एलन मस्क


घाटैघाटामा मस्क, ट्रम्पले चिनियाँ पार्टपुर्जामा कर बढाउँदा टेस्लाको अमेरिकी उत्पादन योजना प्रभावित

काठमाडौं । टेस्लाले साइबरक्याब र सेमी विद्युतीय ट्रकहरूका लागि चीनबाट अमेरिका ल्याउन लागेका पार्टपुर्जाहरूको ढुवानी योजना स्थगित भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार युद्धको बीचमा चिनियाँ सामानमा थप कर लगाएसँगै ढुवानी योजना स्थगित भएको हो । यो कदमले टेस्लाको ती अत्यधिक प्रतिक्षित मोडेलहरूको ठूलो मात्रामा उत्पादन सुरु गर्ने योजनामा अवरोध पुर्‍याउन सक्छ, जसलाई टेस्लाका सीईओ एलन मस्कले लगानीकर्ताहरूलाई अमेरिकी अटो उद्योगको वृद्धि गर्ने नयाँ आविष्कारको रूपमा प्रचार गर्दै आएका छन् । जब ट्रम्पले चिनियाँ सामानमा ३४ प्रतिशत कर लगाए, टेस्ला त्यस अतिरिक्त लागत वहन गर्न तयार थियो । तर जब कर त्योभन्दा माथि पुग्यो, टेस्लाले ढुवानी योजना स्थगित गर्नु परेको स्रोतले बतायो । ट्रम्पले अप्रिल ९ मा थप शुल्क ८४ प्रतिशत पुर्‍याए र त्यसयता १२५ प्रतिशतसम्म बढाएका छन्, जसले चिनियाँ सामानहरूमा कुल कर १४५ प्रतिशत पुर्‍याएको छ । स्रोतका अनुसार टेस्ला आगामी महिनाहरूमा पार्टपुर्जा ढुवानी लिन सुरु गर्ने तालिका बनाइरहेको थियो, ताकि अक्टोबरमा ती दुई मोडेलहरूको परीक्षण उत्पादन सुरु गर्न सकियोस् र २०२६ मा ठूलो मात्रामा उत्पादन थाल्न सकियोस् । साइबरक्याब टेक्सासमा र सेमी नेभाडामा उत्पादन गरिने योजना छ । टेस्लाले विगत दुई वर्षदेखि सम्भावित अमेरिकी शुल्कलाई ध्यानमा राख्दै आफ्ना अमेरिकी कारखानाहरूका लागि उत्तर अमेरिकाबाट पार्टपुर्जा खरिद बढाइरहेको छ । सोमबार ह्वाइट हाउसमा बोल्दै ट्रम्पले मेक्सिको, क्यानाडा र अन्य देशहरूबाट आयात हुने विदेशी कार र पार्टपुर्जाहरूमा लगाइएको २५ प्रतिशत करमा परिवर्तन गर्नेबारे सोच्दै गरेको बताए । ती करहरूले कारको मूल्य हजारौं डलरसम्म बढाउन सक्छन् । टेस्लाले विभिन्न राज्य सरकारबाट अनुमतिहरू मागिरहेको छ किनभने उसले साइबरक्याबको फ्लीटसहित रोबोट्याक्सी सेवा सुरु गर्ने योजना बनाएको छ । उसले गत अक्टोबरमा कुनै स्टेरिङ ह्वील वा नियन्त्रण प्याडल नभएको रोबोट्याक्सी अवधारणा सार्वजनिक गरेको थियो र सन् २०२६ सम्ममा ३० हजार डलरभन्दा कम मूल्यमा दुई ढोका भएको मोडेल निर्माण सुरु गर्ने वाचा गरेको थियो । टेस्लाले सेमी विद्युतीय ट्रकहरूको उत्पादन सन् २०२६ मा बढाउने र पेप्सी लगायतका ग्राहकहरूलाई ढिलो भएका अर्डरहरू तीव्र रूपमा पुर्‍याउने योजना पनि बनाइरहेको छ । ट्रम्पको अमेरिकी उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यले लगाइएका करहरूले टेस्लाको मुख्य व्यापार योजनामा परेको असरले ट्रम्पका राजनीतिक सहयोगी मस्कलाई कसरी असर गरिरहेको छ भन्ने देखाएको