
काठमाडौं । वायु प्रदुषणको कारण हरेक दिन १०० जना भन्दा बढी नेपालीले आफ्नो ज्यान गुमाउने गरेका छन् । विश्व स्वास्थ्य संगठनको सर्वेक्षण अनुसार वर्सेनि ३७ हजार भन्दा बढी नेपालीले वायु प्रदुषण कै कारण ज्यान गुमाउने गरेका छन् ।
बुधबार भएको डिप्लोमा ईन्जिनियर्स एशोसियनशन नेपाल(डिन)को ३९ औं वार्षिकोत्सवमा यस्तो तथ्याङ्क सार्वजनिक भएको हो । कार्यक्रममा ‘नेपालका शहरी क्षेत्रमा वायु प्रदुषण समस्या र समाधान’ बिषयमा कार्यपत्र प्रस्तुत गर्दै वाताबरणविद् तथा साझा यातायातका महाप्रवन्धक भुषण तुलाधारले यस्तो तथ्याङ्क प्रस्तुत गरेका हुन् ।
विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार ९० प्रतिशत मानिसहरु प्रदुषित हावामा सास फेरिरहेका छन् । ७० लाख भन्दा बढी मानिसको वाताबरण प्रदुषणका कारण मृत्यु भइसकेको छ । ९ जना मानिसको मृत्यु हुँदा एक जनाको मृत्युको कारण वायु प्रदुषण हुने गरेको छ ।
३६ प्रतिशत फोक्सोको क्यान्सर, ३४ प्रतिशत मस्तिस्कघात र ६ प्रतिसत हृदयरोग वायु प्रदुषणको कारणले हुने गर्दछ।



