विकासन्युज

स्तन र प्रोस्टेट क्यान्सरबारे जनचेतना फैलाउँदै सिटिजन्स बैंक

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कर्मचारीहरूको स्वास्थ्यप्रति प्रतिबद्धता जनाउँदै स्तन क्यान्सर र प्रोस्टेट क्यान्सर सम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । यस पहलको उद्देश्य क्यान्सरसम्बन्धी सही जानकारी प्रदान गर्नु, आम भ्रम हटाउनु, समयमै परीक्षण, रोकथाम र चिकित्सकीय परामर्शको महत्वबारे कर्मचारीहरूलाई सचेत बनाउनु रहेको बैंकले जनाएको छ। कार्यक्रम मेदान्त द मेडिसिटी अस्पताल, गुडगांव, भारतसँगको सहकार्यमा सञ्चालन गरिएको थियो, जसले यसलाई अझ प्रभावकारी र विश्वसनीय बनाएको छ । कार्यक्रम अन्तर्गत माघ १३ गते सबै महिला कर्मचारीका लागि 'स्तन क्यान्सर सम्बन्धी महिलाले जान्न र अभ्यास गर्नुपर्ने कुराहरू' विषयक वेबिनार आयोजना गरिएको थियो । वरिष्ठ निर्देशक स्तन क्यान्सर, डा. कञ्चन कौरले वेबिनार सहजिकरण गरेका थिए । उक्त कार्यक्रममा कुल ५१३ जना महिला कर्मचारीहरूले सक्रिय रूपमा सहभागिता जनाएका थिए, जसले वेबिनार अन्तरक्रियात्मक र प्रभावकारी बनाएको बैंकको भनाइ छ । त्यसैगरी, माघ १४ गते ३० वर्ष वा सोभन्दा माथिका पुरुष कर्मचारीहरूका लागि 'प्रोस्टेट क्यान्सरः भ्रम र यथार्थ' विषयक सत्र सञ्चालन गरिएको थियो । वरिष्ठ निर्देशक डा. पुनीत आहुलवालियाले उक्त सत्रको सहजीकरण गर्नुभएको थियो । यसमा कुल ५०९ जना कर्मचारीहरूले सहभागिता जनाएका थिए । दुवै वेबिनारले कर्मचारीहरूको स्वास्थ्यप्रति सचेतना बढाउँदै दीर्घकालीन स्वास्थ्य सुरक्षामा योगदान पुर्याउने अपेक्षा बैंकले गरेको छ । बैंकले कर्मचारी, ग्राहक र अन्य सम्बन्धित निकायहरूका लागि आगामी दिनमा पनि यस्तै सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ । साथै, बैंकका कार्डवाहक ग्राहक महानुभावहरूले मेडिसिटी अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यसअघि पनि 'फोनपे क्रेडिट कार्ड' सञ्चालन, नवयुवा लक्षित 'सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट', 'सिटिजन्स डिजी बैंक सेवा' एकीकृत अनलाइन प्लेटफर्म, फ्रिलान्सर सेविङ्ज अकाउन्ट, मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन तथा सी.आर.एन् नम्बर सुविधा, र क्रस बैंक टेलर सुविधा जस्ता नवप्रवर्तनात्मक सेवाहरू सुरु गरिसकेको छ। हाल बैंकले देशैभरी ६१ जिल्लामा फैलिएका २०० शाखा, १६९ ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ्ग ईकाइमार्फत १९ लाख ७६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।

