अटाे


ईयू र चीनले विद्युतीय सवारीसाधनहरूमा न्यूनतम मूल्य तोक्ने विषयमा छलफल गर्ने

  काठमाडौं । युरोपेली आयोग (ईयू) र चीनले बिजुली सवारी साधनहरूमा लगाइएको शुल्कको सट्टामा न्यूनतम मूल्य निर्धारणको सम्भावनाबारे छलफल गर्ने सहमति गरेको ईयूका प्रवक्ताले बताएका छन् । प्रवक्ताका अनुसार ईयूका व्यापार आयुक्त मार्काेस सेफकोभिकले चिनियाँ वाणिज्य मन्त्री वाङ वेन्टाओसँग कुराकानी गरेका थिए र दुबै पक्ष न्यूनतम मूल्य निर्धारणको सम्भावनाबारे छलफल गर्न सहमत भएका थिए ।  चीनको वाणिज्य मन्त्रालयले एक विज्ञप्तिमा वार्ता तुरुन्तै सुरु हुने जनाएको छ । सेफकोभिकले यसअघि कुनै पनि न्यूनतम मूल्य निर्धारण ईयूले लगाएको शुल्क जत्तिकै प्रभावकारी र कार्यान्वयनयोग्य हुनुपर्ने बताएका थिए । ईयूले अघिल्लो पटक गरेको न्यूनतम मूल्य सम्झौता समान प्रकृतिका वस्तुहरू (जस्तैः कच्चा पदार्थ) मा केन्द्रित भएको थियो, सवारीसाधनजस्ता जटिल उत्पादनहरूमा होइन । आयोगले भनेको छ कि एउटै न्यूनतम मूल्यले अनुदानका कारण भएको क्षतिलाई पर्याप्त रूपमा सम्बोधन गर्न सक्दैन । ईयूले गत अक्टोबरमा चीनमा बनेका इलेक्ट्रिक सवारीमा ४५.३ प्रतिशतसम्मको शुल्क बढाएको थियो । तर ब्रसेल्स र बेइजिङले आयातित कारहरूका लागि करहरू हटाउने विचार अघि सारेका छन् । युरोपेली आयोगले चीनसँग शुल्कको विकल्पमा वार्ता जारी राख्न इच्छुक रहेको बताएको छ । यसमा बीवाईडीद्वारा निर्मित गाडीहरूमा १७.०, जीलीमा १८.८, र एसएआईसीमा ३५.३ प्रतिशत अतिरिक्त शुल्क समावेश छन्– जुन ईयूको १० प्रतिशत मानक सवारी आयात शुल्कबाहेक थपिएका थिए । यो लामो समयदेखिको व्यापार विवादलाई समाधान गर्नका लागि हुने सम्भावित सम्झौताले फ्रेन्च कन्कको व्यापारलाई पनि प्रभावित बनाएको छ, किनभने बेइजिङले प्रतिशोधस्वरूप फ्रेन्च ब्रान्डीमा शुल्क लगाएको थियो । उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि ईयू र चीनजस्ता निकट व्यापार साझेदारहरूसँग व्यापार युद्ध थालेका छन् । बेइजिङले फ्रेन्च कन्कमा प्रतिबन्ध लगाएपछि हेनेसी, पर्नाेड रिकार्डजस्ता विश्वका प्रमुख ब्रान्डी उत्पादकहरूको बिक्री चीनमा घटेको छ– जुन विश्वको दोस्रो ठूलो अर्थतन्त्र र ठूलो बजार हो । जर्मन अटो उद्योग संघले ईयू र चीनबीच भएको वार्तालाई स्वागत गर्दै ती शुल्कहरूलाई ’गल्ती’ भनेको छ र वार्तामार्फत समाधानको माग गरेको छ । जर्मन कार निर्माता कम्पनीहरूले गत वर्ष आफ्नो एक तिहाइ बिक्री चीनमा गरेका थिए । तिनीहरूले यी शुल्कहरूको विरोध गरेका छन् किनभने चीन अमेरिकापछिको दोस्रो सबैभन्दा ठूलो व्यापार साझेदार हो । २५ प्रतिशत अटो ट्यारिफले अमेरिकी अटो निर्माता कम्पनीलाई थप १०८ अर्ब डलर लागत लाग्ने साउदीमा टेस्लाको डेब्यू : मरुभूमिको गर्मी, थोरै चार्जिङ स्टेशन र बीवाईडीसँग प्रतिस्पर्धा

२५ प्रतिशत अटो ट्यारिफले अमेरिकी अटो निर्माता कम्पनीलाई थप १०८ अर्ब डलर लागत लाग्ने

काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिलको सुरुमा लगाएको २५ प्रतिशत अटो ट्यारिफले सन् २०२५ मा अमेरिकास्थित अटो निर्माता कम्पनीहरूले करिब १०८ अर्ब डलरको थप लागत बेहोर्नुपर्ने देखिएको छ । अटोमोटिभ रिसर्च केन्द्रले गरेको नयाँ विश्लेषणले यस्तो देखाएको हो । मिशिगन राज्यको एन आर्बरमा आधारित संस्थाले बिहीबार सार्वजनिक गरेको अध्ययनमा फोर्ड मोटर, जनरल मोटर्स र स्टेलान्टिस (जीप र राम ट्रक बनाउने कम्पनी) लगायत डिट्रोइटका प्रमुख तीन अटो कम्पनीहरूलाई मात्र ४२ अर्ब डलरको अतिरिक्त लागत पर्ने देखिएको छ । अध्ययन अनुसार यी डिट्राेइट थ्री कम्पनीहरूले अमेरिकाभित्र उत्पादन गरिएका प्रत्येक सवारीका लागि आयात गरिएका पार्टपुर्जामा औसत करिब ५ हजार डलर ट्यारिफ तिर्नुपर्नेछ र आयात गरिएका सवारीका लागि करिब ८ हजार ६०० ट्यारिफ तिर्नुपर्नेछ । ट्रम्पको २५ प्रतिशत अटो आयात ट्यारिफ अप्रिल ३ देखि लागू गरिएको थियो, जसले विश्वभरबाट आउने आपूर्तिमा आधारित अटो उद्योगमा ठूलो असर पारेको छ ।  मेक्सिको र क्यानडामा बनेका सवारीसाधनहरूमा पनि यो ट्यारिफ लागू भए पनि युएस-मेक्सिको-क्यानडा सम्झौताअनुसार अमेरिकी सामग्रीको मूल्य घटाएर ट्यारिफ गणना गर्न सकिन्छ । यी ट्यारिफहरूले अटो निर्माता कम्पनीहरूलाई उत्पादन रणनीति फेरबदल गर्न बाध्य पारेका छन् । जीएमले इन्डियानाको प्लान्टमा ट्रक उत्पादन बढाएको छ भने स्टेलान्टिसले मेक्सिको र क्यानडाका दुई प्लान्ट अस्थायी रूपमा बन्द गरेको छ । यी परिवर्तनहरूले ती प्लान्टहरूसँग सम्बन्धित पाँच अमेरिकी प्लान्टहरूमा प्रभाव पारेका छन् । अध्ययन अनुसार डिट्रोइट थ्री कम्पनीहरूले प्रत्येक सवारीका लागि पार्ट्समा औसत ४ हजार ९११ ट्यारिफ तिर्नुपर्नेछ, जुन सम्पूर्ण अटो उद्योगको औसत ४ हजार २३९ भन्दा बढी हो । आयात गरिएका सवारीहरूमा सम्पूर्ण अटो उद्योगको औसत ट्यारिफ लागत  ८ हजार ७२२ देखिएको छ भने डिट्रोइट थ्रीको लागि  ८ हजार ६४१ । अमेरिकन अटोमोटिभ पोलिसी काउन्सिलका अध्यक्ष म्याट ब्लन्टले एक विज्ञप्तिमा भने, '२५ प्रतिशत ट्यारिफले अटो उद्योगमा पार्ने गहिरो प्रभाव यो अध्ययनले देखाउँछ ।' अमेरिकी अटो निर्माता कम्पनीहरू- फोर्ड, जीएम, र स्टेलान्टिसले संयुक्त रूपमा भनेका छन् कि उनीहरूले अमेरिकी अटो उत्पादन वृद्धिका लागि प्रशासनसँग चलिरहेको संवादलाई जारी राख्नेछन् । जीएम र स्टेलान्टिसले उक्त अध्ययनबारे आफ्नो धारणा व्यक्त गर्न व्यापार समूहको टिप्पणीलाई समर्थन गरेका छन् भने फोर्ड तत्काल उपलब्ध थिएन । साउदीमा टेस्लाको डेब्यू : मरुभूमिको गर्मी, थोरै चार्जिङ स्टेशन र बीवाईडीसँग प्रतिस्पर्धा​​​​​ टोयोटाले २०२७ सम्म १५ वटा ईभी मोडेल विकास गर्ने, १० लाख उत्पादन लक्ष्य ट्रम्प ट्यारिफ : निसानले मेक्सिकोमा बनेका इन्फिनिटी एसयूभीहरूको लागि नयाँ अमेरिकी अर्डर नलिने