auto


चीनको अटो बजार : मूल्य प्रतिस्पर्धाले उद्योगमा ठूलो परिवर्तनको डर उत्पन्न

काठमाडौं । चीनको अटो उद्योगमा तीव्र बन्दै गएको मूल्ययुद्धले विश्वकै सबैभन्दा ठूलो गाडी बजारमा लामो समयदेखि अनुमान गरिएको ठूलो परिवर्तन (सेक-आउट) को डर बढाएको छ । चिनियाँ इलेक्ट्रिक गाडी निर्माता बीवाईडीले एक दर्जनभन्दा बढी मोडेलमा नयाँ छुटहरूको घोषणा गरेपछि ठूला गाडी निर्माता कम्पनीहरूका सेयर सोमबार घटे । बीवाईडीको मूल्य कटौतीले यसको सबैभन्दा सस्तो मोडेल सीगल ह्याचब्याक(ब्याट्रीबाट चल्ने) को सुरुवाती मूल्य करिब १० हजार डलरबाट घटाएर ५५ हजार ८०० युआन (७ हजार ७६५ डलर) बनायो । सीनो अटो इनसाइज्ट्सका प्रबन्ध निर्देशक टु लीका अनुसार बीवाईडीको मूल्य कटौती र अन्य घटनाक्रमहरूले कमजोर कम्पनीहरूले मूल्यमा लगातार भइरहेको गिरावट र घाटा धान्न नसक्ने अवस्था आउन सक्ने औंल्याए । उनले नेटा, पोलेस्टरजस्ता पहिले नै संघर्षरत स्टार्टअपहरूलाई दबाबमा पार्न सक्ने बताउँछन् । शुक्रबार ग्रेट वाल मोटर्सका अध्यक्ष वेई जिआनजुनले चेतावनी दिएका थिए कि चीनको अटो उद्योग अस्वस्थ अवस्थामा पुगेको छ, जहाँ मूल्य प्रतिस्पर्धाले कार निर्माता र आपूर्तिकर्ताहरूको नाफामा गहिरो असर पारेको छ । उनले चिनियाँ रियल स्टेट कम्पनी इभरग्रान्डसँग तुलना पनि गरे, जुन ठूलो ऋण संकटपछि गत वर्ष बन्द भयो । 'अहिले अटोमोबाइल उद्योगमा ‘एभरग्रान्ड’ पहिले नै छ तर अझै पतन भएको छैन,' उनले सीना फाइनान्ससँगको अन्तर्वार्ताका क्रममा भने । बजारमा तनावको अर्को संकेतस्वरूप रोयटर्सले रिपोर्ट गरेको छ कि चिनियाँ नियामकहरू 'प्रयोगशाला गाडी' बिक्रीबारे अनुसन्धान गरिरहेका छन्, जुन वास्तवमा नयाँ गाडीहरू हुन् तर ‘जीरो माइल्स’ मा बिक्री गरिन्छन् । एक स्रोतका अनुसार कम्पनीहरू आक्रामक बिक्री लक्ष्य पुरा गर्न यस्तो तरिका अपनाइरहेका छन् । पछिल्लो दशकमा धेरै स्टार्टअप कम्पनीहरू चीनको अटो बजारमा प्रवेश गरेका छन्, मुख्य रूपमा विद्युतीय गाडी (ईभी) क्षेत्रको तीव्र विकासको कारण । तर अहिले बजार अत्यधिक प्रतिस्पर्धी भएको छ र धेरै कम्पनीहरू ठूलो घाटामा चलिरहेका छन् । जाटो डाइनामिक्सको तथ्याङ्कअनुसार चीनमा हाल सक्रिय १६९ गाडी कम्पनीहरूमध्ये आधाभन्दा बढीको बजार हिस्सा ०.१ प्रतिशतभन्दा कम छ । यो अवस्था २०औं शताब्दीको सुरुमा अमेरिकाको अटो उद्योग जस्तै हो, जहाँ फर्डजस्ता ठूला कम्पनीहरूसँग प्रतिस्पर्धा गर्दै सयौं कम्पनीहरू बजारमा आएका थिए, अन्ततः केही उद्योग बन्द भए त केही मर्जरमा गए ।   लीले भनेअनुसार मूल्ययुद्ध करिब तीन वर्षदेखि चलिरहेको छ । सुरुमा ड्राइभर असिस्टेन्ट प्रणालीहरू (जसले केही अवस्थामा स्टेयरिङ र ब्रेकिङ नियन्त्रण गर्छ) जस्ता विशेषताहरूका लागि ग्राहकहरूले बढी मूल्य तिर्थे तर अहिले यी सुविधा बहुसंख्यक कम्पनीहरूले सामान्य मूल्यमै दिन थालेका छन् । गत हप्ता, चीनको राज्य योजना आयोगले चेतावनी दिएको थियो कि केही उद्योगहरूमा प्रतिस्पर्धा अत्यधिक भइसकेको छ, केही कम्पनीहरूले लागतभन्दा सस्तो मूल्यमा गाडी बिक्री गरिरहेका छन्, जसले निष्पक्ष प्रतिस्पर्धा विथोलिरहेको छ । शुक्रबार ग्रेट वालका अध्यक्ष वेई ले भने,  'यो दीर्घकालीन मूल्य युद्धले गाडी आपूर्ति शृंखलालाई असर गरिरहेको छ । कार कम्पनीहरूबाट मूल्य घटाउन दबाब आएपछि केही आपूर्तिकर्ता कम्पनीहरू बन्द हुने खतरा छ ।' 'केही उत्पादनहरू २ लाख २० हजार युआनबाट १ लाख २० हजार युआनसम्म घटाइएको छ । एक लाख युआन घटाएर अझै गुणस्तर कायम राख्न सकिने कुन औद्योगिक उत्पादन हुन्छ ?,’ उनले थपे । चीनको अटो उद्योगमा लामो समयदेखि एकीकरण हुने अनुमान हुँदै आएको भए पनि कम्पनीहरूको संख्या अझै बढिरहेको माइकल जे डुने नामक विश्लेषकले बताए।  'बीवाईडीको मूल्य कटौतीले केही कमजोर कम्पनीहरूलाई बजारबाट हटाउनेछ,’ उनले भने, 'तर यहाँ हरेक पतनसँगै साओमी वा हुवावेजस्ता नयाँ खेलाडीहरू मैदानमा छिर्दै छन् ।’