चुनाव मुस्ताङमा, प्रचार पोखरा, बागलुङ र काठमाडौंमा

काठमाडौं । फागुन २१ मा हुने निर्वाचनको माहोल देशभर उत्कर्षमा पुगेको भए पनि हिमाली जिल्ला मुस्ताङमा भने चुनावी सरगर्मी लगभग शून्यजस्तै देखिएको छ । निर्वाचन मुस्ताङमा हुने भएपनि मुस्ताङको चुनावी चहलपहल भने जिल्ला बाहिर रहेको छ ।  माथिल्लो मुस्ताङ त हिमपातका कारण अहिले करिब जनसंख्याविहीनजस्तै रहेको छ भने तल्लो मुस्ताङमा पनि पछिल्लो समय हिमपातले गर्दा निर्वाचन चहलपहल रोकिएको जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले जानकारी दिए । जिल्लामा ८ राजनीतिक दलले उम्मेदवारी दिएपनि मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेस र नेकपा एमालेबीच हुने स्थानीयहरू बताउँछन् । यस निर्वाचनमा नेकपा एमालेले इन्द्रधरा विष्ट र नेपाली कांग्रेसले योगेश गौचन थकालीलाई मैदानमा उतारेको छ ।  नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ङुटुक गुरुङ र अधितिय चन्द्र थकालीलाई उम्मेदवार बनाउँदा कमला लालचनलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उम्मेदवार बनाएको छ । अजय विक आम जनता पार्टी, सुरेन्द्र नेपाल उज्यालो नेपाल पार्टी र यमबहादुर गुरुङ मंगोल नेशनल अर्गनाइजेसनबाट उम्मेदवार बनेका छन् । जिल्लामा आठ दलका उम्मेदवार रहेपनि निर्वाचन माहोल भने सुस्त रहेको छ । जिल्लाको निर्वाचन प्रचार अहिले जिल्ला बाहिर भइरहेको छ । नेपाली कांग्रेसका उम्मेदवार थकाली काठमाडौंमा रहेका छन् । थकाली मुस्ताङमा अझै निर्वाचन सुरु नभएको बताउँछन् ।  ‘यो समय माथिका मानिस तल झर्ने सदियौंदेखिको नियमित प्रक्रिया हो । अहिले जिल्लामा हिउँ परिरहेको छ । त्यसैले आफन्त सबै तल रहेकाले भेटघाट पनि तलतिरै हुनु स्वाभाविक हो,’ थकालीले भने । एमाले उम्मेदवार इन्द्रधारा विष्ट अहिले पोखरामा रहेका छन् । विष्ट भन्छन्, ‘हामी उम्मेदवारभन्दा पहिले आफन्त हौं । आफन्त जहाँ हामी त्यहाँ हुनु स्वभाविक हो । हामीलाई अझै निर्वाचन लागेको छैन ।’ भौगोलिक रूपमा विकट र धार्मिक, सांस्कृतिक तथा सामाजिक दृष्टिले अन्य जिल्लाभन्दा फरक पहिचान बोकेको मुस्ताङमा चुनावी माहोल हत्तपत्त सिर्जना नहुने स्थानीयहरू बताउँछन् । कम जनसंख्या, पर्यटनमुखी जीवनशैली र समुदायको आफ्नै व्यस्तताका कारण यहाँ निर्वाचनलाई अन्य जिल्लाजस्तो ठूलो महत्त्व नदिने प्रवृत्ति रहेको बताउँछन् लोमाङथान गाउँपालिकाका अध्यक्ष टासी नोर्वु गुरुङ । नेपाली कांग्रेसका उम्मेदवार गौचनका अनुसार मुस्ताङमा एउटै प्रकृतिको समुदाय, पृथक भूगोल, न्यून जनसंख्यासँगै यहाँको मौसमले चुनावी चहलपहल हुन नसकेको हो ।  लोमाङथाङका अध्यक्ष टासी पनि गौचनसँग सहमत छन् । उनी भन्छन्, ‘दलभित्र आन्तरिक खिचातानी कम र विवादरहित वातावरण भएका कारण चुनावी माहोल सिर्जना हुन नसकेको हो । हाम्रो भूगोल र प्रकृतिले पनि अहिले भूगोलमै गएर चुनाव प्रचार गर्ने वातावरण नबनेको हो ।’  यता नेकपा एमालेका उम्मेदवार विष्टले पार्टी अहिले आन्तरिक तयारीमै केन्द्रित रहेको जानकारी दिए । उनले भने, ‘हामीले आन्तरिक छलफल गरिरहेका छौं । तत्काल औपचारिक चुनावी कार्यक्रम छैन ।’ निर्वाचन मिति नजिकिँदै जाँदा जिल्ला निर्वाचन कार्यालय, मुस्ताङले भने आवश्यक प्रशासनिक तयारी तीव्र पारेको जनाएको छ । कार्यालय प्रमुख ज्ञवालीका अनुसार मतदान केन्द्रको अनुगमन तथा सुपरिवेक्षणका साथै मतदाता शिक्षा कार्यक्रमसमेत सञ्चालन गर्ने तयारी गरिएको छ । फागुन लागेपछि उक्लने उपल्लो मुस्ताङको ल्होमन्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका करिब ८० प्रतिशत स्थानीय बासिन्दा कडा जाडोका कारण बेंसी झरेका छन् । छोसेरका छेप्टेङ गुरुङ, वङ्दी गुरुङ र टस्सी गुरुङजस्ता स्थानीयहरू जाडो छल्न जिल्लाबाहिर गएका भए पनि फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा मतदान गर्न गाउँ फर्किने तयारीमा छन् । स्थानीयवासीहरूले यस निर्वाचनलाई भविष्य निर्माणसँग जोडेर हेरेका छन् । स्थानीय वङ्दी गुरुङ भन्छन्, ‘उम्मेदवारको विगतको कामको मूल्याङ्कन गरेर मात्र भोट हाल्ने हो । थोरै मतदाता भएकाले उम्मेदवारहरू स्वयं मतदाता खोज्दै आउन थालेका छन् ।’ निर्वाचन नजिकिँदै जाँदा जाडो छल्न गएकासँग राजनीतिक दलका नेताहरू अनौपचारिक भेटघाटमा सक्रिय हुने तयारीमा रहेका छन् । कांग्रेसका गौचन र एमालेका विष्ट दुवैले अव भेटघाटमा औपचारिक रूपमा लाग्ने तयारीमा रहेको बताएका छन् । निर्वाचन २०७९ लाई फर्केर हेर्दा विसं २०७९ सालमा प्रत्यक्ष निर्वाचनतर्फ नेपाली कांग्रेसका योगेश गौचनले ३ हजार ९९२ मत ल्याई चुनाव जितेका थिए । पाँच दलीय गठबन्धनका गौचनलाई एमालेका प्रेमप्रकाश तुलाचनले ३ हजार ७४ मत प्राप्त गरी पछ्याएका थिए भने रास्वपाका उम्मेदवार सुदेश गुरुङले ८७ मत ल्याएका थिए । समानुपातिकतर्फ भने एमालेले पहिलो र कांग्रेसले दोस्रो लोकप्रिय महत पाएको थियो । एमालेले ३ हजार ४०४ मत ल्याउँदा कांग्रेसले २ हजार ४८६ मत ल्याएको थियो । रास्वपाले समानुपातिकतर्फ २९९ मत प्राप्त गरेको थियो ।  जिल्लामा ३९ मतदान केन्द्र रहेका छन् भने कुल १० हजार ९ सय ५७ जना मतदाता रहेका छन् । मुस्ताङमा स्थानीय तह निर्वाचनका लागि २ सय ३२ जना म्यादी प्रहरी तथा सोही अनुपातमा आवश्यक सुरक्षाकर्मी परिचालन गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

