ईभी


भारतको नम्बर वान इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड 'रिभोल्ट' नेपालमा सार्वजनिक, ३ लाखदेखि सुरु

काठमाडौं ।  भारतको नम्बर वान इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड रिभोल्ट मोटर्स नेपालमा सार्वजनिक भएको छ । एमभी दुगड समूहले आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी रिभोल्ट मोटर्स सार्वजनिक गरेको छ । एमभी दुगड समूहले काठमाडौंको नक्सालमा रहेको फ्ल्यागशिप शो-रूममा पाँच भेरियन्टका ईभी मोटरसाइकल सार्वजनिक गरेको हो । नेपालको दिगो यातायातलाई अझ सम्वृद्ध बनाउने प्रणका साथ नेपालको प्रतिष्ठित व्यापारिक समूह एमभी दुगड समूहले भारतको नम्बर वान इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड रिभोल्टसँग साझेदारी गरी नेपालमा ईभी मोटरसाइकल सार्वजनिक गरेको हो । सार्वजनिक भएका ईभी मोटरसाइकल नेपाली यात्रुहरूको आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको एमभी दुगड समूहले दाबी गरेको छ ।  रिभोल्टको ईभी मोटरसाइकलले एक पटक चार्ज गर्दा १५० किलोमिटर दूरी प्रदान गर्छ । यसमा तीनवटा स्मार्ट राइडिङ मोड (ईको, सिटी, स्पोर्ट) रहेका छन् । साथै यसमा मोबाइल एप कनेक्टिभिटी उपलब्ध छ । भेरियन्ट र मूल्य आरभी फोर हन्ड्रेड : यो रिभोल्टको फ्ल्यागशिप मोडेल हो जसको मूल्य ४ लाख ४९ हजार रुपैयाँ तोकिएको छ । आरभी फोर हन्ड्रेड बीआरजेड : यो प्रदर्शनयुक्त तर पहुँचयोग्य मूल्यको मोटरसाइकल हो, यसको मूल्य ४ लाख १९ हजार रुपैयाँ राखिएको छ । आरभी ब्लेज एक्स : ४ किलोवाट पिक मोटर पावर भएको नयाँ शक्तिशाली भेरियन्ट हो, जसको मूल्य  ३ लाख ९९ हजार रुपैयाँ रहेको छ । आरभी वान प्लस : एक व्यावहारिक र स्टाइलिश कम्युटर बाइक हो, यसको मूल्य ३ लाख ४९ हजार रुपैयाँ तोकिएको छ । आरभी वान : दैनिक यात्राको लागि उपयुक्त इन्ट्री-लेभल इलेक्ट्रिक मोटरसाइकल हो, जसको मूल्य २ लाख ९९ हजार रुपैयाँ राखिएको छ । सबै मोडेलहरू आईपी ६७- रेटेड ब्याट्री प्याक, कम्बाइन्ड ब्रेकिङ सिस्टम, रिभर्स असिस्ट र रीजेनेरेटिभ ब्रेकिङजस्ता सुविधासहित आएका छन् । इन्टिग्रेटेड मोबाइल कनेक्टिभिटी सुविधाहरूमा जियो-फेन्सिङ, जीपीएस ट्र्याकिङ, ब्याट्री हेल्थ डायग्नोस्टिक्स, एन्टी-थेफ्ट अलर्ट लगायतका फिचर्स समावेश छन् । यी सवारी साधारण १६ ए घरेलु सर्किटबाट पनि सजिलै चार्ज गर्न सकिने सुविधा छ। एमभी दुगड समूहका अध्यक्ष मोतीलाल दुगडले शुभारम्भ कार्यक्रममा भने, 'हामी रिभोल्ट मोटर्सलाई नेपालमा भित्र्याउन पाउँदा अत्यन्तै गर्वित छौं । वातावरणमैत्री प्रविधिको माध्यमबाट नेपाली यात्रुहरूलाई सशक्त बनाउने हाम्रो प्रतिबद्धताको घोषणा हो ।’ 