टोयोटाले २०२७ सम्म १५ वटा ईभी मोडेल विकास गर्ने, १० लाख उत्पादन लक्ष्य

काठमाडौं । टोयोटाले सन् २०२७ सम्म आफ्नै प्रविधिमा आधारित करिब १५ वटा इलेक्ट्रिक सवारीसाधन (ईभी) मोडेल विकास गर्ने लक्ष्य राखेको छ र त्यसबेला सम्म प्रति वर्ष १० लाख कार उत्पादन गर्ने तयारी गरिरहेको छ । जापानी पत्रिका निक्केईले आइतवार यस्तो जानकारी दिएको हो । टोयोटाले यस विषयमा भने कुनै टिप्पणी गर्न अस्वीकार गरेको छ । निक्केईका अनुसार टोयोटाले अहिले जापान र चीनमा मात्र निर्माण भइरहेका पाँचवटा ईभी मोडेल आफ्नै प्रविधिबाट विकास गरेको छ । अमेरिकामा, थाइल्यान्ड र अर्जेन्टिनामा उत्पादन विस्तार गर्नाले शुल्क तथा मुद्रा सटही जोखिम कम गर्न र डेलिभरी समय घटाउन मद्दत पुग्ने उल्लेख गरिएको छ । यी १५ वटा ईभी मोडेलमध्ये केही टोयोटाको लक्जरी ब्रान्ड लेक्सस अन्तर्गतका हुनेछन् ।  टोयोटाले अहिले सन् २०२६ मा करिब ८ लाख इकाइ उत्पादन गर्ने अपेक्षा गरेको छ, जुन अघिल्लो योजनाको करिब ५० प्रतिशतले कम हो । टोयोटाले यसअघि सन् २०२६ सम्ममा प्रति वर्ष १५ लाख र सन् २०३० सम्ममा ३५ लाख ईभी बेच्ने योजना रहेको बताएको थियो, तर ती संख्या लगानीकर्ताहरूका लागि मार्गदर्शक सूचक मात्रै रहेको कम्पनीको भनाइ थियो । सन् २०२४ मा टोयोटाले विश्वभर झण्डै १ लाख ४० हजार ईभी बिक्री गरेको थियो, जुन अघिल्लो वर्षको तुलनामा करिब एक तिहाइले बढी हो । ती बिक्रीहरू कम्पनीका कुल १ करोडभन्दा बढी सवारीसाधन बिक्रीमध्ये २ प्रतिशतभन्दा कम रहेका छन्। यी पनि पढ्नूहोस् : बेलायतको ज्यागुआर ल्याण्ड रोभरले आफ्ना गाडी अमेरिका नपठाउने ट्रम्प ट्यारिफ : निसानले मेक्सिकोमा बनेका इन्फिनिटी एसयूभीहरूको लागि नयाँ अमेरिकी अर्डर नलिने