छ । मस्कले आफ्ना सामाजिक सञ्जाल एक्स (ट्वीटर) मा बारम्बार स्वतन्त्र व्यापारको समर्थन र करहरूको विरोध गर्दै आएका छन् । ह्वाइट हाउसले मस्कलाई अमेरिकी प्रशासनको पुनर्संरचनाको रूपमा नियुक्त गरेको छ, जसअन्तर्गत हजारौं सरकारी कर्मचारीको जागिर कटौती गरिएको छ । मस्कले विश्वव्यापी आपूर्ति श्रृंखलाको प्रयोग गरेर पेन्सिल बनाउन कसरी सम्भव हुन्छ भन्ने भिडियो पोस्ट गर्दै ट्रम्पलाई विश्वभर लागू भएका नयाँ शुल्कहरू फिर्ता गर्न व्यक्तिगत अनुरोध गरेको वाशिंगटन पोस्टले गत साता उल्लेख गरेको थियो । चीनले अमेरिकी सामानमा १२५ प्रतिशत बदला शुल्क लगाएपछि टेस्लाले मोडेल एस र मोडेल एक्सका लागि नयाँ अर्डरहरू लिन बन्द गरिसकेको छ । ट्यारिफ असर : निसानले अमेरिकामा सबैभन्दा धेरै बिक्री भएको मोडेलको जापानी उत्पादन कटौती गर्ने २५ प्रतिशत अटो ट्यारिफले अमेरिकी अटो निर्माता कम्पनीलाई थप १०८ अर्ब डलर लागत लाग्ने साउदीमा टेस्लाको डेब्यू : मरुभूमिको गर्मी, थोरै चार्जिङ स्टेशन र बीवाईडीसँग प्रतिस्पर्धा  

साउदीमा टेस्लाको डेब्यू : मरुभूमिको गर्मी, थोरै चार्जिङ स्टेशन र बीवाईडीसँग प्रतिस्पर्धा

काठमाडौं । टेस्लाले बिहीबारदेखि साउदी अरेबियामा कार बेच्न सुरु गरेको छ । यो देशको राजधानी रियाद र पवित्र सहर मक्का जोड्ने ९०० किलोमिटर लामो पूर्व-पश्चिम राजमार्गमा एउटा पनि चार्जिङ स्टेशन छैन । टेलिमेट्री विश्लेषक साम अबुएल्सामिदका अनुसार गत वर्ष साउदी अरेबियामा जम्मा २ हजारवटा मात्र इलेक्ट्रिक कार बिक्री भएका थिए, जुन संख्या टेस्लाले सामान्य दिनमा बिहानदेखि बेलुकासम्म बेच्ने कारभन्दा पनि कम हो । तर साउदी अरेबियासँग विद्युतीय सवारीसाधन (ईभी) को लागि ठूलो योजना छ, जुन टेस्लाले हालसम्म उपयोग गर्न सकेको छैन । यसको एउटा कारण टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्क र साउदीको शक्तिशाली पब्लिक इन्भेस्टमेन्ट फण्ड (पीआईएफ) बीच सन् २०१८ देखि चलिरहेको विवाद हो । तर नयाँ राजनीतिक परिस्थितिले मस्कलाई त्यो सम्बन्ध सुधार्ने अवसर दिएको छ । रियाद र मस्कबीचको सम्बन्ध त्यसबेलादेखि सुधारिएको देखिन्छ, जब मस्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनाव अभियानमा महत्त्वपूर्ण भूमिका निभाए र त्यसपछि उनको प्रशासनको उच्च पदमा पुगे । राष्ट्रपति ट्रम्प केही हप्ताभित्रै साउदी अरेबियाको पहिलो विदेशी भ्रमणमा आउन लागेका छन्, यो साउदीका लागि एउटा ठूलो उपलब्धी मानिँदैछ । उनले जनवरीमा साउदीलाई अमेरिकी अर्थतन्त्रमा चार वर्षभित्र १ ट्रिलियन डलर लगानी गर्न आग्रह गरेका थिए, जसमा सैन्य खरिद पनि समावेश छ । 'धेरै व्यवसायीहरू ट्रम्पको खाडी भ्रमणअघि आफ्नो कम्पनीलाई कसरी पोजिसन गर्ने भन्नेबारे सोंचिरहेका छन्,’ वाशिङ्टनस्थित अरब गल्फ स्टेट्स इन्स्टिच्युटका वरिष्ठ अध्येता रोबर्ट मोगिएल्निकीले भने । 