'ईन्धनको मूल्यवृद्धि र वातावरणप्रतिको चेतनाको वृद्धिको सन्दर्भमा रिभोल्टका इलेक्ट्रिक बाइकहरू परम्परागत सवारीसाधनको तुलनामा उच्चतम विकल्प हुन्,’ उनले थपे । १५ स्थानमा शो-रूम खोल्ने योजना एमभी दुगड समूहले देशका मुख्य सहरहरू- पोखरा, विराटनगर, नेपालगञ्ज, बुटवल र धनगढीलगायत १५ स्थानहरूमा शो-रूमहरू खोल्ने योजना बनाएको छ । हरेक शो-रूममा तालिमप्राप्त ईभी प्राविधिक, सर्भिस संरचना र प्रामाणिक सामानहरूको पर्याप्त उपलब्धता हुने जनाइएको छ । रिभोल्टको अग्रिम बुकिङ आजैदेखि खुला गरिएको छ, जहाँ पहिलो १०१ ग्राहकहरूका लागि विशेष लाभ उपलब्ध छन् । एमभी दुगड समूह १४१ वर्ष पुरानो गौरवशाली इतिहास बोकेको एमभी दुगड समूह नेपालकै सबैभन्दा ठूलो र सम्मानित पारिवारिक व्यापारिक समूहहरूमध्ये एक हो । यस समूहले अटोमोबाइल, जलविद्युत्, निर्माण, कृषि, बैंकिङ, जीवन बीमा, साधारण बीमा, पुनर्बीमा र कोल्ड स्टोरेजजस्ता विभिन्न क्षेत्रमा देशको समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । रिभोल्ट मोटर्स सन् २०१७ मा स्थापना भएको रिभोल्ट मोटर्स भारतको इलेक्ट्रिक सवारीसाधन क्षेत्रमा अग्रणी संस्था हो । यसले इलेक्ट्रिक मोटरसाइकल मात्रै होइन, यसको आधिकारिक डिलरहरूमार्फत सम्पूर्ण पाट्र्स र सामानहरूको आपूर्ति पनि गर्दै आएको छ ।

ईयू र चीनले विद्युतीय सवारीसाधनहरूमा न्यूनतम मूल्य तोक्ने विषयमा छलफल गर्ने

  काठमाडौं । युरोपेली आयोग (ईयू) र चीनले बिजुली सवारी साधनहरूमा लगाइएको शुल्कको सट्टामा न्यूनतम मूल्य निर्धारणको सम्भावनाबारे छलफल गर्ने सहमति गरेको ईयूका प्रवक्ताले बताएका छन् । प्रवक्ताका अनुसार ईयूका व्यापार आयुक्त मार्काेस सेफकोभिकले चिनियाँ वाणिज्य मन्त्री वाङ वेन्टाओसँग कुराकानी गरेका थिए र दुबै पक्ष न्यूनतम मूल्य निर्धारणको सम्भावनाबारे छलफल गर्न सहमत भएका थिए ।  चीनको वाणिज्य मन्त्रालयले एक विज्ञप्तिमा वार्ता तुरुन्तै सुरु हुने जनाएको छ । सेफकोभिकले यसअघि कुनै पनि न्यूनतम मूल्य निर्धारण ईयूले लगाएको शुल्क जत्तिकै प्रभावकारी र कार्यान्वयनयोग्य हुनुपर्ने बताएका थिए । ईयूले अघिल्लो पटक गरेको न्यूनतम मूल्य सम्झौता समान प्रकृतिका वस्तुहरू (जस्तैः कच्चा पदार्थ) मा केन्द्रित भएको थियो, सवारीसाधनजस्ता जटिल उत्पादनहरूमा होइन । आयोगले भनेको छ कि एउटै न्यूनतम मूल्यले अनुदानका कारण भएको क्षतिलाई पर्याप्त रूपमा सम्बोधन गर्न सक्दैन । ईयूले गत अक्टोबरमा चीनमा बनेका इलेक्ट्रिक सवारीमा ४५.३ प्रतिशतसम्मको शुल्क बढाएको थियो । तर ब्रसेल्स र बेइजिङले आयातित कारहरूका लागि करहरू हटाउने विचार अघि सारेका छन् । युरोपेली आयोगले चीनसँग शुल्कको विकल्पमा वार्ता जारी राख्न इच्छुक रहेको बताएको छ । यसमा बीवाईडीद्वारा निर्मित गाडीहरूमा १७.०, जीलीमा १८.८, र एसएआईसीमा ३५.