के हो निपा भाइरस, कस्ता देखिन्छन् लक्षण ?

काठमाडौं । निपा भाइरस एक गम्भीर र खतरनाक भाइरस हो, जसले जनावरबाट मानिसमा र मानिसबाट मानिसमा रोग सार्न सक्छ । यसको मृत्युदर उच्च हुने भएकाले यसबारे सचेत रहनु अत्यन्त आवश्यक छ ।  यो कसरी सर्छ ?  निपा भाइरस मुख्यतया ’फ्रुट ब्याट’ (फलफूल खाने चमेरो) बाट सर्ने गर्दछ । संक्रमित फलफूल जस्तै चमेरोले टोकेका वा जुठो हालेका फलफूल (विशेषगरी अम्बा, लिची, खजूर) खाँदा सर्न सक्छ । यो रोग सर्ने अर्को माध्यम भनेको जनावरको सम्पर्क जस्तै संक्रमित सुँगुर वा अन्य जनावरको र्याल र पिसाबको सम्पर्कमा आउँदा सर्छ भने  मानिसबाट मानिसमा जस्तै संक्रमित व्यक्तिको थुक, सिंगान वा रगतको प्रत्यक्ष सम्पर्कमा आउँदा विशेषगरी बिरामीको हेरचाह गर्ने कुरुवा वा स्वास्थ्यकर्मीमा सर्ने जोखिम हुन्छ । कस्ता लक्षणहरू देखापर्छन् ? निपा संक्रमण भएको ५ देखि १४ दिनभित्र लक्षणहरू देखिन थाल्छन् । यसको संक्रमण हुँदा अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने र श्वासप्रश्वासमा कठिनाइ हुने गर्छ । यस्तै मांसपेशी दुख्ने र निकै थकाइ महसुस हुने, गम्भीर अवस्थामा मस्तिष्क सुन्निने गर्छ जसले गर्दा मानसिक अलमल हुने, छारे रोग जस्तै काँप्ने वा बिरामी कोमामा जाने हुन सक्छ ।   बच्ने उपायहरू के हुन ? अहिलेसम्म यो भाइरस विरुद्ध कुनै निश्चित खोप वा औषधि बनिसकेको छैन । सावधानी नै सबैभन्दा ठूलो उपचार हो । फलफूल सफा गरेर मात्र खाने गर्नुपर्छ । भुईँमा झरेका वा चरा–चमेरोले टोकेका जस्ता देखिने फलफूल कहिल्यै खान हुँदैन । फलफूल खानुअघि राम्ररी पखाल्नुपर्छ भन साबुन पानीले नियमित रूपमा हात धुने गनपर्छ । यसबाट बच्न  बिरामी देखिएका सुँगुर वा अन्य जनावरहरूको नजिक जान हुँदैन । यदि कोही व्यक्ति संक्रमित छ भने उनीहरूलाई छुँदा मास्क, पन्जा र सुरक्षाका सामग्री प्रयोग गर्नुपर्छ ।  यदि लक्षण देखिएमा के गर्ने ?  यदि तपाईं वा तपाईंको वरपर कसैमा यस्ता लक्षणहरू देखिएका छन् र उनीहरू चमेरो वा संक्रमित क्षेत्रको सम्पर्कमा आएका छन् भने तुरुन्त नजिकैको अस्पतालमा सम्पर्क गर्नुपर्छ ।  बिरामीलाई अलग्गै (आइसोलेसन) राख्नुपर्छ  । स्वास्थ्यकर्मीको सल्लाह बिना जथाभावी औषधि सेवन गर्नुहुँदैन । निपा भाइरसको संक्रमण दर कम भए पनि यसको जोखिम धेरै रहेकाले सरसफाइमा ध्यान दिएर र खानपानमा सतर्कता अपनाए यस्ता संक्रमणबाट बच्न सकिन्छ ।   

