मानिसमा निहित सोच तथा विश्वासहरूले उनीहरूको व्यवहार तथा क्रियाकलापहरूलाई प्रत्यक्ष तथा परोक्षरूपमा प्रभावित पार्ने गर्दछन् । मानिसमा विद्यमान मानसिकताका आधारमा कुनै विषय वा प्रसङ्गमा कस्तो दृष्टिकोण राख्ने वा परिस्थितिहरूलाई कसरी स्वीकार गर्ने तथा प्रतिक्रिया दिने भन्ने कुरा निरन्तर रूपमा निर्धारण भैरहेको हुन्छ । जसका आधारमा मानिसहरूका शिक्षा, पेशा, व्यक्तिगत विकास, सामाजिक सम्बन्ध आदिमा नियमित तथा निरन्तर रूपमा तरंग पैदा हुन्छ । मानिसहरुका प्रतिक्रिया वा व्यवहारका आधारमा अन्तरनिहित मानसिकतालाई मुख्यरूपमा निश्चित वा स्थिर तथा विकासशील गरी दुई तरिकाले विभाजन गर्न सकिन्छ ।
क) निश्चित मानसिकता
निश्चित मानसिकता भएका मानिसहरूले आफ्ना क्षमता, बौद्धिकता आदि जन्मजात तथा निश्चित रहन्छन् भन्ने कुरामा विश्वास गर्ने गर्दछन् जसबाट उनीहरूमा नयाँ कुरा सिक्न तथा आफूलाई परिस्थिति अनुकूल ढाल्न वा सुधार गर्नमा अनिच्छा पैदा हुने गर्दछ । जसकारणले उनीहरू सदैव चुनौती र असफलताको भयबाट जीवन व्यतित गरिरहेका हुन्छन् । आफूसँग अपरिचित विषयवस्तु, कार्य वा परिस्थिति उत्पन्न हुनासाथ प्रतिकूलताको तीब्रता महसुस गर्दै सहजै हार स्विकार गर्ने अवस्थाहरु पनि सृजना हुने गर्दछन् । उपलब्धी तथा सफलता मानव भाग्यमा जन्मदेखि नै निर्धारण हुने भएकोले जीवनका प्रयत्नका कारणले मात्रै परिवर्तन सम्भव ल्याउंदैन भन्ने धारणाको गहिरो प्रभावका कारणले स्थिर मानसिकताका मानिस प्रायः असफलताको डर, चुनौतीबीच असहजता, संघर्षमा सन्देह, पुरातन वा परम्परागत विचारमा अडिगता आदिका शिकार हुने गर्दछन् ।
ख) विकासशील मानसिकता
व्यक्तिमा निहित क्षमता तथा बौद्धिकतामा समय, अभ्यास अनि प्रयत्नसँगै विकास हुदै जान्छ भन्ने सोंच राख्ने मानिसहरूलाई विकासशिल मानसिकतामा राख्ने गरिन्छ । यस्ता मानिसले चुनौतीको सामनालाई अवशरका रूपमा स्वीकार गर्दछन् र असफलताहरूलाई सिकाइका माध्यमका रूपमा देख्छन् । सदैप नयाँ कुरा सिक्ने कुरामा प्रेरित भैरहने यस्ता मानिस अनवरत कडा परिश्रम, अभ्यास, सकरात्मक सोच तथा निरन्तर सुधारको बाटोमा अग्रसर भैरहेका भेटिन्छन् ।
व्यक्तिमा विकास हुने मानसिकताले उसको जीवनको दिशा निर्धारण गर्नमा अत्यन्तै महत्वपूर्ण भूमिका खेलिरहेका हुन्छन् । निश्चित वा स्थिर मानसिकताले परिवर्तनलाई सदैव बहिष्कार गर्दछ भने विकासशील मानसिकताले सदैव परिर्वतनलाई सिकाइको प्रमुख आधारका रूपमा बुझिरहेको हुन्छ । लक्ष्य प्राप्तिका लागि मानसिकतालाई पनि सोहीअनुरूप ढाल्न सक्यो भने मात्र आशातित सफलता हासिल हुन सक्छ अन्यथा भाग्यलाई दोष लगाउँदै टाउकोमा हात लगाउनुको विकल्प रहँदैन ।
