काठमाडौं । चीनको निर्यातमा मार्च महिनामा वार्षिक आधारमा १२.४ प्रतिशतको वृद्धि भएको छ । त्यही समयमा आयातमा ४.३ प्रतिशतको गिरावट आएको छ । अमेरिकाले चीनबाट आयात गरिने वस्तुहरूमा शुल्क वृद्धि गरेसँगै सरकारले यो जानकारी दिएको हो ।
विश्वको दोस्रो ठूलो अर्थव्यवस्था चीनको निर्यात सन् २०२५ को पहिलो तीन महिना (जनवरी-मार्च) मा वार्षिक आधारमा ५.८ प्रतिशतले बढेको छ भने आयातमा ७ प्रतिशतको गिरावट आएको छ ।
चीनको अमेरिकासँगको व्यापार नाफा मार्च महिनामा २७.६ अर्ब डलर रह्यो, जहाँ निर्यातमा ४.५ प्रतिशतको वृद्धि देखियो । वर्षको पहिलो त्रैमासिकमा (जनवरी–मार्च) अमेरिका र चीनबीचको व्यापार सरप्लस (निर्यातको मूल्य आयातको मूल्यभन्दा बढी भएको अवस्था) ७६.६ अर्ब डलर रहेको छ ।
चीनमाथि भारी ट्यारिफ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हालै संशोधित व्यापार नीतिअनुसार चीनले अमेरिका पठाउने अधिकांश निर्यातमा १४५ प्रतिशतसम्मको शुल्क भोगिरहेको छ । यद्यपि निर्यातमा सबैभन्दा बढी वृद्धि चीनका दक्षिण-पूर्वी एसियाली छिमेकी देशहरूतर्फ भएको देखिन्छ, जहाँ मार्चमा चीनको निर्यात वार्षिक आधारमा करिब १७ प्रतिशतले बढेको छ । अफ्रिकातर्फको निर्यात पनि ११ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
चीनको सीमा शुल्क प्रशासनका प्रवक्ता ल्यू डालियाङले भने, 'चीनले जटिल र गम्भीर परिस्थितिको सामना गरिरहेको छ, तर घुँडा टेक्ने छैन ।'
उनले चीनका विविध निर्यात विकल्पहरू र विशाल घरेलु बजारतर्फ इशारा गर्दै यो कुरा बताएका हुन् । जब उनीसँग चिनियाँ आयात घटेकोबारे सोधियो तब उनले भने, 'चीन लगातार १६ वर्षदेखि विश्वको दोस्रो ठूलो आयातकर्ता रहँदै आएको छ, जसले विश्व आयातमा आफ्नो हिस्सा करिब ८ प्रतिशतबाट बढाएर १०.५ प्रतिशत पुर्याएको छ ।’
'वर्तमान र भविष्यमा चीनको आयात वृद्धि क्षेत्र निकै ठूलो छ र विशाल चिनियाँ बजार सधैं विश्वका लागि ठूलो अवसर हो,’ल्यू डालियाङले थपे ।
शी भियतनामको यात्रा गर्दै
चीनका राष्ट्रपति सी जिनपिङ सोमबार क्षेत्रीय दौरा अन्तर्गत भियतनामको भ्रमणमा जाँदै छन् । उनी मलेसिया र कम्बोडिया पनि जाने कार्यक्रम छ । यसबाट उनलाई एसियाली देशहरूसँग व्यापार सम्बन्ध बलियो बनाउने अवसर मिल्नेछ । यद्यपि अमेरिकाले यस निर्णयलाई गत हप्ता ९० दिनको लागि ट्यारिफ स्थगित गरिसकेको छ।
भियतनाममा गत महिना चीनको निर्यात वार्षिक आधारमा करिब १७ प्रतिशतले बढेको थियो, जबकि आयातमा २.७ प्रतिशतको गिरावट देखिएको थियो । यद्यपि सी जिनपिङको यात्रा पहिलेदेखि नै तय गरिएको थियो, तर अमेरिका र चीनबीचको व्यापार युद्धको सन्दर्भमा यो यात्रा अझै महत्त्वपूर्ण बन्न पुगेको छ ।