३ प्रतिशत अतिरिक्त शुल्क समावेश छन्– जुन ईयूको १० प्रतिशत मानक सवारी आयात शुल्कबाहेक थपिएका थिए । यो लामो समयदेखिको व्यापार विवादलाई समाधान गर्नका लागि हुने सम्भावित सम्झौताले फ्रेन्च कन्कको व्यापारलाई पनि प्रभावित बनाएको छ, किनभने बेइजिङले प्रतिशोधस्वरूप फ्रेन्च ब्रान्डीमा शुल्क लगाएको थियो । उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि ईयू र चीनजस्ता निकट व्यापार साझेदारहरूसँग व्यापार युद्ध थालेका छन् । बेइजिङले फ्रेन्च कन्कमा प्रतिबन्ध लगाएपछि हेनेसी, पर्नाेड रिकार्डजस्ता विश्वका प्रमुख ब्रान्डी उत्पादकहरूको बिक्री चीनमा घटेको छ– जुन विश्वको दोस्रो ठूलो अर्थतन्त्र र ठूलो बजार हो । जर्मन अटो उद्योग संघले ईयू र चीनबीच भएको वार्तालाई स्वागत गर्दै ती शुल्कहरूलाई ’गल्ती’ भनेको छ र वार्तामार्फत समाधानको माग गरेको छ । जर्मन कार निर्माता कम्पनीहरूले गत वर्ष आफ्नो एक तिहाइ बिक्री चीनमा गरेका थिए । तिनीहरूले यी शुल्कहरूको विरोध गरेका छन् किनभने चीन अमेरिकापछिको दोस्रो सबैभन्दा ठूलो व्यापार साझेदार हो । २५ प्रतिशत अटो ट्यारिफले अमेरिकी अटो निर्माता कम्पनीलाई थप १०८ अर्ब डलर लागत लाग्ने साउदीमा टेस्लाको डेब्यू : मरुभूमिको गर्मी, थोरै चार्जिङ स्टेशन र बीवाईडीसँग प्रतिस्पर्धा

साउदीमा टेस्लाको डेब्यू : मरुभूमिको गर्मी, थोरै चार्जिङ स्टेशन र बीवाईडीसँग प्रतिस्पर्धा

काठमाडौं । टेस्लाले बिहीबारदेखि साउदी अरेबियामा कार बेच्न सुरु गरेको छ । यो देशको राजधानी रियाद र पवित्र सहर मक्का जोड्ने ९०० किलोमिटर लामो पूर्व-पश्चिम राजमार्गमा एउटा पनि चार्जिङ स्टेशन छैन । टेलिमेट्री विश्लेषक साम अबुएल्सामिदका अनुसार गत वर्ष साउदी अरेबियामा जम्मा २ हजारवटा मात्र इलेक्ट्रिक कार बिक्री भएका थिए, जुन संख्या टेस्लाले सामान्य दिनमा बिहानदेखि बेलुकासम्म बेच्ने कारभन्दा पनि कम हो । तर साउदी अरेबियासँग विद्युतीय सवारीसाधन (ईभी) को लागि ठूलो योजना छ, जुन टेस्लाले हालसम्म उपयोग गर्न सकेको छैन । यसको एउटा कारण टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्क र साउदीको शक्तिशाली पब्लिक इन्भेस्टमेन्ट फण्ड (पीआईएफ) बीच सन् २०१८ देखि चलिरहेको विवाद हो । तर नयाँ राजनीतिक परिस्थितिले मस्कलाई त्यो सम्बन्ध सुधार्ने अवसर दिएको छ । रियाद र मस्कबीचको सम्बन्ध त्यसबेलादेखि सुधारिएको देखिन्छ, जब मस्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनाव अभियानमा महत्त्वपूर्ण भूमिका निभाए र त्यसपछि उनको प्रशासनको उच्च पदमा पुगे । राष्ट्रपति ट्रम्प केही हप्ताभित्रै साउदी अरेबियाको पहिलो विदेशी भ्रमणमा आउन लागेका छन्, यो साउदीका लागि एउटा ठूलो उपलब्धी मानिँदैछ । उनले जनवरीमा साउदीलाई अमेरिकी अर्थतन्त्रमा चार वर्षभित्र १ ट्रिलियन डलर लगानी गर्न आग्रह गरेका थिए, जसमा सैन्य खरिद पनि समावेश छ । 