EV


सूर्यांश वैद्यः बिँडो थाम्दै, जम्प हान्दै

काठमाडौं । बुवा सुरज वैद्य, नेपाल उद्योग वाणिज्य महासंघको पूर्वअध्यक्ष एवं उच्च कद भएका उद्यमी । आमा रितुसिंह वैद्य, पूर्व मिस इण्डिया, नेपालमा सफलता चुमिरहेकी महिला उद्यमी । सुरज र रितुको छोरा भन्नेबित्तिकै सूर्यांश वैद्यलाई व्यावसायीक जगतमा धेरैले चिन्दछन् । तर सूर्यांशलाई आफ्नै नामले चिनिनु छ ।  वहालवाला वा पूर्वमन्त्री, सांसद्, सचिव, न्यायाधीश, प्रधानसेनापति, प्रहरी महानिरीक्षक वा उच्च सरकारी पदमा पुगेको वर्तमान वा पूर्व हाइप्रोफाइल व्यक्तिका छोरो छोरी नेपालमा बस्दैनन्, विदेशमा पुगेका हुन्छन् । तर धेरै कठिनाइ र झमेलाका बीच व्यवसायीका छोराछोरी नेपालमा नै केही गर्न प्रयत्नशील छन् । तिनैमध्ये एक हुन् सूर्यांश । उनका सबै साथीहरू अहिले विदेशमै रमाइरहेका छन् । तर उनी आफ्नै देशमा केही गर्नुपर्छ भनी व्यवसायमा लागिरहेका छन् ।  विदेशको सिकाइ अनुभव सँगाली नेपाल फर्केका उनी पैतृक व्यवसाय समाल्दै छन् ।  अटोमोबाइल, कृषि, कन्ट्रक्सन, शिक्षा लगायतका क्षेत्रमा काम गर्दै आएका वैद्य अर्गनाजेशन अफ इण्ड्रष्ट्रिज एण्ड ट्रेडिङ हाउजेजमा उनी निर्देशकको भूमिकामा छन् । साथै वैद्य इनर्जीका सीईओ र पिटस्टप इन्कर्पोरेटेडका संस्थापकको रूपमा काम गरिरहेका छन् । भन्छन्, ‘मै धेरै विभाग हेरिरहेको छु, तर यसमध्ये विशेषगरी अहिले वैद्य इनर्जीलाई बढी समय दिइरहेको छु ।’ जान्दैनन् नेपाली सूर्यांश काठमाडौंमै जन्मे, काठमाडौंमै हुर्के तर उनलाई नेपाली भाषामा बोल्न कठिन हुन्छ । अरू नेपालीले झैं उनले कखगघ पढेनन्, एबीसीडी मात्र पढे । उनको परिवार बहुसांस्कृतिक र बहुभाषी छ । आमा रितु धेरैजसो अंग्रेजी र कहिलेकाहीं हिन्दी बोल्थिन् । बुवा र अन्य सदस्यले घरमा बोल्ने भाषा अंग्रेजी नै थियो । सूर्यांश सुरुमा काठमाडौंको बाफलस्थित रुपीज इन्टरनेशनल स्कूलमा पढे, जहाँ हिन्दीमा पढाइ हुन्थ्यो । पछि सानेपास्थित ब्रिटिश स्कुल हुँदै रविभवनको लिंकन स्कुलमा कक्षा १२ सम्म पढे, जहाँ पुरै अंग्रेजीमा पढाई हुन्थ्यो । कलेज पढ्न अमेरिका गए । बेन्टले यूनिभर्सिटीबाट व्यवस्थापन र उद्यमशीलता विषयमा ब्याचलर्स डिग्री लिए । अमेरिकामा पढ्दा मनोविज्ञान, समाजशास्त्र, अर्थशास्त्र धेरै विषयमा सिक्ने अवसर पाएको, व्यवसाय कसरी गर्ने, त्यसमा के के चाहिन्छ, सरकारसँग कसरी समन्वय गर्ने भन्ने यावत कुराहरू पढ्दै गर्दा थाहा पाएको उनी सुनाउँछन् ।    