मानिसमा विकास भैरहेको वा बनिसकेका मानसिकता परिवर्तन गर्नै नसकिने भने होइन । नियमितरूपमा स्वपरीक्षण गर्दै आफ्ना दृष्टिकोणहरुमा परिवर्तन ल्याउन अभ्यासरत मानिसले आफ्ना यथास्थिति केन्द्रित मानसिकतालाई जित केन्द्रित मानसिकताले प्रतिस्थापन गर्न सक्षम रहन्छन् । अपेक्षित परिणाम र त्यसका लागि आवश्यक क्रियाकलापका निम्नानुसारका समीकरणीय बोधपश्चात आपश्यक अभ्याससहित नयाँ वर्षसँगै लिइने प्रतीज्ञाहरूमा आफ्ना मानसिकता परिर्वतनको यात्रारम्भ गर्न सक्दा पक्कै पनि उपलब्धीको प्रभावकारिता अनि आयातन ठुलो हुनेछ ।
१) सफलता = (धैर्य + निरन्तरता)
सफलता प्राप्त गर्नका लागि केवल एउटा प्रयत्न वा एक पलको प्रयास कहिल्यै पनि पर्याप्त हँुदैन । यसका लािग धैर्य र प्रयत्नको निरन्तरताको दरकार पर्दछ । केवल अथक प्रयास र संर्घषले मात्रै मानिसलाई अन्ततः लक्ष्यमा पुर्याउने भएकोले जस्तोसुकै परिस्थितिमा धैर्य राख्दै आफ्नो यात्रा निरन्तर राख्नाले मात्रै सफलताको स्वाद चाख्न पाउँछ ।
२) उपलब्धी = (आत्मविश्वास + मेहनत)
आत्मविश्वास र परिश्रमको उपर्युक्त सन्तुलनबाट अपेक्षित सफलता हासिल हुन सक्छ जसका लागि सर्वप्रथम सफलताको अपेक्षाकर्ताले आफ्ना क्षमतामा विश्वास राख्दै कडा मेहनत गर्दा लक्ष्यमा पुग्न सकिन्छ । बिना परिश्रम प्राप्त हुने सफलताको दिगो नहुने भएको आत्मविश्वासका साथ प्राप्त गरेको सफलताको सन्तुष्ठि अधिक हुन्छ ।
३) प्राप्ती = (सकारात्मक सोंच + परिश्रम)
सकारात्मक सोंच र कडा परिश्रमको तालमेलले मानिसलाई लक्ष्य प्राप्त गर्न सबलता प्रदान गर्दछ । जब मानिस आफ्ना कामहरुमा सकरात्मक तरिकाले परिश्रम गर्न थाल्दछ त्यसपछि सफलताको यात्रा अत्यन्तै प्रभावकारी बन्दै जान्छ । सकारात्मक सोचबाट मानसिकतामा सुधार आउँछ भने परिश्रमले आफ्नो फल आर्जन गर्न भएकोले यस्तो प्राप्तिको स्वाद अत्यन्तै मीठो हुने गर्दछ ।
४) नेतृत्व = (अवशर + तयारी)
आवश्यक तयारीको उपस्थितिमा हमेशा अवसरले सफलतालाई आकर्षित गर्ने गर्दछन् । जुन मानिस सदैव हरेक कुरामा तयार रहन अभ्यासरत रहन्छ अवसरहरूले पनि उसैलाई पछ्याउँदै नेतृत्वको शिखरमा पु¥याउने गर्दछ भने बिना तयारीमा हासिल भएको नेतृत्वले अक्सर बाँदरको हातमा नरिवलको भावनालाई चरितार्थ गर्ने बाहेक अन्य केही गर्न सक्दैन ।
५) परिणाम = (विचार + कर्म)
मानिसले जीवनमा हासिल गर्ने परिणाम उसको विचार अनि उसले गर्ने विभिन्न कर्मको योगफलका रूपमा उत्पन्न हुने गर्दछन् । विचारमात्रै वा कर्ममात्रैबाट पनि केही न केही परिणाम उत्पन्न त हुन सक्छन् तर अपेक्षित परिणामका लागि दुबैको उपस्थिति अपरिहार्य छ । सही विचार र उचित कर्मले निश्चिय नै उत्पन्न हुने परिणामलाई सकरात्मक बनाउने छन् ।
६) चरित्र = (विपत्ति + संघर्ष)