'धेरै व्यवसायीहरू ट्रम्पको खाडी भ्रमणअघि आफ्नो कम्पनीलाई कसरी पोजिसन गर्ने भन्नेबारे सोंचिरहेका छन्,’ वाशिङ्टनस्थित अरब गल्फ स्टेट्स इन्स्टिच्युटका वरिष्ठ अध्येता रोबर्ट मोगिएल्निकीले भने । 'म अनुमान गर्छु, टेस्ला ट्रम्पको भ्रमणअघि साउदी बजारमा आफ्नो झण्डा गाड्न चाहन्छ र त्यसपछि त्यसको फाइदा लिन खोज्नेछ,’ उनले थपे । छुट्दै अवसर मस्कलाई अहिले ऊर्जा र प्रेरणाको खाँचो छ । टेस्लाको पहिलो त्रैमासिक बिक्रीमा यस महिनाको सुरुमा १३ प्रतिशत गिरावट आएको छ, जुन लगभग तीन वर्षयताकै सबैभन्दा कमजोर प्रदर्शन हो । यसको कारण मस्कको राजनीतिक धारणाप्रति असन्तुष्टि, बढ्दो प्रतिस्पर्धा र मोडेल वाईको ढिलाइ हुन् । तर विशेषगरी पीआईएफका प्रमुख यासिर अल–रुमाय्यानसँगको सार्वजनिक विवादपछि मस्कले साउदीमा अझै काम गर्न बाँकी छ ।  यो विवाद २०१८ मा मस्कले 'टेस्लालाई निजीकरण गर्न लगानी सुरक्षित भएको छ’ भनेर ट्वीट गरेपछि सुरु भयो । त्यो भनाइपछि वास्तविकता नदेखिएपछि लगानीकर्ताहरूले मुद्दा हालेका थिए । त्यस क्रममा मस्क र रुमाय्यानबीचका तनावपूर्ण म्यासेजहरू सार्वजनिक भएका थिए । त्यसपछि मस्कले साउदीको भिजन २०३० अन्तर्गत विविधीकरणको लागि गरिएको अर्बौं डलरको ईभी लगानी अवसर गुमाए । पीडब्ल्यूसीको २०२४ को रिपोर्टअनुसार साउदीले ईभी विकासका लागि करिब ३९ अर्ब डलर लगानी गरिरहेको छ । टेस्लाको साउदी डेब्यु चिनियाँ कम्पनी बीवाईडीको भन्दा ढिलो भयो, जसले मे २०२४ मा नै रियादमा आफ्नो शोरुम खोलेको थियो । यस्ता छन् चुनौती साउदी अरेबियामा टेस्ला आएसँगै उसले अब केही ठूला चुनौतीहरू सामना गर्नुपर्नेछ- यद्यपि मस्कको राजनीतिविरुद्ध युरोप र अमेरिकाजस्तो प्रदर्शन यहाँ नहोला। चुनौतीमा मुख्यतः चार्जिङ स्टेशनको अभाव र गर्मी पर्छ । गर्मी त कहिलेकाहीँ ५० डिग्री सेल्सियस (१२२ डिग्री फरेनहाइट) सम्म पुग्छ, जसले ईभी ब्याट्रीको द्रुत खपत गराउँछ । मतलब ब्याट्रीको चार्ज चाँडै सकिन्छ । २०२४ सम्म साउदीमा जम्मा १०१ वटा ईभी चार्जिङ स्टेशन छन्, जबकि छिमेकी दुबैमा मा २६१ वटा छन्, त्यो पनि साउदीको एक तिहाइ जनसंख्या भएको देश । अधिकांश स्टेशनहरू सहरहरूमा मात्र छन्, जसले गर्दा लामो दुरीको यात्रा गर्न कठिन हुन्छ । 'मलाई लाग्छ चार्जिङ नै सबैभन्दा ठूलो चिन्ता हो,’ साउदीका लागि बीवाईडीका महाप्रबन्धक कार्लोस मोन्टेनेग्रोले भने, 'यहाँका ड्राइभरहरूले अन्य देशको तुलनामा धेरै किलोमिटर चलाउँछन् ।’ उनका अनुसार साउदीमा बीवाईडीले बेच्ने झण्डै ७० प्रतिशत कारहरू हाइब्रिड हुन्छन्, शुद्ध ईभी होइनन् । बीवाईडीको शोरुममा कार हेर्दै गरेका साउदी नागरिक फाहद अब्दुलहमानले भने, 'म धेरै ड्राइभ गर्छु, मेरो वार्षिक औसत ५० हजार किलोमिटरभन्दा बढी छ । मलाई लाग्छ ईभी त्यसका लागि उपयुक्त हुँदैन ।’ भविष्यको तयारी रियादले ठूलो विकास योजना बनाएको छ, जसअनुसार सन् २०३० सम्म ईभीको ३० प्रतिशत अपनत्व पुर्‍याउने लक्ष्य छ । यसका लागि साउदी सरकारले इलेक्ट्रिक भेहिकल इन्फ्रास्ट्रक्चर कम्पनी गठन गरेको छ, जसले चार्जरहरूको संख्या ५ हजार पुर्‍याउने लक्ष्य राखेको छ- जुन अहिलेको तुलनामा ५० गुणा बढी हो । 'साउदी अरेबियामा ईभीको अपनत्व चीनजस्ता अग्रणी देशको तुलनामा कम नै रहनेछ, तर आगामी वर्षहरूमा वृद्धिको सम्भावना भने देखिन्छ,’ मोर्निङस्टारका इक्विटी विश्लेषक सेथ गोल्डस्टिनले भने,' द्रूत चार्जरहरू बनाइँदै जाँदा र लामो रेन्जका किफायती ईभीहरू बजारमा आउँदा माग बढ्नेछ ।’

फक्सवागनको विद्युतीय कार बिक्री युरोपमा बढ्यो

काठमाडौं । फक्सवागन समूहको विद्युतीय कार(ईभी) को बिक्री यूरोपमा यस वर्षको पहिलो त्रैमासिकमा दोब्बरभन्दा बढी बढेको छ । चीनमा भने बिक्री घटेको देखिएको छ । युरोपमा विद्युत् कारको माग वर्षौंको सुस्त वृद्धिपछि फेरि बढ्न थालेको छ भने चीनको विद्युत् कार बजार भने अझै पनि निकै प्रतिस्पर्धात्मक छ । जहाँ नयाँ विद्युत् कार मात्रै उत्पादन गर्ने कम्पनीहरूले विदेशी कार निर्माता कम्पनीहरूको बजार हिस्सा खोसिरहेका छन् । चीनमा कुल बिक्री ७.१ प्रतिशतले घटेको छ, यद्यपि कम्पनीले त्यहाँ २२ प्रतिशतको इन्धन इञ्जिन कार बजार हिस्सा कायम राख्न सफल भएको छ । मर्सिडीज-बेन्ज र पोर्शेले पनि चीनमा बिक्री घटेको रिपोर्ट दिएका छन् । फक्सवागनले प्रमुख मोडलहरू- जस्तै आईडी.थ्री र आईडी.फोर एक्सको नयाँ संस्करणहरू लन्च हुँदै जाँदा आगामी महिनाहरूमा विद्युत् कारहरूको बिक्री क्रमशः बढ्दै जाने अपेक्षा गरेको छ । अप्रिलमा शाङ्घाइ अटो शोमा फक्सवागनले नयाँ अडी ब्रान्डको पहिलो सिरिज उत्पादन मोडल प्रदर्शन गर्नेछ जुन यसै वर्ष लन्च हुनेछ र सन् २०२६ मा आउने तीनवटा भीडब्ल्यू मोडलहरू पनि देखाउनेछ । पश्चिमी युरोपमा फक्सवागनका गाडीहरूको अर्डर- चाहे त्यो विद्युत् होस् वा इन्धन इञ्जिन- २९ प्रतिशतले बढेको छ । युरोपेली अटोमोबाइल निर्माता संघको तथ्यांकअनुसार यो वर्ष युरोपमा विद्युत् गाडीहरूको बिक्री उल्लेखनीय रूपमा बढेको छ, यद्यपि कुल गाडी बिक्री भने घटेको छ ।  नयाँ युरोपेली संघको उत्सर्जन लक्ष्यहरू र नयाँ मोडलहरूको लन्चले वर्षौंको सुस्त वृद्धिपछि माग बढाएको देखिन्छ । संयुक्त राज्य अमेरिकामा बिक्री ६.२ प्रतिशतले बढेको छ, जुन सम्भवतः २५ प्रतिशत आयात कर लागु हुनु अघि ग्राहकहरूले अग्रीम रूपमा गाडी किनिरहेका संकेत हुन सक्छ । भीडब्ल्यू ब्रान्डको करिब दुई–तिहाइ बिक्री मेक्सिकोमा बनेका गाडीहरूमार्फत हुन्छ र यसको सबै पोर्शे, अडी र लाम्बोर्गिनी गाडीहरू युरोपबाट आयात गरिन्छ ।