काठमाडौं । कञ्चनजङ्घा नेपालकै सबैभन्दा रमणीय र जैविक विविधताले भरिपूर्ण गन्तव्यमध्ये एक भए पनि पर्यटकहरूको संख्या अपेक्षित रूपमा बढाउन सकिएको छैन । कञ्चनजङ्घा क्षेत्रमा वार्षिक एक हजार पर्यटक पनि पुग्न समस्या छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्यांकअनुसार कञ्चनजंघा संरक्षण क्षेत्रमा पाँच आर्थिक वर्षमा २ हजार ४४६ विदेशी पर्यटक पुगेको देखिन्छ । जबकि पाँच आवमा विश्वको अग्लो सगरमाथा क्षेत्रमा एक लाख ६६ हजार ८३६ विदेशी पर्यटक भित्रिएका छन् ।
सुरुवातदेखि २०२३ सम्म हालसम्म ५८५ जनाले आरोहीले कञ्चनजङ्घा हिमाल चढेका छन् भने सुरुवातदेखि २०२३ सम्म ८ हजार ८५ जना आरोहीले सगरमाथा चढेका छन् ।
कञ्चनजङ्घा संरक्षण क्षेत्रमा २०२१ मा सबैभन्दा कम विदेशी पर्यटक पुगेको देखिन्छ । उक्त वर्ष विश्वभर नै छाएको कोभिड-१९ ले गर्दा विदेशी पर्यटकको संख्या घट्न पुगेको हो । त्यस्तै, सन् २०२२ मा अघिल्लो वर्षभन्दा पर्यटकको संख्यामा केही सुधार देखिएपनि सोचेअनुसारको पर्यटक भित्रिएको देखिँदैन । सन् २०२३ मा कञ्चनजङ्घा संरक्षण क्षेत्रमा पुग्ने पर्यटकको संख्यामा केही सुधार छ ।
पछिल्लो आर्थिक वर्षमा कञ्चनजङ्घामा विगतका वर्षको तुलनामा पर्यटकको संख्या केही सुधार देखिएपनि साेंचेअनुसार बढ्न नसकेको यस क्षेत्रका सरोकारवालाहरू बताउँछन् । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषदले उपलब्ध गराएको तथ्यांकअनुसार चालु आवको हालसम्म ८४९ पर्यटक कञ्चनजङ्घा संरक्षण क्षेत्रमा पुगेका छन् । जसमा विदेशी पर्यटकमात्रै ८४६ जना छन् ।
आव २०८०/८१ मा कुल एक हजार ८५ पर्यटक कञ्चनजङ्घा पुगेका छन् । जसमा विदेशी मात्रै १ हजार १७ जना छन् । त्यस्तै, ३९ जना आन्तरिक पर्यटक पुगेका छन् । आव २०७९/७९ मा ७१३ जना कञ्चनजङ्घा संरक्षण क्षेत्र पुगेका छन् । जसमध्ये विदेशीमात्रै ६६१ जना छन् ।
कम प्रचार-प्रसार र कनेक्टिभिटीको समस्या
कञ्चनजंघामा पर्यटकको संख्या बढाउन नसक्नुको मुख्य कारण त्यस क्षेत्रको प्रचारप्रसार गर्न नसकेको कारण औंल्याउँछन् नेपाल पर्वतारोहण संघका महासचिव मोहन लम्साल । ‘कञ्चनजङ्घाको बारेमा जति प्रचारप्रसार हुनपर्ने हो त्यो हुन सकेको छैन,’ उनले भने, ‘प्रचारप्रसार पर्याप्त गर्न नसक्दा पर्यटकीय सम्भावना बोकेको कञ्चनजङ्घा ओझेलमा परेको छ ।’
विश्वको अग्लो सगरमाथा हिमाल आफै प्रख्यात छ, त्यसैले उक्त हिमालको प्रचारप्रसार गर्न आवश्यक छैन । धेरैले विश्वकै अग्लो हिमाल चढेर नाम कमाउन चाहन्छन्, त्यसैले अन्य हिमालहरूको तुलनामा सगरमाथामा धेरै पर्यटक पुग्ने गरेका छन् । त्यसबाहेक सगरमाथाको दाँजोमा कञ्चनजङ्घा बढी महँगो र चढ्न समेत गाह्रो हुँदा आरोहीको रोजाइमा कञ्चनजङ्घाभन्दा सगरमाथा नै बढी रोजाइमा पर्ने गरेको महासचिव लम्साल बताउँछन् । उनी कम मूल्यमा सुरक्षित देश भ्रमण गर्न पर्यटक पुग्ने भएकाले सरकारले पनि त्यसतर्फ ध्यान दिनुपर्ने औंल्याउँछन् ।