सुनको शुद्धता खारेपछि मात्रै थाहा भए झैं जीवनका कठिनाइ र संर्घषले सदैव मानिसको चरित्रलाई बलियो बनाउछ । त्यसैले अधिक प्रतिकूलताहरूसँगको सामना खदिलो चरित्रको आधार स्तम्भ हो । कठिन समयमा जुन सीप वा ज्ञान हासिल हुन्छ त्यसले सदैव जीवनमा सबलता प्रदान गर्ने गर्दछ । त्यसैले प्रतिकूलता तथा संघर्षलाई जिताइ वा सिकाइका रूपमा दिन सक्दा मानिसको चरित्र तथा मानसिकता दुबैमा सकरात्मक बल प्राप्त हुन्छ ।
७) तयारी= (सपना + योजना)
लक्ष्य प्राप्तिको सपना देख्नु मात्रै पर्याप्त हुँदैन, यसलाई प्राप्त गर्न आवश्यक योजना बनाउनु पर्ने हुन्छ । जसमा के कस्ता गतिविधि वा क्रियाकलाप गर्ने, कहिले गर्ने, कुन दिशामा अग्रसर बन्ने, कति परिश्रम गर्ने, कस्तो ज्ञान, सीप वा संगति हासिल गर्ने आदिजस्ता पक्षहरूको मेहेनतका साथ आँकलन तथा अनुसरण गर्न सक्दा पक्कै पनि सफलता हासिल गर्ने तयारी परिपक्क बन्न सक्छ ।
८) प्रगति = (समय + प्रतिवद्धता)
हरेक मानिससँग समयको सीमा हुन्छ । जसले उपलब्ध समयको सहि सदुपयोग गर्दै लक्ष्य प्राप्तिमा प्रतिबद्ध हुन्छ उसको मात्रै प्रगति सुनिश्चित हुन्छ । जसले यसलाई तालमेल गर्न सक्दैन उसको जीवन केवल गुनासो मात्रै शेष रहने गर्दछ ।
९) जीवन शिक्षा = (अनुभव + शिक्षा)
शिक्षाले सदैव सैद्धान्तिक ज्ञान दिन्छ भने अनुभवले त्यसलाई व्यावहारिक बनाउने भएकोले आर्जित अनुभव र शिक्षालाई एकीकृतरूपमा सदुपयोग गर्दा जीवन उपयोगित शिक्षा प्राप्त हुन्छ । जीवन उपयोगी शिक्षाको प्रचुरतासँगै जीवनका कठिनाइहरूसँगै डटेर जुधून् तथा अवसरहरूको भरपूर सदुपयोग गर्न सक्षमता वृद्धिमा टेवा पुग्छ ।
१०) व्यक्तिगत विकास = (आत्म आलोचना + सुधार)
आत्म आलोचनाले मानिसलाई आफ्ना कमजोरीहरूको सुक्ष्म परीक्षण गरी सुधारका रणनीतिहरू बनाउन मार्गदर्शन गर्दछ जसबाट हिजोभन्दा आज क्रमिकरूपमा व्यक्तिगत विकासहरू देखिन थाल्दछन् । आत्म आलोचना र सुधारको प्रक्रियाले मानिसको व्यक्तिगत विकासमा ठूलो भूमिका खेल्ने गर्दछ । यो निरन्तर सुधारको प्रक्रियाले मानिसलाई जीवनभर विकास गर्न मद्दत गर्दछ ।
११) अहंम = (१/सफलता)
मानिसलाई महान तथा तुच्छ सम्म बनाउन सक्ने विशेषता बोक्ने भएकोले अहंमले जीवनमा दोधारी तरबारको काम गरिरहेको हुन्छ । यो समीकरणले मानिसहरूलाई साँचो सफलता अहंमता बढाउनमा होइन, विनम्रता स्विकार गर्नमा छ भनेर सतर्क बनाउने काम गर्दछ । जब सफलता एक हुन्छ मानिसको अहंमता शून्यमा झर्दा मात्रै मानिसको बृहत्तर वृद्धि तथा समृद्धिको मार्ग खुल्ने छ ।
१२) आत्मविश्वास = विश्वास / वास्तविकता
हरेक क्रियाकलापहरू सम्पादन गर्दा मानिसहरूमा आत्मविश्वासको आवश्यकता पर्दछ जुन उसको विश्वास र बास्तविकता बीचको सन्तुलनबाट निर्माण हुने गर्दछ । विश्वासको अधिकताबाट अहंकारको जन्म हुन सक्छ भने वास्तविकताको बोधको कमीले क्षमताको सही सदुपयोग नहुन सक्छ । त्यसैले मानिसको विश्वासलाई वास्तविकतासँग मिलान गर्दा स्वस्थ अनि सबल आत्मविश्वास विकासमा टेवा पुग्छ ।
