काठमाडौं । आकस्मिक रुपमा प्रयोगमा आउने महत्वपूर्ण खोप तथा औषधिको चितवनमा चरम अभाव देखिएको छ । प्रायः स्वास्थ्य संस्थाहरुमा सहजै पाइने टिटानस खोप, डाइजेपाम, प्याथेडिन इन्जेक्सनहरुको यहाँ अभाव देखिएको हो ।
जिल्लास्थित भरतपुर अस्पतालमा समेत यस्ता औषधिहरु अकस्मात् प्रयोगका लागि स्टक रहेको तर, प्रशस्त मात्रामा भने नरहेको अस्पतालका मेसु डा.कृष्णप्रसाद पौडेलले बताएका छन्।
केही दिनअघिदेखि नै अभाव भए पनि अहिले समस्या झनै चर्को बन्दै गएको छ । मेडिकल सिटी भनिने भरतपुरमै यस्ता औषधि जन्य वस्तुको अभाव भएपछि स्वास्थ्य क्षेत्रमा चर्चा हुन थालेको छ । महत्वपुर्ण र अत्यावश्यक औषधिको अभावबारे विभाग र मन्त्रालयमा जानकारी गराइएको तर, समस्या समाधान नभएको भरतपुर अस्पतालले जनाएको छ ।
अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले टेन्डरमार्फत ल्याइएको यस्ता औषधिहरु सप्लायर्सले मागेजति दिन नसकेको बताए । यो देशभरिकै समस्या रहेको सूचना अधिकारी पौडेलले जानकारी दिए । टिटानस जीवाणुबाट हुन सक्ने संक्रमण हुन नदिनका लागि प्रयोगमा आउने टिटानस खोपको अभाव भएको छ । सामान्य खोपका रुपमा लिइने टिटानसको अभावले गर्दा उपचारमा समस्या भएको छ ।
जटिलदेखि सामान्य चोटपटक र घाउमा पनि टिटानस खोप लगाइन्छ । प्रायः फलामका खिया लागेका वस्तुका कारण हुने चोटपटकमा यो खोप लगाइने चिकित्सकहरु बताउँछन् । यसको असर सीधै नसामा पर्ने भएकाले टिटानस खोपको प्रयोग आवश्यक रहेको चिकित्सकहरु बताउँछन् ।
यता, भरतपुर अस्पतालका फार्मेसी शाखाका कर्मचारी रामहरी ढकालका अनुसार टिटानससँगै अत्यावश्यक प्रयोगमा आउने डाइजेपाम, प्याथेडिन इन्जेक्सन, ट्रमाडोलहरु पनि अभाव भएका छन् । यी सबै औषधिले दुखाइ कम गर्ने चिकित्सकहरु बताउँछन् । धेरै शरीर कम्पन भएर आउने बिरामीका लागि तत्काल डाइजेपाम दिई कम्पन नियन्त्रण गरिने चिकित्सकहरु बताएका छन्र ।