त्यस्तै, कञ्चनजङ्घाको अर्को समस्या हो कनेक्टिभिटी । हवाई, यातायात, सञ्चारजस्ता क्षेत्रमा यो क्षेत्रमा अझै पूर्ण रूपमा कनेक्टिभिटी बढ्न सकेको छैन । कञ्चनजङ्घा क्षेत्र पुग्नको लागि नियमित उडान हुँदैन । उडान भइहाले पनि सिधै त्यहाँ पुग्न सम्भव छैन ।
काठमाडौंबाट ताप्लेजुङसम्मको नियमित फ्लाइट हुन नसक्दा त्यहाँ पुग्ने पर्यटकले कि त विराटनगर कि भरतपुरको रुट हुँदै यात्रा गर्नुपर्ने हुँदा झन्झट छ । त्यस्तै महँगो टिकट । अहिले लुक्लासम्म पुग्न २ सय डलरसम्म पर्ने महासचिव लम्साल सुनाउँछन् ।
विश्वमा नेपालको हवाई उडान सुरक्षित छैन भन्ने सन्देश प्रवाह भइरहँदा पर्यटकको लागि सडक यातायात हुन सक्ने भएपनि नेपालमा यातायातको सुविधा पनि राम्रो छैन । यात्रुहरू पनि सडक यात्रा गर्न डराउने कारण पर्यटकीय रूपमा उत्कृष्ट ठाउँमा पर्यटक बढाउन समस्या रहेको महासचिव लम्सालको भनाइ छ ।
‘नेपालमा पर्यटक आएन भनेर मात्रै के गर्ने, पर्यटकको संख्या बढाउन राज्यले पनि हवाई र बाटोलाई फोकस गर्नुपर्छ । नियमित उडान नहुँदा पर्यटकले दुःख पाइरहेका छन्, हामीले कम्तीमा काठमाडौंदेखि सुर्खेतसम्मको बाटो राम्रो बनाइदिनुपर्यो भनेर सुझाव दिइरहेका हुन्छौं, तर कार्यान्वयनको पाटोमा सरकार निकै फितलो छ ।’
कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषदले नियमित गर्ने कामहरू गरिरहेको छ । बाटोघाटोमा झोलुङ्गे पुल राख्नेदेखि, बाटो क्रसिङहरू राख्ने काम गरिरहेको छ ।
समृद्ध पहाडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सञ्जीव न्यौपानेले कञ्चनजङ्घा क्षेत्रको पूर्वाधार, खानेपानी, सञ्चारजस्ता क्षेत्रको विकासको लागि सरकारसँग नियमित पहल गर्दै आएको बताए ।
उनका अनुसार समृद्ध पहाडले विभिन्न क्याम्पिएन क्षेत्रहरूमा खानेपानीको परियोजना अघि बढाएको छ । उनका अनुसार राम्जेल (४ हजार ८०० मिटर) माथि पनि खानेपानीको प्रोजेक्ट गरिरहेको छ । त्यस्तै, विभिन्न होटलमा फोहर पानी स्यानिटेसनको लागि प्रभावकारी तरिका सिकाउँदै आएको उनले बताए ।
त्यस्तै, मोबाइल नेटवर्कका लागि नेपाल टेलिकमलाई अनुरोध गरिसकेको र इन्टरनेटको समस्या विस्तारै समाधान हुँदै जाने सीईओ न्यौपानेको भनाइ छ । ‘नेपाल टेलिकमसँग कनेक्टिभिटीका लागि मोबाइल नेटवर्क बनाउन आग्रह गरेका छौं । अहिले हुल्सासम्म थ्रीजी नेटवर्क पुगेको छ । त्यस्तै, वर्ल्डलिंकलाई पनि उक्त क्षेत्रमा ब्रोडब्यान्ड सर्भिस, फाइबर कहाँसम्म लिएर जान सकिन्छ भनेर सहकार्य गरिरहेका छौं,’ उनले भने ।
सीईओ न्यौपानेका अनुसार दुई हप्ताअघि कञ्चनजङ्घा क्षेत्रभित्रका स्थानीय १० जना युवालाई वर्ल्डलिंकले काठमाडौंमा प्राविधिक तालिम दिएर पठाइएको थियो । उनीहरू लाई इन्टरनेट जोड्ने बेलामा प्रयोग गर्न सकिने उनले सुनाए ।