सूर्यांश पढाइ सकेर नेपाल फर्किँदा कोभिड महामारी थियो । जनमानसमा ठूलो त्रास थियो । त्यहीबेला उनले कुन क्षेत्रमा व्यवसाय कसरी गर्दा ठीक हुन्छ अनुसन्धान गरे । ‘मैले त्यो बेला नेपालका उद्योगहरूबारे जान्ने अवसर पाएँ । कृषि, इनर्जी, मोबिलिटी इनर्जी धेरै क्षेत्रको रिसर्च गरें, सबैभन्दा बेस्ट मलाई यो व्यवसाय लाग्यो र यही क्षेत्र रोजें,’ उनले भने । सूर्यांशका दुईजना दिदी छन् । जेठी दिदी अमेरिकामा छिन् भने माइली हस्पिटालिटी क्षेत्रमा काम गर्छिन् । उनको नेतृत्वमा चितवनमा होटल निर्माणाधीन छ । उनको काका सुरेश वैद्यले कृषि क्षेत्र हेरिरहेका छन् । ‘हजुरबाले जिरोबाट सुरु गरेको व्यवसायलाई मेरो बुवाले यहाँसम्म ल्याउनुभयो, अब मेरो जिम्मेवारी यो व्यवसायलाई कसरी अगाडि लैजाने भन्ने हो,’ उनले सुनाए । सूर्यांश व्यवसायमा लागेको पाँच वर्षमात्र भयो । यस अवधिमा धेरै कुरा सिक्ने र बुझ्ने मौका पाएको उनी बताउँछन् । उनी उत्साहित छन् । भन्छन्, ‘भर्खरै एथरको ४५० एक्स लन्च गरेका छौं । यसमा धेरै काम भइरहेको छ । केही नयाँ गर्ने प्रयास गरिरहेको छु । अहिले म निकै उत्साहित छु ।  वैद्य इनर्जी वैद्य इनर्जी भारतमा निर्मित दुईपाँग्रे ईभी एथरको आधिकारिक बिक्रेता हो । वैद्य इनजीले एथरको आयात, बिक्री र बिक्रीपछिको सेवामा काम गरिरहेको छ । एथरका उत्पादन केही महँगो भएपनि गुणस्तरीय भएको नेपाली बजारमा उपभोक्ताले रुचाईरहेको उनी बताउँछन् ।  विश्व प्रशिद्ध ब्राण्ड टोयोटाको आयात, बिक्री वितरण र मर्मतसम्भारमा वैद्य अर्गानाईजेशनको संस्थागत अनुभव निकै लामो छ । त्यो अनुभव एथरमा पनि लागू गर्ने वैद्य इनर्जीको प्रयास छ । ‘नेपालको इभीको पुरै इको सिस्टम बनाउनेतर्फ काम गरिरहेका छौं । एथर ईभीमा सर्वसाधारणको आकर्षण पनि बढिरहेको छ,’ उनले भने ।  पैसा हुँदैमा व्यवसाय गर्न सकिँदैन । राज्यका नीति नियमको पालना गर्दै, बजारमा प्रतिस्पर्धा गर्दै उपभोक्ताको मन जित्नु सजिलो काम छैन । पछिल्लो समय नेपालमा व्यावसायीक जटिलता बढेको व्यवसायीको अनुभव छ । सूर्यांशलाई पनि त्यस्तै लाग्छ । नेपालभन्दा बाहिर गएर काम गर्न भने सजिलो हुने उनी बताउँछन् । तर उनलाई आफ्नै देशमा व्यवसाय गर्न मन छ । ‘व्यवसाय’ सूर्यांशको प्यासन हो । त्यसमा पनि अटोमोबाइल उनलाई अझ बढी मन पर्छ ।  आमाबुवासँग सहज सिकाइ आमाबुवा दुवैजना व्यवसायमा हुँदा सूर्यांशलाई धेरै कुरा सिक्न सहज भयो । जब उनको स्कुल बिदा हुन्थ्यो उनी बुवाआमासँगै अफिस जान्थे ।  बुबाआमाले व्यवसायसम्बन्धी कुनै कार्यक्रम, मिटिङ जानुपर्दा उनलाई पनि सँगै लिएर जान्थे ।  कार्यक्रममा, बैठक धेरैमा उनी सानो हुँदै सहभागी हुने अवसर पाउँथे । ती दिन सम्झिँदै उनी भन्छन्, ‘मलाई व्यवसायका बारेमा थाहा थिएन तर, बिजनेसमा कसरी कुरा गर्ने, के गर्ने, के हुन्छ, समस्याहरू कस्ता आउन सक्छन् भन्नेबारेमा आमाबुवाकै कुरा सुनेर थाहा पाएको थिएँ ।’  व्यवसाय गर्नु सूर्यांशका लागि रहर कि बाध्यता ? हामीले प्रश्न गर्‍यौं । धेरैले यही प्रश्न गर्ने गरेको उनले बताए । र भने- 'दुइटै । यस क्षेत्रमा केही गर्नुपर्छ भन्ने पहिलेदेखि नै लागेको थियो । अनि अर्को- आउनैपर्ने बाध्यता पनि ।’ बुबा, आमाले जहिल्यै पनि इच्छाअनुसार काम गर्न प्रेरित गरेको पनि उनले बताए ।  नेपालमै उत्पादन गर्ने लक्ष्य उनी व्यवसायमा बाउबाजेको बिँडो थाम्नेमात्र नभई त्योभन्दा केही फरक गर्ने अठोटका साथ लागेका छन् । सूर्यांशलाई विदेशबाट दुई पाँग्रे सवारी आयात मात्र गर्नु छैन । उनको लक्ष्य नेपालमै सवारी उत्पादन गर्ने छ । नेपाली बजारमा इलेक्ट्रिक दुई पांग्रेको हिस्सा तीन प्रतिशतमात्र छ । बाँकी ९७ प्रतिशत अझै आईसीई (पेट्रोलियम पदार्थबाट चल्ने) सवारीहरू छन् ।  उनी भन्छन्,‘नेपालमा ईभी धेरै प्रयोगमा नआएकाले पनि हुनसक्छ, ग्राहकरूले यसको ब्याट्री कति टिक्छ भनी प्रश्न गर्छन् । यो नेपालीको हकमा महँगो पनि छ तर मर्मत खर्च भने निकै कम छ ।’ पछिल्लो समय देशमा ईभीका लागि पूर्वाधार बन्दै जाँदा बिस्तारै सहज परिस्थिति आउनेमा उनी ढुक्क छन् ।  नेपालमै दुई पाङ्ग्रे इभी उत्पादन कठिन भएको उनी बताउँछन् । ‘सरकारको नीति सहज छैन । यसका लागि चाहिने सामाग्रीहरू धेरै बाहिरबाट ल्याउनुपर्ने हुन्छ । यसरी ल्याउँदा भन्सार शुल्क पनि उत्तिकै महँगो छ ।  सूर्यांश अबको पाँच वर्षपछि ३० प्रतिशत पार्टपूर्जा आफै उत्पादन गर्ने दाबी गर्छन् । भन्छन्, ‘मेरो काम विदेशबाट सामग्री आयात गरेर नेपाली बजारमा सप्लायर्स गर्नुमात्र होइन, मैले यही उत्पादन गर्ने योजना बनाएको छु ।’  ‘अहिले विभिन्न देशहरू उत्पादनमा क्षेत्रमा धेरै प्रयास गरिरहेका छन्,’ उनी भन्छन्, ‘नेपालले हरेक सामग्रीको लागि परनिर्भर रहनुपर्ने बाध्यता छ । सरकार र निजी क्षेत्र सबैले देशलाई कसरी आत्मनिर्भर बनाउने भनेर सोंच्नुपर्छ ।’ कम्बोडिया पनि पहिले नेपाल जस्तै अवस्थामा रहेको तर पछिल्लो समय कम्बोडियाले धेरै उन्नति गरेको सूर्यांश बताउँछन् । ‘त्यहाँको अवस्था पनि नेपालकै जस्तो छ । त्यहाँका युवाहरू पनि बाहिर गएर भविष्य खोजिरहेका हुन्थ्ये । तर त्यो देशमा टोयोटाको एसम्बल प्लान्ट बन्यो, उक्त प्लान्टमा हजारौं मानिसले रोजगारी पाएका छन् । उनी नेपालमा पनि यस्तो अवसर दिनसक्यो भने नेपाली युवा विदेशीनु नपर्ने बताउँछन् । यसका लागि निजी क्षेत्रले काम गर्न निकै मिहिनेत गर्नुपर्ने उनी बताउँछन् ।    भिजनरी बुबाको साथ   सूर्यांशको बुबा सुरज पाँच बजे नै उठ्छन् । ७ बजे अफिस पुगिसक्छन् । बुवाबाट सिक्नुपर्ने कुराहरू धेरै रहेको सूर्यांश बताउँछन् । कम्युनिकेशन, प्यासन्स, भिजन उनी सबैभन्दा यी तीनकुरा बुवाबाट सिक्न निकै आवश्यक रहेको सुनाउँछन् ।  अमेरिकाबाट फर्केपछि उनले सुरुमा मार्केटिङबाट काम थाले । त्यसमा आमाले साथ दिइन् ।  तर अमेरिकामा सिकेको कुरा नेपालमा लागू कठिन भयो सूर्यांशलाई । यतिबेला फेरि बुबा सुरज वैद्यले साथ दिए । उनी भन्छन्, ‘बुवाको त्यस्तो भिजन कहाँबाट आउँछ, मैले अहिलेसम्म बुझ्न सकेको छैन, बुवाले मलाई काम गर्ने राम्रो ठाउँ र अवसर दिनुभएको छ । म त्यो मानेमा निकै भाग्यमानी हुँ।’ 

