
काठमाडौं । सल्यान जिल्लाको वनगाड कुपिण्डे नगरपालिका भित्रका शिक्षक आन्दोलनमा उत्रिएका छन् । नगरपालिकाले विगत पाँच महीनादेखि तलब नदिएको भन्दै नगरपालिका भित्रका आन्दोलित भएपछि पठनपाठन प्रभावित भएको छ ।
नगरपालिकाका प्रमुख र उपप्रमुख बीच भएको विवादका कारण हालसम्म नगर परिषद् हुन नसकेपछि शिक्षक लगायत नगरपालिकाका कर्मचारीले गत साउनदेखि तलब पाउन नसकेको बताएका छन् । पटक–पटक नगरपालिकामा समस्या राखे पनि सुनुवाइ नभएकाले ‘पेनडाउन’ गरेर आन्दोलन गर्न बाध्य भएको शिक्षकहरुले बताएका छन् ।
उधारोमा धेरै काम गर्न नसकिने साथै तलब सुविधा नपाएसम्म आन्दोलन नरोकिने शिक्षक महासङ्घ सल्यानका सचिव सुरेशसिंह राठौरको भनाई रहेको छ । लामो समयसम्म पनि तलब नपाएपछि घर खर्चसमेत चलाउन गाह्रो हुन थालेको सरस्वती आधारभूत विद्यालय सल्लीबजारका शिक्षक सुरेन्द्र खड््काले गुनासो गर्दै विद्यार्थीको भविष्यप्रति चिन्तित भएता पनि पटक–पटक समस्या राख्दा पनि सुनुवाइ नभएनपछि उक्त विकल्प राजेको बताएका छन् ।
समयमै नगरपरिषद् नहँुदा शिक्षकसहित नगरपालिकाका कर्मचारीले तलब नपाएकाे बताएका छन्र । भने विकास निर्माणका कामसमेत ठप्प रहेको जनाएका छन् । कार्यपालिकाको बैठक पटक–पटक बसे पनि सहमति नभएको भन्दै आर्थिक वर्षमा नगरपालिका भित्र सम्पन्न भएका क्रियाकलापको समीक्षा गर्नुपर्ने माग राख्दै उपप्रमुखसहित बहुमत कार्यपालिका सदस्य प्रमुखको विपक्षमा उभिएपछि परिषद् हुन नसकेको जानकारी दिएका छन् ।
कर्मचारी तथा शिक्षकलाई तलब सुविधा तत्काल उपलब्ध गराउने पक्षमा आफूहरु रहेको नगर उपप्रमुख मञ्जु ऐरी जानकारी दिँदै नगरपालिका भित्रका सबै कर्मचारीको पक्षमै रहेको हुँदा उक्त बैठक गत आर्थिक वर्षमा सम्पन्न क्रियाकलापको समीक्षा साथै सहमत भए बताएका छन् । शिक्षकका मागप्रति आफू गम्भीर भएको भन्दै छिट्टै कार्यपालिकाको बैठक गरेर समस्या समाधान गरिने नगरप्रमुख गोविन्द पुनले जनाएका छन् । मङ्सिर ११ गतेदेखि विद्यालय बन्द भएपछि विद्यार्थी घाम तापी फर्किने गरेका छन् । परिषद्को बैठक समयमा हुन नसक्दा नगरपालिका भित्रका ३४२ शिक्षकले तलब पाउन सकेका छैनन् । वनगाड कुपिण्डे नगरपालिकामा ६५ विद्यालयमा ३४२ शिक्षक कार्यरत छन् । रासस