१३) खुशी = (अनुभव–अपेक्षा) × कृतज्ञता
मानिसका खुसीहरू केवल बाह्य परिस्थितिहरूमा मात्रै निर्भर नभई अपेक्षा तथा वर्तमान परिवेशको बोध, प्रशंसा एवं कदर गर्ने क्षमतामा पनि निर्भर गर्दछ । यस समीकरणले मानिसलाई आफ्ना अपेक्षाहरू व्यवस्थापन गर्न, अनुभवहरूलाई बढाउन तथा कृतज्ञता व्यक्त गर्न प्रेरित गर्दछ जसबाट सन्तुष्ट, सुखी तथा खुसी जीवनका लागि मार्गदर्शन हुन्छ ।
१४) असफलताको लचकता = ((प्रयत्न + सिकाइ)/(भय × २))
अपेक्षित सफलता प्राप्तिका लागि यात्रामा आउने प्रत्येक असफलताहरूले अत्यन्तै महत्त्वपूर्ण भूमिका खेल्ने भएकोले सफलताको अभिन्न अंगका रूपमा विफलताहरूलाई लिने गरिन्छ । त्यसैले असफलतालाई तिरष्कार गर्नेभन्दा पनि लचकता अपनाउने गर्दा जीवनमा प्रयास र सिकाइ मात्र होइन डर कम तथा सामना गर्दै निरन्तर जीतको तयारीमा जुट्न प्रेरणा मिल्ने गर्दछ । असफलताहरूलाई सिक्ने अवसरका रूपमा हेर्न सक्दा मानिस जीतका लागि थप बलियो बन्नुका साथै प्रतिकूलता बहन क्षमता विस्तारमा लचिलो बन्न सक्छ ।
१५) असाधारण सफलता = (जोश + दृढता + धैर्य)
जीवनमा असाधारण सफलता हासिल गरिरहेका मानिसहरूको जीवनलाई नियालेर हेर्दा प्रायः सबै मानिसहरूमा हुने सामान्य गुणहरूकै प्रचुरता रहेको पाइन्छ । त्यसैले असाधारण सफलता हासिल गर्नका लागि पनि प्रेम, धैर्यता तथा दृढताको मिश्रणसहितको प्रतिभा र समयको साथ लक्ष्य प्राप्तिको निरन्तर प्रयास नै हो भनेर बुझ्दा सहज हुने देखिन्छ ।
१६) उत्प्रेरणा =(चाहना ×एकरूपता)
मानिसका प्रत्येक क्रियाकलापहरूको प्रेरक शक्तिका रूपमा प्रेरणाले काम गर्छ जुन संधै स्थिर नरहन सक्छ । उत्प्रेरणालाई अविच्छिन्न राख्न बलियो इच्छा वा चाहना तथा एकनास प्रयासको आवश्यकता रहन्छ । यो उत्साह र निरन्तर प्रगतिको संयोजन हो जसले मानिसलाई अघि बढ्न हौसाइरहेको हुन्छ ।
१७) एकाग्रता = (व्यतित समय × तीव्रता) / विचलित अवस्था
मानिसले जीवनमा आफ्ना पूर्वनिर्धारित लक्ष्यबाट विचलित हुने अनेकन क्रियाकलापहरू तथा परिस्थितिहरूको निरन्तर सामना गरिरहको हुन्छ जसबाट उसको एकाग्रता भंग भै लक्ष्य प्राप्तिमा अवरोध सृजना हुन्छ । त्यसैले मानवजीवनमा ध्यान एकाग्र गर्न सक्नु पनि एक मूल्यवान सीप हो । यो समीकरणबाट मानिसहरूलाई एकाग्रता भनेको केबल समयको खर्च मात्र होइन कि अपेक्षित कार्यमा तीब्रता कायम गर्दै ध्यान भट्काउने तत्वहरूलाई घटाउनु समेत हो भनेर बुझ्न सहजता प्रदान गर्दछ ।
१८) स्व:प्रेम = (करुणा + स्वीकृति) ×क्षमा
