काठमाडौँ । औद्योगिक शान्ति नेपाल संस्थाले दुइटै मृगौला खराब भएर पीडित भई आर्थिक समस्याका कारण उपचार गर्न नसकिरहेका दीपकबहादुर धामी (दिपेन्द्र)लाई रु १ लाख २० हजार सहयोग गरेको छ ।
“नयाँ बर्ष नया सोच, युवाहरुको लागि छ प्रगतिको श्रोत” भन्ने मूल नाराका साथ नेपाली नयाँ बर्षको पूर्व सन्ध्याबाट भक्तपुरमा पाँचौ भक्तपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७५/७६ चैत २१ गते देखि बैशाख ४ गते सम्म भक्तपुरको सल्लाघारीमा सम्पन्न भएको थियो ।
उक्त भक्तपुरमा आयोजना भएको व्यापार मेलाबाट प्राप्त मुनाफाबाट सामाजिक सेवा गर्ने उद्देश्यले मृगौला पिडीतलाई सहयोग गरेको औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दीप महतले जानकारी गराए । संस्थाले एक कार्यक्रमको आयोजना गरि धामीलाई संस्थाका अध्यक्ष महत, मध्यपुर व्याइज व्याण्डका अध्यक्ष सुनिल बज्राचार्य र मेला आयोजक समितिका संयोजक दीपक थापाले सहयोग रकम हस्तान्तरण गरेका थिए ।
बझाङ्ग जिल्ला दुर्गाथली गाउँपालिका–६ का २५ बर्षिय धामीको २०७३ फागुनमा दुवै मृगौला फेल भई सहिद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रमा डाइलासिस गराइराखेका उनको उपचारका लागि आर्थिक अभाव भएपछि सहयोग प्रदान गरेको संस्थाका अध्यक्ष महतले जानकारी दिए ।