
काठमाडौँ । प्रदेश २ मा माध्यमिक शिक्षा परीक्षा (एसइई)को प्रश्नपत्र सिरहास्थित इलाका प्रहरी कार्यालय कल्याणपुरबाट बाहिरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले जनाएको छ । १४ र १५ चैतमा विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि एसइई स्थगित गरिएको थियो ।
सिआइबी प्रमुख प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाहीले बिहीबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा आयोजित पत्रकार सम्मेलनमा प्रश्नपत्र चोरीमा प्रहरी नै संलग्न भएको पुष्टि गरे । पत्रकार सम्मेलनमा घटनामा संलग्न ६ जनालाई सार्वजनिक गरिएको छ ।
डिआइजी शाहीका अनुसार १४ र १५ गते दुवै विषयको प्रश्नपत्र इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान ब्रह्मदेव सुनरैत यादवले साथी दीपेन्द्रकुमार मण्डललाई सहयोग गर्न निकालेका थिए । यादवले चाबी चोरेर दराज खोलेको र ब्लेडले थैलो चिरेर प्रश्नपत्र निकालेको सिआइबीले जनाएको छ ।
प्रश्नपत्रको फोटो खिचेपछि त्यसलाई पूर्ववत् राखिदिएका थिए । २२ वर्षीय ब्रह्मदेव सप्तरी राजविराज नगरपालिका–१० का हुन् भने २५ वर्षीय दीपेन्द्र राजविराज नगरपालिका–६ का बासिन्दा हुन् । दुवै एकै प्रहरी कार्यालयमा कार्यरत छन् । ‘यसमा इप्रका कल्याणपुर इन्चार्ज तुलसी भट्टराईसहित अन्य कसैको पनि संलग्नता हालसम्म देखिएको छैन,’ शाहीले भने ।
साथीका लागि चोरेको प्रश्नपत्र ब्रह्मदेवकै कारण सप्तरीमा फैलिएको पाइएको छ । उनले आफ्नै दाजु २८ वर्षीय विष्णुदेव यादवलाई इमोमार्फत प्रश्नपत्र पठाएका थिए । त्यसपछि सप्तरीमा अधिकांश विद्यार्थीको हातहातमा प्रश्नपत्र पुगेको थियो भने सामाजिक सञ्जालमा समेत सार्वजनिक भएको थियो । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।