सीईओ न्यौपानेका अनुसार यति कार्यक्रम मात्रै कञ्चनजङ्घा क्षेत्रको लागि पर्याप्त नभएको हुँदा केन्द्रीय सरकार, पर्यटन बोर्डले नयाँ कार्यक्रम ल्याउन पहल गरिरहेको छ । पर्यटन बोर्डले एकपटक आयोजना गरिने कार्यक्रममा बजेट नछुट्याए पनि रणनीति हिसाबले वार्षिक बजेटमा कञ्चनजङ्घाको लागि केही न केही कार्यक्रम छुट्याउनुपर्ने बताउँछन् ।
उनले भने, ‘वार्षिक बजेटमा पर्यटन बोर्डले बजेट नै छुट्याएर कार्यक्रम गर्नुभयो भने प्रभावकारी हुन सक्छ । उदाहरणको लागि त्यहाँको बाटो, पुल पुनः निर्माण गर्न, होटलको क्षमता वृद्धि तालिममा फोकस कार्यक्रम ल्याउनुपर्छ । यस्ता कार्यक्रम ल्याउनुहुन्छ कि भन्ने हाम्रो अपेक्षा छ ।’
७० औैं वार्षिक उत्सव मनाउने तयारीमा
कञ्चनजङ्घा हिमालको पहिलो सफल आरोहण भएको ७० औं वर्ष पुगेको उपलक्ष्यमा कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषदले तीन दिने विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ । कार्यक्रमको मुख्य आयोजकमा कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् र सहआयोजकमा समृद्ध पहाड, नेपाल पर्वतारोहण संघलगायत विभिन्न संघसंस्था छन् ।
वार्षिक उत्सव मनाउनुको मुख्य उद्देश्य कञ्चनजङ्घा आरोहणका विविध आयामहरूको नेपाल तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार-प्रसार गरी अन्तर्राष्ट्रिय पर्वतारोहीहरूका लागि सुरक्षित, दिगो, र उत्तरदायी र आकर्षक बनाउने रहेको आयोजकले जनाएको छ ।
कार्यक्रम आयोजकका अनुसार अप्रिल २४ मा काठमाडौंमा अर्को विशेष कार्यक्रमको आयोजना हुने छ । यस कार्यक्रमले स्थानीय समुदाय, विभिन्न संघसंस्था र विभिन्न सरोकारवाला निकायलाई एकसाथ जोडिन मद्दत पुग्ने आयोजकले जनाएको छ ।
पर्वतीय पर्यटनको प्रवर्द्धन, हिमालको संरक्षण, ऐतिहासिक उपलब्धिको कदर, स्थानीय समुदायको समृद्धि, र दिगो पर्वतारोहण प्रचार-प्रसार एवं रणनीति विकासजस्ता उद्देश्य यो कार्यक्रमको रहेका छन् ।
त्यस्तै, यस उत्सवले कञ्चनजङ्घा क्षेत्रको अलौकिक सुन्दरता, जैविक विविधता एवं पर्वतीय पर्यटनको सम्भावनालाई विश्व समुदाय समक्ष पुर्याउन मद्दत पुग्ने छ । हिमाली पारिस्थितिक प्रणालीको संरक्षण, जलवायु परिवर्तनले कञ्चनजङ्घा हिमाल र आसपासका क्षेत्रहरूमा पारेका असरबारे सचेतना जगाउने, शेर्पा, लिम्बू, राई लगायतका स्थानीय समुदायहरूको पर्वतीय पर्यटनमा योगदानलाई सम्मान गरी स्थानीय परम्परा एवं सांस्कृतिक महत्वलाई प्रचार-प्रसार गर्ने कार्यक्रमको उद्देश्य रहेको छ ।
सन् १९५५ मे २५ मा बेलायती नागरिक जर्ज ब्याण्ड र जो ब्राउनले पहिलोपटक कञ्चनजङ्घा हिमालको सफल आरोहण गरेका थिए । यो हिमाल ८ हजार ८५६ मिटर अग्लो छ ।