नबिल बैंकको ८ प्रतिशत लाभांश दरको अग्राधिकार सेयरको दोस्रो बजारमा कारोबार सुरु
काठमाडौं । नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’को धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको छ । प्रति सेयर अंकित मूल्य १०० रुपैयाँ रहेको चुक्ता मूल्य ५ अर्ब रुपैयाँ भएको पाँच करोड कित्ता सेयरको यही २०८२ चैत्र १६ गते सोमबारदेखि कारोबार सुरु भएको हो। धितोपत्रको दोस्रो बजारमा कारोबार हुने यस प्रकारको अविमोच्य असञ्चिति अग्राधिकार सेयर संस्थागत लगानीकर्ताबीच मात्रै खरिद बिक्री हुनेछ । साथै सर्वसाधारण लगानीकर्ता, नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त धितोपत्र व्यवसायी (धितोपत्र दलाल व्यापारी, मर्चेन्ट बैंकर लगायत) र सामूहिक लगानी कोषले यो अग्राधिकार सेयर खरिद बिक्री गर्न नपाउने व्यवस्था छ । नेपाल राष्ट्र बंैक तथा नेपाल धितोपत्र बोर्डले अविमोच्य असञ्चिति अग्राधिकार शेयरसम्बन्धी नीतिगत व्यवस्था गरेपश्चात यस किसिमको अग्राधिकार सेयर जारी गर्ने स्वीकृति नेपाल धितोपत्र बोर्डबाट पहिलोपटक नबिल बैंकले प्राप्त गरेको थियो । उक्त उपकरण जारी गरेपश्चात अतिरिक्त प्राथमिक पुँजीका माध्यमबाट पुँजीगत आधार बलियो भई बैंकको जोखिम वहन गर्ने क्षमता बढ्ने र व्यवसाय विस्तारमा थप सहयोग पुग्ने बैकले विश्वास लिएको छ । नबिल बैंकले देशभर २६८ शाखा सञ्जालसहित ३१८ एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । बैंकले २५ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ । चार दशकदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले पछिल्लो समयमा दिगो बैंकिङको अवधारणालाई आत्मसाथ गर्दै डिजिटल बैंकिङका लागि एनबैंक सञ्चालनमा ल्याएको छ ।
नेपाल टेलिकमले थ्रीजी सेवा बन्द गर्ने, ग्राहकलाई निःशुल्क फोरजी सिम लिन आग्रह
काठमाडौं । नेपाल टेलिकमले आफ्नो सेवालाई थप आधुनिक र गुणस्तरीय बनाउने उद्देश्यका साथ निकट भविष्यमा थ्रीजी सेवालाई क्रमिक रूपमा बन्द गर्ने प्रक्रिया अगाडि बढाएको छ । पुरानो प्रविधिलाई हटाएर नयाँ र द्रुत गतिको फोरजी सेवामा पूर्ण रूपमा रूपान्तरण गर्ने लक्ष्य राखेको कम्पनीले हाल थ्रीजी सिम प्रयोग गरिरहेका ग्राहकहरूलाई आफ्नो सिम कार्ड परिवर्तन गर्न एसएमएस र भ्वाइस कलमार्फत औपचारिक जानकारी गराइरहेको छ । ग्राहकहरूले आफ्नो पुरानो थ्रीजी सिमलाई कुनै पनि शुल्क नतिरी अर्थात् निःशुल्क रूपमा फोरजी सिममा साट्न सक्ने टेलिकमले जनाएको छ । नयाँ सिम लिनका लागि ग्राहकहरूले आफ्नो पायक पर्ने नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गर्नुपर्नेछ । सिम परिवर्तन गर्दा ग्राहकले आफ्नो पहिचान खुल्ने आधिकारिक कागजातहरू जस्तै, नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी वा सवारी चालक अनुमतिपत्र मध्ये कुनै एकको प्रतिलिपि साथमा लैजानुपर्ने प्रावधान राखिएको छ । सिम फोरजी प्रविधिको हो वा होइन भन्ने थाहा पाउनका लागि *444# डायल गर्न सकिन्छ । यसबाट फोरजी सेवा सक्रिय गर्नुका साथै उच्च गुणस्तरको भोल्टी सेवासमेत सहजै सक्रिय गर्न सकिने टेलिकमले जनाएको छ । कम्पनीले थ्रीजी प्रयोगकर्तालाई फोरजीमा लैजाने कार्यलाई अहिले निकै तीव्र बनाएको छ । थ्रीजीको तुलनामा फोरजी प्रविधिमा मोबाइल इन्टरनेटको गति उच्च हुनुका साथै सेवाको गुणस्तरमा समेत उल्लेख्य सुधार आउने भएकाले यसबाट ग्राहकहरूले थप उत्कृष्ट डिजिटल अनुभव र फाइदा प्राप्त गर्ने विश्वास नेपाल टेलिकमले लिएको छ।
