२५ प्रतिशत अटो ट्यारिफले अमेरिकी अटो निर्माता कम्पनीलाई थप १०८ अर्ब डलर लागत लाग्ने

काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिलको सुरुमा लगाएको २५ प्रतिशत अटो ट्यारिफले सन् २०२५ मा अमेरिकास्थित अटो निर्माता कम्पनीहरूले करिब १०८ अर्ब डलरको थप लागत बेहोर्नुपर्ने देखिएको छ ।

अटोमोटिभ रिसर्च केन्द्रले गरेको नयाँ विश्लेषणले यस्तो देखाएको हो ।

मिशिगन राज्यको एन आर्बरमा आधारित संस्थाले बिहीबार सार्वजनिक गरेको अध्ययनमा फोर्ड मोटर, जनरल मोटर्स र स्टेलान्टिस (जीप र राम ट्रक बनाउने कम्पनी) लगायत डिट्रोइटका प्रमुख तीन अटो कम्पनीहरूलाई मात्र ४२ अर्ब डलरको अतिरिक्त लागत पर्ने देखिएको छ ।

अध्ययन अनुसार यी डिट्राेइट थ्री कम्पनीहरूले अमेरिकाभित्र उत्पादन गरिएका प्रत्येक सवारीका लागि आयात गरिएका पार्टपुर्जामा औसत करिब ५ हजार डलर ट्यारिफ तिर्नुपर्नेछ र आयात गरिएका सवारीका लागि करिब ८ हजार ६०० ट्यारिफ तिर्नुपर्नेछ ।

ट्रम्पको २५ प्रतिशत अटो आयात ट्यारिफ अप्रिल ३ देखि लागू गरिएको थियो, जसले विश्वभरबाट आउने आपूर्तिमा आधारित अटो उद्योगमा ठूलो असर पारेको छ । 

मेक्सिको र क्यानडामा बनेका सवारीसाधनहरूमा पनि यो ट्यारिफ लागू भए पनि युएस-मेक्सिको-क्यानडा सम्झौताअनुसार अमेरिकी सामग्रीको मूल्य घटाएर ट्यारिफ गणना गर्न सकिन्छ ।

यी ट्यारिफहरूले अटो निर्माता कम्पनीहरूलाई उत्पादन रणनीति फेरबदल गर्न बाध्य पारेका छन् । जीएमले इन्डियानाको प्लान्टमा ट्रक उत्पादन बढाएको छ भने स्टेलान्टिसले मेक्सिको र क्यानडाका दुई प्लान्ट अस्थायी रूपमा बन्द गरेको छ । यी परिवर्तनहरूले ती प्लान्टहरूसँग सम्बन्धित पाँच अमेरिकी प्लान्टहरूमा प्रभाव पारेका छन् ।

अध्ययन अनुसार डिट्रोइट थ्री कम्पनीहरूले प्रत्येक सवारीका लागि पार्ट्समा औसत ४ हजार ९११ ट्यारिफ तिर्नुपर्नेछ, जुन सम्पूर्ण अटो उद्योगको औसत ४ हजार २३९ भन्दा बढी हो ।

आयात गरिएका सवारीहरूमा सम्पूर्ण अटो उद्योगको औसत ट्यारिफ लागत  ८ हजार ७२२ देखिएको छ भने डिट्रोइट थ्रीको लागि  ८ हजार ६४१ ।

अमेरिकन अटोमोटिभ पोलिसी काउन्सिलका अध्यक्ष म्याट ब्लन्टले एक विज्ञप्तिमा भने, '२५ प्रतिशत ट्यारिफले अटो उद्योगमा पार्ने गहिरो प्रभाव यो अध्ययनले देखाउँछ ।'

अमेरिकी अटो निर्माता कम्पनीहरू- फोर्ड, जीएम, र स्टेलान्टिसले संयुक्त रूपमा भनेका छन् कि उनीहरूले अमेरिकी अटो उत्पादन वृद्धिका लागि प्रशासनसँग चलिरहेको संवादलाई जारी राख्नेछन् ।

जीएम र स्टेलान्टिसले उक्त अध्ययनबारे आफ्नो धारणा व्यक्त गर्न व्यापार समूहको टिप्पणीलाई समर्थन गरेका छन् भने फोर्ड तत्काल उपलब्ध थिएन ।

साउदीमा टेस्लाको डेब्यू : मरुभूमिको गर्मी, थोरै चार्जिङ स्टेशनबीवाईडीसँग प्रतिस्पर्धा​​​​​

टोयोटाले २०२७ सम्म १५ वटा ईभी मोडेल विकास गर्ने, १० लाख उत्पादन लक्ष्य

ट्रम्प ट्यारिफ : निसानले मेक्सिकोमा बनेका इन्फिनिटी एसयूभीहरूको लागि नयाँ अमेरिकी अर्डर नलिने

Share News