रोयल इनफिल्ड क्लासिक ३५० नयाँ लुक्सका साथ बजारमा, सुरुवाती मूल्य ५.५५ लाख

काठमाडौं । रोयल इनफिल्डले लोकप्रिय मोडल क्लासिक ३५० को पाँच भेरियन्ट नेपाली बजारमा सार्वजनिक गरेको छ । नेपालमै रहेको सिकेडी प्लान्ट (सीकेडी) मा उत्पादन गरिएको यो नयाँ संस्करण सात आकर्षक रंगमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार क्लासिक ३५० को सुरुवाती मूल्य ५ लाख ५५ हजार रुपैयाँ तोकिएको छ । आधुनिक प्रविधिसहित यस मोटरसाइकलमा डुअल च्यानल एबीएस, एलईडी हेडलाइट, यूएसबी चार्जर, गियर इन्डिकेटर जस्ता सुविधाहरू उपलब्ध छन् । अबदेखि क्लासिकका सबै भेरियन्टहरूमा एबीएस अनिवार्य हुने छ ।

पाँच भेरियन्टकाे मूल्य यस्तो 

हेरिटेज (मद्रास रेड, जोधपुर ब्लू) :  ५ लाख ५५ हजार रुपैयाँ

हेरिटेज प्रिमियम (मेडालियन ब्रोन्ज) : ५ लाख ६६ हजार 

सिग्नल्स (कमाण्डो सेण्ड) : ५ लाख ६६ हजार

डार्क (गन ग्रे, स्टेल्थ ब्ल्याक) : ५ लाख ७३ हजार

क्रोम (इमराल्ड ग्रीन) : रू ५ लाख ७९ हजार ९००

वीरगञ्जस्थित सिकेडी प्लान्टमा उत्पादन सुरु गरेपछि रोयल इनफिल्डले नेपालमा प्रिमियम मोटरसाइकल क्षेत्रलाई अझ सशक्त बनाएको छ । वार्षिक २० हजार युनिट उत्पादन क्षमता रहेको यस प्लान्टबाट उत्पादित क्लासिक ३५० आजैदेखि बुकिङ, टेस्ट राइड र विक्रीका लागि उपलब्ध गरिएको छ ।

कम्पनीका प्रमुख वाणिज्य अधिकृत यदविन्दर सिंह गुलेरियाले क्लासिक ३५० ले पुरानो विरासतलाई आधुनिक शैलीमा अघि बढाउने विश्वास व्यक्त गर्दै भने, 'नेपाल हाम्रो लागि सधैं विशेष बजार रहँदै आएको छ । ग्राहकहरूको मायाले हामीलाई उत्साहित बनाएको छ ।'

कम्पनीका अनुसार क्लासिक ३५० सँगै रोयल इनफिल्डले बुलेट ३५०, हन्टर ३५०, मेटेओर ३५०, सुपर मेटेओर ६५०, हिमालयन एड्भेन्चर ४५० लगायतका मोडलहरू पनि नेपालमा उपलब्ध गराइरहेको छ ।

क्लासिक डिजाइन, शक्तिशाली इञ्जिन र नवीन प्रविधिको संयोजनले क्लासिक ३५० ले रोयल इनफिल्डको सांस्कृतिक र प्राविधिक विरासतलाई नयाँ उचाइमा पुर्याउने विश्वास कम्पनीले लिएको छ ।

Share News