विकास बैंकको खुद नाफा साढे ३ अर्ब रुपैयाँ, ३ वटा अझै घाटामा

काठमाडौं । ६ महिनामा विकास बैंकहरूको खुद नाफा साढे ३ अर्ब रुपैयाँ आर्जन गरेका छन् । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा १६ वटा विकास बैंकले ३ अर्ब ४३ करोड ४२ लाख ६५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । यो गत वर्षको तुलनामा ३४.४३ प्रतिशत अर्थात् ८७ करोड ९७ लाख २२ हजार रुपैयाँ बढी हो । गत वर्षको पुसमा विकास बैंकहरूले २ अर्ब ५५ करोड ४५ लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका थिए। समीक्षा अवधिमा मितेरी डेभलपमेन्ट बैंकको नाफा सबैभन्दा धेरै वृद्धि भएको देखिन्छ । चालु आवको पुस मसान्तसम्ममा मितेरी बैंकको १२०.२५ प्रतिशत बढेर ५ करोड ७० लाख ५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले २ करोड ५८ लाख ८१ हजार रुपैयाँ नाफा गरेको थियो ।  यस अवधिमा सबैभन्दा धेरै नाफा भने मुक्तिनाथ विकास बैंकले गरेको छ । मुक्तिनाथ विकास बैंकको ३३.५७ प्रतिशत बढेर ६७ करोड २० लाख ४० हजार रुपैयाँ नाफा गरेको हो । यो नाफा विकास बैंकहरूमा सबैभन्दा धेरै हो । गत वर्षको पुस मसान्तमा बैंकको नाफा ५० करोड ३१ लाख २२ हजार रुपैयाँ नाफा गरेको थियो । लुम्बिनी विकास बैंकको ९३.३२ प्रतिशत बढेर २८ करोड ५३ लाख ७७ हजार रुपैयाँ, सांग्रिला डेभलपमेन्ट बैंकको ५३.९४ प्रतिशत बढेर ३० करोड २५ लाख ९७ हजार रुपैयाँ, ग्रीन डेभलपमेन्ट बैंकको २६.०३ प्रतिशत बढेर १ करोड १० लाख २ हजार रुपैयाँ, ज्योति विकास बैंकको २४.४४ प्रतिशत बढेर ३१ करोड १२ लाख ७१ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् ।  कामना सेवा विकास बैंकको २२.३४ प्रतिशत बढेर ३९ करोड ४५ लाख ५० हजार रुपैयाँ, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको २२.१९ प्रतिशत बढेर ४० करोड ४२ लाख ८० हजार रुपैयाँ, कर्पाेरेट डेभलपमेन्ट बैंकको २०.५१ प्रतिशत बढेर १ करोड २९ लाख ४२ हजार रुपैयाँ, गरिमा विकास बैंकको १५.६३ प्रतिशत बढेर ६३ करोड ५१ लाख ३० हजार रुपैयाँ, महालक्ष्मी विकास बैंकको ६.४१ प्रतिशत बढेर ३० करोड ५९ लाख ३१ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् ।  समीक्षा अवधिमा एक्सेल डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको नाफा धनात्मक रहेको छ । एक्सेलको ८ करोड ८५ लाख ३६ हजार रुपैयाँ र सप्तकोशीको २ करोड ६८ लाख २० हजार रुपैयाँ नाफा गरेका छन् । गत वर्षको पुसमा एक्सल ९ करोड ५ लाख ३५ हजार रुपैयाँ र सप्तकोशी २ करोड ९९ लाख १७ हजार रुपैयाँ नोक्सानीमा थिए ।  समीक्षा अवधिमा विभिन्न ३ बैंक नोक्सानीमा रहेका छन् । पुस मसान्तसम्ममा सिन्धु विकास बैंक १ करोड ५४ लाख ६८ हजार रुपैयाँ, सालपा विकास बैंक १ करोड ४ लाख १ हजार रुपैयाँ र नारायणी डेभलपमेन्ट बैंक ४ करोड ७३ लाख ४७ हजार रुपैयाँ नोक्सानीमा छन् । 

दरबारमार्गको डान्स क्लबमा लागेको आगलागी नियन्त्रणमा

काठमाडौं । दरबारमार्गको उडल्याण्ड होटलमाथि रहेको ब्ल्याकआउट डान्स क्लबमा लागेको आगलागी नियन्त्रणमा आएको छ । काठमाडौं प्रहरी परिसरका सूचना अधिकारी कौशल बुढाथोकीले बिहान लागेको आगलागी हाल नियन्त्रणमा आइसकेको जानकारी दिएका छन् । उनका अनुसार दरबारमार्गस्थित उडल्याण्ड होटलमाथि रहेको उक्त डान्स क्लब पूर्ण रूपमा क्षति भएको छ। बुढाथोकीले सञ्चालकको भनाइ उद्धृत गर्दै भने, 'सञ्चालकका अनुसार करिब १ करोड रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । आगलागीको कारण भने हालसम्म खुलेको छैन ।'  