'म अनुमान गर्छु, टेस्ला ट्रम्पको भ्रमणअघि साउदी बजारमा आफ्नो झण्डा गाड्न चाहन्छ र त्यसपछि त्यसको फाइदा लिन खोज्नेछ,’ उनले थपे । छुट्दै अवसर मस्कलाई अहिले ऊर्जा र प्रेरणाको खाँचो छ । टेस्लाको पहिलो त्रैमासिक बिक्रीमा यस महिनाको सुरुमा १३ प्रतिशत गिरावट आएको छ, जुन लगभग तीन वर्षयताकै सबैभन्दा कमजोर प्रदर्शन हो । यसको कारण मस्कको राजनीतिक धारणाप्रति असन्तुष्टि, बढ्दो प्रतिस्पर्धा र मोडेल वाईको ढिलाइ हुन् । तर विशेषगरी पीआईएफका प्रमुख यासिर अल–रुमाय्यानसँगको सार्वजनिक विवादपछि मस्कले साउदीमा अझै काम गर्न बाँकी छ ।  यो विवाद २०१८ मा मस्कले 'टेस्लालाई निजीकरण गर्न लगानी सुरक्षित भएको छ’ भनेर ट्वीट गरेपछि सुरु भयो । त्यो भनाइपछि वास्तविकता नदेखिएपछि लगानीकर्ताहरूले मुद्दा हालेका थिए । त्यस क्रममा मस्क र रुमाय्यानबीचका तनावपूर्ण म्यासेजहरू सार्वजनिक भएका थिए । त्यसपछि मस्कले साउदीको भिजन २०३० अन्तर्गत विविधीकरणको लागि गरिएको अर्बौं डलरको ईभी लगानी अवसर गुमाए । पीडब्ल्यूसीको २०२४ को रिपोर्टअनुसार साउदीले ईभी विकासका लागि करिब ३९ अर्ब डलर लगानी गरिरहेको छ । टेस्लाको साउदी डेब्यु चिनियाँ कम्पनी बीवाईडीको भन्दा ढिलो भयो, जसले मे २०२४ मा नै रियादमा आफ्नो शोरुम खोलेको थियो । यस्ता छन् चुनौती साउदी अरेबियामा टेस्ला आएसँगै उसले अब केही ठूला चुनौतीहरू सामना गर्नुपर्नेछ- यद्यपि मस्कको राजनीतिविरुद्ध युरोप र अमेरिकाजस्तो प्रदर्शन यहाँ नहोला। चुनौतीमा मुख्यतः चार्जिङ स्टेशनको अभाव र गर्मी पर्छ । गर्मी त कहिलेकाहीँ ५० डिग्री सेल्सियस (१२२ डिग्री फरेनहाइट) सम्म पुग्छ, जसले ईभी ब्याट्रीको द्रुत खपत गराउँछ । मतलब ब्याट्रीको चार्ज चाँडै सकिन्छ । २०२४ सम्म साउदीमा जम्मा १०१ वटा ईभी चार्जिङ स्टेशन छन्, जबकि छिमेकी दुबैमा मा २६१ वटा छन्, त्यो पनि साउदीको एक तिहाइ जनसंख्या भएको देश । अधिकांश स्टेशनहरू सहरहरूमा मात्र छन्, जसले गर्दा लामो दुरीको यात्रा गर्न कठिन हुन्छ । 'मलाई लाग्छ चार्जिङ नै सबैभन्दा ठूलो चिन्ता हो,’ साउदीका लागि बीवाईडीका महाप्रबन्धक कार्लोस मोन्टेनेग्रोले भने, 'यहाँका ड्राइभरहरूले अन्य देशको तुलनामा धेरै किलोमिटर चलाउँछन् ।’ उनका अनुसार साउदीमा बीवाईडीले बेच्ने झण्डै ७० प्रतिशत कारहरू हाइब्रिड हुन्छन्, शुद्ध ईभी होइनन् । बीवाईडीको शोरुममा कार हेर्दै गरेका साउदी नागरिक फाहद अब्दुलहमानले भने, 'म धेरै ड्राइभ गर्छु, मेरो वार्षिक औसत ५० हजार किलोमिटरभन्दा बढी छ । मलाई लाग्छ ईभी त्यसका लागि उपयुक्त हुँदैन ।’ भविष्यको तयारी रियादले ठूलो विकास योजना बनाएको छ, जसअनुसार सन् २०३० सम्म ईभीको ३० प्रतिशत अपनत्व पुर्‍याउने लक्ष्य छ । यसका लागि साउदी सरकारले इलेक्ट्रिक भेहिकल इन्फ्रास्ट्रक्चर कम्पनी गठन गरेको छ, जसले चार्जरहरूको संख्या ५ हजार पुर्‍याउने लक्ष्य राखेको छ- जुन अहिलेको तुलनामा ५० गुणा बढी हो । 'साउदी अरेबियामा ईभीको अपनत्व चीनजस्ता अग्रणी देशको तुलनामा कम नै रहनेछ, तर आगामी वर्षहरूमा वृद्धिको सम्भावना भने देखिन्छ,’ मोर्निङस्टारका इक्विटी विश्लेषक सेथ गोल्डस्टिनले भने,' द्रूत चार्जरहरू बनाइँदै जाँदा र लामो रेन्जका किफायती ईभीहरू बजारमा आउँदा माग बढ्नेछ ।’

ट्रम्पको कृपाले मस्कले तोडे कमाइको रेकर्ड, शीर्ष १० धनीले कमाए १४० अर्ब डलर

  काठमाडौं । अमेरिकी सेयर बजारमा बुधबार उच्च वृद्धि देखिएको छ । यसले प्रविधि कम्पनीहरूको सेयर रहने नासडक सूचकांकलाई १२.१६ प्रतिशतले बढायो । यो वृद्धिले अमेरिकी धनीहरूको सम्पत्तिमा पनि वृद्धि ल्याएको छ ।  शीर्ष १० धनीको नेट वर्थमा करिब १४० अर्ब डलरको वृद्धि भएको छ । इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाको सेयर मूल्यमा २२.६९ प्रतिशतले उछाल आएको छ । यसबाट कम्पनीका सीईओ र संसारका सबैभन्दा धनी व्यक्ति एलन मस्कको नेटवर्थमा ३५.९ अर्ब डलरको वृद्धि भएको छ । ब्लूमबर्ग बिलियनेयर इन्डेक्स अनुसार मस्कको नेट वर्थ अहिले ३२६ अर्ब डलर पुगेको छ । यद्यपि यस वर्ष उनको सम्पत्तिमा १०७ अर्बको गिरावट आएको थियो । अमेजनको सेयर मूल्य ११.९८ प्रतिशतले बढेपछि कम्पनीका सह–संस्थापक जेफ बेजोसको नेटवर्थमा १८.५ अर्बको वृद्धि भएको छ। अब उनको नेटवर्थ २१० अर्ब पुगेको छ ।  संसारका धनीहरुको सूचीमा तेस्रो स्थानमा रहेका फेसबुकका मार्क जकरबर्गको नेटवर्थमा २५.८ अर्बको वृद्धि भएको छ । यस वृद्धिपछि उनको नेटवर्थ २०७ अर्ब पुगेको छ । वारेन बफेटको नेटवर्थमा ८.१२ अर्ब, ल्यारी एलिसनको १५.५ अर्ब, बिल गेट्सको ४.८१ अर्ब, ल्यारी पेजको ११.० अर्ब, स्टिभ बालमरको ११.२ अर्ब र सर्गेई ब्रिनको १०.२ अर्बको वृद्धि भएको छ । एआई चिप निर्माण गर्ने कम्पनी एनभिडियाको सेयर मूल्यमा १८.७२ प्रतिशतको वृद्धि भएपछि सीईओ जेन्सन हुआङको नेटवर्थमा १५.५ अर्बको वृद्धि भएको छ । माइकल डेलको नेटवर्थमा १० अर्ब र जिम, रब र एलिस वाल्टनको नेटवर्थमा ७ अर्बको वृद्धि भएको छ । यसैबीच, भारतीय सेयर बजारमा गिरावटका कारण मुकेश अम्बानी र गौतम अडानीको सम्पत्तिमा गिरावट आएको छ । अम्बानी ८४.१ अर्बको नेटवर्थसहित विश्वका धनीहरूको सूचीमा १७औं स्थानमा छन् भने अडानी ६९.९ अर्ब नेटवर्थसहित २१औं स्थानमा छन् ।  यस वर्ष विश्वका शीर्ष २० धनीमध्ये १७ जनाको नेटवर्थमा गिरावट आएको छ । सबैभन्दा बढी कमाइ गर्ने वारेन बफेट हुन्, जसले २० अर्ब कमाएका छन् । अस्थायी ट्यारिफ विश्राम : अमेरिका-चीन व्यापार युद्ध फेरि चर्किँदै