काठमाडौं। नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो अत्याधुनिक सुविधासम्पन्न थप नयाँ हस्पिटल भवन निर्माणार्थ शुक्रबार “भूमिपूजन” तथा भवन निर्माणको शिलान्यास गरेको छ।
नयाँ भवनको निर्माण पश्चात् नर्भिक २०० शैयायुक्त अत्याधुनिक सुविधासम्पन्न र पूर्वाधारयुक्त हस्पिटलका रुपमा परिणत हुने र यो चिकित्सा फाँटका तेस्रो पुस्ताको अति विशिष्ट प्रविधि र साधन–सुविधाले सुसज्जित हुने र विश्वस्तरीय स्वास्थ्य सेवा पु¥याउन आवश्यक पर्ने सवै आधुनिक साधन–सुविधा हरु जडित हुने बताईएको छ।
नवीनतम् हस्पिटल भवन निर्माणार्थ भूमि पूजन तथा भवनको शिलान्यास एक विशेष समारोह बीच हस्पिटल परिसरमा शुक्रबार अपरान्ह हस्पिटलका अध्यक्ष वसन्त कुमार चौधरीले गरेका थिए।
नयाँ भवनको प्रस्तावित निर्माण क्षेत्र १ लाख ५४ हजार वर्गफिट हुने र जग्गा वाहेक परियोजनाको जम्मा लागत करिव दुई अर्ब हुने बताइएको छ। अत्याधुनिक नयाँ भवन निर्माण परियोजना आगामी तीन बर्षभित्र सम्पन्न भइसक्ने अस्पतालले जानकारी दिएको छ।
नेपाली चिकित्सा फाँटमै नवीनतम् यस परियोजनाको डिजाइन नेपाली आर्किटेक्चर र परियोजना व्यवस्थापन कम्पनीहरु मध्येको अग्रणी कम्पनी–केज कन्सल्ट (प्रा.) लि. ले गरेको छ भने निर्माण हुने नवीनतम् भवनको आन्तरीक साज–सज्जाका सम्पूर्ण कार्यहरु सिङ्गापुरको एक ख्यातिप्राप्त कम्पनीले गर्नेछ।
वि.सं. २०५० मा काठमाडौंमा स्थापित नर्भिक इन्टरनेशनल हस्पिटल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै क्षेत्रमा ख्यातिप्राप्त एक उत्कृष्ट हस्पिटल रहँदै आएको छ । नेपाली स्वास्थ्य सेवाका फाँटमा नर्भिकको प्रवेश पश्चात् स्तरीय स्वास्थ्य सेवाका लागि ठूलो धनराशी सहित विदेसिनुपर्ने नेपालीहरुको वाध्यतालाई न्यूनीकरण गर्न नर्भिकले ठूलो सहयोग पुर्याउँदै आएको छ।