चिकित्सकको लाइसेन्स परीक्षामा ३९ प्रतिशत उत्तीर्ण

काठमाडौं । चिकित्सकको नाम दर्ता (लाइसेन्स) परीक्षामा ३९ दशमलव ४५ प्रतिशत चिकित्सक उत्तीर्ण भएका छन् । नेपाल मेडिकल काउन्सिलले मंगलबार र बुधबार काउन्सिलले लिएको परीक्षामा सहभागी ९ सय ४३ मध्ये ३ सय ७२ अर्थात् (३९.४५) जना चिकित्सक उत्तीर्ण भएका हुन् । परीक्षाका लागि एमबीबीएस र बीडीएसका गरी ९ सय ६७ जनाले फारम भरेपनि २४ जना अनुपस्थित रहेको काउन्सिलले जनाएको छ ।  एमबीबीएस तर्फ कुल ७ सय ९३ जनाले फारम भरेकोमा ७ सय ७५ जना सहभागी थिए । जसमध्ये ३ सय जना मात्र उत्तीर्ण भएका हुन् । बीडीएस तर्फ फारम भरेका कुल १ सय ७४ मध्ये १ सय ६८ जना मात्र सहभागी भएका थिए । जसमध्ये ७२ जना उत्तीर्ण भएको काउन्सिलले जनाएको छ ।    