एमालेको संसदीय दलको नेतामा बादल
काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन भएका छन् । बुधबार बसेको संसदीय दलको बैठकले थापालाई निर्विरोध चयन गरेको हो । संसदीय दलमा अर्का सांसद सुहाङ नेम्वाङले चाहना राखे पनि अन्तिममा थापा नै निर्विरोध भएको संसदीय दलका निर्वाचन प्रमुख निरज आचार्यले जानकारी दिए ।
कांग्रेसले भन्यो : पूर्णबहादुरले लेटरप्याडको दुरुपयोग गरे, कारवाही हुन्छ
काठमाडौं । नेपाली कांग्रेसले पूर्णबहादुर खड्काले उपसभापतिको हवाला दिँदै पार्टीको लेटरप्याडको दुरुपयोग गरेको बताएको छ । बुधबार नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले यस्तो बताएको हो । बैठकले भनेको छ, ‘विभिन्न संचारमाध्यम तथा सामाजिक संजालहरुमा नेपाली कांग्रेसको नक्कली लेटरप्याड बनाएर प्रयोग गरी आफूसँग नभएको जम्मेवारी उल्लेख गर्दै आफु पार्टीको जिम्मेवारीमा छु भनी मिति २०८२ चैत्र १४ गते अनाधिकृत वक्तव्य जारी गर्ने कार्य गलत भएकोले सचेत गराइने निर्णय पनि गरेको छ । अब उप्रान्त यस किसिमको गलत काम गर्ने जो कोही व्यक्ति उपर नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) र प्रचलित नेपाल कानुन बमोजिम कारवाही प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ ।’ खड्काले पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ भएपछि उपसभापतिको रुपमा सरकारले गलत गरेको वक्तव्य जारी गरेका थिए ।
खातामा प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी एशिया बैंकको अनुरोध
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) र इमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ । बैंकका ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकोले ग्राहकहरूले बैंकको पोर्टल वा मोबाइल बैंकिङ एप (एनआईसी एसिया मोबैंक) मा रहेको पान अपेड अप्सनमा ट्याप गरी आफ्नो प्यान यथाशीघ्र अद्यावधिक गर्न सकिनेछ । साथै ग्राहकहरूले आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अद्यावधिक गर्नको लागि आवेदन दिन सकिने प्रबन्ध मिलाइएको छ । बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानी वापत काटिएको करलाई ई–टीडीएस रेकर्डमा जनाउनको लागि प्यान अत्यावश्यक रहेको छ । उक्त प्यान अद्यावधिक भएपश्चात् निजहरूको करकट्टीको विवरण ई–टीडीएस सो प्यानमा प्रविष्ट गरिने हुँदा आयकरको प्रणालीले स्वचालित रुपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्ने गर्दछ । जसले गर्दा ग्राहकहरूलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनुका साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्थाको समेत अन्त्य गर्ने बैंकले विश्वास लिएको छ । ग्राहकले प्यान अद्यावधिक नगराएको कारणले ई–टीडीएसमा ब्याजकर दाखिला नभएको अवस्थामा र त्यस उप्रान्त ब्याज करमा थप समायोजन गर्नु परेको अवस्थामा बैंक जिम्मेवार नहुने बेहोरासमेत बैंक सम्पूर्ण ग्राहकहरूमा जानकारी गराएको छ । साथै बैंकले आफ्नो खातामा ईमेल ठेगाना समेत अद्यावधिक गर्न अनुरोधसमेत गरेको छ ।
पूर्णबहादुरलाई कारवाही गर्ने कांग्रेसको चेतावनी, असहयोग गर्ने ५०७ नेतालाई स्पष्टीकरण माग