टोयोटाले २०२७ सम्म १५ वटा ईभी मोडेल विकास गर्ने, १० लाख उत्पादन लक्ष्य

काठमाडौं । टोयोटाले सन् २०२७ सम्म आफ्नै प्रविधिमा आधारित करिब १५ वटा इलेक्ट्रिक सवारीसाधन (ईभी) मोडेल विकास गर्ने लक्ष्य राखेको छ र त्यसबेला सम्म प्रति वर्ष १० लाख कार उत्पादन गर्ने तयारी गरिरहेको छ । जापानी पत्रिका निक्केईले आइतवार यस्तो जानकारी दिएको हो । टोयोटाले यस विषयमा भने कुनै टिप्पणी गर्न अस्वीकार गरेको छ । निक्केईका अनुसार टोयोटाले अहिले जापान र चीनमा मात्र निर्माण भइरहेका पाँचवटा ईभी मोडेल आफ्नै प्रविधिबाट विकास गरेको छ । अमेरिकामा, थाइल्यान्ड र अर्जेन्टिनामा उत्पादन विस्तार गर्नाले शुल्क तथा मुद्रा सटही जोखिम कम गर्न र डेलिभरी समय घटाउन मद्दत पुग्ने उल्लेख गरिएको छ । यी १५ वटा ईभी मोडेलमध्ये केही टोयोटाको लक्जरी ब्रान्ड लेक्सस अन्तर्गतका हुनेछन् ।  टोयोटाले अहिले सन् २०२६ मा करिब ८ लाख इकाइ उत्पादन गर्ने अपेक्षा गरेको छ, जुन अघिल्लो योजनाको करिब ५० प्रतिशतले कम हो । टोयोटाले यसअघि सन् २०२६ सम्ममा प्रति वर्ष १५ लाख र सन् २०३० सम्ममा ३५ लाख ईभी बेच्ने योजना रहेको बताएको थियो, तर ती संख्या लगानीकर्ताहरूका लागि मार्गदर्शक सूचक मात्रै रहेको कम्पनीको भनाइ थियो । सन् २०२४ मा टोयोटाले विश्वभर झण्डै १ लाख ४० हजार ईभी बिक्री गरेको थियो, जुन अघिल्लो वर्षको तुलनामा करिब एक तिहाइले बढी हो । ती बिक्रीहरू कम्पनीका कुल १ करोडभन्दा बढी सवारीसाधन बिक्रीमध्ये २ प्रतिशतभन्दा कम रहेका छन्। यी पनि पढ्नूहोस् : बेलायतको ज्यागुआर ल्याण्ड रोभरले आफ्ना गाडी अमेरिका नपठाउने ट्रम्प ट्यारिफ : निसानले मेक्सिकोमा बनेका इन्फिनिटी एसयूभीहरूको लागि नयाँ अमेरिकी अर्डर नलिने  

विशेष न्यू ईयर,  न्यू अफर र देशव्यापी टेस्ट ड्राइभ क्याम्पको साथ नयाँ वर्षको उत्साह बढाउँदै नामी

काठमाडौं । नयाँ वर्षको अवसरमा नेपालका लागि नामी ईभीको आधिकारिक वितरक एमएडब्लू वृद्धिले शनिबारदेखि चैत्र ३० गतेसम्म सन्चालन हुने आफ्नो न्यू ईयर, न्यू अफर देशव्यापी एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प गर्ने घोषणा गरेको छ।  एक हप्तासम्म चल्ने यस कार्यक्रमको उद्देश्य ग्राहक संग्लग्नता बढाई उनीहरूलाई बिग ह्याच र फाइभ स्टार लक्जरी भएको नामीको प्रत्यक्ष अनुभव प्रदान गर्नु हो । योसँगै ग्राहकहरूले अब तोकिएको नामी गाडीको बुकिङको लागि केवल ५ लाख ९९ हजार रुपैयाँदेखि सुरु हुने सजिलो डाउनपेमेन्टबाट फाइदा लिन सक्नेछन् । यो अफरमा बुकिङ भएको मितिदेखि दुई वर्किङ डे भित्र ग्यारेन्टीपूर्ण डेलिभरीका साथै १ लाख सम्मको फाइदाहरू समावेश हुनेछन् ।  खरिद प्रक्रियालाई थप सजिलो बनाउन नामीले ८० प्रतिशतसम्मको फाइनान्सिङ सहायता प्रदान गर्नेछ जसले गर्दा गाडी लिने प्रक्रिया सहज हुने र ग्राहकले सुरूमै गर्नु पर्ने खर्च पनि कम हुनेछ । साथै टेस्ट ड्राइभ लिने सबै सहभागीहरूलाई निःशुल्क उपहार प्रदान गरिनेछ ।