पोर्शेबाट मुक्त भएपनि फक्सवागनमा ‘डु अर डाइ’ को अवस्थामा ब्लुमे

काठमाडौं । फक्सवागनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ओलिभर ब्लुमे यस वर्ष निर्णायक परीक्षामा रहेको लगानीकर्ताहरू बताउँछन् । चीनमा घट्दो बजार हिस्सेदारी रोक्नसक्ने र प्रतिस्पर्धीहरूसँगको प्रविधि अन्तर कम गर्न सक्ने क्षमता प्रमाणित गर्नु नै जर्मन अटोमोबाइल कम्पनीको सफल पुनरुत्थानका लागि अनिवार्य तत्व मानिएको छ । स्पोट्र्स कार डिभिजन पोर्शे संकटमा परेपछि जनवरीदेखि फक्सवागन र पोर्शे दुवैको सीईओको दोहोरो भूमिका त्याग्न बाध्य भएका ब्लुमेले समूह सीईओका रूपमा पाँच वर्षे करार विस्तार गर्दै विश्वासको मत भने प्राप्त गरे ।  ब्लुमेको कार्यकालमा कम्पनीहरूको संयुक्त बजार मूल्य करिब ४८ अर्ब युरो (५६ अर्ब डलर) ले घटिसकेको छ । यसले ठूलो क्षति बेहोरेका लगानीकर्ताहरू अब देखिनेगरी नतिजा चाहिरहेका छन् । समय बित्दै जाँदा उनीहरूको धैर्य पनि खस्कँदै गएको छ । रोयटर्सले साना सेयरधनीदेखि लिएर शीर्ष १० ठूला फन्डसम्मका छ जना लगानीकर्तासँग कुरा गर्दा सबैको एउटै धारणा देखियो— ब्लुमेमाथि विश्वको दोस्रो ठूलो कार उत्पादक फक्सवागनलाई पुनर्जीवित गर्ने उनको रणनीति वास्तवमै काम गरिरहेको छ भन्ने ठोस प्रमाण देखाउने दबाब बढ्दो छ । सीईओ ओलिभर ब्लुमे । तीन दशकदेखि फक्सवागनसँग जोडिएका ब्लुमेले सेप्टेम्बरमा म्युनिख कार शोमा चुनौती स्पष्ट पारेका थिए । ‘अटोमोबाइल उद्योगमा दशकौंदेखि मनाइँदै आएको पार्टी अहिलेको स्वरूपमा सकिएको छ,’ उनले भनेका थिए, ‘अब पुनःअभिमुखीकरणको समय आएको छ ।’  ब्लुमेले चीनमा बिक्री पुनर्जीवित गर्न स्थानीय कम्पनीहरूसँग सहकार्य गर्दै ‘इन चाइना, फर चाइना’ रणनीतिमा दाउ लगाएका छन् । विश्वकै सबैभन्दा ठूलो कार बजार चीनमा जहाँ फक्सवागनले कुनै समय वर्चस्व जमाएको थियो । पश्चिमी बजारका लागि तयार पारिँदै गरिएको कम्पनीको भावी सफ्टवेयर प्लेटफर्म घाटामा चलिरहेको क्यालिफोर्नियाली ईभी निर्माता रिभियनसँगको उच्च जोखिमयुक्त संयुक्त लगानीमै टेकेको छ । गत साता सार्वजनिक गरिएको अपेक्षाभन्दा राम्रो २०२५ को नगद प्रवाह (क्यास फ्लो) ले ५७ वर्षीय ब्लुमेका प्रयास सही दिशामा छन् भन्ने आशा बढाएको छ । तर साना सेयरधनीहरूको प्रतिनिधित्व गर्ने ९ हजार सदस्यीय संस्था एसडीकेका मार्क लिब्शरका अनुसार ब्लुमेको गल्ती गर्ने सम्भावना झन् साँघुरिँदै गएको छ । ‘उनीमाथिको दबाब अत्यन्त ठूलो छ,’ उनले रोयटर्सलाई भने, ‘अहिले ब्लुमे अत्यन्त कठिन बजार वातावरणमा आफ्ना प्रारम्भिक दाबीहरू प्रमाणित गर्न बाध्य छन् ।’ लगानीकर्ताहरूका अनुसार फक्सवागनले कुनै समय अर्बौं युरो कमाएको चीन बजार ब्लुमेले तत्कालै पुनःजित्नैपर्छ । २०२४ मा फक्सवागनलाई बीवाईडीले उछिनेको थियो भने गत वर्ष अर्को स्थानीय प्रतिस्पर्धी जिलीपछि तेस्रो स्थानमा झरेको छ । पोर्शे र अडी ब्रान्डहरू पनि संघर्षरत छन् । यो गिरावट ब्लुमे सीईओ बन्नुअघि नै सुरु भएको भए पनि शाङ्घाईबाट इन्जिनियरिङमा पीएचडी गरेका ब्लुमेले अन्ततः समस्यालाई सम्बोधन गर्न थालेको भन्दै केही लगानीकर्ताले श्रेय दिएका छन् । ‘अहिलेसम्म उनले गरेका कामहरू आशाजनक छन्,’ शीर्ष २० फक्सवागन लगानीकर्तामध्येका युनियन इन्भेस्टमेन्टका मोरिट्ज क्रोननबर्गले भने । फक्सवागनले प्रमुख प्रविधि र सवारी विकास चीनमै सारिसकेको छ जसले विकास प्रक्रिया छिटो बनाउने र चिनियाँ उपभोक्ताको रुचिअनुसार उत्पादन उपलब्ध गराउने कम्पनीको दाबी छ । ब्लुमे चीनमा बनेका थप गाडी विदेश निर्यात गर्ने सम्भावनामा पनि छन्, यद्यपि कम्पनीको सबैभन्दा ठूलो बजार युरोप भने हालका लागि यस योजनाबाट बाहिर छ । शाङ्घाई अटाे शाे- २०२५ मा राखिएकाे पाेर्शे जीटीथ्री । चीनमा बनेका गाडी वा पार्टपुर्जाको आयात विस्तार गर्न शक्तिशाली जर्मन श्रमिक प्रतिनिधिहरूको स्वीकृति आवश्यक पर्ने एक कम्पनी स्रोतले रोयटर्सलाई बताएको छ । दुई वर्षभन्दा कम समयअघि जर्मनीमा ३५ हजार रोजगारी कटौती गर्न सहमति दिएको वर्क्स काउन्सिलले यसमा कडा विरोध गर्न सक्ने सम्भावना छ । ब्लुमेले चिनियाँ व्यवसायको समस्या चिनेको देखिए पनि यस्ता अवरोधहरूले केही लगानीकर्तालाई चिन्तित बनाएको छ । ‘यो अझै समस्या पहिचानमै सीमित छ, समाधानमुखी देखिँदैन,’ शीर्ष १० लगानीकर्तामध्येका डीडब्ल्यूएसका हेन्ड्रिक स्मिटले भने । पश्चिमका लागि ब्लुमेको ५ अर्ब डलरको सफ्टवेयर दाउ फक्सवागनको चीनमा देखिएको संकटले परम्परागत अटो इन्जिनियरिङमा अग्रणी कम्पनी सफ्टवेयरप्रधान युगमा पछि पर्दै गएको बुझाउँछ ।  ‘आइफोन आएको झन्डै २० वर्ष हुन लाग्यो,’ एसडीकेका लिब्शरले भने, ‘फक्सवागनले आफ्नै सफ्टवेयर समाधान विकास गर्न नसक्नु लज्जास्पदका साथै चकित पार्ने कुरा हो ।’ आन्तरिक सफ्टवेयर इकाइ क्यारियाडमा वर्षौंदेखिका समस्यापछि ब्लुमेले बाह्य सहयोग लिँदै रिभियनसँग ५ अर्ब डलरको संयुक्त लगानी गरेका हुन् । उनीहरू फक्सवागनका परम्परागत पश्चिमी बजारमा बेचिने भविष्यका उन्नत मोडेलका लागि नयाँ इलेक्ट्रोनिक प्लेटफर्म विकासमा सहकार्य गरिरहेका छन् । भविष्यका मोडेलका लागि नयाँ सफ्टवेयर प्रणालीको परीक्षण निर्णायक चरणमा छ, जसमा थप लगानी निर्भर रहने जनाइएको छ ।  विगतमा सफ्टवेयर ढिलाइकै कारण सीईओ हटाइएकाले पनि यो विषय फक्सवागनका लागि अत्यन्त संवेदनशील बनेको छ । अहिले सेयरधनी परिवारहरूको समर्थन भए पनि नेतृत्वले ठोस नतिजा देखाउनुपर्ने दबाब कायमै छ ।

