काठमाडौं । रोजगारका लागि मलेसिया जाने श्रमिकबाट अवैध रुपमा एक लाख बिस हजार रुपैयाँ लिँदै गरेको अवस्थामा वैदेशिक रोजगार विभागले एक व्यक्तिलाई समातेको छ । वैदेशिक रोजगारको लागि मलेसिया पठाइदिन्छु भनी रकम उठाइरहेको भन्ने विभागलाई प्राप्त सूचनाको आधारमा काठमाडौं सिनामंगल स्थित नोभा म्यानपावरको कार्यालय भवन नजिकैको स्थानवाट पक्राउ गरेको हो ।
ताप्लेजुङ जिल्ला साविक ढुङ्गेसाघु गा.वि.स वडा नं ५ घर भई हाल काठमाडौं जिल्ला वुढानिलकण्ठ नगरपालिका वडा नं ८ कपन वस्ने वर्ष ३३ का कैलाश लिम्वुले सिन्धुली घर भएका झलकबहादुर वि.क र पोष्टराज वि.क दुई दाजुभाइवाट नगदै रकम लिएकाे अवस्थामा विभागले रङ्गेहात पक्राउ गरेको विभागका महानिर्देशक डा.भीष्मकुमार भूसालले जानकारी दिए ।
लिम्वुले दुई दाजुभाइलाई मलेसिया पठाइदिन्छु भनी यस अघि नै ८० हजार रुपैयाँ लिइसकेको र शनिवार मलेसिया फ्लाइट छ, एक लाख साठी हजार रुपैयाँ लिएर आउनु, भिषा लागिसकेको भनी काठमाडौं वोलाएका थिए।
काठमाडौं आएर टिकट माग गर्दा आफूहरुको श्रम स्वीकृतीनै नभएको थाहा भएपछि दुई दाजुभाइले वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए । नियन्त्रणमा लिइएका लिम्वुलाई कुनै म्यानपावरले रकम लिनको लागि परिचालन गरेको थियो वा थिएन भन्ने सम्वन्धमा हाल अनुसन्धान चलिरहेको छ ।
नेपाल सरकारले मलेसियामा वैदेशिक रोजगारमा पठाउनको लागि शून्य लागतमा जान पाउने गरी मलेसियन सरकारसँग सम्झौता गरेको छ । सो सम्झौता कार्यान्वयन गर्नको लागि विभागले पछिल्लो समयमा अनुगमन कार्य तिव्रता दिएसँगै कारवाहीवाट वच्नको लागि इजाजतपत्रवाला संस्थाले अबैध तरिकाले रकम संकलन गर्ने कार्यको लागि संस्था वाहिरका व्यक्तिहरु परिचालन गर्ने गरेको भन्ने उजुरी प्राप्त भैरहेको छ ।
वैदेशिक रोजगार ऐनमा भएको पछिल्लो संशोधनले खारेज भैसकेका एजेन्टले वैदेशिक रोजगारमा पठाएकाे कसैसग पनि राहदानी र रकम लिन नपाउने र लिएको भेटिएमा वैदेशिक रोजगार ठगीमा वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम हदैसम्मको कारवाही गर्ने प्रकृयालाई अघि बढाएको छ।