काठमाडौं । स्थानीय तह निर्वाचन भएको डेढ वर्ष बितिसक्दा पनि स्थानीय तहमा शिक्षाका कर्मचारी नपठाइँदा निकै समस्या परेको छ । डोल्पाका स्थानीय तहको पूर्ण अधिकारभित्र पर्ने माध्यमिक शिक्षासम्म हेर्नुपर्ने बाध्यता रहेको छ ।
नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले डेढ वर्षअघि गठन भएका स्थानीय तहमा शिक्षाका कर्मचारीहरु नपठाउँदा शिक्षाका सम्पूर्ण काम लथालिङ्ग भएको छ । नेपालको संविधान, २०७२ ले माध्यमिक तहसम्मको शिक्षाको सम्पूर्ण जिम्मेवारी तथा अधिकार क्षेत्र स्थानीय तहको हुने सुनिश्चित गरेको छ ।
त्यस व्यवस्थाबमोजिम स्थानीय तहभित्रका विद्यालयहरुको शैक्षिक, भौतिक तथा आर्थिक व्यवस्थाका लागि स्थानीय तहमा शिक्षाका कर्मचारी अनिवार्य रहेको छ । स्थानीय तहभित्र सबैभन्दा नभई नहुने र दीर्घकालीन प्रभाव पार्ने शिक्षा नै हो । त्यसकारण शिक्षालाई प्रभावकारी बनाउन, शैक्षिक गुणस्तर बढाउनका लागि अपनाउनुपर्ने विभिन्न योजना निर्माण गर्ने र ती योजनाहरुको कार्यान्वयनका लागि कर्मचारीको आवश्यक रहेको छ ।
कर्मचारी नभएपछि कसरी काम गर्ने, जनप्रतिनिधिहरुले आफैँ गर्नुपर्ने ठूलीभेरी नगरपालिका शिक्षा विभाग हेर्दै आएका विरमल भण्डारीले प्रतिप्रश्न रहेको छ । मङ्सिर महीनामा सञ्चालन गर्नुपर्ने स्थानीय तहस्तरीय कक्षा ८ को परीक्षा सञ्चालन गर्न र सबै विद्यालयमा सञ्चालन हुने अन्य कक्षाका परीक्षाको निरीक्षण तथा अनुगमनसमेत गर्न नसकिने अवस्था रहेको त्रिपुरासुन्दरी नगरपालिका डोल्पाले जनाएको छ ।
सरकारले व्यवस्था गरेअनुसार नगरपालिकामा एक उपसचिव, एक विद्यालय निरीक्षक, एक प्राविधिक सहायक र गाउँपालिकाहरुमा एक विद्यालय निरीक्षक र एक जना प्राविधिक सहायकको दरवन्दी रहने व्यवस्था गरेको छ । तर सात वटा स्थानीय तहमा शिक्षाका कर्मचारी शून्य रहेका छन् । भने शिक्षाका कर्मचारीका नाममा मुड्केचुला गाउँपालिकामा मात्र एक जना प्राविधिक सहायक रहेको शिक्षा विकास तथा समन्वय इकाई डोल्पाका प्रमुख सिंहराज डाँगीको भनाई रहेको छ ।
सम्बन्धित क्षेत्रका कर्मचारी नहुँदा भौतिक पूर्वाधार विकास, निरीक्षण अनुगमन लगायत अन्य काम गर्नु त कता हो कता शिक्षकहरुलाई तलब भत्ता खुवाउन र शिक्षाका कामहरु के के छन् भनेर जानकारीसम्म लिन नसकिएको जगदुल्ला गाउँपालिकाका अध्यक्ष नारसिंह रोकायले जनाएका छन् । कस्ले गरिदिने, शिक्षाका समस्या समाधानका कुरा त परै जाओस् कार्यक्रम अगाडि बढाउने नै कसरी भन्ने भेउ नमिलेको ठूलीभेरी नगरपालिकाका प्रमुख गणेशबहादुर शाहीले बताएका छन् । रासस