काठमाडौं । नेपालका लागि जापानका राजदूत महामहिम मेएडा टोरूले हालैको वीरगञ्ज भ्रमणका क्रममा बहुराष्ट्रिय संयुक्त लगानीमा सञ्चालित केएनपी जापानको कारखानाको अवलोकन गरेका छन् ।
राजदूत मेएडालाई केएनपी जापानका निर्देशक अशोक कुमार बैद्य, प्रबन्धक प्रवीण जाधव तथा अन्य कर्मचारीहरूले स्वागत गरेका थिए । भ्रमणका क्रममा सम्पूर्ण कारखानाको उत्पादन प्रक्रिया र कार्य प्रणालीबारे जानकारी दिइएको थियो ।
राजदूत मेएडाले जापान, भारत र नेपालको साझेदारीमा सञ्चालित यस उद्योगको कार्यशैली र उत्पादनको गुणस्तरप्रति प्रसन्नता व्यक्त गरे । उनले यस्तो त्रिपक्षीय सहकार्यले नेपाल–जापान सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे ।
उनले नेपालमा सञ्चालनमा रहेका जापानी उद्योगहरूको अनुभव सकारात्मक रहेको उल्लेख गर्दै, भविष्यमा अझ बढी जापानी लगानी भित्रिने अपेक्षा व्यक्त गरे । साथै, यस्ता बहुराष्ट्रिय उद्योगका प्रतिस्पर्धात्मक क्षमतालाई बढावा दिन नेपाल सरकारले नीति तथा संरचनात्मक सुधारमा तदारूकता देखाउनेमा आशावादी रहेको बताए ।
केएनपी जापानमा यसअघि पनि दुईजना जापानी राजदूतहरूले अवलोकन भ्रमण गरिसकेका छन् ।