अङ्क ल्याएर उत्तीर्ण भए । कतिपयले विदेशमा पढे, कतिपयले यहीँ सर्टिफिकेट बटुले । तर, त्यो शैक्षिक पूँजीको मूल्याङ्कन हुन सकेन । सार्वजनिक सेवा क्षेत्रमा निष्पक्षता हरायो । पहुँच, सिफारिस, घुसबिनाको नियुक्ति दुर्लभ बन्यो । योग्यताभन्दा बढी, चिनजान र सत्ता समीकरणले अवसर निर्धारण गर्न थाल्यो । त्यसैले हजारौं सक्षम युवाहरू विदेशिएका छन् । उनीहरू देश फर्किने सपना बोक्छन्, तर त्यो सपना पुनः दोहोरिन सक्दैन भन्ने गहिरो यथार्थसँग पनि उनीहरू अवगत छन् । यस पुस्ताको अर्को विशेषता भनेको राजनीतिक चेतनाले भरिपूर्ण हुनु हो । बाल्यकालमै आन्दोलन, नाराबाजी, ब्यानर र पोस्टर देखेका यिनले राजनीति केबल सत्ता लिने होइन, समाज परिवर्तन गर्ने माध्यम हो भन्ने माने । पार्टीप्रति आस्था राख्नु, विचारमा विश्वास गर्नु, सक्रिय रूपमा भाग लिनु यिनीहरूका लागि गौरवको कुरा थियो । तर आज जब यिनीहरू पार्टीमा सक्रिय हुन्छन् वा पार्टीका नीतिलाई समर्थन गर्छन्, तब उनीहरूलाई ‘झोले’, ‘मण्डले’, ‘हनुमान’ जस्ता शब्दले होच्याइन्छ ।  यसो भए पनि यो पुस्ता अझै पनि देश, समाज र लोकतन्त्रप्रति समर्पित छ । राजतन्त्र हटाउनु, गणतन्त्र स्थापना गर्नु, संविधान निर्माण गर्नु यी सबै आन्दोलनहरूमा यो पुस्ताको श्रम, आँसु र पसिना मिसिएको छ । परिवर्तनको बीउ रोप्ने यही पुस्ता हो । यद्यपि फल भने अरूले खाइरहेका छन् । अब यो पुस्ता जीवनको जिम्मेवारीको चरम बिन्दुमा पुगेको छ । एकातिर वृद्ध बाबुआमाको सेवा, अर्कोतिर छोराछोरीको शिक्षा–दीक्षा, स्वास्थ्य, सुरक्षा सबै बोझ यही पुस्ताकै काँधमा छ । तर, उसका पहिचान, करिअर र सपना भने अझै अधुरै छन् । यति ठूलो जिम्मेवारीका बीच पनि यो पुस्ता अझै केही गर्न सक्छु भन्ने विश्वासमा बाँचेको छ । यिनको जीवन एउटा यस्तो जहाज हो, जुन कुहिरोमा हराएको छ न स्पष्ट गन्तव्य देखिन्छ, न पछाडि फर्किन सकिन्छ, न सुरक्षित ल्यान्डिङ नै सजिलो छ । तर यिनीहरू अझै प्रयासरत छन्, लागिरहेकै छन् गन्तव्य खोजिरहेकै छन् । अब प्रश्न उठ्छ नेतृत्व कसले लिने ? पुराना पुस्ता थाकिसके, थलिइसके । नयाँ पुस्ता अझै परिपक्व छैन, व्यवहारिक ज्ञानको अभाव छ । यो पुस्ताले नै अबको सामाजिक र राजनीतिक नेतृत्व सम्हाल्नुपर्छ । किनभने यो पुस्तासँग चार प्रमुख कुरा छन् । ती हुन्– अनुभव, शिक्षा, ऊर्जा र उत्तरदायित्वको भावना । यिनले विगत देखेका छन् । भविष्य निर्माण गर्ने सामर्थ्य राख्छन् । यिनले जनता र नेताबीचको अन्तर बुझेका छन् । सत्ताको स्वाद र कर्तव्यको मूल्य बुझेका छन् । त्यसैले यिनीहरूबाट अपेक्षा गर्न सकिन्छ– इमानदार नेतृत्व, व्यवहारिक नीति र जनमुखी कार्यशैलीको । जेनजी अहिलेको पुस्ता हो, जसले अझै ठूलो पारिवारिक जिम्मेवारी बोक्न थालेको छैन । यो पुस्तामा देशप्रतिको माया प्रचुर छ । भ्रष्टाचारप्रति शून्य सहनशीलता छ । विधि र प्रक्रियाप्रति आस्था छ । तर, यी मागहरू पूरा गर्न परिपक्व नेतृत्व आवश्यक छ जसका लागि मिलेनियल पुस्ताभन्दा उपयुक्त अर्को पुस्ता छैन । सारांशमा भन्नुपर्दा मिलेनियल नै नेपालको सबैभन्दा प्रताडित र खारिएको पुस्ता हो । यो पुस्ताले बाल्यकालमा शान्ति पाएन । युवावस्थामा अवसर पाएन । अहिले जिम्मेवारीको भारी त बोकेको छ नै, अपमान पनि यही पुस्ताले सहेको छ । यो पुस्ता कुनै अन्धविश्वासमा होइन, तिक्त यथार्थताको घाममा पोलिएर आफै खारिएका छ । आफ्नो सुझबुझ र आदर्शले अबको नेतृत्वका लागि समेत तयार छ । अब समय आएको छ– नेतृत्व फेर्ने होइन, पुस्ता फेर्ने । यदि आज यो पुस्ता अघि सरेन भने भोलिको इतिहासले लेख्नेछ सबैभन्दा धेरै गुमाएको, तर सबैभन्दा कम लडेको पुस्ता भनेर । यदि यो पुस्ता नेतृत्वमा आयो भने इमान्दारी र दूरदर्शिताका साथ समाजको नेतृत्व गर्‍यो भने भोलिको इतिहासले गर्वका साथ लेख्नेछ ‘सबैभन्दा प्रताडित पुस्ता जसले देशलाई उज्यालोमा पु¥यायो ।’