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा आफ्नै पार्टीलाई सहयोग गर्ने ५०७ जना नेता/कार्यकर्तालाई कांग्रेसले स्पष्टिकरण सोध्ने भएको छ । बुधबार नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले यस्तो निर्णय गरेको हो। समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा बुधबार पार्टी केन्द्रीय कार्यालय बी.पी. स्मृति भवनमा बसेको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा अनुशासन उल्लंघन गरिएको भनी विभिन्न जिल्ला र प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरूले नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिमा हालसम्म ५०७ जना व्यक्तिको विरुद्ध दिएको उजुरीहरूलाई विभिन्न वर्गीकरणमा राखेर स्पष्टिकरण सोध्ने निर्णय गरेको हो । बैठकले निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएका र प्रस्तावक समर्थक बसेका, निर्वाचनमा पार्टीका उम्मेदवार विरुद्ध प्रचार प्रसारमा प्रत्यक्ष सहभागी भएका, पार्टी उम्मेदवारका विरुद्ध अप्रत्यक्ष रूपमा विपक्षीलाई टेवा पुर्याएका, निर्वाचनमा नेपाली कांग्रेसलाई मत नमागी साइलेन्स किलिङको काम गरेका र (ङ) नेपाली कांग्रेसबाट जनप्रतिनिधि निर्वाचित भई प्रतिनिधि सभाको निर्वाचनमा विपक्षीलाई सहयोग गरेकालाई गरी ५ भागमा वर्गीकरण गरेको हो । छानबिनबाट वर्गीकरण गरिएका उजुरीको हकमा अनुशासन उल्लंघन गरेको भनी आरोप लागेका व्यक्तिहरूबाट ७ (सात) दिनभित्र स्पष्टिकरण (सफाइ) माग गर्ने निर्णय गरेको हो । यस्तै, विभिन्न संचारमाध्यम तथा सामाजिक सञ्जालहरूमा नेपाली कांग्रेसको नक्कली लेटरप्याड बनाएर प्रयोग गरी आफूसँग नभएको जम्मेवारी उल्लेख गर्दै आफू पार्टीको जिम्मेवारीमा छु भनी मिति २०८२ चैत्र १४ गते अनधिकृत वक्तव्य जारी गर्ने कार्य गलत भएकोले सचेत गराइने निर्णय पनि गरेको छ । अब उप्रान्त यस किसिमको गलत काम गर्ने जो कोही व्यक्ति उपर नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) र प्रचलित नेपाल कानुन बमोजिम कारवाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेको बताएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का सन्दर्भमा पार्टीका सदस्यहरूले अनुशासन उल्लंघन गरेका भए सो को उजुरी २०८२ चैत्र मसान्त भित्र नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिमा पठाउन निर्देशन गर्ने निर्णय गरेको छ । ततपश्चात प्राप्त हुन आएका उजुरी उपर कुनै कारवाही नगरिने उल्लेख गरेको छ ।
कुमारी बैंकले मर्ज गर्यो २४ वटा शाखा र काउन्टर
काठमाडौं । कुमारी बैंकले महानगरपालिकाहरूमा २४ वटा शाखा कार्यालय तथा विस्तारित काउण्टर मर्ज गरेको छ । बैंकका अनुसार ९ वटा शाखा चैत २ गते र १५ वटा शाखा कार्यालय चैत १५ गते मर्ज गरेको हो । बैंकका अनुसार काठमाडौं महानगरपालिकाका महाराजगन्ज विस्तारित काउन्टर महाराजगन्ज शाखामा, सामाखुशी विस्तारित काउन्टर सामाखुशी शाखामा, कुलेश्वर विस्तारित काउन्टर कुलेश्वर शाखामा, ताहाचल विस्तारित काउन्टर डल्लु शाखामा, जनवहाल शाखा न्यूरोड शाखामा गाभिएर बैंकिङ सेवा सुरु गरेका छन् । यस्तै, बानेश्वर शाखा मर्जरपश्चात् मैतीदेवी, बसुन्धारा शाखा मर्जरपश्चात् महाराजगन्ज शाखा, सिफल शाखा मर्जरपश्चात् चाबहिल शाखाबाट सेवा सुचारु भएको बैंकले जनाएको छ । साथै बल्खु विस्तारित काउन्टर मर्जर पश्चात् कुलेश्वर, जैसीदेवल विस्तारित काउन्टर मर्जर पश्चात् न्यूरोड पाको, बालाजु विस्तारित काउन्टर मर्जर पश्चात् बालाजु शाखा र छाउनि विस्तारित काउन्टर मर्जर पश्चात् डल्लु शाखाबाट बैंकिङ सेवा सुचारु भएको छ । बैंकका अनुसार ललितपुर महानगरपालिकाको टंगल शाखा मर्ज भई मंगलबजार शाखा, भरतपुर महानगरपालिकाका शहिद चोक र पोखरा बसपार्क शाखा मर्जरपश्चात् नारायणगढ शाखा, भरतपुर शाखा मर्जरपश्चात् हाकिमचोकबाट बैंकिङ सेवा सुरु भएको छ । यस्तै, पोखरा महानगरपालिकाको बाँझापाटन शाखा मर्ज भई काहुँखोला शाखा, पोखरा शाखा मर्ज भई चिप्लेढुंगा शाखा, बिरौटा शाखा मर्ज भई लेकसाइड, अमरसिंहचोक शाखा मर्ज भई चिप्लेढुंगा शाखाबाट सेवा सुचारु भएको छ । विराटनगर महानगरपालिकाको मेनरोड शाखा मर्ज भई विराटनगर शाखा, बरगाछी शाखा मर्ज भई विराटनगर शाखा, विरगन्ज महानगरपालिकाको प्रतिमाचोक शाखा मर्जरपश्चात् विरगन्ज, ड्राइपोर्ट शाखा मर्जरपश्चात् सिर्सिया शाखाबाट सेवा सुचारु भएको बैंकले जनाएको छ ।
एनसेलले दैनिक १०० एमबी निःशुल्क डेटा दिँदै, हरेक हप्ता ५० जीबीसम्म जित्ने सकिने
काठमाडौं । एनसेलले ग्राहकका लागि एनसेल एपमार्फत दैनिक १०० एमबी निःशुल्क डेटा पाइने अफर सञ्चालनमा ल्याएको छ । यसका साथै ग्राहकले हरेका हप्ता आकर्षक डेटा भोल्युम पुरस्कार स्वरूप जित्न सक्छन्। ग्राहक अनुभव अभिवृद्धि र डिजिटल प्रयोगलाई प्रोत्साहन गर्ने आफ्नो प्रतिबद्धता बमोजिम कम्पनीले यो अफर सञ्चालनमा ल्याएको हो । यस अफरअन्तर्गत सबै एनसेल ग्राहकहरूले हरेक दिन एनसेल एपको बाई प्याक मेनुमा गई १०० एमबी निःशुल्क डेटा सक्रिय गर्न सक्छन् । यसले ग्राहकलाई एपका विभिन्न सुविधाहरू प्रयोग गर्दै सधैं कनेक्टेड रहन मद्दत गर्दछ । यो अफरको उद्देश्य ग्राहकलाई आधारभूत ग्राहक सेवा भन्दा बाहिर गएर डिजिटल जीवनशैली अपनाउन प्रेरित गर्नु हो । एनसेल एप डिजिटल माध्यमबाट सजिलै विभिन्न ग्राहक सेवाहरु लिन सकिने एक प्लेटफर्म हो जसले रिचार्ज सेवा, डेटा तथा भ्वाइस प्याक खरिद, अन्य विभिन्न सेवालगायत गेमहरू एकै ठाउँमा उपलब्ध गराउँछ । सहज र छिटो पहुँचमार्फत ग्राहकहरूले यस एपबाट सहज रूपमा सेवाहरू लिन सक्छन् । ग्राहक संलग्नता थप बढाउन एनसेलले ‘प्ले एन्ड वीन’ अफर पनि ल्याएको छ, जसअन्तर्गत ग्राहकहरूले साप्ताहिक रुपमा एपमा आधारित गतिविधिहरूमा सहभागिता जनाएर ५० जीबीसम्म डेटा जित्न सक्छन्। प्रयोगकर्ताहरूले दैनिक रुपमा एपमा गई स्पीन द ह्वील, म्याथ च्यालेन्ज, एनसेल रनर, स्क्राच एन्ड वीन जस्ता गेमहरुमामा संलग्न भई आफ्नो अंकहरू संकलन गर्न सक्छन् । हप्ताभरि संकलन भएको अंकका आधारमा ग्राहकहरुको स्थान निर्धारण गरिन्छ र सोही अनुसार उनीहरुले आकर्षक डेटा पुरस्कारका रुपमा जित्नेछन् । प्रत्येक हप्ता कुल ३,४१० जना ग्राहकले डेटा पुरस्कारका रुपमा प्राप्त गर्नेछन्, जसमा शीर्ष १० जनाले ५० जीबी डेटा प्राप्त गर्नेछन् । उत्कृष्ट १ देखि १० जना ग्राहकहरूले जनही ५० जीबी डेटा प्राप्त गर्नेछन् भने ११ देखि ६० स्थानसम्मका ग्राहकहरूले १० जीबी, ६१ देखि १६० स्थानसम्मका ग्राहकहरूले ५ जीबी, १६१ देखि ४१० स्थानसम्मका ग्राहकहरूले १ जीबी, ४११ देखि ९१० स्थानसम्मका ग्राहकहरूले ५०० एमबी र ९११ देखि ३ हजार ४१० स्थानसम्मका ग्राहकहरूले जनही १०० एमबी डेटा पुरस्कार प्राप्त गर्नेछन् । यो निःशुल्क डेटा अफर एनसेलको डिजिटल समावेशीकरण तथा ग्राहक संलग्नता अभिवृद्धि गर्ने योजना अन्तर्गत सञ्चालनमा ल्याइएको हो । दैनिक निःशुल्क डेटा र विभिन्न क्रियाकलापमार्फत ग्राहक अनुभव अभिवृद्धि गर्दै एनसेलले डिजिटल पहुँचलाई अझ आकर्षक, सहभागितामूलक र सबैका लागि सहज बनाउने लक्ष्य राखेको छ ।