जसले आफूलाई प्रेम गर्दैन उसले कसैलाई पनि प्रेम गर्नै सक्दैन । त्यसैले स्व:प्रेम व्यक्तिगत विकासको एक आधारस्तम्भ हो । यसबाट मानिसलाई आत्मदया, आत्म स्वीकृति तथा माफी भनेको एक स्वस्थ्य आत्मचित्रको आधार समेत निर्माण हुने गर्दछ । आफूलाई दया र समझदारीका साथ व्यवहार गर्दा मानिसलाई सकारात्मक एवं समृद्ध जीवनको मार्गदर्शन हुने गर्दछ ।
१९) लचकता =((प्रतिकूलता ×अनुकूलन) /( भय + शंका))
मानिसको जीवन प्रायः प्रतिकूलताका चुनाैतीहरूले भरिएको हुन्छ जसबाट बाहिर निस्कनका लागि मानिसहरूसँग रहने परिस्थितिजन्य लचकताको क्षमताले अत्यन्तै महत्त्वपूर्ण भूमिका खेल्ने गर्दछ । यस समीकरणबाट प्रतिकूलता सामना गर्दा अनूकुलनको क्षमता र भय अनि शंका घटाउन पर्ने आवश्यकतालाई प्रष्ट पार्दछ । लचिलोपन भनेको केवल कठिनाइ सहन गर्नु मात्र नभई त्यसको बाबजुत पनि समृद्धि हासिल गर्ने क्षमता विकास समेत हो ।
२०) दिगो सफलता = (जुनून + निष्ठा) × प्रभाव
सफलताहरू केवल व्यक्तिगत उपलब्धीहरू मात्रै नभई मानिसहरूले संसारमा छोड्ने दीर्घकालीन प्रभावहरू समेत हुन् । त्यसैले दिगो सफलताको मापन मानिसहरूको जुनून, निष्ठा र वरपर देखिने सकारात्मक प्रभावका आधारमा समेत मापन हुने गर्दछ । त्यसैले सफलतालाई दिगो स्वरूप दिनका लागि वरपर सकारात्मक बाह्यता सृजना गर्नु पनि उत्तिकै महत्त्वपूर्ण हुने गर्दछ ।
माथिका प्रत्येक समीकरणले मानिसलाई विभिन्न महत्त्वपूर्ण पहलुहरूमा ध्यान केन्द्रित गराउन, जीवनका चुनौतीहरूसँग जुध्न, लक्ष्यहरू प्राप्ति गर्न, खुसी तथा सुखी बन्न आदिका बारेमा बढ्ने जागरणसँगै मानसिकता तथा परिणाममा परिवर्तन वा वृद्धि हुने कुराको संकेत गर्दछन् । समीकरणीय बोध तथा दैनिक जीवनमा नियमित अभ्यासबाट मानसिकताहरूमा सकारात्मक परिर्वतन आई जीवनलाई अधिक सफल तथा सुखी मार्गमा निर्देशित गर्न सकिने प्रमाणहरू पनि माथिका प्रसंङ्गमा भेटिन्छन् । । त्यसैले यस्ता सुत्रहरूलाई आत्मसात गरेर आफ्नाे आत्मगौरव, आत्मविश्वास, खुसी, विफलतामा विजय आदिमा नयाँ आयाम स्थापित गर्न सकिन्छ, जुन प्रत्येक नयाँ वर्षहरूमा गरिने प्रतिबद्धताहरूलाई कसिलो तथा प्रभावकारी बनाउने आधार समेत बन्न सक्छ । प्रायः नयाँ वर्षसँगै मानिसहरूले आफूमा केही न केहि परिर्वतन ल्याउने, बदल्ने अथवा सुधार गर्ने प्रतिज्ञा गर्ने प्रचलनहरूसमेत रहेका छन् तर धेरै प्रतिज्ञाहरू नयाँ वर्षको पहिलो महिनाको १५ दिनसम्म पनि कायम रहँदैनन् । फेरि अर्काे वर्षमा यस्तै प्रतिज्ञाहरू भइरहन्छन् । यस नयाँ वर्ष २०८२ ले हामी सबैलाई स्वस्थ तथा सबल मानसिकता प्रवर्द्धन एवं विकासका हरेक संकल्पहरूको सुक्ष्म बोधसहित अनवरत एवं अनुशासित कार्यान्वयनमा जुट्ने ऊर्जा थप्न सकोस्, सबैलाई हार्दिक मंगलमय शुभकामना !
(उल्लेखित विचारहरू लेखकका निजी भएकाले आवद्ध संस्थाको प्रतिनिधित्व गदैनन्)