
काठमाडौं। शिक्षकहरु खुला प्रतिस्पर्धामा जान डराउनु लाजमर्दो भएको भन्दै नेकपा निकट विद्यार्थी संगठनले राहत शिक्षकहरुको नाममा भएको आन्दोलनको विरोध गरेका छन्।
अनेरास्ववियुकी अध्यक्ष नविना लामा र अनेरास्ववियू (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङले मंगलबार एक विज्ञप्ति जारी गर्दै संघीय शिक्षा ऐन जारी हुने अन्तिम तयारी भइरहेको बेला शिक्षकहरुबाट भएको आन्दोलनको विरोध गरेका हुन्।
सार्वजनिक शिक्षाको शिर उठाउने दायित्व पाएका शिक्षकहरुले यस्तो गर्नु लज्जासपद भएको त्यसैले शिक्षालाई जागिर खाने थलोको रुपमा मात्रै नबुझी खुला प्रतिस्पर्धामा आउन विद्यार्थी संगठनले आन्दोलनरत शिक्षकहरुलाई आग्रह गरेका छन्।
देशभर रहेको करिव चालिस हजार राहत शिक्षक दरबन्दीलाई स्थायी दरबन्दीमा परिणत गर्दै (८० प्रतिशत खुल्ला प्रतिस्पर्धा र २० प्रतिशत आन्तरिक ) प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने प्रस्तावित शिक्षा एनको प्रावधान रहेको छ ।