
काठमाडौं । एभरेष्ट बैंकले २५ बर्षमा लगानीको २५ गुणा प्रतिफल दिन सफल भएको दाबी गरेको छ । बैंकद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बैंकका अध्यक्ष बिके श्रेष्ठले २५ बर्ष अघि स्थापना हुँदा गरेको १३,५०० रुपैंया लगानी ३,४५,८०० पुगेको भन्दै २५ बर्षमा लगानी २५ गुणा बनाउनसक्नु बैंकको सफलता भएको बताएका हुन् ।
कार्यक्रममा बैंकले देशभर रहेका ७ प्रादेशिकसहित ९२ शाखाहरुमार्फत् अत्याधुनिक बैंकिङ सेवा दिइरहेको दाबी गर्दै एभरेष्ट बैंकको ग्राहक संख्या १० लाख नाघेको दाबी गरिएको थियो । बैंकका ग्राहकले भारतभर रहेका पञ्जाब नेशनल बैंकबाट भुक्तानी लिन सक्ने सुविधा दिएको, इन्डो नेपाल रेमिट्यान्स सेवा उपलब्ध गराएको, भारतमा रहेका गोर्खा सैनिकहरुका लागि बहुआयामिक बचत कार्यक्रम ल्याएको भन्दै यस्ता कार्यक्रमले नेपाल र भारतलाई एक जोड्न सहयोग गरेको समेत दाबी गरिएको छ ।
एभरेष्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पशुपतिनाथ, शंखमुल, पोखरा र भैरहवामा शवदाहगृह निर्माण गर्न लागेको तथा विभिन्न विद्यालयहरुमा अत्याधुनिक शौचालय निर्माणमा सहयोग गरेको जानकारी समेत गराएको थियो ।
‘भारतमा भन्दा नेपालमा ५० प्रतिशत सस्ताेमा उत्पादन हुन्छ, प्रचार गरिदिनुस्’
एभरेष्ट बैंकको एक्विटी होल्डिङ कम्पनी पञ्जाब नेशनल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल मेहेताको नेपाल भ्रमणको क्रममा उनलाई स्वागत गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले भारतीय लगानीकर्ताले लगानी गर्दा आफ्नो देशभन्दा ५० प्रतिशत भन्दा बढी सस्तो पर्ने दाबी गर्दै नेपालले त्यसको प्रचार गर्न नसकेर मात्र भारतीय लगानी नेपाल भित्रन नसकेको दाबी गरे ।
‘भारतको बजारलाई मध्यनजर गरेर उत्पादनमूलक कम्पनीहरुको कारखाना नेपालमा स्थापना गरेमा भारतमा तिर्नुपर्ने मुनाफाको ३४ प्रतिशत संस्थागत कर, खाद्य पदार्थमा १२ प्रतिशत र मेसिनरी पार्टपुर्जामा १८ प्रतिशत तिर्नुपर्ने बस्तु तथा सेवा करसमेत बच्ने दाबी उनको थियो । सिक्किममा १० प्रतिशत होलिडे ट्याक्स लाग्ने तर नेपालमा १ अर्ब भन्दा माथि लगानीका उद्योगहरुलाई ५ बर्षसम्म आयकर तिर्नै नपर्ने व्यवस्था रहेको भन्दै उनले सरकारले नेपालमा पाइने यस्ता सुविधाबारे प्रचार गर्नुपर्ने भन्दै उनले त्यसका लागि सञ्चारकर्मीलाई दबाब दिन आह्वान समेत गरे ।
अध्यक्ष श्रेष्ठले नेपालले भारतीय कर व्यवस्था र नेपाली सहुलियतबाट फाइदा लिन सीमा क्षेत्रमा औद्योगिक क्षेत्रहरु स्थापना गर्न सुझाएका छन् ।