काठमाडौं । नेपालमा करिब ३० हजार जना एचआइभी सङ्क्रमित रहेपनि यसको सङ्ख्या घट्दो दरमा छ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका अनुसार सन् २०१०को तुलनामा सन् २०१८ सम्ममा ५८ प्रतिशतले नयाँ सङ्क्रमण घटेको छ । पछिल्लो समय नेपालमा कूल २९ हजार ९४४ जनामा एचआइभी सङ्क्रमण भएको अनुमान छ ।
केन्द्रका निर्देशक डा.अनुज भट्टचनले तीमध्ये पुरुष १७ हजार ७३२ र महिला १२ हजार २१२ जना रहेको बताउँदै विश्वभर तीन करोड ७९ लाख जना एचआइभी सङ्क्रमण भएको जानकारी दिए । भट्टचनका अनुसार नेपालका वयस्क (१५ देखि ४९ वर्ष) उमेर समूहको जनसङ्ख्यामध्ये ०.१४ प्रतिशत एचआइभीबाट सङ्क्रमित भएक छन् भने ७१ प्रतिशतले बालबालिकमा हुने नयाँ सङ्क्रमणमा कमी आएको छ । केन्द्रका निर्देशक भट्टचनले एड्सको कारणले मृत्यु हुने सङ्ख्यामा पनि ३८ प्रतिशतले घटेको छ ।
७६ प्रतिशत एचआइभी सङ्क्रमण असुरक्षित यौनसम्पर्कको माध्यमबाट सरेको पाइएको छ । नेपालमा एचआइभी सङ्क्रमणको उच्च जोखिममा रहेका समूहमा सुईद्वारा लागू पदार्थ प्रयोग गर्ने, यौनकर्मी, पुरुष समलिङ्गी तथा तेस्रोलिङ्गी, रोजगारीका लागि विदेशिने र जैलका कैदी रहेका छन् । यीमध्ये सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने र पुरुष समलिङ्गी यौनकर्मीमा एचआइभी सङ्क्रमणको दर अरु जोखिममा रहेका समूहभन्दा उच्च रहेको छ ।
हेरचाह र सहयोगलगायत एआरभी औषधि उपचार समेतमा पहुँच बढ्दै गएको हुनाले एड्सको कारणबाट मृत्यु हुनेको सङ्ख्यामा कमि आएको उनले जानकारी दिए । केन्द्रले सार्वजनिक गरेको तथ्याङ्कअनुसार २०१९ जुलाईसम्म नेपालको कुल एचआइभी सङ्क्रमितमध्ये ६० प्रतिशत (१७ हजार ९८७ जना)ले एआरभी उपचारमा रहेका देखिएको छ ।
सरकारले सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्यका साथ एचआइभी तथा एड्ससम्बन्धि कार्यक्रम सञ्चालनसमेत गरेको छ । निर्देशक भट्टचनले सोही कार्यक्रम सञ्चालन भएकोले एचआइभी सङ्क्रमण र एड्सबाट मृत्यु हुनेको सङ्ख्यामा कमी आएको बताए । विश्वमा भने सन् २०१० देखि २०१८ सम्ममा विश्वव्यापीरुपमा १६ प्रतिशतले एचआइभी सङ्क्रमण घटेको छ । भने ४१ प्रतिशत बालबालिकामा हुने सङ्क्रमण घटेको पाइएको छ ।
सन् २००४ मा सबभन्दा बढी मानिस एड्सबाट ज्यान गएको थियो । अहिले २०१८ सम्म आइपुग्दा एड्सबाट ज्यान जानेको सङ्ख्यामा पनि ५६ प्रतिशतले घटेको छ । विश्वमा सन् २०१८ सम्ममा कुल एचआइभी सङ्क्रमितमध्ये ६२ प्रतिशत ९दुई करोड ३३ लाख०ले मात्र एआरभी उपचार गराइरहेका छन् । एचआइभी र एड्ससम्बन्धि प्रभावकारी रोकथाम, हेरचार, सहयोग तथा उपचार सेवाका लागि विश्वको ध्यानाकर्षण गराउन सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ तारिखमा एड्स दिवस मनाइन्छ ।
यसपटक एचआइभी सङ्क्रमलाई अझै घटाउदै लैजाने र एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्यका साथ समुदायको भूमिकालाई पहिचान गरी उनीहरुको भूमिका अझ प्रभावकारी बनाई एचआइभी रोकथाम, हेरचाह, सहयोग तथा उपचारसम्बन्धि कार्यक्रमलाई तीव्रता दिनका लागि यस वर्ष ‘एचआइभीको नियन्त्रणमा समुदायको प्रभावकारी भूमिका’ भन्ने मूल नाराका साथ दिवस मनाइँदै छ ।
केन्द्रका वरिष्ठ जनस्वास्थ्य प्रशासक मदनकुमार श्रेष्ठले ६० जिल्लामा एचआइभी रोग नियन्त्रण गर्न उपचार केन्द्र स्थापना गरिएको जानकारी दिँदै प्रदेश र स्थानीय तहको समन्वयमा एचआइभीको उपचारलाई प्रभावकारी बनाइने बताए । यौनरोग विशेषज्ञ डा अनुप वास्तोलाले एचआइभी सङ्क्रमणलाई अझ घटाउन सुरक्षित कार्यक्रम सञ्चालन गर्ने जनाउँदै मधुमेह र उच्च रक्तचाप जस्तै एचआइभी सङ्क्रमणलाई नियन्त्रण गर्न सकिने जानकारी दिए । रासस