प्राइम टायल्स बन्यो नेपालकै पहिलो एनएस प्रमाणित टायल कम्पनी

काठमाडौं । नेपाली निर्माण सामग्री उद्योगमा प्राइम टायल्स नेपालकै पहिलो र एकमात्र एनएस प्रमाणित टायल कम्पनी बन्न सफल भएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले प्राइम टायल्सलाई ‘एनएस ६१७’ मापदण्ड पूरा गरेको भन्दै गुणस्तर प्रमाणपत्र प्रदान गरेको हो । यससँगै भित्ता (वाल) र भुइँ (फ्लोर) मा प्रयोग हुने टायल उत्पादनमा नेपाल गुणस्तर चिह्न प्राप्त गर्ने प्राइम टायल्स देशकै पहिलो उद्योग बनेको छ । विभागबाट प्राप्त उक्त प्रमाणपत्रले प्राइम टायल्सका उत्पादनहरू राष्ट्रिय गुणस्तर मापदण्डअनुसार कडा परीक्षण र प्रमाणीकरण भएको पुष्टि गर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यस उपलब्धिले उत्पादनको उच्च गुणस्तर, दीर्घकालीन टिकाउपन, सुरक्षित प्रयोग तथा आधुनिक डिजाइनप्रतिको प्रतिबद्धता थप प्रमाणित गरेको छ । हाल प्राइम टायल्सका विभिन्न डिजाइन र आकारका टायलहरू घर, कार्यालय तथा ठूला व्यावसायिक भवनका लागि बजारमा उपलब्ध छन् । यो प्रमाणपत्र प्राप्तिसँगै नेपाली उपभोक्ताले अब विदेशी टायलमा निर्भर रहनु नपर्ने र स्वदेशी उत्पादनमै पूर्ण भरोसा गर्न सक्ने कम्पनीको विश्वास छ । करिब ३ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा रौतहटमा सञ्चालित यस उद्योगको वार्षिक उत्पादन क्षमता ४० लाख वर्गमिटर रहेको छ । सीएमएस र फर्च्युन भेन्चर्सजस्ता प्रतिष्ठित व्यावसायिक घरानाद्वारा प्रवर्द्धित यस कम्पनीले छोटो समयमै नेपाली बजारमा बलियो उपस्थिति बनाएको छ । हाल देशभर रहेका १२० भन्दा बढी आधिकारिक विक्रेता (डिलर) सञ्जालमार्फत प्राइम टायल्सका उत्पादनहरू ग्राहकसम्म पुगिरहेका छन् ।