युरोपको सबैभन्दा ठूलो चार्जिङ नेटवर्क सुरु हुँदै, २५ देशमा फैलिने

काठमाडौं । युरोपका चार ठूला इलेक्ट्रिक सवारी चार्जिङ कम्पनीहरूले बुधबार युरोप महादेशको सबैभन्दा ठूलो सार्वजनिक चार्जिङ नेटवर्क बनाउन एकजुट भएको घोषणा गरेका छन् । इटालीको एटलान्टे, जर्मनीको आओनिटी, नेदरल्यान्ड्सको फास्टनेड र फ्रान्सको इलेक्ट्रा मिलेर नयाँ साझेदारी गरी स्पार्क नामक नेटवर्क बिस्तार गर्ने लक्ष्य लिएका छन् । यस नेटवर्कमा ११ हजार चार्जिङ पोइन्टहरू र १ हजार ७०० चार्जिङ स्टेसनहरू रहनेछन्, जुन २५ वटा युरोपेली देशहरूमा फैलिनेछ । साझेदारीका अनुसार यो मुख्य प्रतिस्पर्धी टेस्लाको भन्दा धेरै स्टेसनहरू हुनेछन् । तर, बेलायती मोटर पत्रकार तथा ईभी वकालत समूह फेयरचेन्जका संस्थापक क्वान्टिन विलसनका अनुसार अमेरिकी कम्पनी टेस्ला उपभोक्तासँगको सरल र प्रभावकारी इन्टरफेसका कारण अझै अगाडि छ । जुन महिनादेखि युरोपका ग्राहकहरूले स्पार्क साझेदारका सदस्य एपहरू प्रयोग गरेर ४०० किलोवाटसम्मको अल्ट्रा-फास्ट चार्जिङमा आफ्नो पहुँच पाउन सक्नेछन् । युरोपेली अटोमोबाइल लबी एसीईएले उपभोक्ताहरूको चार्जिङ पहुँचको चिन्तालाई सम्बोधन गर्न र ईभीको माग बढाउन चार्जिङ पूर्वाधारको तीव्र विस्तारको लागि दबाब दिइरहेको छ । यो घोषणा ईभीको कमजोर माग र यूरोपेली आयोगद्वारा उत्सर्जन नियमहरू खुकुलो पार्ने निर्णयको बीचमा आएको हो । युरोपेली आयोगका अनुसार सन् २०३० सम्म ३.५ मिलियन चार्जिङ पोइन्टहरू स्थापना गर्न आवश्यक छ, जुन हालको वार्षिक स्थापनाको दरको लगभग तीन गुणा बढी हो । तर, इलेक्ट्राका प्रमुख कार्यकारी अधिकृत (सीईओ)का अनुसार इयू लक्ष्यहरू व्यावहारीक छैनन्, किनकि गुणस्तर नै प्राथमिकता हुनुपर्छ । 'टेस्लासँग प्रतिस्पर्धा गर्नु साझेदारीको मुख्य उद्देश्य होइन, तर नयाँ नेटवर्कले बजार प्रतिस्पर्धा बढाउन सक्छ,’ उनले भने । 'गुणस्तरमा केन्द्रित अर्को ठूलो नेटवर्क हुनु टेस्लाका लागि पनि महत्त्वपूर्ण कुरा हो । यसले ईभी चालकहरूलाई ठूलो स्तरमा पूर्वाधार प्रदान गर्नेछ । यो वास्तवमा परिपूरक हो,’ फास्टनेडका सीईओले भने । टेस्लालाई पनि भविष्यमा गठबन्धनमा समावेश गर्ने सम्भावना रहेको इलेक्ट्राका सीईओले संकेत गरे । 'उनीहरू यसमा सामेल हुन योग्य हुन सक्छन्, किनकि उनीहरू द्रुत र भरपर्दो चार्जिङ अनुभव प्रदान गर्छन् । तर, यो भोलिको प्रश्न हो,’ उनले भने ।